महिला पिसाब नलीका बारेमा डा. सुमनको सल्लाह

- डा. सुमन कर्माचार्य

माघ १८, २०७३- 

योनिमार्गको अघिल्लो भाग तथा पिसाब खुल्ने प्वालको साइडमा हुने १ देखि ३ इन्च लामो सिमी आकारको भागलाई ग्राफेनवर्ग स्पट भनिए पनि छोटकरीमा जी स्पट भनिन्छ । त्यसो त पिसाब नलीलाई योनिमार्गको अघिल्लो भित्तासँग करिब १ सेन्टिमिटर बाक्लो झिल्लीले छुट्याएको हुन्छ । योनिमार्गको अगाडिको भागमा योनिद्वार र पिसाब खुल्ने प्वालबीच रहने योनिमार्गको यो क्षेत्र चलाउँदा निकै उत्तेजना, शक्तिशाली चरमोत्कर्ष तथा स्खलन हुने भएकाले त्यसलाई महिलाको सर्वाधिक उत्तेजना क्षेत्र मानिन्छ । यसलाई कतिपयले महिला प्रोस्टेट पनि भन्छन् ।

 

जी स्पटका सम्बन्धमा सन् १९४० देखि अध्ययन गरिए पनि यसको आकार, अवस्थिति तथा परिभाषालाई लिएर निकै विवाद छ । सन् २००९ मा गरिएको ब्रिटिस अध्ययनको निष्कर्ष अनुसार भौतिक रूपमा जी स्पट भन्ने कुनै कुरा हुँदैन । यो त केवल आ–आफ्नो अनुभूति मात्र हो, तर अल्ट्रासाउन्ड प्रयोग गरी गरिएको अर्को अध्ययनअनुसार यौनसम्पर्कका बेला चरमोत्कर्ष अनुभव गरेकी महिलामा जी स्पटको कार्यगत उपस्थिति देखिएको छ । कतिपयले यो क्षेत्रलाई भगांकुरको फैलावट मानेका कारण जी स्पटको उत्तेजनापछि चरमोत्कर्ष प्राप्त हुने विश्वास गरिन्छ ।

 

योनिमार्गको अगाडिको भाग चलाउँदा जी स्पट क्षेत्रको आकार ५० प्रतिशतले वृद्धि हुनुका साथै चरमोत्कर्ष यौनसन्तुष्टिको गहिराइ पनि निकै हुने बताइन्छ । त्यसैगरी सन् १९८३ मा गरिएको अर्को अध्ययनमा योनिमार्गको भित्तामा घडीको सुई घुम्ने तवरले चारैतिर क्रमैसँग चलाएर परीक्षण गर्दा अध्ययनमा संलग्न ११ जना महिलामध्ये ४ जना महिलामा योनिमार्गको अगाडिपट्टि विशेष संवेनदशील क्षेत्र भेटियो अर्थात् छुट्टै प्रतिक्रिया देखियो । पछि त्यसैलाई जी स्पटका रूपमा परिभाषित गरियो । युनिभर्सिटी अफ ला अक्विलाका अनुसन्धानकर्ताहरूले अल्ट्रासाउन्डबाट योनिमार्गको अगाडिपट्टिको जी स्पट क्षेत्रको तन्तुको बाक्लोपन पत्ता लगाए । 

 

त्यसो त सन् १९४० मै ग्राफेनवर्गको अनुसन्धान महिला पिसाब नली उत्तेजनासम्बन्धी भए पनि योनिमार्गको अगाडिपट्टि पिसाब नली रहने क्षेत्रभरि उत्तेजित हुने कुरा बताएका थिए । सन् १९६० ताका रेग्नियर डी ग्राफले महिला स्खलनको व्याख्या गर्दा पुरुषको प्रोस्टेटजस्तै महिलाको योनिमार्गमा हुने यसै उत्तेजक क्षेत्रलाई सर्वप्रथम जर्मन गाइनोकोलोजिस्ट एरन्स्ट ग्राफेनवर्गले रिपोर्ट गरे र त्यसको दुई दशकपछि सन् १९८१ मा एडिड्यगो तथा उनका सहकर्मीहरूले ग्राफेनवर्गकै सम्मानमा यो भागको नामाकरण जी स्पटका रूपमा गरे । 

 

सन् १९८२ मा एलिस काह्न लाडास तथा बेभर्ली ह्विपलले प्रकाशित गरेको ‘द जी स्पट एन्ड अडर रिसेन्ट डिस्कभरिज एबाउट ह्युमन सेक्सुअलिटी’ रिपोर्टका कारण जी स्पट निकै चर्चामा आयो । रिपोर्टको प्रकाशनलगत्तै त्यतिबेलाका प्रसिद्ध गाइनोकोलोजिस्टहरूले त्यसको आलोचना पनि गरे । कतिपयले जी स्पट हुने कुरालाई नै नकारे । कतिपयले पोस्टमार्टममा यो अङ्ग फेला पार्न नसकिएको दावी गरे ।

