सुपर ह्युम्यान शेर्पा

- जनक तिमिल्सिना

माघ ९, २०७३-  

हिमाल किन चढ्छौ ?’ भनेर सोधियो भने हरेक शेर्पाको जवाफ हुन्छ, ‘फर्केर आउन ।’ शेर्पाहरू हिमाल चढेर आफू मात्र फर्कंदैनन् । उनीहरूसँगै फर्कन्छ— अनुभव, कीर्तिमान, पैसा र नयाँ पर्यटकीय सम्भावना । यतिमात्र होइन, शेर्पाहरू हिमाल चढेर फर्कंदा जोखिम त घटाएर फर्कन्छन् नै, हरेकपल्ट नौलो मानिने हिमाली संसारको यात्राबाट आरोहीहरूलाई सकुशल फिर्ता लिएर आउँछन् । सिएनएनले त्यसै शेर्पाहरूलाई ‘सुपर ह्युम्यान’ भनेको होइन । यसका पछाडिको कारण हो— रहस्यमय यात्रा मानिने हिमाल आरोहणमा शेर्पाहरूको साहस, हाई अल्टिच्युडमा सर्भाइभ गर्न सक्ने फरक जिन र हिमालहरूमा बित्ने उनीहरूको जादुगरी जिन्दगी । त्यही असाधारण जीवनशैलीकै कारण शेर्पाहरू ‘सुपर ह्युम्यान’ भएका हुन् । 

 

सगरमाथा शिखरसम्म बाटो खोल्न इन्जिनियरिङ गर्ने, बाटो बनाउने, आँखाकै पावरको भरमा मौसमको पूर्वानुमान लगाउने, हावापानी बदलिनेबित्तिकै भत्कने हिमाली बाटो मर्मत गर्ने, पुल हाल्ने, डोरी बाँध्ने, सामान ओसार–पसार गर्ने तथा आरोहीहरूलाई सकुशल सगरमाथामा पुर्‍याएर फर्काउने शेर्पाहरू नै त हुन् । अरू त केवल त्यही कोरिदिएको बाटो, हालिदिएको पुल र डोरीको सहायता लिँदै सगरमाथाको चुचुरोमा पुग्छन्, झन्डा फहराउँछन् र फर्कन्छन् । हरेक आरोहण सिजनमा शेर्पाहरू यसमै खटिन्छन्— आफ्नो जीवनको परवाह नगरी । त्यसैले होला गत मार्चमा सगरमाथा आरोहण गरेका भारतीय नागरिक देवराज दत्तले एक अनलाइनसँग भनेका छन्, ‘सगरमाथा र शेर्पा दुवै अद्वितीय छन् । शेर्पाहरू भएनन् भने कसैले सगरमाथा चढ्न सक्दैनन् ।’ 

 

शेर्पाहरू सगरमाथा चढ्न अरूलाई मात्र सघाउँदैनन्, आफैं पनि वर्षैंपिच्छे सगरमाथा आरोहणमा फरक, भिन्न र नौला कीर्तिमान कायम गरिरहेका हुन्छन् । शेर्पा र कीर्तिमान घाम र छायाँजस्तै हुन् । हरेक शेर्पासँग कि त कीर्तिमान हुन्छ, कि त नयाँ अनुभव । त्यसैले त सधै नौलो मानिने हिमाली संसारको यात्रा शेर्पाहरूका लागि आफ्नो जीवनशैली बनिदिन्छ । 

 

१६ जेठ २०१० मा नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला टेकेयताका ६३ वर्षमा शेर्पाहरूले अनेकौं कीर्तिमान आफ्ना पोल्टामा पारिसकेका छन् । यद्यपि अधिकांश यस्ता कीर्तिमानधारी शेर्पाले ‘कीर्तिमान राख्छु’ भनेर सगरमाथा आरोहण गरेका होइनन् । कीर्तिमानको लोभमा नभै धेरै शेर्पाले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा यस्ता कीर्तिमान बनाएका हुन् । त्यसैले त हिमाली संसारका हिरोका रूपमा संसारमै ख्याति कमाएका छन्, नेपालका शेर्पाहरूले । संसारकै सर्वोच्च शिखर सगरमाथामा फरक–फरक, अनौठा र नौला कीर्तिमानहरूमध्ये प्राय: सबैजसो शेर्पाहरूकै नाममा छन् । 

 

अक्सिजनबिना पनि कोही सगरमाथा चढ्न सक्ला ? सकिँदो रहेछ । त्यसको ज्वलन्त उदाहरण हुन्, खुम्बुको हिलाजुङमा जन्मिएका ‘हिमचितुवा’ अर्थात् आङरिता शेर्पा, जसले अक्सिजनबिना कल्पनै गर्न नसकिने सगरमाथा आरोहण एक पटक होइन, दस पटक गरेर आफूलाई रियल हिमाली हिरो सावित गरेका छन् । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, आङरिताले अदम्य साहस र मृत्युलाई जितेर यो उपलब्धि हासिल गरेका हुन् । 

 

