पिर–ती

- नवराज पराजुली

फाल्गुन १, २०७३- 

राधा,

मन त मलाई पनि छ 

आकाशका लहराहरूमा लटरम्म तारा फलेको रात 

म ती ताराहरूलाई टिप्दै मिलाउँदै, टिप्दै मिलाउँदै 

आकाशमा एउटा ठूलो पानको पात बनाऊँ 

र 

त्यसभित्र 

ताराकै अक्षरहरूले तिम्रो र मेरो नाम लेखिदिऊँ

 

तर 

आँखैअघि देख्छु 

सुनकोसीमा मरेर ढाडिएका वस्तुभाउ बग्दैछन् 

वस्तुकै भाउमा मरेर ढाडिएका मानिसहरू बग्दैछन् 

अनि कुहिएर गन्हाएका तिनै लासहरू पन्छाउँदै

त्यही पानी पिइरहेका छन् साना केटाकेटीहरू,

जो आकाशका ताराभन्दा पनि धेरै छन् 

मैले आकाशतिर हेर्दाहेर्दै 

बर्रर झर्छन् आकाशमा फलेका ती ताराहरू 

जसरी

केटाकेटीहरूले बयरको बोट हल्लाउँदा

बर्रर झर्छन् बयरहरू 

राधा 

जब म तारा टिप्न खोज्छु 

डर लाग्छ 

कतै म तिनै साना भाइबहिनीहरूका

आँखा त टिपिरहेको छैन † 

डराएको मनले लगाएको पिरतीमा 

पीर मात्र बाँकी रहँदो रहेछ 

मन त मलाई पनि छ 

तिमी र म सँगै बग्दै–बग्दै 

एक्लै बगिरहेको खोलामा पुगौं,

र हाम्रा ताता खुट्टालाई 

खोलाको चिसो पानीमा चोबिरहूँ

र पानीभित्र 

हाम्रा खुट्टाका औंलाले 

औंलाको गाँठो बनाउँदै–फुकाउँदै, बनाउँदै–फुकाउदै गरौं ।

तर 

आँखैअघि देख्छु 

जिन्दगीको मोल 

सिटामोलको आभावसँग बिक्री भैरहेछ 

आँखैअघि देख्छु 

पिठ्युँमा बिरामी छोरो बोकेर हिँडेको बाबुले 

अस्पतालसम्म केवल डोकोलाई मात्र पुर्‍याउँछ 

पिठ्युँमा मरेको छोराको लास र

छातीमा आफ्नै मरेको श्वास बोकेर

घर फर्किरहेको बाबुको आँखा

म त्यो खोलाभन्दा बढी भिजेको देख्छु 

राधा 

जब म खोलामा मेरा खुट्टा चोब्न खोज्छु 

डर लाग्छ 

कतै म तिनै बाबुको आँसुले 

आफ्नो पैताला त पखाल्दै छैन ?

डराएको मनले लगाएको पिरतीमा 

पीर मात्र बाँकी रहँदो रहेछ 

मन त मलाई पनि छ 

तिम्रो परेलीको गाजलमा मेरो औंला चोबेर 

तिम्रै आँखाका बारेमा एउटा कविता लेखिदिऊँ 

अनि 

मेरो छातीको देब्रे भित्तालाई फेसबुकको भित्ता बनाएर

कसैले नदेख्ने गरी पोस्ट गरिदिऊँ त्यो कविता,

जसलाई केवल मेरो मुटुले ‘लाइक’ गर्न मिलोस्

जसमा केवल मेरो मनले ‘कमेन्ट’ गर्न मिलोस्

जसलाई केवल मेरो आत्माले ‘सेयर’ गर्न मिलोस् 

तर 

अयोग्य घोषित भएको एउटा लडाकु 

मेरा आँखामा आँखा जुदाएर भन्छ 

तैंले मलाई बिर्सेलास् 

तर यो नबिर्सिनु—

यो देशको राष्ट्रिय फूल लालीगुराँस 

आजभोलि यतिविघ्न रातो फुल्नु

मैले यी पहाडहरूमा दस वर्ष बगाएको 

रातो रगतको कारणले गर्दा हो †

राधा 

जब तिम्रा परेली छुन खोज्छु 

डर लाग्छ 

कतै म त्यही लडाकुको सपना देख्ने आँखा छोपिरहेको त छैन †

डराएको मनले लगाएको पिरतीमा 

पीर मात्र बाँकी रहँदो रहेछ 

मन त मलाई पनि छ 

मेरो हातका औंलाहरूलाई काइँयो बनाएर 

तिम्रा सल्लाका पातजस्ता केश सम्याइरहूँ,

जसरी जेठ–असारमा मेरो बुबाले

दाँतेले ब्याड सम्याउनुहुन्छ 

अनि मेरो अँगालोको स्वेटरभित्र 

गुटुमुटु पारेर तिमीलाई छोपिरहूँ,

जसरी पुस–माघमा हुस्सुबाट जोगाउन

परालले आलुका बोटलाई गुटुमुटु पारेर छोप्छ 

तर 

आँखैअघि देख्छु 

एलकेजीमा पढ्ने एउटा बच्चा

बाबुले उसको शुल्क नतिरेको नाममा

परीक्षाहलबाट बाहिर निकालिन्छ 

अनि चौरभरि छरपस्ट छरिन्छन्

परीक्षामा लेख्छु भनेर

उसले जतनले ल्याएका कलिला उत्तरहरू

आँखैअघि देख्छु—

आँखामा टिलपिल–टिलपिल प्रश्न बोकेर 

घर फर्किएको शिशुले 

जब आफ्नो बाबुलाई देख्छ 

तब उसका आँखाबाट खस्छन्

दुई–चार थोपा प्रश्न 

जसलाई उसको बाबुले

चाहेर पनि आफ्नो अँजुलीमा थाप्न सक्दैन 

राधा 

जब म तिमीलाइ अँगाल्न खोज्छु 

डर लाग्छ

कतै त्यो बाबु

आफ्नै छोरोलाइ अँगाल्न पनि डराइरहेको त छैन †

डराएको मनले लगाएको पिरतीमा 

पीर मात्र बाँकी रहँदो रहेछ †

त्यसैले आऊ राधा 

हाम्रो प्रणयलाई साक्षी राखेर हामी एउटा प्रण गरौँ 

हामी हाम्रै जीवनकालमा 

केही यस्तो गर्नेछौं कि 

भोलिका कुनै पनि प्रेमी

कम्तीमा प्रेम गर्न नडराऊन् ।

प्रकाशित :फाल्गुन १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्