प्रेमको मनोविज्ञान

- रोजिन शाक्य

फाल्गुन ६, २०७३- 

कुनै व्यक्ति किन मायामा पर्छ? किन कसैको प्रेम सम्बन्ध दीर्घकालीन हुन्छ त कसैको प्रेम पानीको फोका सावित हुन्छ? यस विषयमा मनोवैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले अनेकन् खोज एवं प्रयोग गरेका छन् भने अनेकन् सिद्धान्त विकास गरेका छन्। यसै कारण प्रेमका बारेमा सबैमा उत्सुकता एवं कौतूहलता हुन्छ। प्रेमका मूलत: चारवटा सिद्धान्त छन्।

 

मन पराउनु र माया गर्नु

मनोवैज्ञानिक जिक रुबिनका अनुसार रोमान्टिक प्रेम तीन तत्वको मिश्रण हो— संलग्नता, स्याहार र घनिष्ठता। व्यक्तिले आफ्नो जीवनका अनेकन् अवस्थामा कैयन् व्यक्तिबाट कदर तथा प्रशंसा प्राप्त गर्छ। उसको ती व्यक्तिसित राम्रो लगाव हुन्छ र ऊ तिनीहरूसित समय बिताउन र उनीहरूका बीच रहन रुचाउँछ, तर यो कुरालाई माया–प्रेमको संज्ञा दिनु उचित होइन। रुबिनका अनुसार यो मन पर्नु हो। प्रेम मन पर्नुभन्दा फरक हो। यो अझ बढी गाढा, तीव्र एवं प्रगाढ हुनुका साथै शारीरिक घनिष्ठताको दृढ इच्छा तथा साथ, सहयोग एवं सामिप्यता हो। मन पर्ने व्यक्तिको साथ सुखद हुन्छ भने माया गर्ने व्यक्तिको साथमा एकअर्काको स्याहार गर्ने भाव पाइन्छ। आफूलाई जति खुसी राख्न चाहिन्छ र आफ्नो हेरचाह गरिन्छ त्यति नै दोस्रो पक्षलाई पनि। जति आफ्नो आवश्यकतालाई ध्यान दिइन्छ त्यति नै दोस्रो पक्षको आवश्यकतालाई पनि प्राथमिकता दिइन्छ। 

सामीप्यता दोस्रो पक्षबाट हेरविचार, स्वीकृति तथा शारीरिक साथ प्राप्त गर्ने आवश्यकता हो भने हेरविचारमा आफ्नो खुसी र आवश्यकतालाई जति प्राथमिकता र महत्व दिइन्छ कम्तीमा पनि त्यति होइन भने त्यो भन्दा बढी दोस्रो पक्षको खुसी र आवश्यकतालाई प्राथमिकता र महत्व दिने कुरा समावेश हुन्छ। प्रगाढतामा एक–अर्काबीच विचार, चाहना एवं भावनाको साझेदारी वा आदानप्रदान प्राथमिकतामा रहन्छ।

 

कम्प्यासनेट र प्यासनेट लभ

मनोवैज्ञानिक एलेन ह्याटफिल्डले प्रेमलाई कम्प्यासनेट र प्यासनेट लभमा वर्गीकरण गरेका छन्। कम्प्यासनेट लभलाई पारस्परिक सम्मान, संलग्नता, स्नेह तथा विश्वासले चित्रण गर्छ। यसले व्यक्तिमा आपसी समझदारी र सम्मानको भाव वृद्धि गर्दै त्यसलाई व्यवहारिक बनाउँछ। अर्कातिर प्यासनेट लभले तीव्र भाव, यौन आकर्षण, चिन्ता एवं स्नेहलाई चित्रण गर्छ। जब यी भावहरू जागृत एवं आदानप्रदान हुन्छन् तब व्यक्तिले सफलता र सन्तुष्टि महसुस गर्छ। यसको ठीक विपरीत भए प्यासनेट लभमा निराशा र असन्तुष्टिको अनुभव हुन्छ। ह्याटफिल्डका अनुसार प्यासनेट लभ अस्थायी स्वभावको हुन्छ जुन बढीमा ६ देखि ३० महिनासम्म रहन सक्छ। प्यासनेट लभ कम्प्यासनेट लभमा परिणत हुने सम्भावना पनि उत्तिकै हुन्छ। 