अहिले ७१ वर्षमा हिंडिरहेका आङरिता छोरीसँग जोरपाटीमा बस्दै आएका छन् । त्रिशक्तिपट्ट र गोर्खा दक्षिणबाहुबाट विभूषित आङरिता नै साहसी शेर्पा जातिका त्यस्ता जिउँदा उदाहरण हुन्, जसले शेर्पाहरूको साहस र एड्भेन्चर्स जीवनशैलीको नमुना स्थापित गरिदिए । १० पटक बिनाअक्सिजन सगरमाथा चढेको उनको रेकर्ड अहिलेसम्म न स्वदेशी आरोहीले तोड्न सकेका छन् न त विदेशीले नै । आङरिता भन्छन्, ‘अब कसैले सक्दैनन् पनि होला ।’ 

सर्टिफाइड माउण्टेन गाइड जाम्बु शेर्पा हिमाल आरोहण कला सिकाउँदै । तस्विर : नेशनल ज्योग्राफिक

सर्टिफाइड माउण्टेन गाइड जाम्बु शेर्पा हिमाल आरोहण कला सिकाउँदै ।   तस्विर : नेशनल ज्योग्राफिक 

आप्पा शेर्पा, जसको नाममा पहिलो पटक २१ पटक संसारको छानो सगरमाथाको चुलीमा पाइला टेकेको विश्व कीर्तिमान छ । सन् १९९० को मे १० मा पहिलो पटक सगरमाथा आरोहण गरेका आप्पाले २० वर्षको अन्तरालमा २१ पटक सगरमाथा आरोहण गरेर यो कीर्तिमान बनाएका हुन् । पछिल्लो पटक ११ मे, २०११ मा उनले सगरमाथा शिखरमा पाइला टेकेका थिए । आप्पाको यो कीर्तिमान अहिलेसम्म अर्का कीर्तिमानी आरोही फुर्वा टासी शेर्पाले मात्र बराबरी गरेका छन् ।

 

अमेरिकामा बस्दै आए पनि आप्पा नेपाली नागरिकता नै बोक्छन् । ‘सुपर शेर्पा’ का नामले विश्वभर प्रख्यात यी ५६ वर्षीय पर्वतारोही सोलखुम्बुको थामेमा जन्मिएका हुन् । आप्पालाई आपा तथा लाक्पा तेन्जिङका नामले समेत चिनिन्छ । नेपाली हिमालहरूको फेरो ‘हिमालय ट्रेल’ लाई समेत पूरा गरिसकेका आप्पा क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङ, सरसफाइ एवं वातावरण संरक्षणजस्ता काममा समेत सक्रिय रहँदै आएका छन् । उनको नेतृत्वमा सगरमाथामा थुपारिएको फोहोर उठाउने काम समेत भैसकेको छ । 

 

फुर्वा टासी शेर्पाले आप्पाको कीर्तिमानसँग बराबरी मात्र गरेका छैनन्, हिमाल आरोहणसँग जोडिएको अर्को छुट्टै रेकर्ड पनि उनको नाममा छ । उनले ८ हजार मिटरभन्दा अग्ला हिमाल ३२ पटक चढेर विश्व कीर्तिमान बनाएका छन् । एभरेस्ट रिजनमा पर्ने खुम्जुङलाई आफ्नो बसोबासस्थल बनाएका यी साहसी आरोही माउन्टेनियरिङ पेसामा छन् । उनी हरेक वर्ष नयाँ–नयाँ आरोहीलाई सगरमाथाको चुचुरामा पुर्‍याउने कामको इन्जिनियरिङ गर्छन् । ‘सुपर क्लाइबर’का रूपमा समेत चिनिने ४५ वर्षीय फुर्वा टासीले २४ मे १९९९ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । सन् २०१३ सम्म १२ वर्षको अन्तरालमा २१ पटक सगरमाथा आरोहण गरे । 

 

लोकसेवा आयोगको परीक्षामा कहिलेकाहीँ प्रश्नको उत्तर बनेर प्रकट हुन्छन्— तेम्बा छिरी शेर्पा । १६ वर्ष १४ दिनमा सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा कान्छा आरोहीको विश्व आरोहण गर्ने उनीहरूको कीर्तिमान दक्षिण एसियाको माउन्टेयरिङ इतिहासमा कोसेढुंगा मानिन्छ । छाङदावा नेपालीहरू ‘प्रोफेसनल क्लाइम्बर’ हुन भनेर संसारलाई देखाउन आफ्ना दाजुसँग मिलेर ‘फोर्टिन पिक’ आरोहण पूरा गरेको बताउँछन् । ‘नेपालीहरूलाई विदेशीहरू पोर्टरका रूपमा मात्र सम्झन्थे,’ उनी भन्छन्, ‘हामी प्रोफेसनल क्लाइम्बर पनि हौं भनेर देखाउन ८ हजार मिटरमाथिका संसारका १४ हिमाल आरोहण गरेका हौं ।’ मिङमाले सन् २००० देखि सुरु गरेर २०११ मा १४ हिमालको आरोहण सके भने छाङदावाले २००१ मा सुरु गरेर २०१३ मा फोर्टिङ पिक आरोहण पूरा गरे । छाङदावा थप्छन्, ‘यो देशको नामका लागि पनि हो ।’ 

