जब बाटैमा टाउको ठोक्कियो

- अधिकारी रवीन्द्र

फाल्गुन ४, २०७३

 

जिन्दगीमा सानातिना घटना घटिरहन्छन् जुन त्यति यादगार हुँदैनन्, तर त्यस्तै सानातिना घटनाबीचबाट कुनै घटना यसरी अघि बढिदिन्छ कि त्यो अन्तत: जीवनकै टर्निङ प्वाइन्ट सावित भैदिन्छ । बाटामा हिँड्दा कसैसँग आँखा जुध्नु, सामान्य होइन, छाताले लाग्नु एउटा कुरा, अनि व्यस्त सडकमाझ टाउको ठोक्किएर जिन्दगीले नयाँ टर्निङ प्वाइन्ट लिनु अर्कै कुरा ।

 

अब एकछिन् त्यही अर्को कुरा गरौँ । पुतलीसडकको चोक, बागबजारबाट डिल्लीबजार जाँदा जेब्रा क्रसबाट रातो बत्ती निभ्ने डरमा हतार–हतार बाटो काट्दा अन्जान सहरकी अन्जान कथा बोकेकी अन्जान केटीसँग मेरो ठक्कर लाग्यो । गहकिला कथा अक्सर ठक्करबाटै बन्छन् । न्युटनले पुर्पुरोमा स्याउको ठक्करका कारण विश्वलाई अहिलेसम्म रिंगाइराखेको गुरुत्वबलसम्बन्धी नियम फेला पारे, मैले आफ्नो पुर्पुरोमा एक नादान केटीको ठक्करले एकनास मलाई रिंगाइराख्ने श्रीमती फेला पारेँ । 

 

म श्रेष्ठ फोटोकपिमा जिओलोजीको एउटा पुस्तकको प्रतिलिपि निकाल्न हान्निएको थिएँ, उनी कोलिन्समा जीआरई क्लासका लागि हान्निँदै थिइन् । संयोग कस्तो ? रातो बत्ती धेरै बल्छन्, नियतिले मलाई पर्खाएर वा उनलाई छिटो हिँडाएर त्यही रातो बत्तीमा उनलाई पारिबाट र मलाई वारिबाट एक ठाउँमा ल्याएको थियो । करिब दुई मिटरको चौडाइभित्र रेखाको सिधा उनी अनि त्यही रेखातर्फ म हिंडेको थिएँ । नजानी–नजानी उनी पनि पाइला गनेझैं, अनि म पनि पाइला गनेझैं बाटोको मध्यभागमै आएर ठोक्किनुपर्ने । त्यहि जेब्रा क्रसिङको सानो चौडाइभित्र हाम्रो जीवन कहानी लुकेको रहेछ । जोडी मिलाइदिनेलाई लमी भन्छन्, यो कथामा चित्रित लमी निर्जीव हो अर्थात् यो जोडीको लमी– जेब्रा क्रसिङ।

 

भीडभाड अनि गाडी, मोटसाइकलको टिटी र ट्याँट्याँ । पैदलेहरूलाई पनि आफ्नै गन्तव्यमा पुग्ने हतारो, समय : दिनको ठीक पौने तीन बजे । पिलिक–पिलिक पहेंलो अनि पिलिक्क रातो बत्ती । दुई सेकन्डजति सुनसान जेब्रा क्रसिङ, अनि सुरु भयो वारि र पारिबाट दोहोरो युद्ध चल्न लागेझैं बाटो काट्नेहरूको सल्याङ–बल्याङ । त्यो तिथिमा, त्यो अपराह्नमा, व्यस्त पुतलीसडकको दुई चवालीसको त्यही रातो बत्तीमा वारि र पारि जाने तालमेल नमिलेर, हतारोले आँखा नदेखेर वा अरूको ठेलमठेलमा परेर कतिका टाउका जुधे, कतिले मीत लगाए, कथा बनेकाहरूले लेख्दै जालान् वा स्मरण गर्दै गर्लान् तर मलाई लाग्छ पूरै मंसिर महिनाभरि नै कुनै जेब्रा क्रसिङमा परेर केटा र केटीको यो जत्तिको स्मरणीय टाउको ठोक्काइ सायदै भयो होला । किनभने यो त्यस्तो ठोक्काइ थियो जसले केटीलाई दुलाहा दियो अनि केटालाई दुलही । दर्शनढुङ्गा ठोक्काउँदा आगो बल्छ तर यहाँ पुर्पुरो ठोक्किँदा वैवाहिक सम्बन्ध गाँसियो ।

