आई लभ यू नै नभनी लभ पर्‍यो

- कृष्ण भट्टराई

फाल्गुन ३, २०७३-  

वर्षा राउत : आज हामी माया–पिरतीका गफ गरौं ल । तिमीलाई थाहा छ, तिमी र मबीच प्रेमका कुरै हुँदैनन् । ल भन त तिम्रो र मेरो पहिलो भेट कहाँ भएको थियो ?

संजोग कोइराला : पहिलो भेट ? हाम्रो पहिलो भेट झन्डै पाँच वर्षअघि अनामनगरको मण्डला थिएटरमा
भएको थियो ।

वर्षा : चलचित्र ‘सरी ल’ को अडिसनका क्रममा हाम्रो पहिलो भेट भएको होइन ?

संजोग : अडिसनका लागि तिमी मभन्दा पहिले पुगिसकेकी थियौं ।

वर्षा : हो, त्यो दिन तिमीसँग मेरो भेट हुँदैछ भनेर मैले थाहा पाइसकेकी थिएँ । निर्देशक ऋषि लामिछानेले संजोग कोइराला तिम्रो जोडी हो भन्नुभएको थियो । यो केटा कस्तो रहेछ, ल हेरौं न त भनेर म तिम्रो प्रतिक्षा गरिरहेकी थिएँ । तिमी नीलो रंगको आर वान फाइभ बाइकमा सररर..आएको म हेरिरहेकी थिएँ ।

संजोग : ए....तिमीले मान्छे नहरेर पहिले बाइक पो हेरेको ? केटीहरू कस्ता हुन्छन् हेर, मान्छे हेर्नुभन्दा पहिले उसले चढ्ने बाइक पो हेर्दा रहेछन् ?

वर्षा : नकराऊ न ।

संजोग : त्यसो भए म त्यो दिन साइकलमा लुखुर–लुखुर आएको भए त तिमीले हेर्दै नहेर्ने पो रहेछौ हैन ?

वर्षा : त्यस्तो होइन । त्यो दिन हामीबीच गफगाफ नै भएन, देखा–देख मात्र भयो ।

संजोग : मेरो अडिसन पहिले भएर म बाहिर निस्कँदा तिमी नै मसँग बोलेको होइन ? तपाईंले त कस्तो राम्रोसँग अडिसन दिनुभयो, मलाई त बोल्नै आउँदैन, कसरी गर्ने होला ? भनेर तिमीले मसँग सोधेको हैन ?

वर्षा : हा हा....कस्तो याद गरेको ? हुन त म नै तिमीसँग बोल्न पुगेकी हुँ । तिम्रो र मेरो जोडी बन्ने कुरा मलाई थाहा थियो, त्यसैले म नै पहिले बोल्न अग्रसर भएकी ।

संजोग : मलाई त थाहा थिएन । यो चिन्दै नचिनेकी नखरमाउली कति बोलिरहन्छे भनेर म त छक्क
परिरहेको थिएँ ।

वर्षा : कत्ति छुच्चो क्या तिमी ...त्यति धेरै त बोलेकी थिइनँ है ।

संजोग : अडिसनभन्दा अघि हामीलाई सामूहिक गेम खेलाइएको थियो, त्यति बेला पनि तिमी रत्तिभर सिरियस थिइनौ, हाँसेको हास्यै मात्र गरिरहेकी थियौ ।

वर्षा : मलाई कस्तो फन्नी लागिरहेको थियो क्या त्यो बेला ।

संजोग : सबै जना गेममा ध्यान केन्द्रित गर्दा पनि तिमी भने हाँसिरहेकै थियौं । म कस्ती हाँस्न नपाएकी केटी रै’छ भनेर मनमनै सौच्दै थिएँ, पछि आफैं मसँग बोल्न पो आई ।

वर्षा : हाम्रो दोस्रो भेट कहाँ भएको थियो ?

