मिराकल मीरा

  • टिनएज गुरिल्लादेखि ग्लोबल स्टारडमसम्म

- जनक तिमिल्सिना

माघ २३, २०७३- 

केवल तीन वर्ष । ग्लोबल स्टारडम । दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय सफलता । अल्ट्रा ट्रेलको अन्तर्राष्ट्रिय एरिनामा गरेको साहसिक प्रदर्शन, गाउँमा आफूहरूजस्तै अवसरबाट वञ्चितहरूको अनुहारमा मुस्कान फर्काउन गरेको प्रयास । यी सबैले मीरा राईलाई सन् २०१७ को नेसनल जियोग्राफिक एडभेन्चर्स अफ दि इयरको उपाधि जिताएको छ । ‘वाउ । क्या गज्जब है,’ गत शुक्रबार एडभेन्चर्स अफ दि इयरको उपाधि हात पारेकै भोलिपल्ट साप्ताहिकसँगको भेटमा उनले भनिन्् । नेसनल जियोग्राफिकले हरेक वर्ष एक जनालाई प्रदान गर्ने एडभेन्चर्स अफ दि इयरको उपाधि साहसिक खेल, अन्वेषण, संरक्षण एवं मानवीयताका क्षेत्रमा काम गर्ने असाधारण व्यक्तिलाई दिइन्छ । 

 

यो उपलब्धि हात पार्ने औंलामा गन्न सकिने नेपालीमा अब २९ वर्षीया मीरा पनि थपिएकी छिन् । यसअघि गत वर्ष माउन्टेनियर तथा समाजसेवी पासाङल्हामु शेर्पाले यो अवार्ड हात पारेकी थिइन् । मीरा स्वयंलाई जीवनमै हलचल ल्याउने गरी पछिल्ला तीन वर्षमा प्राप्त हुँदै गएका सफलता, उपलब्धि र अन्तर्राष्ट्रिय एक्स्पोजरहरूले रोमाञ्चित तुल्याइरहेको छ । ‘मीरा के यो मीराकल हो ?’ भन्ने साप्ताहिकको प्रश्नमा उनले भनिन्, ‘गुड सपोर्ट, गुड लिडर, गुड अपरच्युनिटी तथा हार्ड वर्कको उचित संयोजनको प्रतिफल हो । तीन वर्ष होइन, १८ महिनामै यो सब सम्भव भयो । त्यसपछि त खुट्टाको नशा चुँडिएर सर्जरी गराउनु परेकाले दौडनै पाइनँ नि !’ 

रोचक त के भने भोजपुरको विकट हिमाली क्षेत्रबाट अन्तर्राष्ट्रिय एरिनासम्मको बाटो नाप्न मीरालाई केवल तीन वर्ष मात्र लागेको छ, अझ उनको भनाइ मान्ने हो भने १८ महिना मात्र । यो तीन वर्षमा उनले अन्तर्राष्ट्रिय एरिनाहरूसम्मको दूरी मात्र नापिनन्, हिमाली दौडमा असाधारण कौशल र साहस प्रदर्शन गर्दै महत्त्वपूर्ण रेकर्डसमेत बनाएकी छिन्, जसले उनलाई यति छोटो अवधिमै विश्वकै चर्चित धाविकाका रूपमा स्थापित गराएको छ । सम्भवत: यति छोटो अवधिमा विश्वव्यापी रूपमै यति ठूलो ख्याति आर्जन गर्ने मीरा एक्ली नेपाली महिला अल्ट्रा रेसर हुन् ।

 