 

मलाई पुस्तक फोटोकपि गरेर मिरर इन्स्टिच्युटमा ट्युसन पढ्न पुग्नुपर्ने थियो । उनलाई तीन बजेदेखिको कोलिन्सको जीआरई क्लास लिन पुग्नु थियो । त्यो क्षण मेरो पुर्पुरोसँग अरू कुनै भुसतिग्रेको पुर्पुरो ठोक्किएको भए जरुर उसले मेरो हड्डी एक–एक गरी गन्थ्यो होला, अनि उनको पुर्पुरो त्यही भुसतिग्रेसँग ठोक्किएको भए आज मेरी बूढी उसकी बूढी हुन सक्थी, अर्थात् त्यो मूल्यवान् समयले बूढी साट्दिन पनि सक्थ्यो वा भनौं साटिदिएको पनि हुन सक्छ । काठमाडौंको उग्र गर्मीबीच चट्याङ परेझैं ड्वाङ्ग दिउँसै आकाशका तारा देखिने गरी टाउको ठोक्कियो । उनले हातमा बोकेका पुस्तक भुइँमा असरल्ल छरिए । उनी निहुरिएर दायाँ हातले ब्यारोन्सको पुस्तक समात्दै थिइन् । जमानाले फड्को मारे पनि उनको हेयर स्टाइलले फड्को मारेको थिएन । ती त्यसै दुई चुल्ठोमै बाँधिएका थिए ।

 

निहुरिएकै अवस्थामा उनले शिर उठाएर ठक्कर दिने बेइमानको अनुहार हेर्ने चेष्टा गरिन् । समुन्ने म उभिएको थिएँ, भर्खर आकाशका तारा गनेर बेहोसतुल्य म होस नफर्कंदै फेरि उनका नसिला नयनभित्र टिकटै नकाटी प्रवेश गरेछु । पछि थाहा भयो, म लाजवाब ङिच्च–ङिच्च नि:शुल्क दन्त प्रदर्शनी गर्दै थिएँ रे । म लभ एट फस्ट साइटमा विश्वास गर्दिनँ, बरु म लभ एट फस्ट स्ट्राइकमा विश्वास गर्छु । किनभने यो कथा नै लभ एट फस्ट स्ट्राइक अर्थात् ठोक्काइको सुरुवातसँगै अघि बढेको हो ।

 

लाग्थ्यो, पूरै जमाना केही समयका लागि कोरिएको सिँढी अड्किएझैं अड्किएको छ । घडीको टिक–टक रोकिएको छ । सजीव मानवहरू मूर्ति बनेका छन्, हाम्लाई हेर्ने चर्म–चक्षुहरू अन्धा बनेका छन् । समय एकाएक शून्यमा झरेको छ अनि कंक्रिटको बगैँचाबीच हाम्रो रसलीला चल्दैछ । हिर–राँझा वा रोमियो–जुलिएटको कथा फिक्का बनाउँदै यो समयकालमा पूरै ब्रह्माण्ड अवाक् दर्शक बनिरहेको छ । म दाबा गरेर भन्छु, कुनै लभ स्टोरी मुभीमा यो सिन ट्रेलरमा राखून् कसैले, फिलिम सुपर डुपर हुन्छ । त्यो भावाबेग यती शक्तिशाली थियो कि शब्दमा वर्णन गरेर सकिँदैन । 

 

दुई आँखा चार भैरहेका थिए, नाथे बत्तीको परिबन्धले अब हाम्लाई रोक्न सक्ने थिएन । अघिका ब्रह्माण्डलगायतका किस्सा साँचै भएका थिएनन्, ती सब मेरा मनभित्र भएका थिए । बाहिरी विश्व उस्तै चलायमान थियो, जस्तो केही क्षण अघि थियो । ट्राफिक सिग्नल रेडबाट ग्रिन भैसकेको थियो । ट्राफिक दाइको वार्निङ ह्विसिल बजिसकेको थियो । हुइँकिदै आएको नेपाल यातायातको गाडीले अगाडि आएर कानको जाली फुट्ने गरी हरन ठोक्दासमेत म ‘हल न चल’ थिएँ । उनी हच्किएर फेरि निउरिइन र नोटकपी टिपेर उठिन् ।

