प्रेममा डुब्न गहिरो प्रेम हुनुपर्छ

- अश्विनी कोइराला

फाल्गुन १, २०७३

 

म धर्म गुरु हुँ तर बजारमा देखिने तथाकथित धर्म गुरु जस्तोचाहिँ होइन । एउटा अर्थमा तिमी मलाई प्रेम गुरु पनि भन्न सक्छौ । संसारभरिका धर्म गुरुहरूले नारी–पुरुषका प्रेमलाई गाली गरे । धेरैले नारीलाई भिन्दै र पुरुषलाई भिन्दै सन्यासी बनाए । कतिपयले त नारीलाई सन्यासी बन्नबाट समेत रोके । मैले दुवैलाई सन्यास दिएँ । दुवैलाई सँगै बस्ने अनुमति दिएँ । त्यतिमात्र होइन, दुवै यदि शारीरिक सम्पर्क राख्छन् भने पनि त्यसलाई रोकिन । धेरैले त्यसको विरोध गरे । मेरा सन्यासीहरूलाई जति दु:ख दिन सक्थे, दिए । संसारभरबाट मलाई गालीका पत्रहरू आउँछन् र त्यसमा धर्मलाई भ्रष्ट बनाएको तर्क गरिन्छ । त्यस्ता नासमझ व्यक्तिहरूलाई जवाफ दिनुपर्ने आवश्यकता छैन । यद्यपि मैले मेरा सन्यासीहरूलाई त्यसको कारण के हो, स्पष्ट पार्नुपर्छ । 

 

प्रेम के हो ? सबैभन्दा पहिले त्यो बुझ्नुपर्छ । जीवनको ऊर्जा या त प्रेम बन्छ या त्यो ऊर्जा भयमा रूपान्तरण हुन्छ । दुनियाँका धर्म गुरुहरूले भयका माध्यमबाट ईश्वरतर्फ लाने प्रयास गरे । भयका माध्यमबाट कोही ईश्वरसम्म पुग्न सक्छ ? भयले मानिसलाई ईश्वरसम्म पुर्‍याउन सक्छ ? भयले प्रतिरोध जन्माउन सक्छ तर भयले मुक्ति दिन सक्दैन । भय त विष हो, चाहे त्यो विष परमात्माले दिएको भाँडोमै किन नराखिएको होस् । त्यसैले यो संसारको हजारौं वर्षको आयुमा हजारौं धर्मगुरु देखा परे तर विश्व धार्मिक हुन सकेन । संसार सुन्दर हुन सकेन, प्रेमील हुन सकेन । यसको कारण मानिस आत्मिक हुन नखोजेर होइन, उनीहरूलाई धार्मिक बन्न दिइएन । आश्चर्य नै हो, यस्तो अवस्थामा पनि कसरी एक–दुई व्यक्ति प्रेमील र धार्मिक हुन पुगे । उनीहरू कसरी धर्म गुरुको प्रभावबाट जोगिए, त्यो सम्झँदा नै मलाई अचम्म लाग्छ । 

 

धार्मिक गुरुहरूले भने, ‘संसारलाई घृणा गर तर परमात्माको डर राख । त्यसो भयो भने तिमीले आफ्नो आचरण पालन गर्न सक्छौं र ईश्वरले तिमीलाई माया गर्नेछन् ।’ यसो भन्नुको अर्थ बालबालिकालाई अँध्यारोमा हिँड्न रोक लगाउन आमा–बुवाले बाहिर भूत छ भनेर डर देखाए जस्तै हो । बाहिर भूत छ कि छैन, त्यो आमा–बुवाको सरोकारको विषय हुँदै होइन । छोराछोरी वाहिर नजाऊन् भनेर भूतको कुरा गरिएको भन्ने कुरा बालबालिकालाई थाहा हुँदैन । हाम्रा धार्मिक गुरुहरूले मानिसलाई आफ्नो प्रभावमा राख्न सधैं संसारलाई घृणा गर्न सिकाए र ईश्वरको भय मनमा राखिदिए, आमाबुवाले शिशुलाई बाहिर भूत छ भनेजस्तै । 

 

