गोल्डकपको लहर कति राम्रो कति नराम्रो ?

- साप्ताहिक संवाददाता

माघ १८, २०७३- 

नेपाली फुटबलमा लामो समयदेखि चलिरहेको विवादको विषय हो, के गोल्डकपका नाममा हुने फुटबल प्रतियोगिताहरू ठीक छन् ? अहिले यो प्रसङ्ग किन भन्दा एक त अहिले दर्जनजति गोल्डकप सुरु हुने वा सम्पन्न हुने क्रममा छन् । जाडो मौसम मोफसलका लागि फुटबल प्रतियोगिताको मौसम पनि हो । यो ६ महिनाको हाराहारीमा विभिन्न नाममा विभिन्न फुटबल प्रतियोगिताहरू सञ्चालित हुन्छन् । यस क्रममा आयोजक, खेलाडी, प्रशिक्षक, क्लबदेखि रेफ्रीसम्म सबै व्यस्त रहन्छन् ।

 

आयोजकहरूको दाबी मान्ने हो भने नेपाली घरेलु फुटबल यिनैले धानेका छन् । यस्तो दाबीका पछाडि ठोस कारण पनि छ । लिग फुटबल हुन नसकेको लामै समय भैसकेको छ । काठमाडौंका क्लबले खेलाडीलाई लामो व्यवसायिक अनुबन्ध नगरेको पनि धेरै भैसकेको छ । काठमाडौंमा लिग मात्र होइन, नकआउट प्रतियोगिता नै हुन नसकेको स्थितिमा घरेलु फुटबललाई जीवन्त राख्ने श्रेय यी प्रतियोगिताहरूलाई जानैपर्छ ।

 

यिनै गोल्डकपले गर्दा खेलाडीहरूले निरन्तर फुटबल खेल्नपाइरहेका छन् । पूर्वतिरको फुटबल हाँक्नमा दिलीप राई, सन्तोष बानियाँ तथा भगीरथ आलेहरू सक्रिय छन् । उनीहरूले लामै समयदेखि भनिआएका छन्– स्थानीय स्तरका यस्ता प्रतियोगिताले नेपाली फुटबलको लगातार सेवा गरिरहेको छ तर यिनै प्रतियोगितालाई पनि अखिल नेपाल फुटबल संघ (एन्फा) सहयोग गर्न कन्जुस्याइँ गर्छ । उनीहरूको मात्र होइन, पश्चिततिर फुटबल प्रतियोगिता आयोजना गर्नेहरूको आवाज पनि त्यस्तै छ । पश्चिमतिर पनि फुटबल प्रतियोगिता आयोजना गर्ने होड सुरु भैसकेको छ ।

 

मोफसलमा हुने फुटबल प्रतियोगितामध्ये अहिले चलिरहेको आहा रारा गोल्डकप सबैभन्दा व्यवस्थित मानिन्छ, तर यसको आयोजक सहारा क्लबसँग पनि केन्द्रको व्यवहारलाई लिएर धेरै गुनासो छ । नेपाली फुटबल पारखीहरूसँग पनि यी प्रतियोगितालाई लिएर गुनासो नभएको होइन । जस्तो, यस्ता प्रतियोगिताको सबैभन्दा कमजोर पक्ष भनेको प्राविधिक पक्ष हो । यस्ता प्रतिगोगिता चल्ने समयको टुंगो हुँदैन, अतिरिक्त समय थप्ने अथवा सिधै टाइब्रेकरमा जाने नियममा समेत एकरूपता छैन ।

धेरै समस्या छन्, यस्ता प्रतियोगितामा । सबैभन्दा हाँसोको विषय त्यति बेला हुन्छ, जति बेला एक दिन एउटा खेलाडीले एउटा टिमबाट खेल्छ । अर्को दिन अर्कै टिमबाट । प्रतियोगिताका क्रममा ठूलो विवाद हुँदा कसलाई कस्तो अनुशासनको कारबाही गर्ने भन्ने पनि निश्चित छैन । मैदानमा खेलाडी घाइते हुने सम्भावना पनि उत्तिकै हुन्छ । यी सबै समस्याका लागि सबैभन्दा बढी दोष स्वभाविक रूपमा एन्फातिर मोडिन्छ, किनभने फुटबलको सर्वोच्च निकाय त यही नै हो ।

 

अहिले गोल्डकपका नाममा हुने यी प्रतियोगिताको वर्गीकरण गरिने चर्चा पनि छ । प्रतियोगितालाई स्तरीय बनाउन एन्फाका तर्फबाट समय–समयमा प्रयास नभएको पनि होइन् । आउने एक वर्षमा सम्भवत: नेपाली घरेलु फुटबलमा रहेका धेरै समस्या समाधानतर्फ अग्रसर हुन सक्छ । यसका पछाडि दुई कारण छन्, पहिलो फुटबल संघलाई एसियाली फुटबल महासंघ (एएफसी) बाट अनिवार्य हुन लागेको ‘रणनीतिक योजना’ । अर्को प्रत्येक क्लबलाई ‘क्लब लाइसेनिङ’ मा जाने अनिवार्यता ।

 

अबदेखि एन्फाले एएफसीसामु आफ्नो चार वर्षे रणनीतिक योजना पेस गर्नुपर्नेछ । त्यसमा कुन प्रतियोगिता कसरी गर्ने, कति बेला गर्ने, कति गर्नेदेखि लिएर सबै योजना समावेश हुनुपर्नेछ । यस्तो योजना पेस गरिएन भने एएफसी र फिफाबाट आउने कुनै पनि प्रकारको सहयोग प्राप्त हुने छैन । क्लब लाइसेनिङ लागू भयो भने क्लबले पनि खास–खास नियम मान्नैपर्ने हुन्छ । यो नियम लागू भयो भने खेलाडीले आफू अनुबन्धित टिमलाई छाडेर अरू क्लबबाट खेल्न पाउने छैनन् ।

 

क्लबहरू लाइसेनिङमा गएनन् भने उनीहरूले एएफसीको मान्यता पाउने छैनन् भने उनीहरूले एन्फाको मान्यता प्राप्त प्रतियोगिता पनि खेल्न पाउँदैनन् । यस्तो स्थितिमा गोल्डकप आयोजना गर्ने संस्थालाई पनि आफ्नो प्रतियोगितालाई अझ परिस्कृत बनाउने दबाब हुनेछ । प्रतियोगिता कसरी व्यवस्थित गर्ने हो, प्रतियोगिता सफल र सबल बनाउन के गर्नु पर्छ भनेर प्रशिक्षण दिन पनि तयार छ, एएफसी । यो किन पनि जरुरी छ भने नेपाली घरेलु फुटबल धानेकै यस्ता प्रतियोगिताहरूले हो । त्यसैले यसमा सुधार पनि उत्तिकै आवश्यक छ ।

 

प्रकाशित :माघ १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्