 

द कलर ह्विल मोडल अफ लभ

मनोवैज्ञानिक जोन लीले सन् १९७३ मा प्रकाशित गरेको ‘द कलर्स अफ लभ’ मा प्रेमका विभिन्न स्टाइललाई कलर ह्विलसित तुलना गरेको पाइन्छ। जसरी कलर ह्विलमा तीनवटा प्राइमरी कलर हुन्छन्, लीले पनि प्रेममा तीनवटा प्राइमरी स्टाइल हुने कुरा औंल्याएका छन्। ती हुन्— इरोज, लुडोज तथा स्टोर्ज।

इरोज: ग्रिक शब्द हो यो, जसको अर्थ हुन्छ— प्यासनेट वा इरोटिक। लीका अनुसार यस्तो प्रेममा शारीरिक एवं भावनात्मक प्यासन दुवै संलग्न हुन्छ।

लुडोज : यो पनि ग्रिक शब्दावली हो, जसको अर्थ हुन्छ— खेल। यस प्रकारको प्रेमलाई चन्चल र रमाइलोका रुपमा ग्रहण गर्ने गरिएको छ जसमा गम्भीरता आवश्यता हुँदैन। यस प्रकारको माया प्रदर्शन गर्नेहरू प्रतिबद्धतामा बाँधिन वा बढी घनिष्ठता प्रदर्शन गर्न रुचाउँदैनन्।

स्टोर्ज : यो ग्रिक शब्दावलीको अर्थ हुन्छ— प्राकृतिक वा स्वभाविक स्नेह। यस प्रकारको प्रेमको प्रतिनिधि हुन्छ— आमाबुबा र तिनका सन्तान, दाजुभाइ एवं दिदीबहिनीबीचको सम्बन्ध तथा परिवारजनबीचको सम्बन्ध। यस प्रकारको माया, मित्रताबाट पनि जन्मिन्छ जहाँ दुई व्यक्तिमा उनीहरूको रुचि, इच्छा, लक्ष्य, विचार आदिमा समानता हुन्छ र एक–अर्काको साथ र सामीप्यतामा उनीहरू खुसी महसुस गर्छन् तथा एक–अर्कालाई हेरविचार र स्नेह गर्छन्।

 

ट्राएङ्ग्युलर थियोरी अफ लभ

मनोवैज्ञानिक रोबर्ट स्टेमवर्गका अनुसार प्रेममा तीनवटा तत्व प्रमुख हुन्छन्— प्यासन, घनिष्ठता र प्रतिबद्धता। प्यासनलाई शारीरिक वा भावनात्मक उत्तेजनासित जोड्न सकिन्छ। यसमा खासगरी यौन, रोमान्स, कसैका लागि हदैसम्म केही गर्ने उत्साह एवं जोस पाइन्छ। घनिष्ठता कुनै व्यक्तिसितको सामीप्यता र निकट रहने भावना हो। यसले उक्त व्यक्तिसित आत्मीयता र प्रगाढता बढाउन मद्दत गर्छ। यसले एक–अर्कालाई आपसमा सहज र साझेदार पनि बनाउँछ। यसमा व्यक्ति सचेत रूपमा कसैसित बाँधिने निर्णयमा पुग्छ। यो निर्णय मूलत: उसको उक्त व्यक्तिसितको खुसी, सन्तुष्टि, सुरक्षाजस्ता कुरामा निर्भर गर्छ। यसमा कसैका लागि केही गर्ने वा दिने, कसैप्रति वफादार र इमानदार रहने तथा हदैसम्म साथ दिने एवं सहयोगी हुने जस्ता वचनबद्धताको भाव प्रधान हुन्छ। 

