बानी

- सुविन भट्टराई

माघ १६, २०७३

 

केही कुरा चाहनु र त्यही कुरा पाउनुबीचमा असंख्य अग्ला पहाड उक्लिनु अनि झर्नुजत्तिकै समय र मेहनतको आवश्यकता हुन्छ । केही कुरा चाहनु र त्यही कुरा पाउनुबीचमा धेरै खोला तर्नुको ऊर्जा र दूरी हुन्छ । केही कुरा चाहनु र त्यही कुरा पाउनुबीच ग्रीष्म र शिशिरबीचको समय व्यतीत हुनुजत्तिकै समय व्यय हुन सक्छ । केही कुरा चाहनु र त्यही कुरा पाउनुबीचको अवधि एउटा बच्चा बूढो हुन लाग्ने कालखण्डजत्तिकै पनि हुन सक्छ ।

 

केही चाहने मनले हो । आँखाले कुनै चीज सेक्नेबित्तिकै मनमा सपना भुलुक्क उम्लिहाल्छ । चाहनु सजिलो छ । सपना सजाउन केही छैन । रहरहरूको चङ्गामा आशाको धागो हालिदिए माथि उडिहाल्छ ।

तर अप्ठेरो पाउनुमा छ । पाउनुसम्मको दूरी तय गर्नुमा छ । यद्यपि सफलता हिँड्डा–हिँड्दै जो–कोहीलाई स्पर्श गर्ने हावाको झोँकाजस्तो सहज छैन । हामीमध्ये धेरै त्यो दूरी आँक्न जान्दैनौँ । त्यो मेहनतको अनुमान गर्न सक्दैनौँ । मानिसले धैर्यपूर्वक अनुशासनमा बसेर गरेको कामलाई नजिकबाट नियाल्दैनौँ । हामीमध्ये धेरैलाई त धैर्य गर्न पनि आउँदैन ।

 

एउटा अठारवर्षे ठिटो जोस र जाँगर लिएर जिम जान्छ । ऊ आफू जिम गएको पहिलो दिन नै घर फर्केर ऐनामा आफ्ना पाखुरा हेर्छ र जत्राको तत्रै पाएर खिस्रिक्क पर्छ । आजदेखि पढ्न थाल्छु, टप गर्छु भनेर सुरु गरे पनि क्याल्कुलसको पहिलो हिसाब नै नमिल्दा पढाइ–सढाइ छाडेर भागूँजस्तो लाग्छ । 

शरीरको तौल घटाउन उसले आज फलफूल मात्र खायो । भोलि तौल नाप्दा उस्ताको उस्तै देख्दा ‘आ, केही नहुने रै’छ, खान्छु टन्न’ भनेर धेरै खान मन लाग्छ । आज रोपेर आजै फुल्ने फूल यो संसारमा खोइ कहाँ छ ? पहिलो पाइला चाल्दैमा कोही एकैपटक गन्तव्यमा कहाँ पुग्छन् र ? परीक्षा पनि आज दियो भने केही महिनापछि मात्र रिजल्ट हुन्छ ।

 

आज पेटमा रोपिएको सन्तानको बीउ धरतीमा फूल बनेर निस्कनसमेत नौ महिना लाग्छ ।संसारमा सबै कुराको नियम हुन्छ । प्रक्रिया हुन्छ । सबै कुराको गति हुन्छ । समय हुन्छ र हामीमा सबैभन्दा ठूलो खाँचो अनुशासन र धैर्य गर्ने क्षमताको छ । आजदेखि पढ्न थालेकाले एक महिनापछि केही न केही त पक्कै सिक्छ । आजदेखि जिम गर्न थाल्नेको एक–दुई महिनापछिको शरीरमा पक्कै केही परिवर्तन आउँछ । आज रोपेको फूल एक महिनापछि कोपिला लागेको हुन सक्छ । मात्र आफूमा धैर्य गर्ने क्षमता र अनुशासन हुनुपर्छ अनि कुनै पनि दिन नटुटाई आफ्नो काममा निरन्तर लागिरहनुपर्छ ।

 

मानिस असफल किन हुन्छ भने उसले आज एउटा काम सुरु गर्छ, भोलि पनि गर्छ, पर्सि गर्ला तर केही दिनपछि ऊ वाक्क हुन्छ र छाडिदिन्छ । कोही एक दिन गर्ने दुई दिन नगर्ने खालका हुन्छन्, निरन्तरता दिँदैनन् । कतै पढेको थिएँ, कुनै पनि कुरामा बानी पर्न कम्तीमा बाह्र हप्ता लाग्छ । यो कुरा मेरो हकमा पनि लागू हुन्छ । पहिले–पहिले म पैदल पटक्कै नहिँड्ने । स्वास्थ्य पनि राम्रो थिएन । स्वास्थ्य राम्रो बनाउनुपर्‍यो भनेर मैले बेलुकी–बेलुकी कम्तीमा दुई–तीन किलोमिटर हिँड्ने अठोट गरेँ । एक दिन हिँड्यो, अर्को दिन अल्छी लाग्ने । केही दिनपछि फेरि पश्चाताप हुन्थ्यो अनि फेरि हिँड्न थाल्थेँ । एक वर्षसम्म यसैगरी अनियमित रूपमा हिँडियो ।

 

पछि दैनिक हिँड्न थालेँ । हिजोआज बेलुकी–बेलुकी ५–६ किलोमिटर हिँड्न पाइनँ भनेचाहिँ बरु छट्पटी हुन्छ । त्यस्तै महत्वपूर्ण काममा अल्झिएँ भने मात्र हो, नभए मेरो इभिनिङ वाकले नियमितता पाएको छ र मलाई महसुस भएको छ कि कम्तीमा तीन महिनाजति नियमित केही काम गरियो भने मात्र त्यसले बानी बसाल्छ । अल्छी नै लागे पनि, घिस्रिएर नै भए पनि, तीन महिनाचाहिँ आफूलाई मन नलागे पनि गरिरहनुपर्छ । आखिर सबै कुरा बानी नै रहेछ । हरेकले बुझ्नैपर्छ यो । एक दिन अल्छी गर्‍यो, सधैँ अल्छी गरिरहने बानी हुन्छ । एक दिन जाँगर चलाउँm, राम्रो त आफ्नै जिन्दगानी हुन्छ ।

प्रकाशित :माघ १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्