प्रेमानुभूति

- भगवति बस्नेत

फाल्गुन १, २०७३- 

पन्छीलाई जस्तै पिंजडामा राख्न सक्दिन म तिमीलाई । म त तिमीलाई माया गर्ने मान्छे, तिम्रै खुसी चाहन्छु । त्यसैले त तिमीलाई चरा जस्तै खुल्ला आकासमा उड्न छाडीदिएकी हुँ । हुन त प्रेम आफै स्वतन्त्र छ । 

 

प्रेमलाई कस्समले बाँधेर तोड्नु भन्दा कस्सम नखाएकै जाती हुन्छ । आफूले माया गर्ने मान्छे फूल जस्तै हुँदा आफ्नो मन पनि पुतली जस्तै भैदिन्छ । जतिबेला पनि उसैको वरीपरी डुलिरहुँ जस्तो । लाग्छ प्रेम भनेको सदैव जिवन्त हुनुपर्छ । कसैले शिरमा सजाईरहेको फूल हेरेर टोलाउनु यति मिठो हुँदोरहेछ प्रेम । कति शान्त, कति निश्छल । भिज्नका लागि पानी पर्नु नपर्ने, उड्नका लागि प्याराग्लाइडिङ गर्नु नपर्ने, नशामा डुब्नका लागि मादक पदार्थ पिउनु नपर्ने, मुस्कुराउनका लागि कुनै ठूलै खुसीको खबर सुन्नु नपर्ने, नाँच्नका लागि संगीत नचाहिने, हाँस्नका लागि कसैले जिस्काउन नपर्ने ।

 

 प्रेमको महसुसले यी सब चीजहरु आफै पाइन्छ । यसै भन्छन् प्रेमीहरु । मान्छेको हरेक पल एउटै तरिकाले बितेको हुँदैन । एकैदिनमा अनेकौं रंगका जीवन ऊ बाँचिरहेको हुन्छ । अस्थिर मनलाई आफूले चाहेको ठाउमा हिंडाउन कठीन डोर्‍याउँन सारो, टिकिरहन त झनै गाह्रो । तर, जीवन यात्रामा त्यागपछिको शाश्वत प्रेमको फल अतिनै सुन्दर अनि मिठो जुन कुनै सांसारिक मूल्यले चुकाउन र भौतिक बस्तुले किन्न नपाईने अद्भुत हुने गर्छन् । त्यस्तो प्रेम पाउने भाग्यमानी र उसको जीवन धन्य पनि हुनेछ । 

 

जुन प्रेम पबित्र हृदयको छहराबाट छङ्छङी बगिरहने अपार शाश्वत प्रेम सुक्नेको कुनै गुञ्जायस नै हुँदैन । फूल झैं कोमल, हिउँझैं कञ्चन र गंगाझैं पबित्र निश्वार्थ हुन्छ प्रेम । प्रेमको अदृश, अथाह, अपारताको बयान गरेर कहिल्यै सकिदैन । कोहि बुझ्नेले बुझोस् आँखा भएकोले देखोस्, कान भएकोले यसको आवाज सुनोस् अनि प्रेमको मधुर रसको अनुपम स्वाद लेओस् । जुन एक अद्भुत, अनुभूति हो । 

 

हरेक मान्छेको एउटा न एउटा रहर हुन्छ । त्यो रहर पुरा गर्नलाइ नानाथरीका सपनाहरु देख्छन् । कतिपय पुरा हुन्छन्, ति सपनाहरु त कतिपय अधुरै रहन्छन् । रहर र चाहना पुरा गर्ने एउटा सपना बोकेर मुग्लान पस्छन् कैयौं अभिलाषीहरु । आफ्नै मनलाइ टुक्रयाएर, फेरी टुक्रिएको मनलाई जोड्ने असफल प्रयासमा बिरही बन्छन् । प्रेम सानो कुरामा हुन्छ । सानो चिजमा हुन्छ सानै रुपमा हुन्छ । अनुभुत र महसुस त आफैले गर्नुपर्छ । कुनै ठूलो मुल्य चुकाउनु पर्दैन । सोच र कल्पना नगरेकै चिजमा प्रेम हुन्छ । प्रेमको नजरले हेर्यौं भने दुनियाँ प्रेम नै देखिन्छ । 

 

एउटा गुलाफको फूललाई हेरौं काँडाले गरेको प्रेम जसले उसलाई सुरक्षा दिइ रहेको हुन्छ । जसरी एउटा पंछीलाई गुँडले, समुन्द्रलाई खोलाले, चैतमा खहरिएको बगरलाई बर्षांतले अनि त्यो किताबको पन्नालाई गातोले प्रेम गरीरहेको हुन्छ । प्रेम यस्तै–यस्तै चिजमा हुन्छ । पोखिइ जाने पानीलाई बोतलले, बसन्त ऋतुलाई पालुवाले, यो धर्तीलाई आकाशले अनि हलोलाई एउटा किसानले प्रेम गरिरहेको हुन्छ । 

 