संजोग : झन्डै एक महिनाजति हाम्रो भेट नै भएन ।

वर्षा : एक महिनापछि निर्देशक लामिछानेले अफिसमा बोलाएर संजोगलाई फेसबुकमा एड गर भन्नुभयो । मैले तिमीलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ तर तिमीले दुई दिन पछि मात्र एसेप्ट गर्‍यौ । हो कि होइन ?

संजोग : म नजिनेको, नबोलेको मान्छेलाई फेसबुकमा साथी नै बनाउँदिनँ । तिम्रो रिक्वेस्ट आउँदा अडिसनमा भेट भएकी केटी तिमी नै हौ भन्ने जानकारी थिएन । तिम्रो प्रोफाइल पिक्चर पनि अर्कै देखिन्थ्यो । वास्तविक मान्छे र तस्बिरमा निकै फरक देखें ।

वर्षा : अनि एसेप्ट गर्ने जाँगर कसरी चलायौ त ?

संजोग : निर्देशक लामिछानेले नै तिमीहरू एक–अर्काको साथी बन, भेटघाट गर, चलचित्रको क्यारेक्टरमा घुलमिल हुन थाल भन्नु भएपछि वर्षा राउत भनेर खोजें । ठ्याक्कै भेटेर रिक्वेस्ट पठाउन लाग्दा पो तिमीले पहिले नै रिक्वेस्ट गरेको देखें, अनि एसेप्ट गरिदिएँ ।

वर्षा : तिमी र म साथी बन्दा रातको आठ बजेको थियो ।

संजोग : त्यो त मलाई सम्झना छैन ।

वर्षा : घरमा इन्टरनेट थिएन, घर नजिकको साइबरमा म सातदेखि आठ बजेसम्म बस्थें । उठ्ने बेलामा तिमीले रिक्वेस्ट एसेप्ट गरेको देखें । त्यसपछि अब एकछिन कुराकानी गर्नुपर्‍यो भनेर हामीले केही समय कुराकानी पनि गर्‍यौं । त्यसक्रममा हामीले अभिनयको कुरा गर्‍यौं । मैले अभिनय गरेकै थिइन । म त्यतिबेला तिमीलाई तपाईं भन्थें । तिमीले अभिनयको कक्षा लिएको कुरा बतायौ । डान्स सिकिरहेको कुरा पनि बतायौ अनि मैले पनि डान्स सिक्न जान्छु भनें ।

संजोग : अनि तिमीले नै भोलिपल्ट मलाई पनि लिन आउनु भनेको हैन ? पहिलो कुराकानीमै मलाई लिन आइज भनेको सुन्दा त म ट्वाँ परें ।

वर्षा : मैले भन्ने बित्तिकै तिमी किन मलाई लिन आएको त ? त्यही नीलो बाइकमा मलाई लिन आएको होइन ?

संजोग : त्यति बेला म पनि भोकै थिएँ, तिमीले पनि केही खाएकी थिइनौं । हामी नयाँ वानेश्वरको इन्द्रेणी क्याफेमा केही खाएर गम्भीर विष्टको डान्स फिभरमा छिरेको होइन ?

वर्षा : हामीले त्यहाँ दुई भिन्न परिकार मगाएका थियौं, मैले पिज्जा मगाएँ, तिमीले चिकेन सलाद मगायौ ?

संजोग : त्यतिबेला म हेल्थ कन्सस थिएँ । जिम गरिरहेको थिएँ, त्यसैले म त्यतिबेलै देखि खानामा विशेष ध्यान दिइरहेको थिएँ । तिमी त्यतिबेलैदेखि पिज्जा–पास्ता भनेपछि हुरुक्क हुन्थ्यौं । त्यही भएर त त्यतिबेलाकी दुब्ली–पातली मान्छे, आज यस्ती मोटी भएकी छौं ।

वर्षा : त्यसपछि त हाम्रो नियमित भेटघाट हुन थालिहाल्यो नि । तिमी जहिले मलाई लिन मेरो घरसम्म आउन थाल्यौ, मलाई डान्स क्लाससम्म छाडिदिन्थ्यौ ।

संजोग : त्यसपछि त तिमीले मलाई ड्राइभर नै बनायौ नि ।

वर्षा : हामी दिनहुँजसो भेट्न थाल्यौं । कुराकानी हुन थाल्यो । व्यक्तिगत कुराकानी पनि हुन थाल्यो ।

संजोग : वास्तवमा हामीले एक–अर्कालाई कहिलेदेखि मन पराउन थालेका हौं, तिमीलाई थाहा छ ?

