पहिलो प्रेम किन बिर्सन सकिँदैन ?

- साप्ताहिक संवाददाता

फाल्गुन १, २०७३-  

आफ्नो मुटु अरूका लागि पहिलो पटक धड्किन्छ भने उसलाई कसरी बिर्सन सकिएला र ?
अनिल स्थापित, डिजाइनर

सम्भवत: पहिलो असफल प्रयास भएकाले हो कि ?
संयम पुरी, नायक

यसको उत्तर पहिलो प्रेम गर्नेहरूलाई थाहा होला । आफूले त एकैपटक धेरै प्रेम गरियो ।
अमनप्रताप अधिकारी, टेलिभिजनकर्मी

यो विषयमा ‘नो आइडिया’ किनभने मेरो पहिलो प्रेम को थियो ? सम्झना छैन । 
नीतु पोखरेल, नायिका

प्रेम बिनाको जीवन अधुरो हुन्छ । जहाँ जीवन त्यहाँ प्रेम, प्रेम गर्न सिक्ने नै पहिलो प्रेमीसँग अनि कसरी बिर्सनु त ?
जान्बी बोहरा, नायिका

पहिलो प्रेम नै प्रेमको सुरुवात भएर होला अथवा विपरीत लिंगीसँग गरिएको प्रेमको पहिलो अनुभूतिले पनि हुनसक्छ । 
आनन्द राई, संगीतकार

सबैको पहिलो प्रेम निष्कलंक, नि:स्वार्थ एवं चोखो हुन्छ अर्थात् मनैबाट गरिएको प्रेम छुटे पनि जुटे पनि मनमा गढेर बस्ने हुनाले कहिल्लै बिर्सन सकिँदैन । 
प्रदीप भट्टराई, निर्देशक

जब हामी पहिलो पटक माया लाउँछौं, हामीले केही फरक महसुस गर्छौं, जुन त्योभन्दा अघि कहिल्यै महसुस गरिएको हुँदैन । त्यसले त्यस्ता फिलिङ्सबाट परिचित गराउँछ, जसको हामीलाई पहिले कुनै अनुभव हुँदैन । यस्तो अनुभव जीवनमा पहिलो पटक मात्र हुन्छ । सम्भवत: पहिलो प्रेम टिकाउ नहोला, तर अविष्मरणीय अवश्य हुन्छ । 
इतु जोजिजु, गायिका

बर्बादीको सुरुवात नै पहिलो प्रेमबाट हुन्छ, अनि कहाँ बिर्सन सकिन्छ त ?
भानुप्रताप, निर्माता/कलाकार

किनभने त्योभन्दा अघि मनमा कोही बसेको हुँदैन ।
देवु श्रेष्ठ, अभिनेता

पहिलो भने पनि अन्तिम भने पनि मेरो त एउटै हो, जति बिर्सन खोज्दा पनि सधैं आँखा अघि हुन्छिन् । 
रामचन्द्र काफ्ले, गायक

एकदमै मनपराएको मान्छेलाई मनमा सजाइन्छ । दुवैले रोजेर, खोजेर कमाएको पहिलो माया हुनाले मन–मस्तिष्कमा छाप बनेर बस्छ, त्यसैले पहिलो प्रेमलाई सहजै बिर्सन सकिँदैन । 
कृष्ण काफ्ले, गायक

मेरो हकमा पहिलो प्रेम हामी जीवनको त्यो क्षणमा गर्छौं जब हामी कसैको इशारामा होइन आफैं स्वचालित हुन्छौं । त्यहीबेला हामीले धेरैभन्दा धेरै रमाइला क्षण बिताउँछौं, माया गर्न सिक्छौं र जीवनको गहिराइ बुझ्छौं । त्यसैले हामी आफ्नो पहिलो प्रेमलाई कहिल्यै बिर्सदैनौं । 
डिजे रुपेश

कुनै पनि कुरा पहिलो पटक गर्दा त्यसको विशेष सम्झना रहन्छ । त्यसमाथि प्रेम जस्तो कुरासँग त अझ भावना, सम्झना र सपना जोडिएको हुन्छ । 
आकाश खड्का, सञ्चारकर्मी

आजसम्म त आफ्नो लभ नै परेको छैन । के पहिलो, के लास्ट ? 
हिमाल श्रेष्ठ, गायक/व्यवसायी

पहिलो प्रेम पहिलो पटकमै फेला पर्छ भन्ने हुँदैन । असल प्रेम फेला पार्न समय लाग्छ । जब त्यो असल प्रेम फेलापर्छ । त्यही हो पहिलो प्रेम पनि । त्यो पहिलो प्रेमलाई यसकारण बिर्सन सकिँदैन, किनभने त्यही प्रेमले मायाको अर्थ बुझाउँछ । 
शिक्षा संग्रौला, मोडल

उत्तर सजिलो छ, पहिलो भएकाले । 
मोहन राई, गायक

दोस्रो र तेस्रो प्रेम सम्झन सकिँदैन । पहिलो प्रेम छाडेर अझ ठूलो चोक्टा पाइन्छ कि भनेर दोस्रो–तेस्रोतिर लम्किएपछि झोलमा डुबेर मरिएला जस्तो हुन्छ अनि ‘हैट, पहिले कै ठीक’ भन्ने लाग्छ अनि कसरी बिर्सन सकिन्छ त ?
कुमार श्रेष्ठ, हास्यकलाकार

आमा–बाबाले दिने मायापछिको पहिलो प्रेम भएकाले । 
दिनेश श्रेष्ठ, निर्देशक

जब–जब मानिस नयाँ प्रेममा पर्छ, त्यसले उसलाई पहिलो प्रेमको अभाष दिलाउँछ ।
हसन खान, नायक

किनभने हरेक कुराको पहिलो अनुभव सबैका लागि बहुमूल्य हुन्छ ।
श्याम लामा, मेकअप आर्टिस्ट

आमाबुवाको मायापछिको प्रेमको पहिलो अनुभूति बेग्लै हुने भएकाले ।
सुवास थापा, निर्माता

प्राय: मानिसको पहिलो प्रेम टिनएजमा हुन्छ, त्यतिबेला दिमागमा अरू कुनै कुरामा चासो हुँदैन । त्यसैले त्यो पहिलो प्रेमलाई बिर्सन गाह्रो पर्छ ।
भावना गुरुङ, नायिका/मोडल

पहिलो प्रेम साँचो र निश्चल हुन्छ । पहिलो प्रेममा विश्वास र आपसी सम्मान पनि हुन्छ । त्यति बेलाको प्रेम बहुमूल्य हुन्छ । सबैभन्दा चोखो र मनले पूजा गरेको प्रेम । 
निलम शाही ठकुरी, फेसन डिजाइनर

किनभने पहिलो पटकको चोटमा जति दुख्छ, दोस्रो चोटमा त्यति दुख्दैन ।
विल्सनविक्रम राई, हास्यकलाकार

मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण दिन हो यो, जब कुनै मानिस कसैको शरीरबाट अलग भएर धर्तीमा जन्म लिन्छ । त्यसरी कसैबाट अलग भएको शरीरभित्रको मुटु एउटा उमेरमा गएर अरू कसैसँग जोडिन पुग्छ, तर भावीले उनीहरूलाई छुटाइदिन्छन् अनि त्यसरी जोडिएको मनलाई चाहेर पनि मानिसले बिर्सन सकिँदैन । 
माइकल चन्द, नृत्य निर्देशक

 

प्रकाशित: फाल्गुन १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्