शनिबारदेखि बिग आइकनको सातौं संस्करण

- रेम बिक

माघ १४, २०७३-
सातौं संस्करणको बिग आइकन शनिबारदेखि शुरु हुने भएको छ । आयोजक बिग एफएमले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि सातौं संस्करणको बिग आइकनको बारेमा जानकारी दिएको हो । 

यस पटक बिग आइकनमा ५४ जिल्लाका १ हजार १ सय ५२ जना गायन प्रतिभाहरूले सहभागिता जनाउने भएका छन् । विभिन्न चरणका २१ वटा अडिसनपछि ग्राण्ड फिनाले चैतमा हुने आयोजकले जानकारी दिए । 

‘सहभागिताको हिसाबले यो संस्करणमा अहिलेसम्मकै सबैभन्दा बढि प्रतिस्पर्धीहरु बिग आइकनको मञ्चमा उत्रिदैछन् ।’ बिग एफएमका अध्यक्ष महेश भण्डारीका अनुसार यसपटक अघिल्ला संस्करणभन्दा अझै बढि भव्य तवरले बिग आइकन आयोजना हुने छ । 

एफएमले बिग आइकनको सातौं संस्करणका लागि २५ लाख रूपैयाँ लागत अनुमान गरेको छ । करिब दुई महिना चल्ने यो बिग आइकनमा श्यामसुङ तामाङ, सुनील थापा र विवेक श्रेष्ठ निर्णायक रहनेछन् । प्रतियोगितामा उत्कृष्ट १० सम्म छनोटका लागि निर्णायकको सर्वाधिकार रहनेछ भने उत्कृष्ट १० पछि उत्कृष्ट ३ सम्म निर्णायकको अग्राधिकार रहनेछ । ग्राण्ड फिनालेका लागि छनौट भएका उत्कृष्ट तीन प्रतिस्पर्धीमध्ये बिजेता छनौटको सम्पूर्ण अधिकार भने स्रोताले गर्ने एसएमएस भोटिङमा रहनेछ । 

यसपटकको बिग आइकन बिजेताले पुरस्कार वापत १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको सांगीतिक यात्रा गर्ने अवसर पाउनेछन् । यसैगरी फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

यसअघि आयोजना भएको बिग आइकनमा म्याग्दीका गगन पुन, पोखराका सुमन गौतम, सर्लाहीका नबिन काफ्ले, बिरौटाकी मुस्कान रानाभाट, मुस्ताङका कुन्साङ गुरुङ र चितवन पटिहानीका साजन आलेले बिग आइकनको उपाधी चुमिसकेका छन् । 

प्रकाशित: माघ १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्