चढ्दा सोच्छु कुन बेला पुगूँ, ओर्लिंदा सोच्छु फेरी कहिले चढुँ ?

- अश्विनी कोइराला

माघ ११, २०७३-  

काठमाडौंको लाजिम्पाट क्षेत्रमा गल्ली नापिरहेका फुर्वा तेन्जिङ शेर्पालाई आमनेपालीले उति चिन्दैनन् । राजनीति र ग्ल्यामर क्षेत्रका व्यक्तिलाई मात्र स्थान दिने सञ्चारमाध्यम एवं आममानिसको रुचिका कारण पनि यस्तो भएको हुन सक्छ । यद्यपि संसारभर २८ वर्षीय फुर्वा एभरेस्ट सुपर हिरोका रूपमा प्रख्यात छन् । अप्ठ्यारो गरी नेपाली बोल्ने पातलो ज्यानका फुर्वासँग यो साता साप्ताहिकले कुराकानी गर्दा कुनै थ्रिलर थ्रिडी चलचित्र हेरिरहेको अनुभूति हुन्थ्यो । 

 

विद्यालय पढ्ने उमेरमा सर्वोच्च शिखर सगरमाथा चढ्नुभएछ होइन ?
हाम्रो गाउँमा विद्यालय भवन थियो तर पढाउने शिक्षक थिएनन् । आखिर कहीँ त पढ्नैपर्‍यो । सुविधा हुने ठाउँका केटाकेटीहरूले अक्षर पढे, मैले हिमाल पढेँ । 

 

कसरी पढ्नुभयो हिमाल ?
मेरो गाउँ दोलखा जिल्लाको रोल्वालिङ हो । त्यो यस्तो गाउँ हो, जसका वरिपरि ७ हजार मिटरभन्दा अग्ला दर्जनौं हिमाल छन् । काठमाडौंका केटाकेटीले कम्प्युटर–मोबाइलसँग खेलेजस्तै हामी हिमालसँग खेल्थ्यौं । अहिले पो थाहा भयो, हामीले हिमालमा खेलेका रहेनछौं, हिमाललाई पढेका रहेछौं । 

 

सर्वोच्च शिखर सगरमाथा चढ्ने योजनाचाहिँ कसरी बनाउनुभयो ?
योजना कहाँ बनाउनु ? हामीले त कुइरेका भारी बोकेका हौं । भारी बोकेर पैसा कमाएका हौं । यसरी पैसा कमाउँदा कीर्तिमान पो बन्न थालेछ । गाउँमा केटाकेटीदेखिकै सपना हुन्छ, कुइरेको भारी बोक्ने र पैसा कमाउने । 

 

कुरा के हो भने, सगरमाथा आरोहीहरूको भारी बोकेर धेरै राई, तामाङ र केही बाहुन–क्षेत्री पनि हाम्रो गाउँसम्म आइपुग्थे । त्यसपछि उनीहरूलाई सास फेर्न गाह्रो हुन्थ्यो । सास फेर्न गाह्रो हुनेले कसरी अर्काको सामान बोक्नु ? त्यहाँ पुगेपछि भारी बोक्ने पालो हाम्रो आउँथ्यो । म पनि १५ वर्षको उमेरमा आरोहीको भारी बोकेर रुवालिङ पास हुँदै थामे, नाम्चे हुँदै हिमाल उक्लिएको हुँ । फर्कंदा लुक्ला, जिरी हुँदै काठमाडौं पुगेको थिएँ ।

 

पहिलोपल्ट काठमाडौं देख्नुभएको हो ?
देख्न त सानामा पनि देखेकै हो, तर उति याद भएन । हाम्रो गाउँतिर हेलिकप्टर उड्थे । कहिलेकाहीँ हामी नजिकबाट पनि देख्थ्यौं । काठमाडौं आउँदा गाडीको हूल देखेर म छक्क परेको थिएँ । मलाई ती पखेटा नभएका हेलिकप्टर भन्ने लाग्यो । यत्तिका हेलिकप्टर उडेर कहाँ–कहाँ जाने होलान् भनेर म छक्क परेको थिएँ । 

 

जीवनको सबैभन्दा दु:ख लागेको क्षण कुन थियो ?
म १७ वर्षको थिएँ । हिमालमा भारी बोक्न थालेको दुई वर्ष भएको थियो । एउटा ग्रुपलाई लिएर मेरा माइला दाजु फुर्वा थुन्डु शेर्पा र म पुमोरी हिमाल चढ्दै थियौं । दाजु केही अघि बाटो बनाउन निस्कनुभयो । म आराम गर्न क्याम्पमा छिरेँ । अचानक हिउँ पहिरो गयो । मेरा दाजुसहित चार जना आरोही पुरिए । कसै गर्दा पनि बचाउन सकिएन । 

 

