सातौं संस्करणको कान्तिपुर हाफ म्याराथन

- साप्ताहिक संवाददाता

माघ २८, २०७३

 

आगामी फागुन ७ गते कान्तिपुर हिरो हाफ म्याराथनको सातौं सस्करण हुँदैछ । विगत ६ वर्षदेखि कान्तिपुर पब्लिकेसन्सले कान्तिपुर हाफ म्याराथनको आयोजना गर्दै आएको छ । कान्तिपुर पब्लिकेसन्सले आफ्नो २४ औं वार्षिकोत्सवको उपलक्ष्यमा फागुन ७ गते यो म्याराथनको आयोजना गर्न लागेको हो । यो हाफ म्याराथन २१ दशमलव १ किलोमिटरको हुनेछ । यस्तै कर्पोरेट–मिडिया दौड ५ किलोमिटर तथा ह्विल चेयर दौड ३ किलोमिटरको हुनेछ ।

 

नेपाल एथलेटिक्स सघंको प्राविधिक सहयोगमा सञ्चालन हुने हाफ म्याराथन कान्तिपुरको अफिस थापाथलीबाट प्रारम्भ भएर माइतीघर, नयाँबानेश्वर, कोटेश्वर, गठ्ठाघर, सानोठिमी, सल्लाघारी चोक हुँदै कटुन्जे पुगेर फर्कनेछ । कटुन्जेबाट फेरि सल्लाघारी, कोटेश्वर, तीनकुने हुँदै थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आएर यो दौड समाप्त हुनेछ । यो प्रतिस्पर्धाका पुरुष तथा महिला दुवैतर्फका विजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दुवै विजेतालाई हिरो ड्यास स्कुटर समेत प्रदान गरिनेछ । यस्तै उपविजेताले ३० हजार तथा तेस्रो हुनेले २० हजार रुपैयाँ तथा लिएगोको मोबाइल सेट प्राप्त गर्नेछन् भने चौथो हुनेले १० हजार, पाँचौं हुनेले ५ हजार तथा छैटौंले ३ हजार रुपैयाँ एवं शिखर सुज गिफ्ट प्राप्त गर्नेछन् ।

 

त्यस्तै ह्विल चेयर दौडका विजेताले २० हजार, दोस्रोले १० हजार तथा तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कर्पोरेट र मिडिया दौडको विजेताले काठमाडौं–हङकङ–काठमाडौंको हवाई टिकट प्राप्त गर्नेछन् । यस्तै कान्तिपुर पब्लिकेसन्सले आफ्नो वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम पनि राखेको छ । फागुन ५ गते सञ्चालन हुने रक्तदान कार्यक्रममा कान्तिपुर पब्लिकेसन्समा कार्यरत कर्मचारी–पत्रकारहरूका अतिरिक्त शुभचिन्तक एवं सहयोगीहरू पनि सहभागी हुन सक्नेछन् ।

प्रकाशित :माघ २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्