प्रियंका कम्प्लिट प्याकेज’ हो
माघ २६, २०७३
शान बस्नेत, चलचित्र लेखकबाट
प्रियंका कार्की, नायिका
प्रियंकासँग शान बस्नेतको पहिलो भेट चलचित्र ‘भिजिलान्ते’ को निर्माणका क्रममा भएको हो र पहिलो भेटमै प्रियंकाले शानलाई ‘राइटर साप’ भनेर जिस्क्याउँदा आफू लाजले भुतुक्कै भएको शान सम्झन्छन् । लगत्तै शानले लेखेको अर्को चलचित्र ‘झोले’ को छायांकन प्रारम्भ भयो । झोलेमा पनि प्रियंका नै नायिका थिइन् । त्यसपछिचाहिँ उनीहरू राम्रोसँग कुराकानी गर्न थाले, तर मज्जाले संगत गराउने चलचित्रचाहिँ ‘आवरण’ बन्यो ।
तपाईंबाट तिमी र अहिले तिमीबाट तँसम्मको सम्बन्धको यो यात्राका क्रममा शानले प्रियंकालाई दिदी मानेर भाइटीकासमेत लगाइसकेका छन् । शानका अनुसार ‘उसलाई मैले दिदी र उसले मलाई भाइ भने पनि हाम्रो सम्बन्ध एकदमै मिल्ने साथीजस्तो छ । कहिलेकाहीं त हामी पूरै दिन गफ मात्र गरेर पनि काटिदन्छौं ।’ प्रियंकाका भाइ/साथी शानले साप्ताहिकका लागि आफ्नी दिदी/साथीको कुरा यसरी काटेका छन् :
असल बाइट्स
मायालु : आफूले माया गरेको मान्छेका लागि ऊ जे पनि गर्न तयार भइदिन्छे, बिनासर्त ।
मेहनती : एकदम मेहनती छ । काम भनेपछी बाँकी सबै कुरा बिर्सन्छे र काममै ‘फोकस’ हुन चाहन्छे ।
मिलनसार : सबैसंग मिल्न सक्छे । रिस नै उठेकाहरूसँग पनि मुसुक्क हाँसिदिन्छे, सकेसम्म कसैको चित्त नदुखोस् भन्ने उसको सोच छ ।
पर्फेक्ट नायिका : एउटी नायिकामा हुनुपर्ने सबै गुण छ अर्थात् ‘कम्प्लिट प्याकेज’ हो ऊ । राम्रो नाच्ने अनि अभिनय गर्ने मात्र नभै एउटी चर्चित नायिकाले आफूलाई कसरी प्रस्तुत गर्नुपर्छ ? के लगाउनुपर्छ ? कस्तो व्यवहार गर्नुपर्छ ? उसलाई सबै कुराको जानकारी छ ।
स्पष्ट वक्ता : मनमा लागेको कुरा खुलेर व्यक्त गर्छे । कुराकानीमा कुनै बनावटीपन छैन ।
खराब बाइट्स
खानामा ध्यान छैन : खानेकुरा र खाने समयमा अलि ध्यान दिए हुन्थ्यो । कहिले त काममा यति व्यस्त हुन्छे कि दिनभरि खाँदै खान्नँ ।
ढाँट्ने : कहिलेकाहीँ ढाँट्छे पनि । कारणचाहिँ कसैको नराम्रो गर्नुभन्दा पनि बहाना बनाउन मात्र हुने गरेको छ । उसले ढाँटेको थाहा पाए पनि म मुसुक्क हाँस्दै उसको कुरा पत्याइदिन्छु ।
फुर्कने : चाँडै फुर्कन्छे र यहाँ फुर्काउनेहरू पनि प्रशस्तै छन् ।
नाइँ नभन्ने : नाइँ भन्नैपर्ने कामलाई समेत नाइँ भन्न सक्दिन अनि त्यसले ऊ आफैंलाई नराम्रो गर्छ । विशेष गरी चलचित्र छान्ने कुरामा चाहिँ मन राख्नका लागि नै हुन्छ नभने हुन्थ्यो ।
जसरी पनि मनाउने : आफ्नो कुरा कर–बल गरेर, घुर्की देखाएर, मुख बनाएर जसरी भए पनि मनाएरै छोड्छे ।
प्रकाशित :माघ २६, २०७३



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्