 

स्टेमवर्गका अनुसार यी प्रमुख तत्वहरूको फरक–फरक कम्बिनेसनले फरक–फरक स्वरुपको अवस्था सिर्जना गर्छ, जस्तै— घनिष्ठता र प्रतिबद्धताको कम्बिनेसनमा कम्प्यासनेट लभको सिर्जना हुन्छ भने प्यासन र घनिष्ठताको कम्बिनेसनमा प्यासनेट लभको जन्म हुन्छ। त्यस्तो सम्बन्ध जुन यी तत्वहरू मध्ये कुनै एकको आधारमा मात्र विकसित हुन्छ त्यो तुलनात्मक रूपले कमजोर हुन्छ जबकि यी तत्वमध्ये कुनै दुई वा सबैको संयोजनमा सृजना र विकसित भएको सम्बन्ध तुलनात्मक रूपले बढी चीरस्थायी हुन्छ। 

नन् लभ : ट्राएङ्ग्युलर थ्यौरी अफ लभले देखाएको तीन प्रमुख तत्व प्यासन, घनिष्ठता एवं प्रतिबद्धतारहित स्वरुप नन् लभ हो।

मन पराउनु र मित्रता: यस प्रकारको प्रेममा घनिष्ठता हुन्छ तर प्यासन र प्रतिबद्धता पाइँदैन।

इन्फाचुएटेड लभ : यसमा प्यासन पाइन्छ तर घनिष्ठता र प्रतिबद्धताको अभाव हुन्छ। यो सम्बन्ध क्षणिक हुन्छ र यसमा गम्भीरता पाइँदैन। कहिलेकाहीं रोमान्टिक सम्बन्ध यस प्रकारको प्रेमबाट समेत विकसित हुने गरेको पाइन्छ जहाँ घनिष्ठता बढ्न समय लाग्छ। घनिष्ठता र प्रतिबद्धताको विकास नभए यस प्रकारको प्रेम आफैं समाप्त भएर जान्छ।

एम्टी लभ : यसमा प्रतिबद्धता त हुन्छ तर घनिष्ठता र प्यासनको अभाव रहन्छ। प्राय: मागी विवाहको प्रारम्भमा यस प्रकारको प्रेम हुन्छ। जहाँ प्रारम्भमा प्रतिबद्धता मात्र देखिन्छ र बिस्तारै त्यसमा घनिष्ठता एवं प्यासन विकसित हुन्छ। 

रोमान्टिक लभ : यो स्वरुपमा प्यासन र घनिष्ठता हुन्छ तर प्रतिबद्धताको अभाव हुन्छ। 

कम्प्यासेनट लभ : यसमा घनिष्ठता र प्रतिबद्धता पाइन्छ तर प्यासनको अभाव हुन्छ। प्राय: वैवाहिक सम्बन्धको लामो यात्रामा यस्तो स्वरूपको प्रेम अनुभव गर्न सकिन्छ। 

फटुअस लभ : यसमा प्यासन र प्रतिबद्धता पाइन्छ तर घनिष्ठताको अभाव हुन्छ।

कन्जुमेट लभ : यसलाई प्रेमको पूर्ण स्वरुप मानिएको छ, जहाँ आदर्श सम्बन्धको विकास हुन्छ। स्टेमवर्गले घनिष्ठता, प्यासन र प्रतिबद्धता यी तीनवटै तत्वको उपस्थितिमा हुने प्रेमलाई कन्जुमेट लभको संज्ञा दिएका छन् जुन अरूभन्दा बढी चीरस्थायी अर्थात् दीर्घकालीन हुन्छ। स्टेमवर्गका अनुसार यस्तो प्रेमको अनुभव गर्न सहज छैन। 

प्रकाशित :फाल्गुन ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्