तेस्रो भ्रष्ट देश !

- मनोज गजुरेल

माघ २७, २०७३-  

दक्षिण एसियाली देशहरूमध्ये नेपाल तेस्रो भ्रष्ट मुलुक हो ।’ यो गजुरियल कुरा होइन, ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै बाहिर ल्याएको रियल रिपोर्ट हो । रिपोर्ट रियल भए पनि समाचारको शीर्षक गजुरियल विश्लेषकलाई पटक्कै मन परेको छैन ।

 

 

फेरि एकपटक शीर्षक हेरिहाल्नुस्, ‘दक्षिण एसियाको तेस्रो भ्रष्ट मुलुक नेपाल ।’ भ्रष्टाचारका नाममा एक पैसा तलमाथि नगर्ने नेपाली भएर सोच्नोस् त, तपाईंलाई क्वाँ–क्वाँ रुन मन लाग्छ । समाचारले भनिरहेको छ, नेपाल देश नै भ्रष्ट भएपछि त्यो देशमा बस्ने जनता भ्रष्ट हुने नै भए ! आउनुहोस्, यसको गजुरियल चिरफार गरौं ।

 

देश कसरी भ्रष्ट हुन सक्छ ? देश भनेको त यहाँको हावा हो, पानी हो । कला र संस्कृति हो । भाषा र भेष हो । हिमाल हो । पहाड हो । तराई हो । पूर्व मेचीदेखि पश्चिम महाकाली देश हो । उत्तरमा हिमाल हुँदै दक्षिणमा भारतको सिमानासम्म देश हो । के यी सबै भ्रष्ट छन् ? त्यसैले हामीले बुझ्नुपर्छ, देश भनेको राजनीति, अर्थ र सत्ता मात्र होइन । यस अर्थमा नेपाल तेस्रो त परै छोड्नुस्, सय नम्बरमा पनि आउँदैन । त्यसैले अब उप्रान्त यस्ता अनुसन्धानका शीर्षकहरू सत्यमैत्री, भावमैत्री तथा यथार्थमैत्री हुनुपर्ने गजुरियल अनुरोध छ ।

 

सतही हिसाबले हेर्दा भन्न सकिन्छ— हो, नेपाल भ्रष्ट मुलुक हो तर त्यसरी भन्न पाइँदैन । देशको एक–दुईवटा अंगले भ्रष्टाचार गरेका कारण बाँकी ९९ वटा अंगलाई पनि त्यही कसौंडीमा भुट्न पाइँदैन । भ्रष्टाचारको अपरेसन गर्दा सदाचारलाई काटकुट पार्नु हुँदैन । नेपालका नेता भ्रष्ट छन् भनिएको भए स्वीकार गर्न सकिन्थ्यो । प्रशासक भ्रष्ट छन् भन्दा मान्न सकिन्छ । कर्मचारीहरू भ्रष्ट होलान् । समाजसेवीहरू भ्रष्ट होलान् । राज्य सञ्चालकहरू एक नम्बरकै भ्रष्टमा गनिएलान्, तर नेपाल तेस्रो भ्रष्ट राष्ट्र हो भन्दा त्यसको गलत अर्थ लागेको छ ।

 

यो शीर्षकले त यहाँको प्रकृति भ्रष्ट छ भन्ने बुझियो । यहाँको संस्कृति पनि भ्रष्ट भएको बुझियो । यहाँका जनता पनि भ्रष्टै भएको अर्थ लाग्ने भयो । हावापानी, जलवायु, जीवन, जगत् सबै भ्रष्टै भ्रष्ट भएको अर्थ लाग्ने गरी ‘तेस्रो भ्रष्ट मुलुक’ भन्नु सरासर अन्याय भएको गजुरियल बुझाइ छ । देश भनेको यहाँका भ्रष्ट नेताहरू मात्र होइनन्, शिष्ट जनता पनि देशका अंश हुन् । मात्र कमिसनखोर प्रशासन मात्र देश होइन, करदाता व्यापारीहरू पनि देशका खम्बा हुन् । डलर खेती गर्ने आइएनजिओकर्मी मात्र देश होइनन्, आफ्नो घरबार बेचेर अरूको दरबार बनाइदिने समाजसेवी पनि देश नै हुन् । त्यसैले यो शीर्षक नै गलत भएको गजुरियल ठम्याइ छ ।

 

हो, देशको अर्थतन्त्र भ्रष्टाचारको जालोले ढाकिएको छ । विकास–निर्माणमा कमिसनखोरहरूको पहिलो भाग लाग्छ । सहयोग र अनुदान बीचमै चुहिएर जनताको हातमा खाली झोला मात्र पर्छ । सडकमा ट्याक्सीवालाले पनि ‘कति थप्नु हुन्छ ?’ भरेर भ्रष्टाचारको सुरुवात गर्छ भने सदनमा पनि मेरो भागमा कति पर्छ भनेर लेनदेनका खेल हुन्छन् । यद्यपि यसको अर्थ नेपाल देश नै भ्रष्ट हो भन्नु पटक्कै जायज होइन । 

 

यसलाई यसरी भन्नुपथ्र्यो, नेपालका नागरिक शिष्ट छन् तर सरकार भ्रष्टाचारको गोलचक्करमा छ । नेपालको प्रकृति सुन्दर छ तर प्रकृतिको दोहोरो काड्ने दलालहरू भ्रष्ट छन् । नेपालको संस्कृति सम्पन्न छ तर सांस्कृतिक भ्रष्टाचारीहरूले यसलाई विकृत तुल्याउँदैछन् । नेपालको भुगोल अद्भुत छ तर जातीयताको भूतले भूगोललाई गोलमटोल गराउँदैछ । तर, नेपाल देश भ्रष्ट नम्बर ३ हो भन्नु सरासर गलत हो । किनभने यो देश भ्रष्ट होइन, यो देशका केही अंगलाई मात्र भ्रष्टाचारको क्यान्सर लागेको हो ।

प्रकाशित :माघ २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्