अहिले ‘ग्लोबल स्टारडम’ प्राप्त गरेकी मीराले अल्ट्रा ट्रेलमा दौडन वि.सं. २०७० को अन्त्यदेखि प्रारम्भ गरेकी हुन् । पहिलोपल्ट चैत २०७० मा उनी काठमाडौंको फूलबारीदेखि मकवानपुरको हात्तीवनसम्मको ५० किलोमिटर लामो अल्ट्रा रेस दौडिएकी थिइन् । काठमाडौंका कराँते गुरु ध्रुवविक्रम मल्लको बालाजु कराँते एकेडेमीमा बसिरहेका बेला अचानक मीरा हिमालय आउटडोरको ढोका पुगिन् र रेसमा सहभागी भइन् । ‘केही घण्टामै सकिएला भनेर कसैलाई खबर नगरी दौडन गए, तर बाटोमा ठूल्ठूलो असिना पर्‍यो, जुत्ता च्यातियो,’ उनले आफू सहभागी पहिलो दौडका सम्बन्धमा भनिन्, ‘खानलाई पनि केही थिएन्, बाटोमा राज दाइ (धावक राज प्रधान) ले दिएको ५० रुपैयाँको चाउचाउ र फ्रुटी किनेर खाएँ, त्यसबाट इनर्जी आयो र उभिन सक्ने भएँ । त्यसपछि थोरै ढिँडो पाए, त्यो खाएपछि त उड्न थालिहालें नि !’ ‘त्यो दौडको बाटो एकदमै कठिन थियो ।

 

जब उनले त्यो बाटो पूरा गरिन् उनमा खास केही छ भन्ने मलाई लाग्यो,’ उनको पहिलो रेसका सम्बन्धमा ट्ेरल रेसको आयोजना गर्ने र नेपाली धावकहरूलाई सहयोग गर्ने संस्था ट्रेल रनिङ नेपालका ब्रिटिस सह–संस्थापक रिचर्ड बुललाई उद्धृत गर्दै नेसनल जियोग्राफीले लेखेको छ । पहिलो रेसमा फस्ट भएबापत ७ हजार रुपैयाँ, ट्रफी र एक जोर नयाँ जुत्ता प्राप्त गरेपछि मीरा फुरुङ्ग भइन् । मीराको क्षमताबाट प्रभावित भएका बुलले पछि उनलाई बस्ने, खाने, विदेश जाने भिसा र दौडने अवसरहरू प्रदान गरे । त्यही रेसबाट सुरु भएको उनको ट्रेल रेस अहिले देशविदेशमा चर्चामा छ । त्यसयता उनले एकपछि अर्को उपलब्धि हात मात्र पारेकी छैनन्, विश्वस्तरीय प्रतियोगितामा नेपाली झन्डासमेत फहराइरहेकी छिन्। 

सन् २०१५ मा आफू सहभागी भएका नौवटा विभिन्न अल्ट्रा रेसमध्ये मीरा ६ वटामा विजेता भएकी थिइन् भने एउटामा सेकेन्ड, एउटामा थर्ड तथा एउटामा १३ औं स्थानमा आएकी थिइन् । सन् २०१५ को उनको सबैभन्दा महत्वपूर्ण रेस मोन्ट ब्लान्का (८० किलोमिटर)मा मीरा फस्ट मात्र भइनन्, नयाँ रेकर्ड नै कायम गरिन् । त्यही वर्ष स्पेनमा सम्पन्न संसारकै पाँच उत्कृष्ट दौडमध्ये एक सालोमन प्रिनेउ अल्ट्रा दौडमा विश्वका चर्चित धावकहरूलाई पछि पार्दै विश्व उपविजेता भएपछि मीराको ख्याति थप चुलियो । १ सय १० किलोमिटर लामो उक्त दौड मीराले १३ घण्टा ४३ मिनेट ४५ सेकेन्डमा पूरा गरेकी थिइन् । 

 