 

हिमाल आरोहणबाट यी दुई शेर्पा दाजुभाइले जति ख्याति कमाए, त्यति नै व्यापारमा पनि सफल पहिचान स्थापित गरिसकेका छन् । नेपालको माउन्टेनियरिङमा यी दाजुभाइको लिड बिजनेस छ । अर्बौं रुपैयाँको कारोबार गर्ने उनीहरूको कम्पनीले सरकारलाई प्रत्येक वर्ष करोडांै रुपैयाँ कर तिर्छ । कैलाश भनिने प्रसिद्ध माउन्टेनियरिङसम्बन्धी कम्पनीको नेपालको आधिकारिक विक्रेतासमेत रहेका उनीहरूको एभरेस्ट हेली नामक दुईवटा हेलिकप्टर, माउन्टेयरिङ कम्पनी ‘सेभेन समिट’, याक माउन्टेन कम्पनी आदि छन् । यी शेर्पा दाजुभाइ सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । 

 

जन्मदै हिमालसँग साइनो गाँसियो— फुर्वा तेन्जिङ शेर्पाको । उनको जन्म गौरीशंकर हिमालको काखको ४ हजार २ सय मिटर अग्लो गाउँ रोल्वालिङमा भएको हो । यी युवा हिमाली हिरोको साहसको कथा पनि कम रोचक छैन । २७ वर्षको उमेरमा १० पटक सगरमाथा आरोहण गरेर उनले आफ्नो अलग्गै पहिचान बनाइसकेका छन्— कान्छो उमेरमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्तिका रूपमा । यी ती आरोही पनि हुन्, जसले तिब्बततिरबाट १० दिनमा दुई पटक सगरमाथा चढेर सबैलाई चकित पारिदिए । ‘तीन दिनमा दुई पटक र बिनाअक्सिजन पनि सगरमाथा चढेको छु,’ उनले भने । अप्रिल सन् २०१५ को विनाशकारी भूकम्पले थलिएको नेपालको पर्यटनलाई उठाउन र बन्द भएको सगरमाथाको ढोका खुलाउन पनि उनको ठूलो योगदान छ । फुर्वा तेन्जिङले भूकम्पपछि पहिलोपल्ट ‘वि विल राइज’ लेखिएको झन्डा बोकेर सगरमाथा आरोहण गरी संसारलाई नेपालको पर्यटन र हिमाल सुरक्षित रहेको सन्देश प्रवाहित गरे । 

 

ड्रिम्र्स डेस्टिनेसन कम्पनी चलाइरहेका फुर्वा तेन्जिङ औपचारिक शिक्षा लिनबाट वञ्चित भए पनि जापानी, अस्ट्रियन, जर्मन तथा अंग्रेजी भाषा राम्रोसँग बोल्न सक्छन् । स्वअध्ययनमै आफूले यो उपलब्धि हासिल गरेको उनी बताउँछन् । सामाजिक जीवनमा पनि सक्रिय रहने उनको कारोबार पनि राम्रै चलिरहेको छ । सबैभन्दा छिटो सगरमाथा चढ्ने कीर्तिमान कसको नाममा होला ? ८ घण्टा १० मिनेटमा कसरी सम्भव भयो होला सगरमाथा आरोहण ? यो प्रश्न पेम्बा दोर्जे शेर्पालाई सोधे हुन्छ । पेम्बा दोर्जे तिनै हुन्, जसले अहिलेसम्मकै सबैभन्दा छिटो ८ घण्टा १० मिनेटमा सगरमाथा शिखरमा पाइला टेके । सन् २००४ को २२ मेमा पेम्बाले ८ घण्टा १० मिनेटमा फास्टेस्ट क्लाइबिङ अफ एभरेस्टको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ? आखिर कसरी ? भन्छन्, ‘हिउँमै जन्मिएको, हिउँमै खेल्ने र हिउमै हुर्किएकाले गाह्रो विषय भएन ।’ 

 

नाम कहलिएका यी आरोही अहिले अरू धेरैलाई सगरमाथाको चुचुरोमा पुग्ने सपना साकार पार्न सघाइरहेका छन् । पेम्बा दोर्जे २७ वर्षमा १० पटक सगरमाथा चढेका फुर्वा तेन्जिङका दाइ हुन् । यी दाजुभाइ मिलेर हिमाली स्वर्ग मानिने सगरमाथामा उधुमै मच्चाइरहेका छन् । भाइ फूर्वा तेन्जिङसँग मिलेर पेम्बा दोर्जेले आफ्नो कम्पनी शेर्पा सेफर्डमार्फत १० जना समावेशी महिलालाई सगरमाथा पुर्‍याउन भूमिका खेले, ७६ वर्षको उमेरमा सगरमाथा चढ्ने मीनबहादुर शेरचनलाई चुचुरोमा पुर्‍याए भने सुदर्शन गौतमको दुवै हात बनेर सगरमाथा चढाए । 

