सम्भवत: म विवाह गर्दिनँ

- अश्विनी कोइराला

भाइ–बैनीलाई लत्ताकपडा र केही खानेकुरा पनि ल्याउँदा उनीहरूको अनुहार खुसीले उज्यालो हुन्थ्यो । त्यस्तो उज्यालो अनुहार हेर्न मलाई मन पथ्र्यो । त्यसैले बाहिरी काममै रस बस्यो । अहिले पनि मेरो स्वभाव कस्तो छ भने म चुप लागेर एक ठाउँमा बस्न सक्दिनँ । त्यतिबेला म बिहान मिर्मिरे उज्यालो हुँदा वनमा घाँस–दाउरा गर्न पुगिसक्थेँ । अरूभन्दा अघि नै पानी–पँधेरा पुगिसक्थेँ । काम गरिसकेर साथीको घरमा खेल्न पनि भ्याउँथेँ । सायद यसैले सानैदेखि मेरो शारीरिक व्यायाम हुन पुग्यो ।

माघ २६, २०७३-  

नेसनल जियोग्राफिक सोसाइटीले मीरा राईलाई नेसनल जियोग्राफिक एडभेन्चर्स अफ दि इयर–२०१७ घोषणा गरेको भोलिपल्ट काठमाडौंमा वर्षा भएको थियो । उक्त वर्षाको पर्वाह नगरी मीरा राई साप्ताहिकसँग कुराकानी गर्न एउटा रेस्टुराँमा आइपुगिन् । त्यसको तीन दिनपछि तिनै मीरा अंग्रेजी भाषा सिक्न एउटा एकेडेमी छिरिरहेकी थिइन् । सँगै रहेको एउटा टेलिभिजन च्यानलले उनको समाचार दोहोर्‍याई–तेहेर्‍याई देखाइरहेको थियो, तर उनी चुपचाप अंग्रेजीको शब्द–अर्थ घोकिरहेकी थिइन् । यी दुई कुराबाटै मीराको जीवनशैली बुझ्न सकिन्छ । 

 

आफ्ना बारेमा यसरी चारैतिर समाचार आउँदा खुसी लाग्छ नि, लाग्दैन ?
लाग्छ नि, त्यही भएर त म खुसी छु । सपनाजस्तै लागिरहेको छ । आज एक हप्ताभन्दा बढी भयो, दिनको १०–२० जना पत्रकारसँग कुरा गरिरहन पाएकी छु । आफ्नै कुरा दोहोर्‍याइरहेकी छु । आफ्नो कथा भन्न पाउँदा मज्जा पनि लागिरहेको छ । 

 

तपाईंको उमेरका विषयमा फरक–फरक रिपोर्टिङ भैरहेका छन्, खासमा तपाईंको उमेर कति हो?
मलाई त आफू बच्चै छु जस्तो लाग्छ । कति वर्षकी भएँ भन्ने नै बिर्सिसकेँ । कसैलाई कति भनिदिन्छु कसैलाई कति । त्यही भएर फरक परेको हो । मेरो नागरिकता अलि पछि बनाइएको हो, त्यही कारणले नागरिकतामा २८ कि २९ पुग्छ, तर म २७ वर्षभन्दा बढी भएकी छैन । पत्रकारहरूले सोध्दा नागरिकताको उमेर भनिदिन्छु । 

 

तपाईं अयोग्य लडाकु हुनुको कारण यही उमेर थियो, होइन र ?
खै के थियो, त्यो त थाहा भएन । उमेर पनि कारण थियो होला तर उमेर कम भएर के गर्नु, म उमेरदारभन्दा बढी तालिम गर्न सक्थेँ । हरेक खेलकुदमा अब्बल थिएँ । शारीरिक व्यायाममा म केटाहरूलाई पनि पछि पारिदिन्थेँ । त्यति बेला अनमिनको योग्यता परीक्षण गर्ने तरिका मलाई चित्त बुझेको थिएन । 

 

अहिले नि ?
अहिले त कुरै नगरौं । धन्न छनौट भइनछु । नत्र सेनामा जान्थें कि कता हुन्थें, कि पार्टीमै हुन्थेँ । मेरो भविष्य यस्तो हुन्थ्यो जस्तो लाग्दैन । जागिर खानतिर लाग्थे हुँला । भाइ–बहिनी र आमा–बुबालाई कसरी खर्च टार्ने भन्ने चिन्ता हुन्थ्यो होला । त्यसपछि मेरो जीवन त अर्कैतिर लाग्थ्यो होला । 

 

अहिले पनि पारिवारिक चिन्ता त उस्तै छ नि, होइन र ?
अहिले त मागेरै हाम्रो जीवन चलेको छ । म बेरोजगार खेलाडी हुँ । अरूले स्पोन्सर गरिदिन्छन् । सेनामा जागिर भएको भए मलाई परिवारका लागि, आफ्ना लागि पैसा चाहियो भन्न मिल्दैनथ्यो । त्यसैले जे भएको छ ठीक भएको छ । 

