हामी नङ र मासु हौं

- साप्ताहिक संवाददाता

माघ १५, २०७३

 

चलचित्र निर्माण, अभिनय र राजनीतिलाई एकसाथ अघि बढाउन सकिन्छ ?

अफकोर्स, सकिन्छ । पहिलो त म चलचित्रकर्मी हुँ, त्यसैले मैले चलचित्र निर्माण गरिन वा अभिनय गरिन भने मेरो पहिचान हराउँछ । राजनीतिमा लागेपछि मेरो जीवन देश र जनताका लागि अर्पण भैसकेको छ । मेरो काम चलचित्र हो भने देशका लागि मैले राजनीतिमा हाम फालेकी हुँ । समय व्यवस्थापन गर्न सकिन्छ भनेर नै म राजनीतिमा आएकी हुँ । 

 

एउटा निर्देशक थाम्न नसकिने बेलामा तीन–तीन जना निर्देशकसँग चलचित्र ‘रुद्रप्रिया’, घोषणा गर्नुभएको छ, गाह्रो हुँदैन ?

यसरी बुझौं न, अनुभवीहरूको भीड हुँदा मेरा लागि काम अरू सहज हुन्छ र समयमै हुन्छ । 

 

तीन निर्देशकमा तपाईंका खास निर्देशक को हुन् ? 

‘रुद्रप्रिया’का निर्देशक सुदीप भुपालसिंह ‘बबी’ हुन् भने अरू दुई निर्देशक कलाकार हुन् । 

 

नेपाली चलचित्र क्षेत्रमा नायकको खडेरी परेर निर्देशकहरूलाई अभिनय गराउन लाग्नुभएको हो ?

मैले ‘रुद्रप्रिया’ का लागि चाहेको जस्तो पात्र पाइरहेकी थिइँन । अर्पण थापा आफैंमा कुशल अभिनेता हुन् र सुदर्शन थापाले पनि टेलिश्रृंखला तथा चलचित्रमा आफ्नो अभिनय कला देखाइसकेका छन् । मलाई लाग्छ उनीहरूले रुद्रप्रियाका चरित्रहरूप्रति न्याय गर्न सक्छ । मैले उनीहरूलाई निर्देशकका रूपमा हेरेकी छैन । उनीहरू मात्र कलाकार हुन् । 

 

पार्टी पनि थापाकै, दुई निर्देशक पनि थापा र आफू पनि थापा, थापाकै हालिमुहाली भयो नि ? 

यो संयोग मात्र हो । देशको नागरिकका रूपमा म हरेक थर, जात तथा वर्गलाई उत्तिकै सम्मान गर्छु । थापा थर रेखा थापालाई चिनाउने उपनाम मात्र हो । यसमा कुनै नियोजित मनसाय छैन । 

 

दसैंको डेट तोकिसक्नु भएछ । दसैंमा त अरू पनि चलचित्र आउँछन्, भिड्न लागेकै हो ?

म कसैसँग भिड्न आउने होइन, म हरेक वर्ष दसैंमा आफ्नो चलचित्र रिलिज गर्छु । यस पटक दसैंमा मेरो कुनै चलचित्र आएन, दर्शकहरूले मसँग प्रश्न गर्नुभयो । फेरि दसैं दुर्गाको चाड, प्रत्येक नारी देवीको रूप । मैले बनाएको चलचित्र रिलिज गर्ने दसैंभन्दा अवसर हुन सक्दैन ।

 

पत्रकारहरूलाई वरपर लगाएर हिँड्नुहुन्छ, खासमा पत्रकार तपाईंको वरपर आएका हुन् कि तपाईं उनीहरूको वरपर गएको हो ?

वास्तवमा ती एउटै उमेर समूहका पत्रकारहरू साथी हुन् । पत्रकार भएर साथी बनाएको पनि होइन । म अरू साथी कलाकारहरूसँग पनि त हिँड्छु । पत्रकार र कलाकारबीच पेसागत रूपमा पनि नङ र मासुको सम्बन्ध छ । नङ र मासु कसरी अलग कसरी हुन सक्छन् ?

प्रकाशित :माघ १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्