आर्मी र एपीएफलाई उपाधि

- साप्ताहिक संवाददाता

फाल्गुन ७, २०७३-  

पोखरामा आयोजित आमन्त्रित अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा गत शनिबार सम्पन्न प्रतिस्पर्धामा पुरुषतर्फ आर्मीले नेपाल पुलिस क्लबलाई र एपीएफले न्यू डायमन्डलाई पराजित गरेको हो । पुरुषतर्फको फाइनलमा आर्मीले पुलिस क्लबलाई २५–२१, २१–२५, २७–२५ र २५–१३ को अन्तरमा पराजित गरेको थियो भने महिलातर्फको फाइनलमा एपीएफले न्यू डायमन्डलाई २५–१८, २५–१४, १८–२५ र २५–१५ को सेटमा पराजित गरेको थियो ।

 

प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मीका धनबहादुर भट्ट र महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफ क्लबकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । बेस्ट स्पाइकरमा पुरुषतर्फ पुलिसका कुलबहादुर थापा तथा महिलातर्फ न्यू डायमन्डकी प्रतिभा माली उत्कृष्ट ठहरिए । बेस्ट सेटरमा पुरुषतर्फ पुलिसकै इम राना तथा महिलातर्फ न्यू डायमन्डकै कृपा अधिकारी उत्कृष्ट घोषित भए । बेस्ट लिबेरोमा पुरुषतर्फ पुलिसका शमशेरबहादुर चन्द तथा महिलातर्फ न्यू डायमण्डकी सलिना श्रेष्ठ चुनिए भने बेस्ट ब्लकरमा पुरुषतर्फ आर्मीका हरि अधिकारी तथा महिलातर्फ न्यू डायमण्डकी ललिता नाथले बाजी मारे । त्यसैगरी बेस्ट सर्भरमा पुरुषतर्फ आर्मीका मानबहादुर श्रेष्ठ तथा महिलातर्फ एपीएफकी रेश्मा भण्डारी विजेता घोषित भए ।

प्रकाशित :फाल्गुन ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्