एउटा सामान्य कुरा, जसले संसारलाई घृणा गर्छ, ऊ संसारमा कसरी खुसी रहन सक्छ । मेरो भनाइ छ, यो संसारलाई माया गर । यहाँका सबै राम्रा कुरालाई माया गर । राम्रा स्त्री–पुरुष, सम्पत्ति एवं सौन्दर्यलाई माया गर अनि यी सबै बनाउने ईश्वरलाई पनि प्रेम गर । जसले यो संसार र यसका राम्रा पक्षलाई माया गर्न सक्दैन, उसले कसरी ती सबैलाई माया गर्छ ? तिमी कसरी भन्न सक्छौ, हे परमात्मा, म तिमीलाई प्रेम त गर्छु तर तिमीले बनाएका सबै कुरालाई घृणा गर्छु । यो त साह्रै अज्ञानी कुरा भयो । तिमी कुनै पुस्तक वा चित्र मन पराउँछौं तब मात्र तिमी त्यो व्यक्तिको खोजी गर्न थाल्छांै, जसले यी कुरा सिर्जना गरे । तिमीले कुनै लेखक वा चित्रकारलाई कसरी भन्न सक्छौ, म तिमीलाई त माया गर्छु तर तिम्रो सिर्जनालाई घृणा गर्छु । छक्क पर्नै पर्दैन, हाम्रा अधिकांश गुरुले धर्मका बारेमा यस्तै वाहियत कुरा गरेका छन् । सृष्टिलाई माया नगरी कसरी श्रष्टालाई मात्र माया गर्न सकिन्छ ? त्यसैले म पहिले कवितालाई माया गर्न सिकाउँछु अनि विस्तारै कवितर्फ इशारा गर्न थाल्छु । 

 

मैले आम मानिसको प्रेमलाई महत्व दिनुको कारण पनि यही हो । एउटा पुरुष वा युवकले कुनै स्त्री वा युवतीलाई जसरी प्रेम गर्छ, त्यसले विराट प्रेमको झलक दिन्छ । कुनै महिलाले आफ्नो प्रियतमलाई जसरी प्रेम गर्छे, त्यसले शास्वत प्रेमतर्फ इसारा गर्छ । तिमीले याद गरेका छौ, जब कुनै युवतीले कुनै पुरुषलाई प्रेम गर्छे, उसले आफ्नो प्रेमीलाई सबैथोक मानिरहेकी हुन्छे । आफ्नो सारा जीवन उसैलाई समर्पण गरिरहेकी हुन्छे । त्यति बेला त्यो प्रेमी पुरुष रहँदैन, महापुरुषमा परिणत भैरहेको हुन्छ । अरुका लागि ऊ सामान्य व्यक्ति हुन्छ तर प्रेमीकाका लागि ऊ महान सम्राट हुन्छ । एउटा सामान्य व्यक्तिमा सम्राटको झलक पाउनु नै प्रेमको महानता हो । 

 

रामकृष्ण परमहंश बेला–बेलामा एउटा प्राचीन कथा सुनाइरहन्थे । त्यो कथा मलाई पनि प्रीतिकर छ । एकपटक एकजना मुसलमान सम्राट आफ्नो मन्त्रीसँग कुनै कारणवश असाध्यै रिसाए, जस्तो सम्राटहरूको स्वभाव हुन्छ । उनले ती मन्त्रीलाई आफ्नो सबैभन्दा अग्लो मिनारको माथिल्लो खण्डमा बन्द गरिदिए । मन्त्रीसँग वाहिर निस्कने कुनै विकल्प थिएन । माथिबाट हामफाल्यो भने ज्यान जान सक्थ्यो, वाहिर आउने सम्भावना थिएन, कारण तल आउने सिँढीको माथिल्लो खण्डमै भोटे ताल्चा लगाइएको थियो । मन्त्रीकी श्रीमतीले राजासँग हारगुहार गरिन् तर उनको केही लागेन । अन्तत: उनी सहरबाहिरको सानो कुटीमा बस्ने एक साधुसँग समस्याको समाधान माग्न पुगिन् । साधुले टाढैबाट देखिने अग्लो मिनारतर्फ इसारा गर्दै भने, ‘यो सामान्य खालको मिनारबाट निस्कन सम्भव छ, किनभने म त्यो भन्दा अग्लो मिनारमा कैद थिएँ ।’ ‘के तपाईं पनि मिनारमा कैद हुनुहुन्थ्यो ?’ ‘मिनारमा त होइन तर कैद थिएँ, मिनारभन्दा अग्ला धेरै कुरामा कैद थिएँ ।’

 