भेट्रान माउण्टेन गाइड दानुरु शेर्पा बादलमाथि देखिने क्याम्प वानको आमादब्लाममा आइफोन प्रयोग गर्दै । तस्वीर : नेशनल ज्योग्राफिक

भेट्रान माउण्टेन गाइड दानुरु शेर्पा बादलमाथि देखिने क्याम्प वानको आमादब्लाममा आइफोन प्रयोग गर्दै ।  तस्वीर : नेशनल ज्योग्राफिक

सगरमाथा शिखरमा चढ्यो कि चढेन भन्ने स्पष्ट चिह्न नभएर विवाद हुन थालेपछि सन् २००९ मा पेम्बा दोर्जे, फुर्वा तेन्जिङ र निमा ग्याल्जेन शेर्पा मिलेर सगरमाथाको शिखरमा बुद्धको मूर्ति स्थापना गरे । त्यसपछि उक्त मूर्तिमा पुगेर खिचिएको तस्बिरलाई नै सगरमाथा चढेको प्रमाण मानिदैं आएको छ । पेम्बा दोर्जे जन्मिएको गाउँ रोल्वालिङका मात्रैं झन्डै डेढ सय जना शेर्पाले सगरमाथा आरोहण गरिसकेका छन् । 

 

संसारकै साहसी क्लाइम्बरका रूपमा चिनिन्छन्— स्व. बाबुछिरी शेर्पा । उनले सन् १९९९ मा २१ घण्टासम्म बिनाअक्सिजन सगरमाथाको चुचुरोमा बसेर अलग र दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाए । दुर्भाग्य नै भन्नुपर्छ, मुलुककै लागि दुर्लभ आरोही बाबुछिरीको निधन सन् २००१ मा ३५ वर्षको युवावस्थामै सगरमाथा आरोहणका क्रममा भयो । 

 

‘मस्ट सिब्लिङ टु क्लाइम्ब एभरेस्ट’को कीर्तिमान पनि शेर्पा दाजुभाइकै नाममा छ । दोलखाको गौरीशंकर गाविसको रोल्वालिङमा जन्मिएका निमा गोम्बु शेर्पा तथा उनका सात दाजुभाइले सगरमाथामा चढेर यो अलग कीर्तिमान बनाएका हुन् । हिमाली हिरोकै शैलीमा एउटै परिवारबाट समग्रमा सबैभन्दा धेरै ५७ पटक सगरमाथा आरोहण गरेको रेकर्ड पनि यही परिवारको नाममा छ । सात दाजुभाइमध्ये एक जनाको निधन भैसकेको छ भने अन्य दाजुभाइ हिमाल आरोहणसम्बन्धी व्यवसायमा आबद्ध छन् । ‘सेभेन ब्रदर’का रूपमा पनि चिनिने उनीहरूका बुवा एडमन्ड हिलारीको पत्र पुर्‍याउने हुलाकीमध्येका एक हुन् । 

 

त्यसो त सगरमाथा आरोहीको कुरा गर्दा छुटाउनै नहुने नाम हुन्— मिङमा गेलु शेर्पा र उनका दुई बहिनी मिङकिपा शेर्पा र लाक्पा डोमा शेर्पा । एकै परिवारमा यी तीन भाइबहिनीले एकै पटक सगरमाथा आरोहण गरेर फरक कीर्तिमान कायम गरेका छन् । जसरी हिमाली भेगमा बस्ने शेर्पा समुदायका पुरुषहरूले हिमाल आरोहणका प्राय: सबैजसो कीर्तिमान आफ्नो नाममा लेखाएर संसारमै ख्याति कमाए । शेर्पा समुदायका महिलाहरूले पनि हिमाल आरोहणमा आफ्नो फरक पहिचान स्थापित गरेका छन् । 

 

पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिलाका रूपमा सगरमाथा चढेर सधैंका लागि त्यो कीर्तिमान आफ्नो नाम लेखाइन् । उनले २२ अप्रिल १९९३ मा सगरमाथा आरोहण गरेकी थिइन् । सगरमाथाको सफल आरोहण गरेर फर्कने क्रममा त्यही दिन ३२ वर्षको उमेरमा उनको सगरमाथामै निधन भएको थियो । यद्यपि त्यसपछि शेर्पा महिलाहरूले सगरमाथामा निरन्तर नयाँ कीर्तिमान कायम गर्दै आएका छन् । लाक्पा डोमा शेर्पाले सन् २०१६ को मेमा सातौं पटक सगरमाथा आरोहण गर्दै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान बनाइन् । संखुवासभामा जन्मिएकी लाक्पा हाल अमेरिकामा बस्दै आएकी छिन् । 

 

