चुनौती र अवसर दुवै

- साप्ताहिक संवाददाता

माघ २४, २०७३- 

एसियाली फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता हो— एसिया कप । नेपाल यही एसियाकपमा छनौट हुने सम्भावनाको नजिक पनि छ । अनि नेपाली फुटबलले महसुस पनि गर्नेछ, यो अझै कति टाढा पनि छ । नेपालका लागि एसियाकप छनौट चुनौती र अवसर दुवै बनेर अगाडि आएको छ । केही भाग्यमानी नतिजाले नेपाल एसियाकपको अन्तिम चरणसम्म पुग्न सक्छ, तर त्यसका लागि बहादुरीपूर्ण खेल प्रदर्शनको आवश्यकता पर्नेछ ।

 

यसैका लागि नेपाली फुटबल आउने दुई वर्ष व्यस्त रहनेछ । छनौटको ‘ड्र’ पनि निस्किसकेको छ र नेपाल यसको समूह ‘एफ’ मा छ । नेपालका प्रतिद्वन्द्वी हुनेछन्, फिलिपिन्स, ताजाकिस्तान र यमन । यी चारैवटा टिममध्ये नेपाल सबैभन्दा तल्लो वरीयताको टिम हो । एसियाकपको अन्तिम चरणमा पुग्ने समीकरण सजिलो छैन । प्रत्येक टिमले एक–अर्काविरुद्ध एकपल्ट घरमा खेल्नेछन् भने अर्को पल्ट प्रतिद्वन्द्वी टिमको मैदानमा । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिमले एसियाकपको टिकट काट्नेछन् । त्यसैले नेपालका लागि सबै खाले सम्भावना खुला छ । 

 

सबैभन्दा पहिलो प्रश्न, नेपालका लागि यो समूह कस्तो छ त ? पहिलो विश्लेषण, यो सजिलो समूह हो, किनभने नेपालले छनौटमा रहेका ठूला टिमसँग खेल्नुपरेको छैन । दोस्रो विश्लेषण, नेपालका लागि यो गाह्रो समूह छ, किनभने नेपालले आफ्नो समूहमा कठिन प्रतिद्वन्द्वी पाएको छ । दुवै अर्थमा यो विश्लेषण मिल्छ । एउटा कुरा के निश्चित छ भने नेपालले लिग चरणमा कठिन चुनौतीको सामना गर्नुपर्नेछ, यसमा शंका नगरे हुन्छ ।

 

नेपाली टिमका प्रशिक्षक ग्योटुके कोजुले पनि लगभग यस्तै विश्लेषण गरेका छन् । उनको भनाइ छ, ‘हाम्रा लागि तीनवटै प्रतिद्वन्द्वी बलिया छन् ।’ त्यसैले उनले छनौटका लागि नेपालले कठिनभन्दा कठिन तयारी गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । उनको आशय थियो, नेपालले तयारीमा कुनै प्रकारको कन्ज्युसाइ गर्नु हुँदैन । यही कुरा बुझेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि नेपाली राष्ट्रिय टिमको तयारी सुरु गरिसकेको छ । 

 

छनौटलाई लिएर एउटा महत्त्वपूर्ण प्रश्न भने अझै कायम छ र त्यो हो— नेपालले घरमा खेल्ने खेल कहाँ हुनेछ ? दशरथ रंगशाला अन्तर्राष्ट्रिय फुटबलको आतिथ्य गर्न सक्षम छैन । काठमाडौंबाहिर राम्रो भौतिक पूर्वाधार छैन । काठमाडौंमै पनि एएफपीको हलचोक र आर्मीको लगनखेलको मैदान पनि अन्तर्राष्ट्रिय स्तरको छैन । यस्तोमा नेपालसामु मलेसिया अथवा थाइल्यान्डलाई आफ्नो घरेलु मैदान मानेर खेल्नुपर्ने स्थिति पनि सिर्जना हुनसक्छ । नेपालको प्रदर्शन कस्तो हुने हो, त्यसको उत्तर धेरै हदसम्म यसले पनि तय गर्नेछ । 

 

सोलिडारिटीकप–२०१६ लाई अबदेखि कसैले हेपेर पुछारका टिमको प्रतियोगिता भन्ने छैनन्, किनभने त्यही प्रतियोगिता जितेर नेपालले एसियाकप छनौट खेल्ने अवसर जुटाएको हो । नेपालका लागि एसियाकप छनौट खेल्ने अवसर वास्तवमै अप्रत्याशित रूपमा आएको थियो । नेपाल एसियाकप छनौटको सुरुवाती चरणबाट बाहिरिसकेको अवस्थामा पनि एसियाली फुटबल महासंघ (एएफपी) ले यो अवसर जुटाएको हो । कुवेत कारबाहीमा परेपछि र ग्वामले आफ्नो नाम फिर्ता लिएपछि नेपालको भाग्य खुलेको हो ।

प्रकाशित :माघ २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्