अभिनयको मैदानमा ओर्लन चाहन्छु

- टोपराज शर्मा

माघ १७, २०७३- 

सन् २०१४ मा डिआईडी लिटिल मास्टर्समा ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी रुपन्देही, रुद्रपुरकी तेरिया मगरले यसपटक अर्को ठूलो सफलता हासिल गरेकी छिन् । भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने झलक दिखला जा सिजन–९ को गत शनिबार राति सम्पन्न फाइनलमा नेपाली चेली तेरियाले अन्य २ फाइनलिस्टभन्दा बढी दर्शक मत पाएर उपाधि चुमेकी हुन् । १४ वर्षीया तेरियाले फाइनलमा डिआईडी सिजन–१ एवं झलक दिखला जा कै पूर्वविजेता सलमान युसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपका विजेता शान्तनु माहेश्वरीलाई पछि पारेकी थिइन् । तेरियाको जितमा डान्स पार्टनर आर्यन पात्र तथा कोरियोग्राफर ऋषिकेश जोगदन्दको साथ थियो । 

 

गत जुलाईमा प्रारम्भ भएको यो प्रतियोगिता प्रारम्भ हुँदा १२ जोडी (पुरुष र महिला) डान्स सेलिब्रेटी प्रतिस्पर्धामा थिए । तेरिया अक्टुबर ८ तारिखमा जुनियर च्यालेन्जरका रूपमा यो रियालिटी शोमा प्रवेश गरेकी थिइन् । प्रतियोगितामा प्रवेश गरेको दुई हप्तामै आउट भएकी तेरिया वाइल्डकार्डमार्फत अन्य तीन जनासँगै पुन: त्यसमा सहभागी हुन पाउने भाग्यमानी पनि हुन् । वाइल्ड कार्डबाट प्रवेश पाएकामध्ये निर्णायकको नजरमा सबैभन्दा उत्कृष्ट ठहरिएर तेरिया टप फाइभ हुँदै फाइनलमा पुगेकी हुन् । 

 

आफूभन्दा धेरै सिनियर तथा मुम्बईका डान्स हस्तीहरूसँग प्रतिस्पर्धा गर्नुपरे पनि तेरियाले आफ्नो दृढ आत्मविश्वास, कडा मेहनत एवं विलक्षण कलाका कारण निर्णायकको मन जित्दै फाइनलसम्मको यात्रा सुनिश्चित गरेकी थिइन् । झलक दिखला जाको उपाधि जित्न तेरियाले दुई महिना कोरियोग्राफर ऋषिकेश जोगदन्दसँग प्रशिक्षण लिएको बताइन्छ । तेरिया डिआईडी लिटिल मास्टरमा भाग लिनुअघि बुटवलको बागेश्वरी संगीतालयमा प्रशिक्षार्थी थिइन् । सानैदेखि नृत्यमा रुचि राख्ने तेरियालाई उनका हजुरबुबा कृष्णबहादुर फौजाले रुद्रपुरबाट ३० किलोमिटर टाढा बुटवलको बागेश्वरी संगीतालयमा नृत्य सिक्न दिनहुँ मोटरसाइकलमा ल्याउँथे ।

 

बागेश्वरीमा नृत्य सिक्दासिक्दै काठमाडौंमा एउटा जापानी संस्थाले आयोजना गरेको राष्ट्रव्यापी नृत्य प्रतियोगिता स्कुल क्याराभानमा प्रथम भएर एकलाख नगद पुरस्कार जितेपछि तेरियाको नृत्यमा क्यारियर बनाउने चाहनालाई परिवारले साथ दिन थालेको हो । तेरियाले साप्ताहिकसँगको कुराकानीका क्रममा झलक दिखला जाको उपाधि जितेपश्चात् अब डान्ससँगै एक्टिङ (अभिनय) मा पनि क्यारियर बनाउने योजना रहेको खुलासा गरेकी छिन् । डिआईडी उपाधि जितेपछि जीटिभीसँगको तीनवर्षे अनुबन्धका कारण तेरिया मुम्बईमै रहेर अध्ययन तथा क्यारियरलाई अघि बढाइरहेकी छिन् । तेरियासँग बुटवलबाट साप्ताहिककर्मी टोपराज शर्माले गरेको टेलिफोन कुराकानी : 

 

झलक दिखला जाको उपाधि जित्दा कस्तो अनुभूति भयो ?

