जोडी खोज्ने नयाँ शैली

- साप्ताहिक संवाददाता

माघ २९, २०७३-  

धेरै युवतीका सपनाका राजकुमार हुन्– चकलेटी नायक आर्यन सिग्देल । सयौं युवतीको मुटुको ढुकढुकी बनेका आर्यनलाई आफ्नो मनकी राजकुमारी फेला पार्नचाहिँ फेसबुक सहयोगी बन्यो । जोरपाटीकी सपना भण्डारीसँग फेसबुक भएकत्त कुराकानी प्रेममा परिणत भयो । पछि त्यही प्रेमलाई उनीहरूले वैशाख ०७२ मा विवाहमा परिणत गरे । 

 

यस्तै कथा छ, सञ्चारकर्मी आनन्द श्रेष्ठको पनि । इजरायलमा रहेकी सुनु श्रेष्ठलाई ४ वर्ष पहिले फेसबुकमै फेला पारेका थिए, उनले । ‘उनीहरूका केही म्युचअल फ्रेण्ड थिए, मैले उनलाई त्यही आधारमा रिक्वेस्ट पठाएँ,’ आनन्दले भने, ‘एसेप्ट भएपछि विस्तारै कुरा अघि बढ्दै गयो । पछि त्यही मित्रता प्रेममा परिणत भयो ।’ तीन वर्षअघि यो जोडीले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्‍यो । ६ वर्षअघि काठमाडौं मलमा फेसन पार्टी भैरहेको थियो । साथीहरूसँगै फेसन पार्टी हेर्न गएका बेला पहिलो पटक भेटिएका थिए— बाराका दिलीप चौधरी तथा ललितपुरकी सोनी तन्डुकार । पार्टीमै उनीहरूले फोन नम्बर साटासाट गरे । पछि उनीहरूबीच नियमितजसो फोन वार्ता हुन थाल्यो । उनीहरूबीचको निकटता प्रेम हुँदै विवाह सम्बन्धमा परिणत भयो । 

 

२०७२ कात्तिकमा बाराका कोल्हवी–४ का २८ वर्षीय प्रवीण तामाङले इटलीकी आफ्नी २१ वर्षीया प्रेमिका फ्रेन्सिस्का इग्नरासँग कानुनी रूपमै विवाह गरेका थिए । विवाहका लागि इग्नरा इटली तारेदेलक्रेबाट बारा, कोल्हवी पुगेकी थिइन् । कुनै समय कल्पना नै गर्न नसकिने यो विवाहको संयोग जुराइदिएको थियो—फेसबुकले । रोजगारीका क्रममा कोरिया पुगेका बेला प्रवीणले फेसबुकमा इग्नरालाई भेट्टाए । च्याटमा कुरा गर्दै जाँदा उनीहरूको सम्बन्ध प्रेममा परिवर्तन भयो । इटली र नेपालको कोसांै लामो दूरी छिचोल्दै आफ्नो प्रेमलाई गाढा बनाउन प्रवीण र इग्नराले फेसबुकको भरपुर प्रयोग गरे । त्यही विकास भएको विश्वासका आधारमा इग्नरा नेपालमै आएर प्रवीणलाई सधैंका लागि आफ्नो बनाइन् । 

 

पछिल्लो समयमा फोन, इन्टरनेट, सामाजिक सञ्जाल एवं पार्टीहरूमार्फत जोडी खोज्ने चलन व्यापक बन्दै गएको छ । यसले नेपाली समाजको परम्परागत जोडी खोज्ने शैलीमा परिवर्तन ल्याइदिएको छ । प्रविधि र इन्टरनेटको उपलब्धता, बढ्दो आधुनिकीकरण तथा सहरीकरणका कारण आधुनिक तन्नेरीहरूलाई बुवाआमाले छान्ने युवा/युवतीलाई पर्खिरहन समय छैन । त्यसो त आधुनिक बुवाहरू पनि जवान छोराका लागि इष्टमित्रका घर धाउँदै बुहारी छान्ने दायित्वबाट मुक्त हुन थालेका छन् । 

 

फेसबुकमा भेटेर विवाह गर्ने नायक आर्यन सिग्देल र सपना भण्डारी हुन् वा आनन्द श्रेष्ठ र सुनु श्रेष्ठ, पार्टीमा भेटेर विवाह गर्ने एक निजी कम्पनीका ग्राफिक डिजाइनर दिलीप चौधरी र सोनी तण्डुकार हुन् वा त समुद्री घेरालाई छिचोल्दै इटली र नेपालबीच वैवाहिक सम्बन्ध गाँस्न फेसबुकलाई प्रयोग गर्ने प्रवीण र फ्रेन्सिस्का इग्नरा नै किन नहुन्, उनीहरूले जोडी खोज्ने नयाँ समयको फरक शैलीको प्रतिनिधित्व गर्छन् । उनीहरूजस्तै तमाम आधुनिक तन्नेरीहरू अहिले आफ्ना लागि आफै योग्य युवतीहरू रोज्न थालेका छन् । यसका लागि उनीहरूलाई न लमीको खाँचो छ, न त इष्टमित्र चुन्नुपर्ने बाध्यता ।

 

बरु, उनीहरूको जीवनका हिस्सा बनेका फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल, बढ्दो सहरीकरणसँगै हुर्किरहेको पार्टी कल्चर लमीको भूमिकामा देखिन थालेका छन् भने समाजको खुलापन इष्टमित्रको परिधिभन्दा बाहिर जोडी खोज्ने बाटो बन्ने गरेको छ । युवायुवतीहरूलाई प्रेममा जोड्ने साँघु मानिने परम्परागत पर्व, मेला एवं चाडबाड पर्खिनुपर्ने बाध्यता पनि अब रहेन ।

 

सन् २०१२ मा अन्तर्राष्ट्रिय गैससको एक अनुसन्धानले पनि नयाँ पुस्तामा जोडी खोज्ने माध्यम मोबाइल बनेको देखाएको थियो । अझ रमाइलो त के भने प्रेमको फेरिएको ट्रेन्डमा दूरी बाधक बन्न छाडिसकेको छ । एक कल फोन वा एक म्यासेजकै भरमा मनका तमाम कुरा दूरदराजमा रहेका आफ्ना प्रेमी/प्रेमिकासम्म पुर्‍याउन सकिन्छ । यसो नभैदिएको भए न प्रवीणको जीवनमा इग्नरा आउँथिन्, न त उनीहरूको विवाह नै हुने थियो ।

प्रकाशित :माघ २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्