वर्षा : त्यस्तो मन पराउने भन्ने नै छैन नि । हामीले अहिलेसम्म एक–अर्कालाई आइ लभ यूसमेत भनेका छैनौं । अँ...मलाई सम्झना आयो । एउटा पार्टीमा मैले एक बोतल बियर पिएको तिमीलाई मन परेनछ । तिमी केही दिनसम्म मसँग बोलेनौ । बिहान–बिहान तिम्रो एसएमएस पनि आएन । मैले एसएमएस गर्दा पनि रिप्लाइ गरेनौ । कैयौं पटक सरी भन्दा पनि माफ गरेनौ । मैले त्यो बेला मात्र थाहा पाएँ, म त तिमीलाई मन पराउन पो थालेकी रहेछु ।

संजोग : वास्तवमा म कहिल्लै ड्रिंक्स गर्दिनँ । तिमीले एक बोतल बियर पिएर हल्का मातेजस्तो गरेको मलाई मन परिरहेको थिएन । मेरो नजरमा जसले ड्रिंक्स गर्छ, त्यो नराम्रो भन्ने छाप परेको थियो । तिमीले मलाई हल्का झर्किएर तिमी आफैं घर जाऊ, म पछि जान्छु भनेपछि मेरो पारा तातेको थियो । त्यसपछि म तिमीसँग बोल्न छाडेको हो ।

वर्षा : फोन र एसएमएसमा धेरै पटक माफी मागेपछि बल्ल तिमी मसँग बोल्न थाल्यौं । त्यसपछि हामी एउटा रेस्टुराँ गएर खाना खाने क्रममा पनि मैले तिमीसँग माफ मागें । तिमीलाई फकाउन मैले कम्ती संघर्ष गर्नुपरेको थियो र ? अबदेखि त्यस्तो गर्दिनँ भनेपछि बल्ल तिमीले मलाई माफ गर्‍यौ ।

संजोग : मैले माइन्ड गर्नु स्वभाविक थियो तर तिम्रो तारन्तारको म्यासेजपछि म तिमीलाई भेट्न बाध्य भएँ । भेटेको केही मिनेटमै तिमीले मलाई कन्भिन्स गरिहाल्यौ नि ।

वर्षा : मेरो जीवनमा तिम्रो स्थान के रहेछ भन्ने कुरा त्यही बेला फिल भयो । त्यही बेलादेखि हामीले मनमनै एक–अर्कालाई मन पराउन थालेका हौं कि
भन्ने लाग्छ ।

संजोग : मलाई पनि त्यस्तै भएको थियो । यद्यपि हामीले एक–अर्कासमक्ष अहिलेसम्म आधिकारिक रूपमा प्रस्ताव राखेका छैनौं ।

वर्षा : अब एकैपटक तिमी विवाहको प्रस्ताव राख न त ।

संजोग : प्रस्ताव भन्ने कुरा त्यति सजिलो छ र ! एउटा गुलाबको फूल दिएर आई लभ यू भन्दैमा जीवन चल्दैन । त्यो त विशेष हुन्छ । विवाह अथवा इन्गेज्मेन्ट भन्ने कुरा यादगार हुुनुपर्छ ।

वर्षा : कहिलेदेखि मसँग प्रेममा परेजस्तो लाग्यो ?