१६ वर्ष १ सय ८७ दिनमा सगरमाथा चढेर निमा छम्जी शेर्पाले सबैभन्दा कान्छी महिला आरोहीका रूपमा कीर्तिमान राखिन् । सोलखुम्बुको दुर्गम क्षेत्रका रूपमा चिनिने गुदेल—४ सानाममा जन्मिएकी निमाले सबैभन्दा कान्छी महिला आरोहीको कीर्तिमान मात्र बनाइनन्, उनले आफ्ना बुवा डेण्डी शेर्पासँगै सगरमाथा आरोहण गरेर एकसाथ सगरमाथा चढ्ने पहिलो बुवाछोरीको विश्व कीर्तिमान पनि राखिन् । यी शेर्पा बाबुछोरीले दक्षिणी मोहडाबाट ६ जेठ २०६९ मा सगरमाथा आरोहण गरेका थिए । हिमाल आरोहणमा रोमाञ्चकता अनुभव गर्ने निमा छम्जीले एभरेस्ट आरोहणपूर्व कालापत्थर पिक तथा लबुछे हिमाल आरोहण गरेकी थिइन् । 

 

महिलाहरू शारीरिक रूपमा कमजोर हुन्छन् भन्ने मान्यता राख्नेहरूका लागि उदाहरण हुन्— छुरिम शेर्पा । ३२ वर्षीया छुरिमले आफ्नो जोस एवं साहसकै कारण अर्को दुर्लभ कीर्तिमान पनि हात पारिन् । २०६९ वैशाख ३० र जेठ ६ गते एकै हप्तामा दुई पटक सगरमाथा आरोहण गर्ने पहिलो महिलाको दुर्लभ कीर्तिमानधारी हुन्, उनी । ताप्लेजुङको घुन्सा–१, लेलेपमा डुन्डु शेर्पा र लाटेन शेर्पाकी काइँली छोरीका रूपमा जन्मिएकी छुरिमले ८ कक्षासम्मको औपचारिक शिक्षा हासिल गरेकी छिन् । 

 

सतहमा नआएका फरक, अलग र भिन्न कीर्तिमानधारी शेर्पाहरू अझै पनि ग्राउन्डमा बसेर पर्यटन तथा हिमालको काममा सक्रिय छन् । हिमालको पर्यायकै रूपमा चिनिने शेर्पा समुदायले आफ्नो अदम्य साहसका कारण संसारमा सिंगो जातिकै नाम मात्र उचो बनाएका छैनन्, नेपाललाई समेत शेर्पा र हिमालको देशका रूपमा भिन्न परिचय दिलाउन सफल भएका छन् । रोचक त के भने जो विदेशी शेर्पासँग सगरमाथा चढ्छन्, तीमध्ये धेरै अर्को पटक  आफूमात्र होइन, अरु धेरै विदेशीलाई लिएर आउँछन् । 

 

यी पनि...
१२ जेठ २०६५ मा ७६ वर्ष ३ सय ४० दिनमा सगरमाथा आरोहण गरेर सबैभन्दा पाको उमेरमा सगरमाथा चढेको कीर्तिमान बनाएका थिए— मीनबहादुर शेरचनले । म्याग्दीको भुरुङ तातोपानीमा जन्मिएका शेरचनको कीर्तिमान जापानी नागरिक युचिरो मिउराले तोडिदिए । सन् २०१३ मा युचिरोले ८० वर्षको उमेरमा सगरमाथा आरोहण गरेका थिए । आफ्नो रेकर्ड ब्रेक भएपछि मीनबहादुर पुन: सगरमाथा आरोहण गरेर त्यो कीर्तिमान आफ्नै नाम फर्काउने प्रयासमा छन् । पूर्व गोर्खा सैनिक शेरचन अहिले पनि नियमित शारीरिक अभ्यास गरेर आफूलाई सगरमाथा आरोहणका लागि फिट बनाइरहेका छन् । 

 

के खान्छन् हिमाल चढ्नेहरू ? 
बेस क्याम्पसम्म दाल–भात नै रुच्ने भए पनि त्यसमाथि भने आरोहीलाई खाना रुच्दैन । उनीहरू चकलेट, पानी, सुप तथा ड्राइफुडहरू प्रयोग गर्छन् । आरोहीले प्रयोग गर्ने यस्ता खानेकुरा नेपालमा पाइँदैनन् । विदेशबाट आउने भएकाले हाई अल्टिच्युडमा प्रयोग हुने खानेकुरा निकै महँगा हुन्छन् । पहिलेका शेर्पा आरोही भने गहुँं, जौ वा मकैको सातु प्रयोग गर्थे । पुराना शेर्पाका अनुसार त्यतिबेला हिमाल चढ्दा शरीरलाई तातो राख्न छ्याङसँग सातु मुछेर खाइन्थ्यो ।

 

किन शेर्पाहरू सुपर ह्युम्यान हुन् ?