त्यसबाहेक उनी सन् २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पूर्वविजेतालाई पन्छाउँदै च्याम्पियन भइन् । सन् २०१४ मा उनले भाग लिएका नौवटा राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिस्पर्धामध्ये उनी सातवटामा च्याम्पियन भइन् भने दुईवटामा उपविजेता । सन् २०१४ मा हङकङमा सम्पन्न ५० किलोमिटरको रेसमा एसियन च्याम्पियन भएकी मीरा त्यही वर्ष इटलीमा भएका ५७ र ८० किलोमिटरका अल्ट्रा म्याराथनमा च्याम्पियन भएकी थिइन् ।सन् २०१६ मा भने खुट्टाको सर्जरी गराएपछि उनी ट्रेलमा उति देखिन पाइनन् । गत वर्ष उनी युकेको थ्री पीक रेसमा सेकेन्ड भइन् । 

 

हङकङ, इटली, अस्ट्रेलिया, फ्रान्स, स्विट्जरल्यानड, नर्वे, बेलायत आदि मुलुकका झन्डै एक दर्जन ट्रेलको अनुभव हासिल गरिसकेकी मीरा परिपक्व बन्दै गएकी छिन् । ‘नर्वेमा नाकको टुप्पाजस्ता डाँडाहरू, हिउँ उत्तिकै जम्ने, चिप्लो पनि उत्तिकै,’ उनले सुनाइन्, ‘त्यहाँ निकै गाह्रो हुन्छ । नेपालका ट्रेलहरू पनि कहाँ सजिला छन् र ?’ हिमाली दौडमा रहँदा मीराको दिमागमा के चलिरहेको हुन्छ ? ‘मलाई प्रतिस्पर्धाजस्तै लाग्दैन, एकदमै रमाइलो मानिरहेकी हुन्छु । नयाँ–नयाँ मानिसहरू भेटिन्छन्, हाई–हेलो हुन्छ । उकालोमा उड्ने, ओरालोमा गुड्ने,’ उनले हाँस्दै भनिन् । 

 

नागरिकताको प्रमाणपत्रका आधारमा २९ वर्षमा हिँडिरहेकी मीरा एकदमै फिट देखिन्छिन् । ‘दौड, प्रशिक्षण र प्रतिस्पर्धा नै यसको मुख्य कारण हो,’ उनी आफ्नो फिट शारीरिक बनावटको किस्सा सुनाउँछिन्, ‘खानपानमा पनि उति चुजी छैन ।’ नेपालमा रहँदा दालभात, तरकारी र विदेशमा पास्ता खाएर दौडन्छिन् उनी । त्यसबाहेक मीराले खाने न कुनै निश्चित परिकार छ, न खाने निश्चित समय नै । कहिलेकाहीं उनी फलफूल भने खान्छिन् । उनलाई सर्वाधिक मन पर्ने कुरा भने मासु कै परिकार हुन् ।

सन् २०१४ मा पहिलो अन्तर्राष्ट्रिय यात्रामा इटाली पुगी त्यहाँ च्याम्पियन नै भएपछि मीरा जीवनमै सर्वाधिक खुसी भइन् ।

 

‘इटलीमा सोलेडोलो रेस जितेको क्षण मेरा लागि सर्वाधिक खुसीको क्षण थियो,’ उनले सुनाइन्, ‘मीरा फस्ट भनेपछि झोलाको गोजीबाट नेपाली झन्डा निकालें र फरफराएँ ।’ मीराले हरेक दौडमा भाग लिँदा बोक्ने झोलाको गोजीमा नेपाली झन्डा छुट्दैन । जब रेस जित्छिन्, त्यो झन्डा निकालेर फहराउँछिन् । ‘मेरो ब्यागको खल्तीमा जहिल्यै नेपालको झन्डा हुन्छ,’ मीरा भन्छिन्, ‘जब रेस जित्छु, झन्डा निकालेर फहर्‍याइहाल्छु ।’ के उनलाई आफ्नो अर्को खल्तीमा पूर्वपार्टी माओवादीको पनि झन्डा भए हुन्थ्यो लाग्दो हो ? कस्तो प्रश्न गरेको, उनी अलि कड्किइन्– ‘पार्टीहरू केही पनि होइनन्, हामी सबै नेपाली हौं, त्यसैले मलाई मेरो देशको झन्डा सबैभन्दा प्रिय छ ।’