संजोग : त्यो त अहिलेसम्म पनि लागेको छैन (ठट्टा गरेको है) । वास्तवमा म हतारमा थिइनँ र छैन पनि । हामी कामका क्रममा यति धेरै नजिकियौं कि आई लभ यू, म तिमीलाई माया गर्छु भनिरहनै परेन । हामी हरेक दिन एक–अर्कालाई माया गरिरहेकै हुन्छौं । माया फिल गर्ने कुरा हो, जुन हामीले मनबाट गरिरहेका छौं ।

वर्षा : विवाह कहिले गर्छौं त ?

संजोग : म त तयार छु, तिमी पनि छौ त ?

वर्षा : नाइँ, अहिले नगर्ने । अहिले त धेरै पैसा कमाउनु छ । कति धेरैलाई पार्टी दिनुपर्छ ।

संजोग : विवाहका लागि अहिले हतार पनि छैन । विवाह गरेको भोलिपल्ट मैले तिमीलाई ल अब तिमी फिल्म नखेल भन्न मिल्दैन । तिमी पनि अभिनयमा व्यस्त छौं, म पनि आफ्नै काममा व्यस्त छु । सबै कुरा सेटल भएपछि हामी विवाहका लागि तयार हुनेछौं । त्यसका लागि अझै केही वर्ष लाग्छ ।

वर्षा : विवाहपछि तिम्रो परिवारलाई मैले चलचित्रमा अभिनय गरेको मन परेन भने ?

संयोज : एउटा कुरामा तिमी भाग्यमानी छौ । तिमी विवाहपछि जुन परिवारमा आउनेछांै, त्यो परिवार धेरै वर्षअघिदेखि चलचित्र क्षेत्रसँग सम्बन्धित छ । त्यसैले यो मामिलामा ढुक्क भए हुन्छ ।

वर्षा : मेरा बारेमा तिम्रो परिवारलाई थाहा छ कि छैन ?

संजोग : सारा संसारलाई थाहा भएको कुरा मेरो परिवारलाई थाहा नहुने त कुरै भएन नि । वास्तवमा मेरा अभिभावकले मलाई आफ्नो बाटो आफैं रोज्न स्वतन्त्रता दिनुभएको छ ।

वर्षा : मेरो घरमा चाहिं ममीले सबैभन्दा पहिले थाहा पाउनुभयो । अहिले पो हाम्रो समाचार, अन्तर्वार्ता आउँदा मलाई लाज लाग्न थालेको छ । ल भन त मेरो मन पर्ने बानी के–के छन् ?  

संजोग : तिमी हँसमुख छौ, त्यही बानी असाध्यै मन पर्छ । तिम्रो दुनियाँ नै अलग छ । म प्राय: व्यापारका क्रममा टेन्सनमा हुन्छु, त्यति बेला तिम्रा स–साना गतिविधिले नै म आफ्ना सारा पीडा बिर्सन्छु । तिम्रो केयरिङ नेचर पनि मन पर्छ अनि मेरो मनपर्ने बानी भन त ।

वर्षा : तिमीले गर्ने व्यवहार नै मलाई मन पर्छ । सानादेखि ठूलासम्मलाई गर्ने तिम्रो व्यवहारबाट म प्रभावित छु । अनि सुन न, भ्यालेन्टान्इन्स डे आउँदैछ, कसरी सेलिब्रेट गर्ने ?

संजोग : मलाई भ्यालेन्टाइन्स डेप्रति खासै रुचि छैन, किनभने हामी प्रत्येक दिन प्रेम दिवस मनाइरहेकै छौं, तर तिमी भन्छौ भने यसपटकको भ्यालेन्टाइन्स डेमा सँगै डिनर गरौं ।

वर्षा : हुन त तिमी मलाई सरप्राइज दिन सिपालु छौ, यसपटक पनि केही विशेष नै होला नि †

संजोग : हामी कुनै पनि खुसी एक्ला–एक्लै सेलिब्रेट गर्दैनौं । हामी दुवैका धेरै कमन फ्रेन्डस छन् । सामूहिक रूपमै सेलिब्रेट गरौंला नि यस पटकको भ्यालेन्टाइन डेलाई ।

प्रकाशित: फाल्गुन ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्