मिष्टर इन्टरनेसनलमा रोकेशलाई नेसनल कस्ट्युम अवार्ड

- साप्ताहिक संवाददाता

फाल्गुन ५, २०७३- 

पुरुष सहभागिहरुमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिष्टर इन्टरनेसनल २०१६’ मा नेपालका तर्फबाट सहभागि भएका रोकेश तण्डुकारलाई नेसनल कस्ट्युम अवार्ड प्राप्त भएको छ । रोकेशलाई सो अवार्ड उनले पहिरिएको लाखे पहिरनले दिलाएको हो । उनी प्रतिस्पर्धामा पर्सनालिटी विधातर्फ उत्कृष्ट दश भित्र पर्न पनि सफल भएका थिए ।  प्रतियोगिताका लागि नेपालको फ्रान्चाइजी नेक्स्ट मिडियाले रोकेशलाई सो प्रतियोगिताका लागि छनौट गर्नुका साथै उनको सहभागिताको संयोजन र व्यवस्थापन गरेको हो । संगीतको प्रशिक्षण प्राप्त गरेका काठमाडौं निवासी २८ वर्षिय रोकेश तण्डुकार मल्टिमिडिया विज्ञ हुन् भने उनी फ्रिलान्सर ग्राफिक डिजाइनर पनि हुन् । 

 

मिष्टर इन्टरनेसनल प्रतियोगिताका लागि अन्य तयारी बाहेक अन्तर्राष्ट्रिय  प्रतियोगितामा सहभागिता सम्बन्धीत विविध आधारभूत पक्ष र प्रस्तुतिकरणका बारेमा रोकेशले कोरियोग्राफर रोजिन शाक्यसित अभिमुखीकरण कक्षा प्राप्त गरेका थिए भने लाखे पहिरन सम्बन्धीत ग्रुमिङ विजय तण्डुकारले गरेका थिए । थाइल्याण्डको बैंकक शहरस्थित द स्टेज एट एशियाटिक द रिभरफ्रन्टमा फेब्रुअरी १३ तारिखमा संचालन भएको मिष्टर इन्टरनेसनलको ११औं संस्करणको फाइनल प्रतिस्पर्धामा भने लेबननका पल इस्कन्डरले मुख्य अवार्डमा सफलता हासिल गरेका छन् । उनले पर्सनालिटी विधाको अवार्ड पनि हात पारे । प्रतियोगितामा जापानका मसाया यामागिसी वेष्ट मोडल इन्टरनेसनल सहित फस्ट रनर अप विजेता चयन भए भने इटालीका भिनिसियो मोडोलो सेकेन्ड रनर अप घोषित भए । 

प्रकाशित :फाल्गुन ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्