 

मीरा के अहिले माओवादी पार्टीको सदस्य होलिन् ? ‘अहँ, आजकाल म राजनीतिसँग सम्बद्ध छैन,’ उनले भनिन्, ‘हामी सबै एक हौं । पार्टीमा रहेर विभाजित हुनुको के अर्थ ?’ मीरालाई एडभेन्चर्स अफ दि इयरको उपाधि दिलाउन उनले गरेका स–साना प्रयासले पनि उत्तिकै काम गरेको छ । उनी आफू मात्र दौडन्नन्, गाउँ पुगेर दौडको आयोजना पनि गर्छिन् । गाउँका बालबालिका तथा युवायुवतीहरूबीच प्रतिस्पर्धा गराउँछिन् । जब प्रतिस्पर्धामा फस्ट हुनेहरूको मुस्कान फुट्छ, उनी त्यही मुस्कानसँगै आफ्नो बाल्यकाल स्मरण गर्छिन् र भावुक हुन्छिन् ।

गत अक्टोबरमा उनी गाउँ गइन्, त्यहाँ दौडको आयोजना गरिन् र जुत्ता बाँडिन् । बालबालिका तथा स्थानीय बासिन्दाहरू पनि निकै खुसी भए । राईले सन् २०१७ मा हरेक महिना काठमाडौंमा ट्रेल रेस सिरिजको आयोजना गर्दैछिन्, जसमा जो–कोहीले भाग लिन पाउँछन् । सबै दौडन चाहनेहरूलाई सहयोग गर्नु उनको मुख्य उद्देश्य हो । मीरा त्यसको मुख्य आयोजक हुन् । धरान, झापा, खोटाङ, भोजपुर आदि देशका विभिन्न ठाउँमा पनि रेस आयोजना गर्ने उनको सपना छ ।

 

तीन वर्षमा आएको आफ्नो जीवनको कायापलटमा उनले सबैभन्दा बढी सम्झने दुई पात्र छन् । एक हुन्— उनका गुरु अर्थात् कराँते प्रशिक्षक ध्रुवविक्रम मल्ल तथा अर्का उनका बोस अर्थात् ट्रेल रेस नेपालका सह–संस्थापक रिचर्ड बुल । मल्ल नभैदिएको भए उनी मलेसियामा जागिर गरिरहेकी हुन्थिन्, बुल नभएका भए अन्तर्राष्ट्रिय ट्रेलहरूसम्म उनको यात्रा यति सहज हुने थिएन । त्यसबाहेक मीरा आफूलाई साथ दिने र सहयोग गर्ने सबैलाई आफ्नो सफलताको श्रेय दिन चाहन्छिन् । अहिले मीरालाई स्पोर्ट क्लोथको चर्चित ब्रान्ड सलोमनले प्रायोजन गर्छ । त्यसबाहेक अल्ट्रा रेसको आयोजना तथा प्रवद्र्धन गर्ने संस्था ‘ट्रेल रनिङ नेपाल’ले पनि मीरालाई सहयोग गरिरहेको छ । मीरा कान्तिपुर मिडिया ग्रुपको ई–कान्तिपुरकी ब्राण्ड एम्बेसडर पनि हुन् । 

 

