बुटवलमा नेपथ्यको कन्सर्ट हुने

- साप्ताहिक संवाददाता

फाल्गुन ८, २०७३-
लोकरक ब्याण्ड नेपथ्यले आगामी फागुन १४ गते शनिबार बुटवलस्थित कालिका माध्यमिक विद्यालयमा कन्सर्ट आयोजना गर्ने भएको छ । 

आजको समृद्ध र विस्तारित सहर बुटवल कुनै समयको ‘बटौली’ को नामले पनि चिनिन्थ्यो । नेपथ्यकै एउटा गीतले भन्छ–

‘यानीमाया, बटौलीको बजारमा, यानी माया
यानीमाया, चुरेटाको दोकान, यानीमाया’

यो यात्री गीतले जसरी आफूलाई ‘उहिले उहिले’ भनेर सुरुगर्छ त्यसैगरि यसमा पुराना यादहरु बगेका छन् । र, यस्तै सम्झनाहरु नयाँ पुस्तालाई बाँड्ने जमर्को नेपथ्य ब्याण्डले गरेको हो ।

‘बटौली मात्र होइन, हामी आजको बुटवलसँग पनि जोडिँदै आएका छौं,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन । जतिबेला मुलुक द्वन्द्वमा डुबेको थियो त्यतिबेला जताततैको खतरालाई चिर्दै सांगीतिक अभियान ‘सुन्दर शान्त नेपाल’ चलेको थियो । त्यसै अभियानको एउटा महत्वपूर्ण हिस्सा थियो नेपथ्य । ‘सन् २००३ मा त्यो यात्राको बेला हामीले सोही विद्यालयको प्राङ्गणबाट शान्तिको कामना गर्दै गीत गाएका थियौं,’ अमृत भन्छन्, ‘त्यो सांगीतिक यात्राबाट लाभान्वित त्यही विद्यालय सानो भवनबाट आज धेरै विद्यार्थी अट्नेगरि धेरै गुणा फराकिलो बन्न पुगेको छ ।’

तीन हजारभन्दा बढी विद्यार्थी पढ्ने यो विद्यालय सामुदायिक भइकन पनि स्थानीय विद्यार्थी र अभिभावकहरुको छनोटमा प्राथमिकतामा पर्न थालेको छ ।

‘सुन्दर शान्त नेपाल’ बाहेक नेपथ्यको एकल प्रस्तुती ‘शान्तिको लागि शिक्षा’ समेत गरेर यो ब्याण्डले बुटवलमा आफूलाई यसअघि पटक पटक प्रस्तुत गरिसकेको छ ।

शनिबार बुटवलमा हुने कन्सर्टको नारा चाहिँ ‘एकताको लागि संगीत’ रहेको छ । ‘एस नेपाल’ नामक संस्थाले आयोजना गरेको यो कन्सर्टबाट हुने मुनाफाको रकम ‘अभियान नेपाल चाइल्ड होम’को सहयोगार्थ प्रदान गरिने जानकारी आयोजक सन्तोष टण्डनले दिएका छन् ।

प्रकाशित :फाल्गुन ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्