कतिपय अनुसन्धानकर्ताले जी स्पट र भगांकुरको उद्गम एउटै बताएका छन्, अर्थात् योनिमार्गको चरमोत्कर्ष भगांकुरको उत्तेजनाले गर्दा नै हो र भगांकुरको कोष जी स्पट क्षेत्रसम्म पनि फैलिएको हुन्छ ।

 

मास्टर्स एवं जोन्सनले लेबियाको विभिन्न भागसम्म फैलिने भगांकुर र जी स्पटलाई छुट्टै मानेका छन् । सन् २०१० मा ‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ले जी स्पटका दुवै पक्ष उजागर गर्ने क्रममा जी स्पटलाई अत्यधिक यौन सन्तुष्टि दिने माध्यम माने पनि यसको उपस्थिति सत्यताभन्दा धेरै टाढा छ भन्ने निष्कर्ष निकालेका थिए ।

 

करिब २ हजार ३ सय ५० जना अमेरिकी तथा क्यानेडियन महिलामा गरिएको एक अध्ययनमा संलग्नमध्ये ४० प्रतिशत महिलाले चरमोत्कर्षका बेला रसिलो पदार्थ निस्कने गरेको जानकरी दिए भने त्यसमध्ये ८२ प्रतिशत महिलाले जी स्पटको अस्तित्वसँगै यसलाई संवेदनशील क्षेत्र मानेका थिए । उनीहरूले चरमोत्कर्षसँगै रसिलो पदार्थ पनि निस्कने गरेको बताए ।

 

जी स्पटको उपस्थिति र अवस्थितिका सम्बन्धमा व्यक्तिपिच्छे फरक–फरक धारणा आए पनि उत्तेजनाका बेला सम्बन्धित महिला आपैंmले देखाएको ठाउँ र जी स्पटको उत्तेजनाले महिला स्खलन हुने गरेबाट जी स्पटको निर्धारण गरिन्छ । अल्ट्रासाउन्डको माध्यमबाट महिलामा यौन क्रियाकलापका बेला जी स्पट क्षेत्रमा आउने रसायानिक परिवर्तन अध्ययन गरिएको छ । 

 

कतिपयले जी स्पट चलाउँदा भगांकुर चलाउँदा भन्दा बढी उत्तेजना हुने बताएका छन् । जी स्पट योनिमार्गको सतहभन्दा करिब १ सेन्टिमिटर तल रहने हुनाले यसको उत्तेजनाका लागि कडा वस्तु (औंला वा पुरुष लिङ्ग) अलि दबाउनुपर्ने कतिपयको धारणा छ । हस्तमैथुनका क्रममा चरमोत्कर्षमा पुग्न भगांकुर हातैले चलाउनुपर्छ, तर जी स्पटका लागि हस्तमैथुनमा जस्तै हातैले वा योनिमार्ग छेदन (औंला वा पुरुष लिङ्गले) भए पनि पुग्छ ।

 

जी स्पट उत्तेजनाका लागि यौन खेलौना पनि उपलब्ध छन् । विशेष तरिकाले डिजाइन गरी भाइब्रेटरजडित यस्ता खेलौना (जी स्पट भाइब्रेटर) कडा प्लास्टिक, रबर तथा सिलिकनबाट निर्मित हुन्छन् । व्यक्तिपिच्छेको विविधताले गर्दा जी स्पट भाइब्रेटर योनिमार्गको कतिभित्र पठाउनुपर्छ भन्ने कुरामा पनि भिन्नता हुन्छ । जी स्पट उत्तेजनाका क्रममा पुरुष लिङ्ग छेदन (यौनसम्पर्कका बेला) वा जी स्पटको भाइब्रेटरका साथै भगांकुर चलाउने छुट्टै खेलौना प्रयोग गर्न सकिन्छ । 

 

यौन विशेषज्ञहरूका अनुसार जी स्पटको अनुभव नगरेकी महिलालाई सद्दे नमानिए पनि कसैले आफूमा जी स्पटको उपस्थिति महसुस नगर्नु सामान्य कुरा नै हो, तर कतिपयले भने जी स्पटको संवेदनशीलता बढाउन प्लास्टिक सर्जरी नै गराउने गरेका छन् । स्तनको आकार बढाउने प्रविधि जस्तै गरी जी स्पट क्षेत्रमा कोलाजेन तन्तु भरेर अत्यधिक सन्तुष्टि प्राप्त गर्ने उपचार प्रविधि प्रचलनमा आए पनि अमेरिकन कलेज अफ अब्स्टेट्रिसियन एन्ड गाइनेकोलोजिस्टले सन् २००६ मा यसो गर्नुको कुनै मेडिकल कारण छैन भन्ने चेतावनी दिएका थिए । यो प्रविधि सुरक्षित एवं प्रभावकारी छैन, बरु यौनचाहनामा गडबडी, संक्रमण, संवेदनशीलता खलबलिने, यौनसम्पर्कमा पीडा हुने, खत बस्ने, टाँसिने आदि जोखिम उत्पन्न हुन सक्छ भनिएको छ ।

 

प्रकाशित :माघ १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्