भेट्नुपर्छ है !

- अविरल थापा

फाल्गुन १०, २०७३- 

भनिन्छ, यो संसारमा भएका करोडौं मानिसमध्ये जोसँग भेट हुन्छ, त्यसको कुनै न कुनै कारण हुन्छ । कसैसँग त्यसै भेट हुँदैन कि त त्यो मानिसले सकारात्मक प्रभाव पार्छ कि नकारात्मक वा समन्वयकारी भूमिका खेल्छ । चाहे अघि वा पछि कतै न कतै जीवनको कुनै मोडमा कुनै भूमिकामा जोडिन आइपुग्छ । कतिसँग एकफेर भेट भएपछि वर्षौं देखादेख पनि हुँदैन । कसैसँग दोहोर्‍याएर भेट्नै मन लाग्दैन । कतिसँग भेटिरहूँ, कुरा गरिरहूँ जस्तो लाग्छ । फेरि कतिसँग भेट्दिनँ भने पनि दिनहुँ भेटिरहनुपर्छ । मान्छेले इच्छा गर्दैमा सबै कुरा गर्न पाउँदैन । मानिसको अधिकांश उमेर परिस्थितिको सिकार भएर वा समयसँग सम्झौता गरेरै बित्छ । 

 

भेटहरू पनि अनेक खालका हुन्छन्, जस्तै— आकस्मिक भेट, नियोजित भेट, प्रायोजित भेट, जम्काभेट यस्तै–यस्तै । हिजोआज त अझ इन्टरनेट तथा सामाजिक सञ्जालको विकासले सबैसँग सधैं भेटिरहेजस्तो भ्रम हुन्छ । सबै कुरा थाहा भैरहेजस्तो भान पर्छ । सामाजिक सञ्जालमा देखाइएको कुराले समग्र जीवनका घटनाको प्रतिनिधित्व गर्दैन । सार्वजनिक रूपमा देखाउन र भन्न नमिल्ने कतिपय कुरा मानिसले लुकाइराखेको हुन्छ अर्थात् व्यक्त गरेको हुँदैन । कति कुरा भेटेरै गरुँला भनेर साँचिएको हुन्छ तर मानिसहरू अचेल भौतिक रूपमा त्यति भेट्न छोडिसके ।

 

भेटे पनि उनीहरू अन्तै हराएका हुन्छन् । भेटेर कुरा गर्दा आउने आत्मीयता, निकटता र सामीप्यताको मिठास मानिसले बिर्सन थालिसके । प्राय: सबैको नियमित भेटघाट भैरहने सानो कोटरी हुन्छ । एकै खालका मानिससँग भेटघाट गरिरहने बानी पर्दा अरू कति धेरै मानिससँग भेट र भलाकुसारी हुँदैन । आफ्नो समूूह सबैलाई गज्जब र जान्ने–सुन्ने छ जस्तो लाग्छ र हामी त्यही सानो घेरामा रमाउने बानी बसाल्छौं । फरक तर्क गर्ने वा विपरीत विचार राख्नेको कुरा सुन्ने धैर्य कमैसँग हुन्छ । 

 

 कतिसँग कैयन् दिनदेखि भेट्न खोज्दा पनि चाँजोपाँजो मिल्दैन । कसैसँग ल भेटौं न त भन्नासाथै भेटिन्छ । धेरै जनासँग चाहिँ कतै छुस्स देखेका बेला प्रत्येक पटक अब चाँडै भेट्न पर्छ है भनिन्छ, तर त्यो दिन कहिल्यै आउँदैन । कतिलाई भेटौं न है भन्न अप्ठ्यारो लाग्छ । कतिलाई भेटौं न भन्दा किन भेट्नुपर्‍यो र भन्ने जवाफ आउँछ । भेटेरै भनुम्ला भन्दा भन्दै कति कुरा मनमै मेटिएर जान्छन् । भौतिक रुपमा भेटेर बोल्दा र इन्टरनेटको च्याटमा वा टेलिफोनमा बोल्दा पनि धेरै कुरा फरक पर्छ । आँखा जुधाएर कुरा गर्दा मानिस धकाउँछ, लजाउँछ, डराउँछ अर्थात् उसमा विविध प्रकारका भाव पैदा हुन्छ तर लेखेर कुरा गर्दा ऊ कुन भावमा कुरा गरिरहेको छ थाहा हुँदैन । लेखेर कुरा गर्दा कति पटक अर्थको अनर्थ पनि लाग्छ र त्यसै मनमुटाव बढ्न सक्छ । भेटेर कुरा गर्दा मानिसको व्यक्तित्वले पनि प्रभाव पार्छ । च्याटमा जे पनि बोल्ने, जिस्कने मानिस अघि पर्दा बोल्नै नसक्ने पनि हुन सक्छ । 

