नाइँ, म म:म खान्नँ

- अधिकारी रवीन्द्र

माघ १२, २०७३

 

एसएलसीपछि अब पालो कलेज पढ्ने थियो । गाउँबाट डेढ घण्टाको समय लगाएर पढ्न आइने भो बनेपाको एउटा कलेजमा । स्कुलबाट त कति भागियो कति ! तर कलेजमा त भाग्न हुन्न, पास गर्न धेरै मेहनत गर्नुपर्छ भनेर सबैले भनेको सुन्थेँ, तर त्यस्तो विघ्न गाह्रो केही थिएन । आखिर विद्यार्थी न हो, पढ्न भनेपछि के जाँगर चल्थ्यो ? चाँजोपाँजो मिलाएर दुई हप्तापछि त साथीसँगको मिलेमतोमा कलेज बंक गर्ने श्रृंखला सुरु भैहाल्यो । कलेज बंक गरेपछि बाराही चोकमा एउटा जस्ताको छाप्रोमा खाजा खानु हाम्रो गन्तब्य हुन्थ्यो । उक्त छाप्रोको ढोकैमा बलिरहेको स्टोभमाथि ममको ठूलो भाँडोले चर्कै सँग ‘झ्वाइयँ’ आवाज दिइरहेको थियो । स्टोभबाट आएको स्टिमले पूरै कोठा बाफिलो थियो । मम एकपटक त खानै पर्ने चीज हो । 

 

पहिले जे त होला, खाने चिज न त हो, खाइ नै पो दिऊँ कि क्या हो जस्तो लागेर छाप्रोभित्र छिरिएको थियो । छिरिसकेपछि बाफको हरकले असजिलो महसुस भयो । तलबाट उडेर राँगोको मासु पिल्सिएर निस्किएको बाफ पीठोको खोलका सूक्ष्म छिद्रहरूबाट चुहिएर तातिरहेको सिलाबरे भाँडाको अन्तरकुन्तरबाट बाहिर आएर छाप्रोभित्रको वायुमण्डलमा तैरने क्रममा स्वाठ्ठै मेरो नाकभित्र छिर्‍यो । श्वाससँगै घ्राणेन्द्रियमा छिरेको उक्त राग फोक्सोको एल्भिओलाईमा रगतसँग साटियो र अणु–योगिक भएर दिमागलगायत सम्पूर्ण शरीर कोषिकामा तरङ्गित भयो । त्यो गन्ध मलाई किञ्चित मन परेन । भित्रैदेखि असजिलो भएर आयो । तैपनि साथीहरूसँग टेबलमा बसेँ । 

 

अब ममको एक चरणको अनुभवपछि दोस्रो चरणको अनुभव लिनँ स्टिलको प्लेटमा भर्खरै आफू सामुन्ने आएका सेता–सेता डल्ला नियालेँ । प्लेट वरिपरि सजिएको नौलो अनि बरखी बारेजस्तो देखिने डल्लो परिकार रापिलो छ, बाफिलो छ । म एकैछिन त दङग परँे, कस्तो चपाउन पनि नपर्ने रहेछ । फेरि अर्को चम्चा झोल पेल्यो । ठीक त ठीक हो, पीठोमा बाटरेपछि भित्र रहेको भैंसीको चौटा पनि देख्न नपर्ने, घीन पनि नलाग्ने । तर हरियो झोलमा पौडी खेलिरहेका महिष पिण्डहरू देखेर मेरो पेट हुँडल्न थालिसकेको थियो । त्यो झोलको रङ हेर्दा तीनदिने पाडोले विगौती दूध धेरै खाएर छेरेजस्तो लाग्यो । अहँ ! यो काम मबाट हुँदैन । म टेबलको प्लेट अलि पर सारेर कराउँदै जुरुक्क उठेँ– ‘नाइँ, म मम खान्नँ ।’

 

त्यसका दुई वर्ष ममको चौतर्फी प्रशंसा सुनेर म हैरान थिए । विष होइन क्यारे, सबैले त्यस्तो मिठो मानेर खाका छन् । एक पटक त चाख्नैपर्ने थियो । बाह्रको रिजल्ट आएपछि तीनै साथीसँग एकदिन झिंगु छिरियो । बडो आँट गरेर आधा प्लेट मम अर्डर गरेँ  आफ्ना लागि । आफूले पनि अनिलको सीप अवलम्बन गर्दै मम क्वाप्प मुखमा हालेँ । ममका डल्ला ठूला, आफ्नो दार सानो । तारतम्य मिलेन, मुखभित्र पसेको मम मुखमै जाम भयो । हल न चल भयो । तातो उस्तै, पोलेर मरेतुल्य पारो ममले । र्‍याल र सिँगान बग्न सुरु भैगो । आँखाबाट पनि आसु बग्न थाल्यो ।

 

मुखमा हुलिसकेको ममलाई ‘आँ’ गरेर प्लेटको पोखरीमा ह्वात्तै पारिदिएँ । केटाहरू हाँसे, भने– ‘बाहुनको छोरोले मम खाओस् न स्वाद पाओस् । जिब्रोले भने स्वाद भेटिसकेको थियो, हल्का बेग्लै किसिमको गन्धबाहेक समग्रमा ममको स्वाद नमीठो चाहिँ भनिहाल्न मिल्दैन । तिब्बतको ल्हासामा उत्पत्ति भएको मानिएको यो परिकारले कयौं वर्ष संघर्ष गर्नुपर्‍यो मेरो जिब्रोसम्म आइपुग्न । राजुले सुझायो– ‘चम्चा र काँटाको मद्दतले आधा–आधा टुक्रा पारेर खाऊ, तर टुक्र्याएपछि पीठोको खोल पुर्व लाग्यो, भित्रको मासु मसलाको डल्लो छरपस्ट भयो । घीन लागेर यसपालि म ममको पूर्ण अनुभव गर्न नसक्ने भैसकेको थिएँ ।

 

त्यसको एक हप्ता पछि अद्वैत् मार्गमा साथीसँग फेरि एभरेस्ट मम पुगियो । डल्ला स–साना भएकाले निल्न सकिने आश थियो । नभन्दै बढो संघर्षका बाबजुद पाँच गोली मम पेट्ले फछ्र्याेट गरिछाड्यो । तीन घुट्का पानी खाँदा त पेट टनक्क भएर ढाडियो । त्यही दिन बसमा यात्रा गर्दा सल्लाघारी नपुग्दै पेट उमठेर पहिले अमिलो झोल आयो, त्यसपछि आंशिक चपाइएका ममका डल्ला पहेंलो लयालु झोलसँगै हुलुक–हुलुक बाहिर आउन थाल्यो । मुन्टै बसको सिसाबाहिर राखेर आमाशयको मम भक्तपुरे भूमिमा विसर्जन गर्नुपर्‍यो । 

 

पछि तरह–तरहका मम देखियो । धेरै ठूला, बुट्टा भरेका, लाम्चा, घुमाउरा, साना, कोठे । त्यस्तै फ्राइड, भेज, सी, चिकेन, मसरुम, पनिर के–के हो के–के ? अनि यसलाई अनेक माध्यममा सर्भ गरेको भेटेँ– टपरी, कचौरा, थाल, बोहोता, डिस्पोजेबल प्लेट आदि । यसरी एक सय एक थरीका मम आए तर पनि मैले खाने आँट गरिनँ ।

ravinems@iom.edu.np 

 

प्रकाशित :माघ १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्