आदिम प्रश्नहरू

- अविरल थापा

माघ २९, २०७३-  

प्रिय मनमाया,
तिमीजस्तै यो संसारका करोडौं आत्मा प्रेम प्राप्त गर्न तड्पिरहेका छन् र भविष्यमा पनि तड्पिने नै छन् । मानिसलाई किन अरूको माया लाग्छ ? मानिस किन अर्कोले प्रेम गरेन भनेर विरक्तिएर हिंडछ ? के मानिस अरूको प्रेमबिना एक्लै जिउन सक्दैन ? मानिसले आफैंले आफैंलाई गर्नुपर्ने धेरै प्रश्न यो संसारमा आदिम कालदेखि जस्ताको तस्तै छन् । फेरि यो संसारका अधिकांश प्रेमीलाई आफ्नो प्रेममा शंका छ, आफनो प्रेमीमा शंका छ तर प्रेम गरेको नाटक गरेर र प्रेम भएको भ्रम पालेर जीवन बिताउनु सबै प्रेमीको नियति पनि हो । 

 

तिमीले जस्तै हरेक प्रेमीले बारम्बार ‘म तिमीलाई प्रेम गर्छु’ भनिरहन्छन् र तिमीले मलाई गरेजस्तै प्रत्येक प्रेमीले ‘के तिमी पनि मलाई उत्तिकै प्रेम गर्छौ ?’ भनेर प्रश्न गरिरहन्छन् । सोध्न सजिलो छ तर यो एउटा जटिल प्रश्न हो– मनमाया । मुखले जति माया गर्छु भने पनि, नौरंगी शब्दहरूले सजाए पनि यदि तिमीलाई मायाको आभास भएकै छैन भने तिम्रो प्रेम त पलाँसको फूलजस्तो भयो, हेर्दा सुन्दर तर बास्नाविहीन । फेरि फिर्ता पाउँछु भन्ने आशमा तिमी पनि अरूलाई प्रेम दिइरहेकी छौ भने त्यो पनि त कहाँ प्रेम भयो र ? हामी सबै प्रेम कम र व्यापार बढी गर्छौं । 

 

मनमाया, तिमीलाई जस्तै यहाँ हरेक प्रेमीको मनमा आफ्नो प्रेम टुट्ला भन्ने अव्यक्त भय हुन्छ । हाम्रो प्रेम कति कमजोर छ ? हामी हरदिन छुट्ला र टुट्ला भन्ने आशंका पालेरै पनि प्रेम गर्न अभिशप्त छौं । त्यसैगरी अरूले प्रेममा भाँजो हाल्देलान् भन्ने डर पनि उत्तिकै छ । वास्तवमा भन्ने हो भने यहाँ जो आफूलाई प्रेमी भन्छन् उनीहरू नै विश्वस्त छैनन् कि उनीहरू एक–अर्कालाई सच्चा प्रेम गर्छन् भन्ने कुरामा । प्रेम गर्ने कुरा हो कि प्रेम हुने कुरा हो भन्ने पनि धेरैले छुटयाउन सकेका छैनन् ।

 

बजारमा प्रेम किन्न र प्रेमी खोज्दै हिंड्ने दु:खी आत्माहरू यत्रतत्र भेटिन्छन् । प्रेमी जोगाउन सक्नु यो वैश्य युगको ठूलो चुनौती हो र जोगाउन धेरैलाई धौ–धौ छ । प्रेममा परेको मानिसले त स्वतन्त्रता अनुभव गर्नुपर्ने हो, परमानन्दको अनुभूति गर्नुपर्ने हो तर किन हामीलाई प्रेममा परेपछि पिंजडामा परेजस्तो लाग्छ । किन सदैव आफू कसैको निगरानीमा छु, कसैको नियन्त्रणमा छु जस्तो लाग्छ । केही समय वा केही दिन आफ्नो प्रेमी ओझेल पर्नासाथ किन हाम्रो प्रेम वा विश्वास डगमगाउन थाल्छ । किन शंका वा प्रश्न मनमा उब्जिन्छ कि कतै प्रेम सक्कियो वा प्रेमी अन्तै सल्कियो कि भनेर । हामी प्रेमी कम दास वा दासी बढी खोज्छौं । प्रेम दिएको बहानामा स्वार्थको परिपूर्ति गर्छौं त्यसैले हिसाबकिताब अलिकति 
तलमाथि हुनासाथ हाम्रो प्रेमको जग हल्लिन्छ । 

 

तिमी बारबार सोध्छयौ, ‘तिमीलाई मेरो माया कति लाग्छ भन न ?’ सुन मनमाया, मैले हिसाबकिताब गरेर कहिल्यै तिमीलाई माया गरिनँ र मुख फोरेर आजसम्म तिमीलाई माया गर्छु पनि भनिनँ । मैले माया गरें कि गरिनँ त्यो तिमीले अनुभूत गर्ने कुरा हो । मलाई अनेक विशेषण र अलंकार हालेर र कुनै यन्त्र वा फित्ताले नापी–नापी माया गर्न कहिल्यै आएन । म हिसाबमा सार्‍है कमजोर छु त्यसैले कति माया गर्छु भनेर ठ्याक्कै भन्न सक्दिनँ । तिम्रो अपेक्षाजति मैले माया दिन सकेजस्तो लाग्दैन भने माफ गर्नु । मीठा र चिल्ला कुरा गरी देखावटी प्रेमको चास्नीमा तिमीलाई डुबाउन मलाई कहिल्यै मन लागेन ।

 

तिम्रा पनि कमजोरीहरू छन् र मेरा पनि, जसलाई स्वीकार गरेर र सकेको सुधार गर्दै अघि बढ्नुको विकल्प छैन । प्रेमको गन्तव्य विवाह हो भनेर मैले कहिल्यै लिइनँ र लिने पनि छैन, न त विवाह प्रेमको सुरुवात नै हो ।

 

मनमाया जुनदिन मलाई लागेको थियो कि हामी बिच प्रेम भयो त्यही दिन मैले मुक्तिको महसुस गरेको थिएँ । भौतिक रुपले तिमी सँधै साथै भएपनि नभएपनि तिम्रो प्रेमको अमृत मेरो हृदयबाट रसाईरहन्छ र त्यही पिएर म उर्जावान भएको अनुभव गरिरहन्छु । तिम्रो कल्पनामा रमेरै यो जुनी बिताउन सक्छु जस्तो लाग्छ ।प्रेम गर्छु भन्नेहरु आँखा अगाडि आईरहन्छन् र अल्झाईरहन्छन् र बेलाबखत पन्छाउन मलाई समय लाग्छ तर म बारबार तिमीतर्फ नै आईरहेको हुन्छु । म आईपुग्न केही बेर लाग्दैमा तिमी आत्तिन्छयौ । मलाई लाग्छ तिम्रो त्यो अत्ताईमै प्रेम छ ।

 

तिमीलाई मैले स्वतन्त्र छोडिदिएको छु । जति बेला मन लाग्छ आऊ, बस्न मन लाग्छ बस, जान मन लाग्छ जाऊ मेरो ह्दयको द्वार जुग–जुगसम्म तिम्रा लागि खुल्लै रहनेछ । न पाउने अभिप्सा छ न गुमाउने भय छ, किनभने म तिमीलाई प्रेम गर्छु ।

Facebook.com/abeeralthapa
Twitter@abeeralthapa

प्रकाशित :माघ २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्