के त्यो प्रेम थियो ?

- सुविन भट्टराई

फाल्गुन ३, २०७३-  

उहिल्यै, धेरै पहिल्यै, तिम्रो छेउमा एउटा छेउ बनाएर, तिम्रा अघिल्तिर मरञ्च्याँसे हाँसो हाँस्दै, तिमीसित नजिकिन खोज्नु, के त्यो प्रेम थियो ? तिमीले छुटाएका बसहरू मैले पनि जानीजानी छुटाउनु, के त्यो पनि प्रेम थियो ? तिमीले बिछ्याएका रहरहरूमा आफ्ना केही रहर मिसाउनु सायद मेरो प्रेम नै थियो । तिमी हिँडेका बाटोहरूमा तिमीलाई पछ्याउनु पनि प्रेम नै त थियो होला । कहाँ थिएन र प्रेम ? प्रेम हुने ठाउँमा पनि थियो । नहुने ठाउँमा पनि थियो । 

 

तिम्रो बच्चाजस्तो निर्दोष आँखामा हराउनु, के मेरो प्रेम थिएन ? तिम्रो गम्भीर मुहारबाट निस्कने रहस्यमय हाँसोमा रमाउनु मेरो प्रेम नै हुँदो हो प्रिय । ठाउँ, कुठाउँ तिमी मसितको साथमा अल्झिएको प्रसंग आजपर्यन्त मेरो स्मृतिमा बल्झिरहन्छन् । तिमी भिजेको पानीमा म पनि तिमीसँगै भिज्नु के त्यो प्रेम थिएन र ? अनि तिमी सुकेको घाममा म पनि तिमीसँगै सुक्नु त्यो पनि प्रेम नै थियो । 

 

तिम्रो सफलतालाई आफ्नै सफलता मानेर हिँड्नु मेरो प्रेम नै थियो प्रिय । तिम्रो खिन्नतालाई आफ्नै छातीमा टाँसेर हिँड्नु पनि प्रेम थियो । तिमीले प्रेम गरेका हरेक चीजलाई म प्रेम गर्थें । तिमीले घृणा गरेका चीजलाई म पनि घृणा गर्थें । तिम्रो मुटु निचोरिँदा मेरा आँखा रसाउनु पनि प्रेम नै थियो । तिम्रा ओठबाट छुटेका खित्काहरूमा म रमाउनु पनि प्रेम थियो । सम्पूर्ण ध्यान र ऊर्जा तिमीमै केन्द्रित हुने हुँदा मेरा मार्कसिटमा लस्करै टल्किएका ताराहरूले बताउँदा हुन्, कि त्यो प्रेम थियो कि थिएन भनेर।तिमीलाई मन नपर्ने चीजहरू मलाई पनि मन नपर्दै जानु के त्यो प्रेम थिएन ? तिमीले फ्याँकेका चकलेटका बोक्राहरू एक–एक गर्दै टिप्दै जानु अनि त्यसलाई सम्हालेर आजसम्म पनि राख्नु पनि प्रेम हो ।

 

जाडोयाममा तिमीले खाएर फालेका सुन्तला र बदामका बोक्राहरूसमेत टिपेर आफैंसित लाने मूर्खता गर्नु, प्रेम नहुन सक्छ ? क्यान्टिनमा तिमीले खाएको जुठो गिलासमा खुसुक्क कसैले थाहा नपाउने गरी पानी खानु पनि प्रेम थियो । म त के थिएँ र ? म थिएँ कहाँ र ? तिम्रै आँखाबाट संसार चिहाउँथेँ । तिम्रै स्वरमा आफ्नो स्वर मिलाउँथेँ । म छुट्टै त कहीँ पनि थिइनँ । छुट्टै कहीँ हुन सक्छ ? बाटो र यात्रा ?बतासमा रंग भरिएजस्तो लाग्थ्यो अनि त्यही रंगले बादलमा तिम्रो र मेरो नाउँ लेखिएजस्तो लाग्थ्यो । के तिमीलाई पनि यस्तै हुन्थ्यो ? मैले कहिल्यै सोधिनँ ।

 

मैले यो कहिल्यै सोधिन कि के तिम्रो छेउमा मैले छेउ बनाएको तिमीलाई थाहा हुन्थ्यो ? तिम्रै सहरमा तिम्रो घर भन्दा, तिमीभन्दा धेरै पर एउटा अर्को घर छ । तिम्रो मुटुभन्दा धेरै पर एउटा अर्को मुटु छ । जो तिम्रो धुकधुकीसँगै आफ्नो धुकधुकी मिसाउन चाहन्थ्यो । तिम्रै क्लासमा तिम्रो बेञ्चभन्दा पाँच–छ बेन्चपछाडि तिम्रो एउटा सहपाठी बस्थ्यो । जो तिमीलाई एकोहोरो हेरेर आफ्नै साथीहरूमाझ बदनाम थियो । के तिमीलाई त्यसको ज्ञान थियो ?

 

अनि तिमीलाई कति पटक कफीसफमा लगेर भनौँ–नभनौँको द्वन्द्वमा निकै बेर फसेर भन्न नसेकेको पनि प्रेम थियो मेरी प्रिय । यो सबैमा प्रेम थियो मेरी प्रिय । तिमीसँग नजिक हुनु, अनि टाढा हुनु, सँगै हुनु, एक्लै हुनु, भीडमा हुनु, भएर पनि नभएजस्तो लाग्नु, नभएर पनि भएजस्तो लाग्नु । के तिमीलाई यस्तो कहिल्यै लागेन ? सँगै नहिँडे पनि, हाम्रा पाइलाहरू नजोडिए पनि, हाम्रो रफ्तार नमिले पनि, हाम्रो जाने दिशा फरक भए पनि, हामी एउटा बेग्लै तरंगले जोडिएका छौँ । हामी एकमुस्ट हावामा फिँजिएका छौँ । जो देखिँदैन तर महसुस मात्र हुन्छ । 

 

यी सबै प्रेम थियो । मैले दर्साएको तिमीप्रतिको असीम प्रेम । मेरो असफल प्रेम । मेरो मूर्खतापूर्ण प्रेम । यसमा यतिमात्र कमजोरी भयो कि ती सबै तिम्रो अघिल्तिर देखाउँन सकिनँ । तिमीले थाहा हुने गरी केही पनि बताउन सकिनँ । मैले आफूलाई छोप्न नखोजेको भए, सम्भवत: तिमीले आफूलाई रोक्न सक्थ्यौ, अरू कसैकी हुनबाट । 

 

प्रकाशित: फाल्गुन ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्