 

भेटेर बोल्दा र नभेटी बोल्दा मानिस बेग्लाबेग्लै लाग्छ । भेटेर कुरा गरिसकेपछि कतिपय शंकाहरू मेटिन्छन् । भेटेपछि सम्बन्धको आधिकारिकता बढ्छ । भेटले प्रेम बढाउँछ, विश्वास बढाउँछ । कोसँग कहाँ भेट भयो त्यो महत्वपूर्ण होइन, कोसँगको भेट कति सार्थक रह्यो— हार्दिक रह्यो त्यसको अर्थ हुन्छ । आजभोलि नयाँ–नयाँ मानिससँग इन्टरनेटमार्फत भेट हुन्छ र त्यो विकसित भएर भौतिक भेटसम्म पुग्छ । त्यो भेटले प्रेम सम्बन्धको मोड लिन सक्छ, सामाजिक कामको, व्यापारिक कामको वा मित्रताको जरो पनि गाड्न सक्छ । कतिसँग चिया खान जाँदा वा रक्सी खान जाँदा भेट भएको हुन्छ, कतिसँग सधैं एउटै बाटो हिंड्ने क्रममा भेट भएको हुन्छ । कोही आपत्विपत्मा भेटिन्छन् भने कोही यात्रामा भेटिन्छन्, कोही मेलामा कोही भेलामा भेटिन्छन् । पहिलो भेट संयोग हुन सक्छ तर दोस्रो भेटलाई नियोजित बनाउन सकिन्छ । भेट्दिनँ भनेको मान्छेसँग कतै जाँदा फेरि जम्काभेट भैदिन्छ ।

 

बोलौं कि नबोलौं हुन्छ । चिनेको मान्छेलाई नचिनेजस्तो गर्न र देखेको मान्छेलाई नदेखेजस्तो गरेर एकै ठाउँमा बस्न जस्तो गार्‍हो केही हुँदैन । फेरि कतिमा जति पटक भेट्दा पनि नचिनेको जस्तो गर्ने र प्रत्येक भेट्मा परिचय गरिरहनुपर्ने झर्कोलाग्दो बानी हुन्छ । कोही भेट्दा नबोल्ने अनि टाढा गएपछि निहुँ खोज्ने खालका हुन्छन् । कोही भेटौं न भेटौं भनेर हैरान पार्छन्, कसैले भने नभेटेरै हैरान तुल्याउँछन् । कोही तिर्खा मेट्न मात्र भेट्छन् । कोही पैसा माग्न मात्र भेट्छन् । कोही रक्सी खान मात्र भेट्छन् । कतिले जहिले भेटे पनि हँसाउँछन्, कतिले भेटैपिच्छे रुवाउँछन् । 

 

कति खराब भेटिएलान्, कति असल भेटिएलान्, त्यो पछिको कुरा भयो तर कसैका बारेमा पूर्वानुमान् गरेर धारणा बनाउनु हुँदैन । अरूले यस्तो छ, उस्तो छ भनिदिएको भरमा आफूले भेट्दै नभेटी सुरुमै कुनै पनि सम्बन्धको घाँटी निमोठ्नु हुँदैन, किनभने कसैसँग कुनै बेला भेटेर कुरा गर्दा ऊ सुनेको भन्दा बेग्लै र अनुकूल पनि निस्कन सक्छ । भेटिनु, छुट्टिनु त संसारको रीत हो भनिन्छ तर छुट्टिनुपर्ला भनेर भेट्नै छोड्नु पनि हुँदैन । भेट्न मन लागेको मान्छेलाई एकफेर भेट्नुपर्छ है भन्नुस्, जिन्दगी नै बदलिन पनि सक्छ । 

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

 

 

प्रकाशित :फाल्गुन १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्