‘कसरी निस्कनु भयो ? तपाईं जसरी कैदबाट निस्कनुभयो, त्यसैगरी मेरो श्रीमान्लाई पनि निकाल्नु पर्‍यो ।’ मन्त्री पत्नी रुन थालिन् । ती साधु कुटी बाहिर निस्किए । केही क्षणमै फर्कंदा उनको हातमा एउटा किरा थियो । उनले किराको खुट्टा पातलो रेसमको डोरोले बाँधिदिए । कीराको नाकको छेउमा कुनै भक्तले चढाउन ल्याएको मह दलिदिए । त्यसपछि रेशमको धागोको डल्लो दिँदै मन्त्री पत्नीलाई साधुले भने, ‘तिमी मिनारमा जाऊ र मिनारको भित्तोमा यो किरालाई छाडिदेऊ । उसको खुट्टामा बाँधिएको रेशमको धागोमा यो धागो गाँसिदेऊ । कीरा आफ्नो नाकमा आइरहेको महको गन्ध पच्छाउँदै माथि चढ्छ । अब यो धागोमा अलिकति मोटो धागो गाँसिदेऊ ।

 

कीरा माथि चढ्दै जान्छ । माथि पुग्ने बेला अर्को मसिनो डोरी त्यसमा गाँसिदेऊ । जब तिम्रो पतिले रेशमको धागो बोकेर उक्लिएको कीरा फेला पार्छ, उसले विस्तारै त्यही डोरीबाट तिमीले बाँधेको धागो र डोरी भेट्छ । त्यही डोरीको सहाराले तिम्रो पति मिनारबाट कैद हुनेछ । नभन्दै मन्त्रीकी श्रीमतीले त्यसै गरिन र आफ्नो श्रीमान्लाई कैदबाट छुटाइन् । रामकृष्ण भन्थे, यो संसार किराको खुट्टामा बाँधिएको मसिनो डोरी जस्तै हो । अहिले तिम्रो प्रेमको डोरी यस्तै मसिनो छ । यही प्रेमका कारण संसार बाँच्न लायक भएको छ । यसले तिम्रो दु:खलाई सम्हाल्ने शक्ति दिएको छ । हाम्रा धर्मगुरुहरू तिमीले समातेको त्यही प्रेमको धागो पनि छाड भन्छन् । म भन्छु कदापी नछाड । तबसम्म नछाड, जबसम्म तिमीले भरपर्दो अर्थात् मोटो ईश्वरीय डोरी फेला पार्दैनौ । 

 

अर्को कुरा पनि छ । मैले यो प्रेमलाई स्वीकार गर, यही प्रेम महत्वपूर्ण छभन्दा तिमीलाई यही नै अन्तिम सत्य रहेछ भन्ने पर्न सक्छ । फेरि म गलत रूपमा ब्याख्या हुन सक्छु । यो प्रेम ठीक छ भन्नुको अर्थ यो नै अन्तिम प्रेम हो भन्ने होइन । पहिले यो प्रेम बुझ, यसका राम्रा पक्ष महसुस गर तर विस्तारै यो प्रेमले तिमीलाई अझ गहिरो प्रेमको भोक लगाउँछ, त्यतिबेला तिमी आफ्नी प्रेयसीलाई पनि धन्यवाद दिन्छौं, आफ्नो प्रेमीलाई धन्यवाद दिन्छौं । त्यसपछि तिमी अझै गहिरो प्रेमको खोजीमा निस्कन्छौं ।

 

पहिले संसारको प्रेम र त्यसबाट पाइने सन्तुष्टिको अनुभव भएपछि मात्र मानिस वास्तविक प्रेमको खोजीमा लाग्छ । प्रेमको अनुभव गर्नै नपाएको मानिसलाई शाश्वत प्रेम हुन्छ भन्ने कुरा बुझाउन सकिँदैन । म पटक–पटक भन्छु, ‘नारी पुरुषको प्रेम एक लोटा पानी हो । यो कुनै पनि बेला रित्तिन सक्छ तर ईश्वरीय प्रेम सङ्लो नदी हो । यहाँ निरन्तर प्रेम बगिरहेको हुन्छ । जबसम्म तिमीले प्रेमको सानो स्पर्श अनुभव गर्दैनौ, तिमीलाई धर्मगुरुहरूले भन्ने प्रेम वकवास लाग्छ । तिमी तिर्खाएका छौं, तिम्राअघि एक लोटा पानी छ भने पिइदेऊ । यो गलत हो कि सही हो भन्ने चिन्ता नगर । जब त्यो पानीले पनि तिमीलाई तृप्ति दिँदैन, त्यति बेला बुझ, तिम्रा लागि अरू कतै प्रेमको पोखरीले नै कुरिरहेको छ । 

 