 

पहाड–हिमालभरि मीराजस्ता हजारौं युवती छन्, तपाईं मात्र किन यो खेलमा ? 
मीराहरू धेरै छन् । अहिले मेरै प्रयासमा केही युवती अल्ट्रा रेसिङमा आएका छन् । तपाईंले भनेको एकदमै ठीक हो, तर मैले किन यो अवसर पाएँ भने म पढाइ छाडेर माओवादीमा आएँ । त्यहाँ तालिम गरेँ तर अयोग्य भएँ । त्यतिबेला क्यान्टोनमेन्टमा खेलिने खेलले मलाई खेलकुदमा पनि भविष्य छ भन्ने कुरा थाहा भयो । यो कुरा ती हजारौं मीरालाई थाहा छैन ।

 

जब मलाई अयोग्य घोषित गरियो, म फर्केर घर जान सकिनँ । के मुखले जानु ? घरकी जेठी छोरी । बुबा–आमाका सात सन्तानमध्ये जेठी छोरी भएकाले मैले कमाउनुपथ्र्यो । कसरी परिवार हेर्ने ? यही चिन्ताले म मलेसिया जान लागेकी थिएँ । क्यान्टोनमेन्टमा मलाई कराँते सिकाउने गुरु ध्रुवविक्रम मल्लले खेलकुदमै लाग्न सल्लाह दिनुभयो । यसरी म पहाडबाट माओवादी लडाकु हुँदै खेलकुदमा आइपुगेँ । अरूले त्यस्तो अवसर पाएका छैनन् । पाएका भए मजस्ता धेरै मीरा निस्कन्थे । 

 

भनेपछि नेपालका पहाडी र हिमाली भेगका सबै युवा–युवतीमा त्यो क्षमता छ ?
छ नि, किन नहुनु ? जन्मिएको केही समयपछि नै कान्ला हामफाल्दै हिँड्नुपर्छ । गाईवस्तु चराउने, बाख्रा डोर्‍याउने, पानी बोक्ने, एक घण्टा टाढाको स्कुल जाने सबै काम गर्नुपर्छ । यस्ता मानिसलाई सानैदेखि त्यही अनुसारको व्यायाम र प्रतिस्पर्धाको अवसर दिने हो भने धेरैले अल्ट्रा धावक बन्ने सपना पाल्न थाल्छन् । तीमध्ये धेरै मीरा बन्ने सम्भावनासमेत राख्छन् । 

 

तपाईंको क्षमता केही विशेष छ भनेर नेसनल जियोग्राफिकले भनेको छ । बितेका तीन वर्षमा तपाईंले देखाएको क्षमताले पनि ती कुरा प्रमाणित भएका छन् । यस किसिमको क्षमता कसरी विकसित भयो ?
म सानैदेखि साह्रै चञ्चले थिएँ । छोरी मान्छेले घरको धन्दा गर्न सिक्नुपर्छ भनेर आमाले सम्झाइरहनुहुन्थ्यो । मलाई भने बाहिरी काममा रुचि लाग्थ्यो । आमाको काम बच्चा पाउने मात्र थियो, उहाँ बाहिर काम गर्न सक्नुहुन्नथ्यो । म बुवालाई सघाउँथें । सायद यही कारणले म घरकी जेठी हुँ, मैले पैसा कमाउनुपर्छ भन्ने छाप मेरो मनमा सानैदेखि परेको थियो । १० वर्षको उमेरदेखि नै म धनकुटा पुगेर चामल बोकेर गाउँ आइपुग्थेँ । एक भारी चामल त्यस्तै ४०–५० किलो हुन्थ्यो होला । प्रतिकिलो ७–८ रुपैयाँ नाफा खाएर गाउँमा त्यो चामल बेच्थेँ । उक्त पैसाले घरको गुजारा चलाउन सजिलो हुन्थ्यो ।

 

भाइ–बैनीलाई लत्ताकपडा र केही खानेकुरा पनि ल्याउँदा उनीहरूको अनुहार खुसीले उज्यालो हुन्थ्यो । त्यस्तो उज्यालो अनुहार हेर्न मलाई मन पथ्र्यो । त्यसैले बाहिरी काममै रस बस्यो । अहिले पनि मेरो स्वभाव कस्तो छ भने म चुप लागेर एक ठाउँमा बस्न सक्दिनँ । त्यतिबेला म बिहान मिर्मिरे उज्यालो हुँदा वनमा घाँस–दाउरा गर्न पुगिसक्थेँ । अरूभन्दा अघि नै पानी–पँधेरा पुगिसक्थेँ । काम गरिसकेर साथीको घरमा खेल्न पनि भ्याउँथेँ । सायद यसैले सानैदेखि मेरो शारीरिक व्यायाम हुन पुग्यो । त्यो बेला पेटभरि भात खान पाउनु ठूलो कुरा हुन्थ्यो । मलाई त्यही पेटभरि खाना ख्वाउन कसरी पुग्छ भन्ने चिन्ता हुन्थ्यो, त्यसैले पनि बढी कुदेँ हुँला । मैले अरू धेरै काम त गरेकी होइन, गाउँमा अरूले जसो गर्छन्, त्यसै गरेकी हुँ, तर जे गरे पनि खुसीले गर्थें । कुनै काम गर्दा पनि मलाई अल्छी लाग्दैनथ्यो । 