हिजोआज जस्तो सहजै हेलिकोप्टर पाइँदैनथ्यो । लास ल्याउन पनि समस्या भयो । अघिल्लो वर्ष मात्र बुवा बित्नुभएको थियो । घरमा कसरी मुख देखाउने, के भन्ने ? मैले ४ दिन यही चिन्तामा बिताएँ । यो हिमाललाई अहिले माउन्ट किलर नाम दिइएको छ । यो नामभित्र मेरो दाजुको सास अड्किएको छ जस्तो लाग्छ । 

 

आँखैअघि दाजुको मृत्युपछि पनि हिमाल चढ्ने आँट आउँदो रहेछ ?
दाजुको लास घरमा ल्याएपछि मैले परिवारमा जुन दु:ख देखेँ, त्यति बेला मैले हिमाल चढ्दिनँ भनेर कसम खाएको थिएँ । दुई वर्ष याक–नाक चराएर जीवन बिताएँ, तर बैनी र भाइलाई पढाउनुपर्छ ।

 मजस्तो अनपढ भएर उनीहरूले के गर्लान् भन्ने चिन्ता लाग्यो । जे होला–होला, म अँध्यारोमा बसेर पनि, हिमालमा मरेर भए पनि भाइ–बैनी पढाउँछु भन्ने अठोट गरें । आखिर एक दिन सबैले मर्नुपर्छ, यसरी गोठालो भएर बाँच्नुभन्दा अरूको भलो गरेर पो मर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि पैसा कमाउन हिमाल चढ्न थालेँ ।

 

हिमाल चढ्दा के सोच आउँछ ?
कुन बेला शिखरमा पुगूँ र यो भारी बिसाऊँ भन्ने लाग्छ । 

 

फर्कदा नि ?
शिखरमा त पुगियो तर कुन बेला फर्कूं भनेर तल झर्न हतार हुन्छ । मानिसलाई टुप्पोमा बसिरहन मन लाग्दैन, आफ्नै धर्तीमा फर्कन हतार हुन्छ । पहिलोपल्ट म टुप्पोमा पुग्दा छक्क परेको थिएँ । मानिसहरू यति दु:ख गरेर, यति ठूलो धनराशि खर्च गरेर किन यहाँ आउन खोजेका होलान् भनेर हाँसेको पनि थिएँ म । 

 

हिमालको टुप्पोबाट तल हेर्दा के–के देखिन्छ ?
हिमालबाहेक केही देखिँदैन । यो संसारमा हिमालबाहेक केही छैन जस्तो लाग्छ । मौसम खुलेका बेला उत्तरतिर हेर्दा अलिकति तिब्बती पठार देखिन्छ । नेपालतिर त हिमालबाहेक केही छैन भनेजस्तो लाग्छ । 

 

म टुप्पोमै पुगेँ भन्ने कुराचाहिँ कसरी थाहा हुन्छ ?
किनभने त्यहाँभन्दा माथि जाने ठाउँ छैन । तपाईं कौसीमा चढ्नुभयो भने यो कौसी नै हो भनेर कसरी थाहा हुन्छ ? किनभने त्यहाँभन्दा माथि कौसी हुँदैन । सबै कुरा तल देखिन्छन्, त्यहाँ आफू भन्दामाथि चन्द्रमा र तारा मात्र देखिन्छन् । 

 

तपाईं तिब्बततिरबाट पनि चढ्नुभयो, नेपालबाट पनि ? सगरमाथा चढ्न कताबाट सजिलो हुने रहेछ ?
प्रश्न नै मिलेन । हिमाल चढ्न कतैबाट पनि सजिलो हुँदैन । तिब्बततिर हिमालको फेदसम्मै ट्रक चल्छन् । ती ट्रकले सामग्रीहरू बोकिदिन्छन् । त्यसैले बेसक्याम्पसम्मको कुरा गर्ने हो भने नेपालमा केही अप्ठ्रो छ भन्न सकिन्छ, तर बेस क्याम्पसम्म हिँडेर पुग्नुको जुन थ्रिल छ त्यो मज्जा तिब्बततिर छैन । पर्यटकहरू मज्जाका लागि हिमाल चढ्न आएका हुन्छन् । 

 

पैसा कमाउन हिमाल चढ्न थाल्नुभयो, तर समाजसेवा पनि गर्दै हुनुहुन्छ, यो सोच कहाँबाट आयो ?
दुई–चारपल्ट हिमाल चढेपछि भाइ बैनीलाई पढाउन पुग्ने पैसा जम्मा भयो । भाइलाई अस्ट्रिया पठाएपछि अब के गर्ने भन्ने लाग्यो । मैले के थाहा पाएँ भने संसारभरिका मानिसलाई नेपालका सम्बन्धमा थाहा छैन तर माउन्ट एभरेस्ट थाहा छ । उनीहरूलाई हिमाल कसरी चढ्ने, कस्तो सावधानी अपनाउने सबै कुरा थाहा छ । उनीहरूसँग हिमाल छैन तर पोख्त भएर यहाँ रमाइलोका लागि आइपुग्छन्। 