छापामारदेखि धावकसम्म

१७ पुस २०४५ सालमा भोजपुरको सानोदुम्मा—९ घोर्लेवनमा जन्मिएकी हुन्— मीरा । बाल्यकालमा आर्थिक अभाव र विपन्नतासँग जुधिरहेको थियो उनको परिवार । विकट हिमाली क्षेत्रको विपन्न परिवारमा लागेको गरिबीको बादलले मीरालाई पनि सुखद भविष्यको नीलो आकाश हेर्ने अवसरबाट वञ्चित गरायो । सात जनाको उनको परिवारमा उनीसहित आमाबुवा दुई भाइ तथा दुई बहिनी छन् । बुवाले उनलाई स्थानीय पँधेरी निम्न माविमा भर्ना गरिदिए । घरबाट स्कुल पुग्न ४५ मिनेट लाग्थ्यो । ‘कुदेर स्कुल जान्थ्यौं, कुदेर फर्कन्थ्यौं,’ उनले सुनाइन्, ‘स्कुल जानै ४०–४५ मिनेट लाग्थ्यो ।’ 

 

बुवाले पढ्नका लागि स्कुल भर्ना गरिदिए पनि त्यो उनको जीवनको पार्टटाइम बन्यो । उनको फूलटाइम काम भने घाँस काट्ने, दाउरा बटुल्ने, गोठालो लाग्ने र पानी बोक्ने थियो । बाल्यकालमै मीरालाई आमाले झेलिरहेको दु:खले पनि निकै झस्काउथ्यो । मीरा बाल्यकालमै दाउरा बोक्न र घास काट्न छाडेर केही फरक काम गर्न चाहन्थिन् । उनी काठमाडौं आउन चाहन्थिन् । केही राम्रो अवसर प्राप्त गरेर नाम कमाउन सकियोस् भन्ने उनको इच्छा हुन्थ्यो, तर इच्छाले मात्र केही हुँदो रहेनछ । न त उनले चाहेजस्तै अवसर आयो, न त काठमाडौं आउने इच्छा नै पूरा भयो । ‘केही चान्स पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले त्यो समयको स्मरण गरिन्, ‘दाउरा घासभन्दा केही नयाँ कुरा गर्न मन लाग्थ्यो ।’

 

सानैदेखि उनी एकै ठाउँमा बसिरहन सक्दिनथिन् । त्यसैले खाना खानेबित्तिकै कि घाँस–दाउरा गर्न जान्थिन्, कि त साथीहरूको हालचाल सोध्न घर–घर चहारिरहेकी हुन्थिन् । उनी कक्षा ६ मा पढिरहेका बेला पहिलोपल्ट माओवादीसँग साक्षात्कार भयो । ‘गाउँघरमा भिडन्त भैरहेका हुन्थे । कार्यक्रमहरू पनि भैरहन्थे,’ उनी माओवादीसँगको आफ्नो भेटका बारेमा भन्छिन्, ‘केटाकेटीलाई समान मान्थे, विभेद गर्दैनथे ।’ त्यसबाहेक माओवादीभित्र अवसर पाइन्छ कि भन्ने सोच उनमा पलायो, जसका कारण माओवादीसँग साक्षात्कार भएको दुई वर्ष नपुग्दै उनी आफैं माओवादी छापामार भइन् । मीरा त्यतिबेला १४ वर्षकी थिइन्।

 

‘दुई–तीन पटकसम्म यसो नगर भनेर सुझाव दिने । त्यतिले पनि नमाने कारबाही गर्ने,’ उनले सुनाइन्, ‘जाँड–रक्सी खाएकालाई कारबाही गर्ने कुराले मेरो मन जित्यो ।’ घरको नाजुक अवस्थाका कारण आफू माओवादी सेनामा गए परिवारका सदस्यहरूका लागि केही गर्न सकिन्छ कि, अवसर पाइन्छ कि, केही मिल्छ कि भनेर पनि आफू माओवादीमा लागेको उनको भनाइ छ । उनी माओवादी सेनामा गैसकेपछि पूर्वी पहाडका विभिन्न जिल्ला घुमिन्, छापामारहरूको पछाडि रहेर विभिन्न लडाइँ हेरिन् । उनले त्यस क्रममा बन्दुक चलाउन तथा आफ्नो सुरक्षा गर्न सिकिन् । 

 