 

म होसमा आउनुअघि नै उनी बाटोपारि पुगिन्, जाम हटाउन ट्राफिक दाइ नै आएर मलाई पन्छाउनुपर्‍यो । फोटोकपि, ट्युसन अक्रम–बक्रम सब दिमागबाट फम्र्याट नै भैसकेका थिए । म आफ्नो करियरलाई बाटोवारि नै छोडेर उनको पछि दौडिएँ । यसपालि म रातो बत्ती कुरेर बस्न सक्दिनथें । एउटा अमर प्रेम कथाका खातिर २०–३० वटा सवारी साधन २०–३० सेकन्ड रोकिन सक्छन्, किनभने कथा इतिहास बनाउने नै खालको मोडमा थियो ।

 

बाटो अवरुद्ध गरेको भनेर साइकलदेखि सेब्रोलेटसम्मको मिश्रित हर्न बजिरहेको थियो । सहरी कोलाहालको कुनै गन्ध मेरो कानलाई थिएन । बरु म सुन्न सक्थेँ, उनको जुत्ताको टापको आवाज अनि हिँड्ने क्रमको गति र हावाको संयुक्त बलले फटफट गर्दै फहराइरहेको कुर्ताको आवाज । जब उनी हूललाई छिचोलेर हिँड्दै थिइन् तब उनले तय गरेका पाइलाहरूले मेरा लागि अवरोधविहीन राजमार्ग खडा गर्दै थिए । कत्तिको कुम ठोकियो, कत्तिलाई कुहिनाले लाग्यो, कत्तिले के–के भनी सरापे, केहीको हेक्का मलाई थिएन ।

 

केही क्षणमा उनी देब्रे पट्टिको गल्लीभित्र छिरिन्, मिटर नापी–नापी म पनि त्यतैतिर हुत्तिएँ । त्यहाँ अङ्ग्रेजी विषयमा केही पढाइँदै थियो, सामीप्यमा उनी थिइन्, समुन्नेका शिक्षक–विद्यार्थी कसैको केही सम्झना छैन । स्थान र समय थाहा पाएपछि त के लाग्यो एवं रीतले तीन दिन लगातार म सेतो घरको तेस्रो तलामा रहेको सोही कक्षामा गएँ, विद्यार्थीले खचाखच भरिएको कक्षामा निर्विघ्न उभिएरै प्रतिदिन दुई घण्टा बिताएँ । उनले अन्दाज गरिसकेकी थिइन् कि उनका अनुहार मेरा नजरका खेल मैदान भैरहेका छन् । जब हाम्रा आँखा झुक्किएर जुध्थे मेरो मनको तारले गीतार बजाउन थाल्थ्यो । चौथो दिन जब गार्डले मलाई भर्ना नगरेको भनी भित्र छिर्न दिएन, तब केही क्षणपछि उनी बाहिर आइन् । टाउको ठोक्किएदेखिको एक–अर्काले एक–अर्कालाई गरेको शब्द सम्बोधन पहिलो थियो त्यो । भोलिपल्ट सोही समय हामी शंखपार्कमा डेटिङमा थियौँ ।

 

पहिलो हप्तामा भएको डिप लभ दोस्रो हप्तामा विवाहमा परिणत भयो । सम्बन्ध, प्रेम अनि विवाह यसरी पनि हुन सक्छ । पुर्पुरो ठोक्काउन पुतलीसडकको जेब्रा क्रसिङमै जानुपर्छ भन्ने छैन, बानेश्वरको क्रसिङमा हुन सक्छ वा भाग्य छ भने अर्को सुन्दर मोहडासहितको टाउको घरमै आएर तपाईंको पनि पुर्पुरोमा ठोक्किन सक्छ— शुभकामना । 

ravinems@iom.edu.np 

Twitter: @ravinems

 

 

प्रकाशित :फाल्गुन ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्