सोचौ एउटा अबोध दुधे वालकलाई तिनै आमाले दिएको प्रेम कति महान छ । गोधुलीपख पिंढीको डिलमा च्युँडोलाई दुई घुँडाको सहाराले अड्याई टोलाएकी ती बुढीआमाको सामु बर्षौंदेखि हराएको सन्तान पुग्दाको क्षणलाई महसुस गर्न सक्छौं । एउटा माझीले डुंगालाई गर्ने प्रेमलाई महसुस गर्न सक्छौ । प्रेम मुस्कानबाट शुरू हुँदै आँसुमा अन्त्य हुन्छ । आँखाबाट निर्दोष आँसुहरु अनायासै भेल बनेर बगेको धेरैले देखेका छन् । 

 

तर, आँसुमा लुकेको पीडालाई कहिल्यै कसैले मुल्यांकन गर्न सक्दैन । कारुणिकता आासुमा नभएर ह्दयमा लुकेको हुन्छ । जुन हेर्न खोजेर देखिदैन महसुस गर्न सक्नुपर्छ । एउटालाई आश देखाएर अरूको जिन्दगी रंगिन बनाउनेहरुलाई के थाह साँचो र चोखो प्रेमको अनुभुतिको चोट कस्तो हुन्छ । ‘जीवनमा को–को आएर गए’ भन्ने कुरा मुख्य होइन’ को आएर जीवनमा बसिरह्यो’ भन्ने कुराचाहिं मुख्य हो । 

 

हिजोसम्म जीवन ठूलो हो भन्ने लाग्थ्यो आज जीवन भन्दा नि खुसी ठूलो रहेछ भन्ने आभास भैरहेछ । जीवनमा एक जनाले घात गर्यो र, साथ छोड्यो भन्दैमा हामीले आफूले आफ्नो प्रेमलाई दोष दिनु उचित होइन । गल्ती न त प्रेमको हुन्छ, न त प्रेम गर्नेको । गल्ती त प्रेम नबुझ्ने र घात गर्नेको हुन्छ । एउटै घटनाले जीवन सकिदैन । आँसु त पानीको वाफ जस्तै हो । पानीलाई जति बढी समय उमाल्यो त्यसले त्यति नै वाफको रुप लिने गर्छ । पीडा पनि जति गहिरो हुन्छ आँसु त्यही अनुपातमा बहन्छ । 

 

प्रेममा दम बढी हुन्छ, त्यसैले विछोडमा पीडा पनि उत्तिकै पीडा गहिरिन्छ । आँशुको कुनै रंग हुँदैन । नभए भिजेको सिरानीले सप्पै पोल खोलिदिन्थ्यो होला । अटुट सपना देखाउनेहरु त आफ्नो दुनियाँमा हराए । तर, सपना देख्ने आाखाहरु भने अझै बाटो हेरिरहन्छन् । “प्रेम कहिल्यै स्वार्थी थिएन । स्वार्थि थिए त प्रेम गर्ने दुनियाँका मानिसहरु । प्रेमले कहिल्यै अरुलाई चोट दिनुपर्छ भनेर सिकाएन । सिकाए त चोट दिएर जाने निष्ठुरीहरुले । 

हामीले पाएको आँशुको बदला हामीले पनि आँशु नै दिन चाह्यौ भने यहाँ प्रेम नभई स्वार्थ मात्र हुनेछ । सर्बप्रथम हामीले आफूले आफैलाई प्रेम र बिश्वास गर्नुपर्छ । तब संसारलाई बुझ्न सक्छौं अरूलाई त सबैले चिनेको, बुझेको हुन्छ । त्यसैले आफूलाई चिन्ने अनि बुझ्ने कोसिस गर्नु । पहिले आफैलाई प्रेम गरांै, भरोसा गरौं आत्मबिश्वास जगाऔं, “सम्बन्ध रगतको नाताले हुँदैन, सम्बन्ध विश्वासले हुन्छ ।

 

यदि विश्वास छ भने पराइ पनि आफ्नो हुन्छ यदि विश्वास छैन भने आफ्नो पनि पराइ हुन्छ । जीवनलाइ आफ्नै ढङ्गले बुझौं । आफ्नो अनुकुलताको आधारमा जीवन बाँचौ अरुको चित्त बुझाउन लाग्यौं भने कहिल्यै सन्तुष्टि मिल्ने छैन । बुझ्नेलाई जीवन एउटा मीठो सङ्गीत हो । प्रेम बिश्वासमा रोपिन्छ, भरोशामा बढ्छ, श्रद्धामा फक्रिन्छ, आशामा जिउँछ । प्रेम, विश्वास र शिष्टताले सम्बन्धहरु गाँसिदै जान्छन् । 

 

यो साझा धर्ति, खुल्ला आकाश मन्द–मन्द पवनको सुवासमा सुन्दर जीवनलाई अथाह प्रेमको सागरमा डुबाउँदै जीवनका हरेक ओराली उकाली अनि साँघुरा घुम्ती पार गरौं । यस्तो जीवन बाँचौं, भोली कुनै पनि समयमा पुगेर जीवनलाई पछाडी फर्केर हेर्दा अनुत्तरित प्रश्न र पश्चाताप नभई खुसी र सन्तुष्टिले आफ्ना हात फिजाउँन सकियोस् ।

 

प्रकाशित :फाल्गुन १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्