स्त्री–पुरुषको प्रेमको चर्चा गर्दा मलाई रामकृष्ण परमहंस र शारदाको प्रेम सम्झना आउँछ । रामकृष्ण शारदाका लागि साक्षात ईश्वरीय रुप थिए । उनका चेलाहरूले पनि उनलाई साक्षात इश्वर मान्थे । उनको एउटा दैनिकी थियो । विहान नित्य कर्म सकेर रामकृष्ण आफ्ना चेलालाई प्रवचन दिन्थे । १० वजे खाना तयार भएपछि शारदा उनलाई बोलाउन आउँथिन् । खाना खाउन्जेल उनी पंखा हल्लाएर बस्थिन् । खाना खाएपछि लोटा बोकेर हात चुठ्ने ठाउँमा पुग्थिन् । उनले रामकृष्णलाई ‘परमहंस’ भनेर सम्बोधन गर्थिन् । यसरी एउटा प्रेमील जीवन चलिरहेको थियो । 

 

रामकृष्णलाई एकपटक घाँटीमा समस्या भयो । डाक्टरले चेक जाँच गर्दा घाँटीको क्यान्सर भएको पत्ता लाग्यो । क्यान्सर फैलिसकेको थियो । बाँच्ने उपाय थिएन । डाक्टरले सत्य कुरा बताइदिए । यत्रो वर्ष आनन्दपूर्वक रमाइरहेकी शारदा डाँको छाडेर रुन थालिन् । रामकृष्ण छक्क परे । उनलाई लागेको थियो, शारदाले उनलाई सच्चा प्रेम गर्छिन्, उनले त शरीरलाई पो प्रेम गरेकी रैछिन् । ‘तिमीले मलाई प्रेम गरेकी हौ कि मेरो शरीरलाई ?’ रामकृष्णले भने, ‘मेरो शरीरलाई प्रेम गरेकी हौ भने ठिकै छ, बाँचुन्जेल मेरो सेवा गर । मरेपछि तिम्रो मप्रतिको श्रद्धा आफै हराएर जानेछ तर मलाई प्रेम गरेकी हौ भने यो श्रद्धा, यो प्रेम सधैं एक समान रहनेछ । म मरेपछि पनि मेरो श्रद्धा जस्ताको तस्तै रह्यो भने तिमीले कुनै पनि कुरा परिवर्तन गर्नुपर्दैन ।’

 

केही समयपछि रामकृष्णको मृत्यु भयो । यति गम्भीर प्रेम गरेकी शारदाले रामकृष्णको मृत्युमा एक थोपा पनि आशुँ खसाइनन् । मानिसहरूलाई लाग्यो, शारदामा गम्भीर मानसिक आघात पर्‍यो । शारदाले चुरा फुटाइनन्, बस्त्र परिवर्तन गरिनन् । त्यतिबेला हिन्दु बाहुल क्षेत्रमा कुनै स्त्रीले यसो गर्नु अनौठो कुरा मानिन्थ्यो । शुभचिन्तकहरूले आघात अझ बढ्छ भनेर चुरा फुटाउन र स्वेत वस्त्र लगाउन कर पनि गरेनन् । भोलिपल्टदेखि शारदाले आफ्नो सेवा उसैगरी जारी राखिन् । विहान उनी रामकृष्णलाई ओछ्यानबाट त्यसैगरी उठाउँथिन् । ‘उठ्ने बेला भयो परमहंस, हेर्नुस् त भक्तजन आइपुगे ।’ उनी भान्सामा एक–दुई घन्टा हराउँथिन् र रामकृष्णलाई मनपर्ने मिठा–मिठा परिकार पकाउँथिन् ।

 

१० बजेतिर भक्तजन बसेको स्थानमा पुग्थिन् र कुर्सीतर्फ फर्केर भन्थिन्, ‘खाना तयार भयो परमहंस, उठ्नु होस् ।’ उनको त्यो दशा देखेर केही मानिस हाँस्थे र केही रुन्थे । ‘विचरी,’ सबैले भनिरहेका हुन्थे । उनी पस्किएको खानाअघि त्यसैगरी पंखा हल्लाउँथिन् र चुठ्न पानी लिएर चुठेल्नातिर पुग्थिन् । यो क्रम वर्षांै जारिरह्यो । केही मनोवैज्ञानिकले कतै उनलाई साच्चै नै मानसिक आघात परेको त होइन भनेर जाँचे पनि तर उनी पूर्ण स्वस्थ थिइन् । वास्तवमा रामकृष्ण मृत्युपछि पनि शारदाका लागि जीवित थिए । जो प्रेममा साँच्चै नै समर्पित हुन्छ, उसले मृत्युलाई पनि जित्छ । 

 

प्रकाशित :फाल्गुन १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्