थानेश्वर गुरागाईं

जब नेपालका हिमाल र सगरमाथाको कुरा आउँछ, शेर्पाको नाम पनि त्यहीँ जोडिएर आउँछ । अत्यधिक उचाइमा बसोबास गर्ने र अग्ला–अग्ला हिमाल सहजै आवत–जावत गर्न सक्ने हुन्छन्, शेर्पाहरू । शेर्पाहरूको यो फरक प्रकारको जैविक एवं शारीरिक विशेषतामाथि खोज–अनुसन्धान पनि हुन थालेको छ । सन् २०१० मा क्यालिफोर्निया र वर्कली युनिभर्सिटीका रास्मस निल्सनले गरेको खोजबाट नेपाली तथा तिब्बती शेर्पाहरूको जीनमा मात्र ‘इपीएएस–१’ नामक उत्परिवर्तन ९:लतबतष्यल० हुने भएकाले उनीहरू कम अक्सिजनमै जीवन निर्वाह गर्न सक्ने देखिएको थियो ।

 

त्यही विशेष उत्परिवर्तनका कारण शेर्पाहरू सामान्य मानिसलाई चाहिने भन्दा ४० प्रतिशत कम अक्सिजन भएको वायुबाट पनि सजिलै काम चलाउन सक्छन् । यही कारणले ४ हजार मिटरभन्दा अग्ला स्थानमा पनि यो जातिले सहजै जीवनयापन गर्ने सामथ्र्य राख्छ । शेर्पाहरूको जीनमा विद्यमान ‘इपीएएस–१’ नामक म्युट्रेसन ८७ प्रतिशत शेर्पामा रहेको तथ्य पनि उक्त अनुसन्धानबाट पत्ता लागेको थियो । 

 

उक्त म्युट्रेसन धर्तीमा ४१ हजार वर्षपहिले बसोबास गर्ने र हाल अस्तित्वमा नरहेको ‘डेनिसोभन’ जातका मानिसमा पाइएको थियो । ती जातका मानिसको अवशेष केही वर्षअघि मात्र रुसको डेनिशोभा गुफामा फेला परेको थियो । उक्त गुफामा भेटिएका अवशेषको अध्ययन गर्दै जाँदा तिनै जातिले बोक्ने एक विशेष जिन नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूमा भएको प्रमाणित भएको थियो । जब मानव सभ्यता अफ्रिका हुँदै एसिया र युरोपतर्फ बढ्यो, त्यस बखत हाल हामी मानव जातिका पुर्खासँगै डेनिसोभन र नेन्डरथल पनि हामीसँगै बसाइँ सरेका थिए ।

 

जातीय रूपमा भिन्नै भए पनि यिनीहरू बीचमा गुप्त भेट भएको र त्यही कारणले गर्दा हाल एसियनहरूमा उक्त जीनको अवशेष बाँकी रहेको अध्ययनले बताउँछ । रोमाञ्चक कुरा के छ भने कम अक्सिजनमा पनि साधारण जीवनयापन गर्ने डेनिसोभनहरू हिमाली बासिन्दा थिएनन् तर उनीहरूको उक्त विशेषताले आज आएर शेर्पा जातिलाई हिमाल (जहाँ न्यूनतम मात्रामा अक्सिजन पाइन्छ) मा पनि काम गर्न सहज बनाएको छ । 

 

हिमालमा बसोबास गर्ने सबै प्राणीको शरीर बाक्लो रौंले भरिएको हुन्छ भने तराईमा बस्नेहरूमा कम रौं हुन्छ तर हिमाली शेर्पा जातिमा भने रौंको मात्रा न्युनतम हुन्छ । वातावरणीय हिसाबले हेर्दा उनीहरूमा पनि चिसोसँग जुध्न रौंको प्रचुरता देखिनुपर्ने हो, तर त्यस्तो छैन । यसको कारण पनि तिनै डेनिसोभनहरूको जीन हुन सक्छ । जुन जातिको केश लामो र बाँकी शरीर रौं मुक्त हुन्थ्यो । ३० हजार वर्षपहिले मानव हालको स्वरूपमा नआउँदै विश्वमा फरक–फरक प्रजातिका मानिसको बसोबास थियो ।

 

तीमध्ये नेन्डरथल नामक प्रजातिको नजिकको सम्बन्ध रहेका डेनिसोभन प्रजातिका मानिसहरूसँग आधुनिक मानवका पुर्खाहरूको संसर्ग भएपछि त्यो विशेष जिन स्थानान्तरण भएको हुनुपर्ने र तिनै जीन बोकेका मानिसहरू हालका शेर्पाका पुर्खा भएको खोजले देखाएको थियो । ‘डेनिसोभन’ जातका मानिसहरू कस्ता थिए भनेर यकिन हुन नसके पनि ‘डेनिसोभा’ गुफामा प्राप्त उनीहरूको औंलाको हड्डी तथा दाँतको डीएनए परीक्षणबाट शेर्पाहरूमा विद्यमान यो अनौठो जीनको रहस्योद्घाटन भएको हो।अर्को एक अनुसन्धानले पनि शेर्पाहरूमा अरू मानवभन्दा भिन्न कोष रहेको देखाएको छ । डेनी लेभेट एक्स्ट्रीम एभरेष्ट नामक संस्थाकी संस्थापक तथा युनिभर्सिटी हस्पिटल साउथ ह्याम्टन बेलायतकी क्लिनिकल केयर कन्सल्ट्यान्ट हुन् ।