हामी भने हिमालको फेदमा बस्छौं तर हामीलाई हिमालका बारेमा केही थाहा छैन । यो त अति नै भयो भन्ने लाग्यो । त्यसपछि एउटा जीवन हो, नेपाल र हिमालका लागि केही गरौं भनेर दाजु पेम्बा दोर्जे र म मिलेर नेपालीलाई हिमाल चढाउने अभियानमा लाग्यौं । यही अभियान अन्तर्गत सबै जातका नेपाली महिलालाई समेटेर हिमाल चढायौं । यसरी हिमाल चढ्दा उनीहरूसँग अनुभव थिएन, पैसा थिएन । सबैभन्दा ठूलो कुरा उनीहरूसँग हिम्मत पनि थिएन । हामीले हिम्मत दियौं । स्पोन्सर खोज्यौं र उनीहरूलाई हिमाल चढ्न प्रेरित गर्‍यौं । 

 

यसो गर्दा तपाईंंहरूलाई के फाइदा भयो ?
हामीले फाइदाका लागि काम गरेका थिएनौं । नेपाली जाति संसारको उच्च जाति हो तर उनीहरू उँचो उठ्न सक्दैनन् भन्ने जुन सोच थियो, त्यसलाई तोड्यौं । हामीले १० जना विभिन्न जात र क्षेत्रका युवतीहरूलाई हिमाल चढायौं । त्यसपछि सबैभन्दा वृद्ध नेपाली मीनबहादुर शेरचनलाई तयार गर्‍यौं । हिमाल चढ्न माथिसम्म गाइड गर्‍यौं । त्यति मात्र होइन, विदेशी अपाङ्गहरू हिमाल चढ्न सक्छन् भने हामी किन सक्दैनौं भनेर दुवै हात नभएका सुदर्शन गौतमलाई सहयोग गर्‍यौं । यसरी शेर्पा मात्र होइन, सबै जातका नेपाली हिमाल चढ्न सक्षम छन् भन्ने सन्देश संसारभर पुर्‍यायौं । सरकारले हिमालको प्रचार गर्न सकेको छैन, हिमालको प्रचार जे जति भएको छ, शेर्पाहरूकै कारण भएको छ । त्यसमा हामीले थप काम गर्‍यौं । 

 

तपाईंहरूले बुद्धको मूर्ति सगरमाथाको चुचुरोमा स्थापना गर्नुभएको छ, यसको कारण के हो ?
सरकारले गर्नुपर्ने काम गरेको हो । कुनै आरोही सगरमाथाको टुप्पोमा पुग्यो भन्ने प्रमाण कसरी पुर्‍याउने ? यो कुराले सरकारी कर्मचारीहरूको टाउको खाएको थियो । किनभने उनीहरूले हिमाल चढेका छैनन् । तस्बिर पेस गरेका आधारमा सर्टिफिकेट दिने नियम त छ तर मौसम बिग्रिएका बेला त्यो टुप्पो नै हो भनेर कसरी थाहा हुन्छ ? यसको समाधान कसरी गर्ने भन्ने कुरा उनीहरूको बुद्धिमा आएन । हामी दाजु–भाइले यसो विचार गर्‍यौं, हामी हिमालका छोराहरू, हामीले नै यसको समाधान निकाल्नुपर्छ । यही आधारमा ८ किलोग्रामको बुद्धको मूर्ति, ५ किलोग्राम जति छड र मूर्ति राख्ने बक्सा बोकेर हामी हिमाल उक्लियौं । सगरमाथाको टुप्पोमा हामीले बुद्धलाई नेपालतर्फ फर्काएर राखेका छौं । 
ग्लेसियरमा नहल्लने चोखे बनाएर बुद्ध मूर्ति स्थापना गरेका छौं । अब जस्तोसुकै मौसम बिग्रिए पनि उक्त बुद्ध मूर्ति आउने गरी तस्बिर खिचियो भने हिमालको टुप्पोमा पुगेको हो भन्ने प्रमाण हुन्छ । 

 

तपाईंमा सरकारप्रति केही रोष पनि देखिन्छ, किन होला ?
हामीले संसारभर हिमाल चिनाइरहेका छौं, तर सरकारले हाम्रो पहिचान गर्न सकेको छैन । राजनीतिमा केही नगर्नेहरूको पहिचान भएको छ तर हिमाल चढ्नेहरूलाई उचित सम्मान गरिएको छैन । राजनीति नगर्ने, नजान्नेहरूले पनि उत्तिकै सम्मानका साथ बाँच्न पाउनुपर्छ । एउटा आरोहीको पहिचान भनेको उसले हिमाल चढेको प्रमाणपत्र हो । मैले पनि कतिवटाको प्रमाणपत्र पाएको छैन । मलाई अब प्रमाणपत्रको आवश्यकता पनि छैन तर यस्ता धेरै आरोही छन्, जसले सरकारी प्रमाणपत्रका आधारमा नयाँ काम पाउँछन्् । एउटा कागजको टुक्रा दिन पनि दया गरेझैं गर्छन्, अनि चित्त दुख्दैन ?
 

प्रकाशित :माघ ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्