रिजल्ट घोषणा हुनेबित्तिकै त सपनाजस्तै लाग्यो । एकखालको झट्का (शक) लागेजस्तो महसुस भयो । केही बोल्नै सकिन, मैले ‘थ्याङ्क्स गड’ मात्र भनिरहें । जे होस्, म एकदमै खुसी छु, नसोचेको सफलता पाएजस्तो लागिरहेको छ । 

 

भारतजस्तो मुलुकमा गएर यस्तो सफलता कसरी पाउनुभयो

म सानैदेखि डिआईडी, झलक दिखला जाजस्ता रियालिटी शोहरू हेर्थें । मनमनै त्यस्ता कम्पिटिसनमा भाग लिएर जित्न पाए हुन्थ्यो भन्ने सपना पनि बुन्थें । जब डिआईडी लिटिल मास्टर्समा भाग लिएर पहिलो पटकमै जित हासिल गरें, मेरो कन्फिडेन्ट लेबल बढ्यो र डान्समा अझै धेरै गर्न सक्छु भन्ने लाग्यो । डिआईडी जितेपछि मुम्बईमै भएकाले ‘झलक दिखला जा’मा जुनियर च्यालेन्जरका रूपमा भाग लिने अवसर जुट्यो, तर म दुई सातामै आउट भएँ । त्यतिबेला म साह्रै निराश थिएँ र अब इन्ट्री पाउँदिनँ भन्ने लागेको थियो ।

 

मेरो भाग्य बलियो भएर होला, मैले वाइल्ड कार्डमार्फत झलकमा फेरि इन्ट्री पाएँ, त्यसपछि अब यो मौकालाई कसैगरी गुमाउन दिन्न भन्ने मनमनै डिसाइड गरें अनि कडा मेहनत गरें । त्यसकै परिणामस्वरूप म विनर भएकी हुँ । भित्रैबाट इमान्दारिताका साथ डेडिकेटेड भएर कडा मेहनत गरेकाले नै यो सफलता हात लागेको हो । मेरो जितमा मेरा डान्स पार्टनर आर्यन पात्र, कोरियोग्राफर ऋषिकेश जोगदन्द, मेरो परिवारका सबै सदस्य तथा देश–विदेशका तमाम नेपाली एवं नेपाली मिडियाको सपोर्टले पनि काम गरेको छ । 

 

तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग थियो ? 

म पाँच जना जुनियर च्यालेन्जरसँगै इन्ट्री भएकी हुँ । त्यसअघि १२ जना सिनियरले प्रतिस्पर्धा गरिरहेका थिए । ‘झलक दिखला जा’ डिआईडीभन्दा पनि ठूलो कम्पिटिसन हो । त्यहाँ मभन्दा सिनियरहरू तथा इन्डियाकै टप डान्सर सेलिब्रेटीहरू थिए । तीमध्ये पनि डिआईडी सिजन–१ एवं ‘झलक दिखला जा’कै पूर्व विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियनसिपका विजेता शान्तनु माहेश्वरीसँग प्रतिस्पर्धा गर्नु नै ठूलो एचिभमेन्ट थियो । खासमा मलाई यी २ जनासँगै डर लागिरहेको थियो । किनभने उनीहरूलाई जित्न सजिलो थिएन । 

 

पुरस्कारको रकमले के गर्ने योजना छ ?

यस विषयमा अहिलेसम्म त केही सोचेकी छैन, कुनै प्लान पनि बनाएकी छैन तर राम्रो काममा खर्च गर्नेछु । किनभने डिआईडी जितेपछि मैले आफूले कमाएको पैसाबाट धादिङको एउटा स्कुलका भूकम्पपीडित विद्यार्थीहरूका लागि १ लाख रुपैयाँ सहयोग गरेकी थिएँ । अहिले पनि त्यस्तै सोसल सर्भिस हुने काममा केही पैसा खर्च गर्छु । 

 

अबको तपाईंको योजना के छ ? 

डान्स मेरो प्यासन हो । त्यसैले डान्समै धेरै गर्नु छ मैले । अझै धेरै कुरा सिक्न बाँकी नै छ । भविष्यमा राम्रो डान्स कोरियोग्राफर बन्ने लक्ष्य छ । डान्ससँगै मलाई एक्टिङमा पनि रुचि छ । अब राम्रो अफर आए फिल्म तथा सिरियलमा एक्टिङ गर्नेछु । 

 

अब भारतमै बस्ने कि नेपाल आउने ? 