०६२/६३ को जनआन्दोलनपछि माओवादी पार्टी बन्दुक बिसाएर शान्ति प्रक्रियामा सहभागी भयो । शान्ति प्रक्रिया सुरु भएपछि उनको दोस्रो डिभिजन सिन्धुलीस्थित क्याम्पमा बस्न थाल्यो । मीराले त्यहाँ रहँदा पीएल स्पोर्टमा रहेर विभिन्न खेलमा भाग लिइन् । त्यही बेला उनले कराँतेमा ब्ल्याक बेल्ड हात पारिन् । 

शान्ति प्रक्रियापछि सबै छापामार नेपाली सेनामा भर्ना हुने सपना बुन्न थाले । मीराले पनि त्यही सपना देख्न थालिन्, तर नाबालक भएको कारण देखाउँदै वि.सं. २०६६ मा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले उनलाई अयोग्य लडाकु घोषणा गर्‍यो । ‘अयोग्य घोषित भएपछि साह्रै दु:ख लाग्यो,’ उनले भनिन्, ‘सबै साथी रुन थाले, मैले साथीहरूलाई सम्झाएँ ।’

क्याम्पबाट निस्किएपछि उनी अयोग्य लडाकु साथीहरूसँगै बसिन् । त्यसबीच उनले १८ महिने कृषिको कोर्स पनि पढिन् । पीएलए स्पोर्ट्समा हुँदा हाइजम्प खेलाडी सीता हजाम उनकी साथी थिइन् । उनले ‘चिनेको राम्रो म्यानपावर कम्पनी छ, त्यहीमार्फत मलेसिया जाऊ’ भन्ने प्रस्ताव मीरासमक्ष राखिन् । मीरा पनि घरको आर्थिक अभाव टार्न पैसा कमाउन चाहन्थिन् । त्यसैले सीताको प्रस्ताव मीरालाई पनि ठीक लाग्यो, उनी मलेसिया जाने तयारीमा लागिन् । साथीसँग ऋण लिएर पासपोर्ट बनाइन्, भिसा पनि लाग्यो। 

 

मंसिर, २०७० मा उनी वैदेशिक रोजगारीका लागि मलेसिया जान काठमाडौं आइन् । मलेसिया जाने तयारीमा रहेका बेला उनले पहिले सिन्धुलीमा पीएल स्पोर्टसमा हुँदा चिनेका कराँते गुरु ध्रुवविक्रम मल्ल भेटिए । उनले मीरालाई एक वर्ष भए पनि नेपालमै बसेर खेल्न अनुरोध गरे । मीराले आफ्ना कराँते गुरुको उक्त प्रस्ताव स्वीकार गरिन् । उनको त्यही निर्णय नै जीवनमा यो उचाइ हासिल गर्ने टर्निङ प्वाइन्ट बन्यो।

 

‘म्याराथन त मैले हिजो–अस्ति मात्र सुरु गरेकी हुँ,’ मीराले भनिन्, ‘बालाजु कराँते एकेडेमीका कराँते गुरू ध्रुवविक्रम मल्लले मलेसियाको भिसा रोकेर काठमाडौंमा राख्नुभयो । मसित त्यतिबेला काठमाडौंमा बस्ने र खाने पैसा थिएन, गुरुले नै त्यो अवसर मिलाइदिनुभयो । गुरुले मेरो प्रतिभा चिन्नुभयो ।’

 

मल्लले नै एथलेटिक प्रशिक्षक सुशीलनरसिंह राणालाई फोन गरेर मीराका लागि रंगशालामा ट्रेनिङको व्यवस्था मिलाइदिए । त्यसको केही समयपछि नै मीरा हिमालयन आउटडोरको फूलबारीदेखि हात्तीवनसम्मको ट्रेल रनिङमा सहभागी हुँदै विजयी भइन् । त्यसयता उनको जीवन फरक गोरेटोमा हिँडन थाल्यो ।