 

सन् २०१३ मा सम्पन्न ‘एक्स्ट्रीम एभरेस्ट–२’ नामक वैज्ञानिक आरोहणकी अंग रहेकी डेनीले शेर्पाहरूको शारीरिक सबलता एवं उचाइमा काम गर्न सक्ने उनीहरूको क्षमताका सम्बन्धमा अध्ययन गरेकी थिइन् । लन्डनमा सम्पन्न वल्र्ड एक्स्टि्रम मेडिसिन एक्स्पोमा प्रेषित गरिएको उनको अवधारणाअनुसार शेर्पाहरूको शरीरमा एउटा भिन्नै प्रकारको मानवकोष हुन्छ, जसले परिवर्तित वातावरणमा पनि शक्ति सिर्जना गर्न सक्छ । लेभेटले उक्त कोष जसलाई वैज्ञानिक भाषामा ‘मिटो कोन्ड्रिया’ भनिन्छ, शेर्पाहरूमा साधारण मानिसभन्दा बेग्लै र बढी प्रभावकारी भएको बताएकी छिन् । 

 

‘शेर्पाहरू कम इन्धनमा गुड्न सक्ने सवारी साधनजस्तै हुन्,’ सिएनएनसँग डेनीले भनेकी छिन्, ‘उनीहरू थोरै अक्सिजनमा पनि साधारण जीवनका लागि चाहिने जति नै शक्ति सिर्जना गर्न सक्छन् ।’ उनको अध्ययनले भन्छ— सामान्य मानिसको रक्तनली उचाइका कारण प्रभावमा आउँछ, तर शेर्पा जातिमा भने कम अक्सिजनमा पनि उक्त नली संकुचित नभै सामान्य रूपमा रक्तप्रवाह गर्न सक्षम हुन्छ । यद्यपि वातावरण, जीवनशैली, खानपान, रहनसहन तथा बसोबास एवं सामाजिक अन्तरघुलनजस्ता कारण उत्पन्न हुन थालेका पछिल्ला परिवर्तनले शेर्पामा रहेको यो जीनलाई प्रभावित तुल्याइरहेको बताइन्छ । बाहिरी समाजसँग बढेको अन्तरघुलनजस्तै अन्तरजातीय विवाहले पनि शेर्पाहरूमा रहेको ‘इपीएएस–१’ मासिँदै गएको केही अनुसन्धानले बताएका छन् । 

 

सगरमाथाबाट प्याराग्लाइडिङ 

 

एडभेन्चर्स भन्ने कि पागलपन ? तर यी दुवैमध्ये फरक उनीहरू एडभेन्चर्स हिरो हुन् । उनी अर्थात सानुबाबु सुनुवार र लाक्पा छिरी शेर्पा । जसले ‘समिट टु सी’ नाम दिएर सगरमाथा शिखरबाट प्याराग्लाइडिङ गरेर फरक कीर्तिमान कायम गरे । सानुबाबु प्याराग्लाइडिङका च्याम्पियन थिए, लाक्पाछिरीले तीन पटक सगरमाथा चढिसकेका । दुवै जना केही फरक गर्न चाहन्थे । त्यसका लागि उनीहरू दुवैको दिमागमा खेलिरहेको थियो— माउन्ट एभरेस्टबाट प्याराग्लाइडिङ । यही चाहनाका कारण उनीहरू ‘समिट टु सी’सँग जोडिए ।

 

लाक्पाछिरीले सगरमाथाको शिखरमा पुर्‍याउने जिम्मा लिए, सानुबाबुले त्यहाँबाट उडाउने प्याराग्लाइडिङ पाइलटको । २१ मे २०११ को विहान उनीहरू सगरमाथा शिखरबाट उडे । सगरमाथा शिखरभन्दा ३० मिटरमाथिको हावामा कावा खाए र फर्किए नाम्चेतिर । नाम्चेदेखि सगरमाथा शिखरमा पुग्न ११ दिन लाग्छ, तर उडिरहेका उनीहरूले ४ घण्टामै नाम्चे आइपुगे । यतिमात्र होइन, उनी यही प्याराग्लाइडिङ यात्रामा २८ दिनमा विभिन्न स्थान घुम्दै बंगालको खाडीमा अवतरण भएर सबैलाई चकित पारिदिए । यही साहसका लागि नेसनल जियोग्राफिकले उनीहरूलाई एडवेन्चर्स अफ दि इयरको एवार्ड नै दियो ।  

 