आफ्नो देश नआउने भन्ने त प्रश्नै हुँदैन । म जहाँ बसे पनि देशको नाम उँचो बनाउनु नै मेरो कर्तव्य हो । अहिले म सानै छु । आफ्नो करियर र अध्ययनका लागि अहिले म मुम्बईमा छु । धेरै कुरा म आफैं डिसाइड गर्न सक्दिनँ तर मेरो जन्मघर रुद्रपुर, रूपन्देहीमा मेरो सबै चिज छ । मलाई यहाँसम्म पुर्‍याउने मेरा बाबा (हजुरबा) हजुरआमा सबै त्यहीं छन् । म सधैं उनीहरूलाई मिस गरिरहन्छु । त्यसैले आफ्नो जन्मभूमि छोड्ने कुरा हुँदैन । अब मेरो एक्जाम आउँदैछ, एक्जाम दिएपछि एकपटक त नेपाल पुग्नैपर्छ । यो जितको खुसी पनि बाँड्नु छ । 

 

डान्समा लागेपछि अध्ययनमा असर परेको त छैन ? 

नेपालमा हुँदासम्म त म क्लास फस्ट नै हुन्थें । एक दुई दिन अध्ययन छुट्दा पनि सजिलै कभर गर्न सक्थें तर डिआईडीमा भाग लिएपछि धेरै दिनसम्म क्लास एटेन्ड गर्न मिलेन । त्यसैले अध्ययनमा डिस्टर्ब नहुने त कुरै भएन, तर म सधैं अध्ययनलाई प्राथमिकता दिन्छु । छुटेको क्लासका लागि एक्स्ट्रा क्लास लिन्छु । ट्युसन पढ्छु र आफूलाई मेन्टेन गर्छु । म अहिले न्यू मुम्बईको सेन्ट लरेन्स हाइ स्कुलमा ८ कक्षामा अध्ययनरत छु । मलाई मेरो स्कुलका साथी तथा टिचरहरूले पनि धेरै सपोर्ट गरेकाले अहिले पनि क्लासमा टप थ्रिमै पर्छु । 

 

तेरियामा त्यस्तो खास के जादु छ जसले लगातार सफलता दिलाइरहेको छ ?

‘इट्स म्याजिक’ । डान्स मेरो प्यासन हो । म डान्सबाहेक केही सोच्दिनँ । जहाँ जुनसुकै बेला पनि म डान्समै रमाइरहेकी हुन्छु । ममा डान्समै केही गर्नुपर्छ भन्ने डेडिकेसन, डिभोसन र अनेस्टी (इमान्दारिता) छ । त्यसैले नै मैले सफलता पाइरहेकी छु । यसबाहेक मेरो फेमिली, देश–विदेशका नेपाली र मिडियाको साथ तथा सपोर्टले पनि मेरो सफलतामा काम गरेको छ । 

 

तपाईंलाई मन पर्ने कुरा के–के हुन् ?

फुर्सदमा सोसल मिडियामा भुल्न रुचाउँछु । त्यहाँ प्रशंसकहरूका म्यासेजको रिप्लाई गर्छु । मलाई खानामा मन पर्ने नेपाली परिकार टिपिकल दाल, भात, तरकारी, पिज्जा, बर्गर अनि चकलेट हुन् । पहिरनमा प्रिन्सेस गाउन, वान पिस, अम्रेला सुट, जिन्स–पाइन्ट मन पर्छन् । ठाउँमा मलाई पूर्वी नेपालको इलाम सबैभन्दा बढी मन पर्छ । यद्यपि अहिलेसम्म म इलाम पुगेकी छैन तर इलाम घुम्ने रहर भने छ । मलाई अहिलेसम्म हेरेका फिल्ममध्ये सबैभन्दा मन परेको फिल्म ‘दंगल’ हो । कलाकारहरूमा नेपालका प्रियंका कार्की, रेखा थापा, अनमोल केसी, आर्यन सिग्देल तथा भारतका आमिर खान, सलमान खान, रणवीर कपुर, दिपीका पादुकोण आदि हुन् । 

प्रकाशित :माघ १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्