 

मीरा राई नहार्ने, नथाक्ने महिला हुन् । १२ वर्षकै उमेरमा उनी धानका गर्‍हँुगा भारी बोकेर उकाली–ओराली गर्थिन् । जुन उमेरमा उनको उमेरका केटाकेटीहरू स्कुल जान्थे । नेपालको पूर्वी जिल्ला भोजपुरको विकट हिमाली क्षेत्रमा हुर्किएकी २९ वर्षीया राईले हात पारेको सफलता नेपाली महिलाहरूको सोचभन्दा पर छ ।

इण्डियन टाइम्स

 

मीरा राई एक समय हिमालमा चामलको भारी बोक्थिन् । अहिले उनी अन्तर्राष्ट्रिय ट्रेल रेसहरू जितेर नेपाली महिलाका लागि प्रेरणाको स्रोत बनेकी छिन् । 

नेसनल जियोग्राफिक 

 

प्रत्येक वर्ष नेसनल जियोग्राफिकले असाधारण १० जनालाई बर्सेनि एडभेन्चर्स अफ द इयर एवार्डले सम्मानित गर्छ । यो वर्ष मीरा राईले नोमिनेसनमा परेका १० जनामध्ये सबैलाई पछि पार्दै उच्च भोट प्राप्त गरिन् । अहिले उनी काठमाडौंमा प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने र ट्रेल रेस सिरिजहरू आयोजना गर्ने प्रयास गरिरहेकी छिन् । 

हफिङ्टनपोस्ट

 

नेपाली रनर मीरा राई नेसनल जियोग्राफिक पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर घोषित भएकी छिन् । उनी आफ्नो अथक प्रयासले विविध अवरोध छिचोल्दै खेलकुदमा आफ्नो नाम उचो बनाउन सफल भएकी हुन् । 

बेरनामा डटकम

 

मीरामा अथाह ट्यान्लेट छ

प्रीति खत्री, मीराकी साथी 

 

म बैंगलोरमा थिएँ, भारतीयहरूसँग दौडन्थें । हाम्रो एउटा समूह थियो । त्यहाँ मानिसहरू ५ किलोमिटर, १० किलोमिटर दौडन्थे । म १० किलोमिटर दौडन्थें । एकपटक पत्रिकामा मीराले इटालीमा रेस जितेको तस्बिर छापियो । मैले १० किलोमिटर दौडिएको देखेपछि साथीहरूले मलाई मीरा राईसँग जोड्न थाले । त्यसभन्दा अघि मलाई मीरा राई अल्ट्रा रनर हुन् भन्ने कुरा थाहा थिएन । 

 

यसबीच भूकम्पका बेला म नेपाल आएँ । स्यानिटेसन प्रोजेक्ट गरिरहेकी थिएँ । यसै क्रममा काठमाडौं अल्ट्रा सम्पन्न भयो । त्यसमा मैले रिचर्ड बुल र मीरालाई भेटे । त्यसपछि मुस्ताङको रेस भयो, क्रमश: मनास्लुको रेस पनि सम्पन्न भयो । त्यसमा हामी सँगसँगै कुद्यौं । मीरामा अथाह ट्यान्लेट छ । अवसर मिले उनी त्यसलाई ब्लास्ट गर्न सक्ने क्षमता राख्छिन् । सबैको आ–आफ्नो ठाउँ र काबिलियत हुन्छ । मैले नेपालका महिलाहरूलाई धेरै बलियो देखेकी छु । उनीहरू ग्याँसको सिलिन्डर काँधमा राखेर उकालो–ओरालो गर्छन् । ठूलो भारी बोकेर हिमाल चढ्ने ती प्रतिभालाई यस्ता प्रतिस्पर्धामा उतार्ने हो भने उनीहरूले सहजै राम्रो नतिजा दिन सक्छन् । 

प्रकाशित :माघ २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्