समिटसम्मको यात्रा 

सगरमाथा आरोहणको सुरुवात ६० वर्षअघि तेङ्बुचेबाट हुन्थ्यो । त्यतिबेला आधार शिविरमा पुग्नै पाँच घण्टा लाग्ने माउन्टेयरिङ व्यवसायमा संलग्न शेर्पाहरू बताउँछन् । अहिले भने ‘ग्लोबल वार्मिङ’का कारण ५ हजार ५ सय मिटर भन्दा तल हिउँ हुँदैन, जसका कारण एभरेष्टको क्लाइबिङ दूरी छोट्टिँदै गएको छ । उतिबेला बेस क्याम्प पुग्न पाँच घण्टा लाग्दै आएकोमा अहिले दुई घण्टामै पुगिन्छ । समिटसम्मको यात्रामा एभरेस्ट, लोत्से र नुप्सेको खोच भएर अघि बढनुपर्छ । बेसक्याम्पबाट सगरमाथा समिट पूरा गर्न चारवटा क्याम्प हुँदै अगाडि बढ्नुपर्छ । ४ वटा क्याम्प हुन्, क्याम्प वान, क्याम्प टु, क्याम्प थ्री र क्याम्प फोर । सबैभन्दा उचाइको क्याम्प फोर ७ हजार ९ सय मिटरमा पर्छ । 

 

यो क्याम्पबाट शिखरमा पुग्न आरोहणको अन्तिम दिन दिन–रात हिंड्नुपर्छ । ‘समिट पुग्ने दिन हामी रातदिन चौबीसै घण्टा हिँड्छौं, साँझ ९ बजेदेखि हिँडेर रातभर हिँडेपछि बिहान ११ बजेसम्म शिखरमा पुगिसक्नुपर्छ,’ फुर्वा भन्छन्, ‘क्याम्प वान, क्याप टुमा त अप एन्ड डाउन गरिरहनुपर्छ, बाटो बनाउन, सामान ओसार्न, डोरी हाल्न, भर्‍याङ ठड्याउन तर अन्तिम क्याम्पबाट समिट पुग्न रातदिन हिँड्नुपर्छ ।’ फुर्वा तेन्जिङका अनुसार हरेक क्याम्पबाट दैनिक ४ देखि ८ घण्टासम्म हिंडनुपर्छ । अल्टिच्युडले हिँडाइमा पनि प्रभाव पार्ने भएकाले समयमा केही तलमाथि हुन सक्छ । सुन्दै अचम्म लाग्छ, कहिलेकाहीँ सगरमाथामा समेत ट्राफिक जाम हुन्छ । कस्तो अवस्थामा यस्तो समस्या भोग्नुपर्छ ? ‘हिलारी स्टेट एकदमै साँघुरो छ, माथिबाट कोही झर्दा तलको टोलीले उनीहरूलाई झर्न दिनुपर्छ,’ फुर्वा तेन्जिङ थप्छन् ।

 

हिलारी स्टेटको जाम कतिपय आरोहीको मृत्युको कारण समेत बन्ने गरेको छ । लामो समय जाममा पर्दा अक्सिजन सकिने, अत्याधिक चिसो हुनेलगायतका समस्याले यस्तो हुने आरोहीहरू बताउँछन् । कतिपयले हातका औंला र शरीरका अंगहरू समेत यही कारणले गुमाउनुपर्छ । यसबाहेक आधारशिविरबाट क्याम्प वानको बाटोमा पर्ने खतरानाक खुम्बु आइसफलको यात्रा पनि सहज छैन् । अप्ठ्यारो बाटो, भर्‍याङ र हिम चट्टानमा हिड्न समय लाग्ने भएकाले यहाँ ट्राफिक जामको समस्या पनि उतिकै छ । 

 

 

कति लाग्छ खर्च ? 
सगरमाथा चढ्न खर्चका दृष्टिकोणले पनि सहज छैन । ‘विदेशीलाई न्यूनतम ३० लाखभन्दा माथि ४५ लाखसम्म लाग्छ,’ सेभेन समिटका सञ्चालक समेत रहेका छाङदावा भन्छन्, ‘परमिटमा केही छुट हुने भएकाले नेपालीहरूलाई अलि सस्तो पर्न आउँछ ।’ विदेशीले १० हजार डलर आरोहण शुल्कका रूपमा सरकारलाई बुझाउनुपर्छ भने स्वदेशी आरोहीले त्यसमा केही छुट पाउँछन् । नेपालीले आरोहण शुल्कबापत ७५ हजार नेपाली रुपैयाँ बुझाउनुपर्छ । 

 

छाङदावाका अनुसार आरोहणका क्रममा प्रयोग हुने पहिरन, ट्रान्सपोर्टेसन, अक्सिजन तथा शेर्पा गाइडमा पनि प्रशस्तै खर्च हुन्छ । यी सबैका लागि झन्डै १० लाख खर्च लाग्छ । एक वर्षजति तालिम र तयारीमा लाग्ने शेर्पाहरू बताउँछन् । सगरमाथाका आरोहणका लागि सरकारले बनाएका सबै प्रक्रिया पूरा गरेपछि सरकारले ७५ दिनको परमिट दिन्छ । आरोही फुर्वा तेन्जिङ शेर्पाका अनुसार सगरमाथा आरोहण सक्न बढीमा ४५ दिन लाग्छ । आरोहणका लागि अप्रिल र मे महिनालाई उपयुक्त मानिन्छ । 

 

प्रकाशित :माघ ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्