धुर्मुस र सुन्तलीका बारेमा को के भन्छन्

- साप्ताहिक संवाददाता

माघ ८, २०७३

 

धुर्मुस–सुन्तलीले हास्यव्यंग्यमा मात्र नभै विकास–निर्माणको धारावाहिक श्रृंखला जनतासामु प्रस्तुत गरिरहेका छन् । उनीहरू हाम्रो हास्य कलाकारिता क्षेत्रमा मान्छे (दर्शक) हँसाउने मात्र होइन, देश हँसाउने पात्र पनि छन् भन्ने कुराको दरिला प्रमाण हुन् । धुर्मुस –सुन्तलीको अभियानको सिको नगरे नेताहरूको भोट गुम्छ । धुर्मुस–सुन्तलीको विकास–निर्माणको अभियानबाट सरकारले सिक्नुपर्छ । नयाँ पुस्ताप्रति हामी गर्व गर्छौं । धुर्मुस–सुन्तलीले थालेको देश निर्माणको काम सिंगो कलाकारिता क्षेत्रले गर्व गर्न लायक छ । 

मह जोडी

 

धुर्मुस–सुन्तली सफल जोडी त हुन् नै, असाध्यै राम्रा कलाकार पनि हुन् । उनीहरू सामाजिक कार्यमा समेत अग्रस्थानमा छन् । उनीहरूको जोडी समयलाई चिनेर सही समयमा सही काम गर्न सफल छ । छोटो समयमा धेरै प्रगति निकै कम कलाकारले मात्र हासिल गर्न सक्छन्, जुन उनीहरूले प्राप्त गरेका छन् । लोकप्रियताको शिखरमा रहेको यो जोडी वेसक्याम्पमा बासै नबसी सिधै सगरमाथाको चुचुरोमा पुग्न सफल भए जस्तो लाग्छ । आत्मविश्वासी र मेहनति त छ नै, यो जोडी चर्चा तथा आलोचनालाई समेत ब्यालेन्समा राख्न सफल छ । 

जितु नेपाल, हास्य अभिनेता

 

संसद्मा सांसदहरूको दुईतिहाइको धार्नी पुर्‍याउने खेल भैरहँदा नेपाली दर्शकका प्यारा कलाकार धुर्मुस–सुन्तली भने बेल्चा र ट्रली बोकेर तेस्रो एकीकृत नमूना बस्ती निर्माणमा लागिपरेका छन् । देश बनाउन अथवा राम्रो काम गर्न मन्त्री–सभासद् नै भैरहनु पर्दैन भन्ने कुरालाई धुर्मुस–सुन्तलीको जोडीले प्रमाणित गरिदिएको छ । 

टीका भण्डारी, संगीतकार 

 

म उनीहरूको जोडीलाई ‘पर्फेक्ट’ भन्न रुचाउँछु, जसले नेपाल तथा नेपालीहरूको मर्म बुझ्छन् । उनीहरू दृढ इच्छाशक्ति र गर्छु भन्ने भावनाले यहाँसम्म आइपुगेका हुन् । धुर्मुस–सुन्तलीलाई यसैगरी अघि बढिरहन शुभकामना दिन्छु । 

जीपी तिमिल्सिना, सञ्चारकर्मी 

 

धुर्मुस–सुन्तलीजस्तो जोडी नेपालको प्रत्येक जिल्लामा हुने हो भने हामीलाई नेताको आवश्यकता नै पर्दैनथ्यो । विकासका लागि सिंहदरबार चाहिदैनथ्यो । यदि कथामा जस्तै वास्तविकतामा पनि वरदान मागेर पूरा हुने भैदिएको भए म भगवान्सँग हरेक गाउँमा धुर्मुस–सुन्तलीजस्तो कर्म गर्ने जोडी पठाइदेऊ भन्थें । 

नीरु खड्का, अभिनेत्री

 

नचिनेका मानिसहरूका लागि दु:खले आर्जिएको आफ्नै छहारीसम्म बेच्न तम्सिने, आफ्ना सन्तान अरूलाई नै जिम्मा लगाएर दु:खीका सन्तानलाई न्यानो छर्न पुग्ने, आफूले कमाएको नाम प्रयोग गरी आफ्नै थैलीमात्र भर्ने जमातभन्दा परै रही आफ्नो नाम प्रयोग गरी नेपाल बनाउन कुद्ने यो जोडी शब्दमा गर्न सकिँदैन ।

जीवन पराजुली, रंग पत्रकार

 

र कुञ्जनालाई धेरै–धेरै बधाई, जसले समाजलाई एउटा ऐना देखाइदिनुभएको छ । समाजसेवा एउटा यस्तो काम हो, जो हामी स्वार्थबिना गर्छौं, त्यहाँ कुनै स्वार्थ हुँदैन, केवल पवित्र मन र भावनाका साथ गरिने सेवा अथवा काम हो यो । त्यस्तो काम गर्ने धुर्मुस र सुन्तलीलाई विश्वकै एक नमुना जोडी भने पनि हून्छ । उनीहरूले जुन आफ्नो देशका लागि गरिरहेका छन्, त्यसमा मेरो सलाम छ । ‘वन पर्सन क्यान मेक अ डिफरेन्स’ भन्ने भनाइ छ, यो भनाइलाई धुर्मुस र सुन्तलीले आत्मसात् गरेका छन् । उनीहरूले समाजमा परिवर्तनको बीउ रोपेका छन्, त्यो बीउलाई हामी सबै नेपालीले मल–जल गरेर हुर्काउने प्रयास गर्नुपर्छ । 

अम्बिका गुरुङ, गीतकार 

प्रकाशित :माघ ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्