 

 

सबै भाइ–बहिनीलाई पढाइरहनुभएको छ । अभिभावक बन्ने उद्देश्य पूरा भयो होइन ?
हो, आमा–बुबा अहिले पनि पहाडमै दु:ख गरेर बसिरहनुभएको छ । उहाँहरूलाई मधेस झार्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ । पहाडमा अहिले पनि साह्रै दु:ख छ । पहाडमा मानिस पनि उति छैनन् । भाइ–बहिनीहरू काठमाडांैंं र झापामा छन् । म आफू पनि स्पोन्सरमै बाँचिरहेकी छु । त्यही पैसा बचाएर भाइ–बहिनी र आमा–बुबालाई हेरिरहेकी छु । मेरो जीवन त मागेरै पो चलिरहेको छ । 

 

विवाह गर्ने उमेर पनि भयो, आमा–बुबाले विवाह गर भन्नुभएको छैन ?
खै, अहिलेसम्म त भन्नुभएको छैन । बरु पत्रकारहरूले भने विवाहको कुरा सोध्न थाल्नुभएको छ । 

 

बजारमा मीराको प्रेमको विषयमा हल्ला चल्न थालेको छ, के भन्नुहुन्छ ?
खै, मैले त सुनेकी छैन, तपाईंले कसरी सुन्नुभयो । पत्रकारहरू पनि हावामै तीर हान्छन् । म विवाह गर्ने सोचमा पटक्कै छैन । अलि–अलि पैसा जम्मा हुन थालेको छ, त्यो परिवारलाई व्यवस्थित गर्नमै खर्च भैरहेको छ । आमा–बुवालाई तराई झारेपछि र भाइ–बैनीको पढाइ पूरा नहुन्जेल त मैले आफ्नो विवाहको विषयमा सोच्नै मिल्दैन । सम्भवत: म विवाह गर्दिनँ । मेरो जीवनको उद्देश्य त्यो होइन ।

 

के हो त ?
मजस्ता धेरै मीरा जन्माउने । अवसर पाएका कारण आज म यो स्थानमा पुगेँ । नेपालको नाम राख्न सफल भएँ । मलाई यहाँसम्म ल्याउन धेरै हातको सहयोग छ । म ती गुन फिर्ता गर्न सक्दिनँ, तर नयाँ मीरा जन्माएर म पनि अरूका लागि बनेकी हुँ भनेर देखाउन चाहन्छु । मैले पनि विवाह गरेँ भने, म पनि सन्तान जन्माएर कुनातिर पसेँ भने अरू कसले यो कामलाई अघि बढाउँछ । हाम्रो देशमा धेरै प्रतिभा घाँस काटेर, गाई–भैंसी चराएर समय बिताइरहेका छन् । हिजो मीरा पनि त्यस्तै थिई । धेरैको सहयोगले यो केटीले ठाउँ–ठाउँमा नेपालको झन्डा फहराउन पाई । अब मैले पनि अरूलाई त्यस्तै सहयोग गर्नुपर्छ । यसका लागि मैले काम सुरु गरिसकेकी छु । 

 

गएको तीन वर्षमा तपाईंले कीर्तिमानमाथि कीर्तिमान बनाउनुभयो । नेपालको झन्डा फहराउनुभयो । कहिलेकाहीँ आफू प्रशिक्षित भएको माओवादीको झन्डा फहराउन मन लाग्दैन ?
म १४ वर्षको उमेरमा माओवादीको सेनामा गएकी थिएँ । सिद्धान्त बुझेर भन्दा पनि घरको गरिबीका कारण म माओवादीमा गएकी थिएँ । त्यसो गर्दा घरको गरिबी कम हुन्छ, भात कम पाक्छ, केही दिनसम्म भाइ–बैनीले पेटभरि खान पाउँछन् भन्ने लागेको थियो । उता पनि केही पैसा पाइएला र त्यो पैसा घरमा पठाउँला भन्ने अर्को सोच थियो । माओवादीमा लाग्दा मैले केही कुरा पाएकी हुँ तर त्यो बेलाको कुरा अर्कै थियो । अहिले परिस्थिति अर्कै छ । अहिले म देशकी धाविका हुँ । म नेपालकी छोरी हुँ । मलाई कहिल्यै माओवादीको झन्डा फहराउँm भन्ने लागेन । म कुद्नुअघि नै प्रथम हुँदैछु भन्ने थाहा पाउँछु । त्यसैले मैले आफ्नो झोलामा नेपालको झन्डा राखेकी हुन्छु । म त्यही झन्डा फहराउँछु । पार्टीको झन्डाप्रति कुनै मोह छैन । 

प्रकाशित: माघ २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्