पारिवारिक विघटन र अपराधको स्रोत बन्दै वैदेशिक रोजगार

  • कोही खोरमा, कसैलाई एचआईभी

- साप्ताहिक संवाददाता

माघ ५, २०७३

 

२०७२ पुसको पहिलो साता पाँचथर रानीगाउँ—२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने तयारीमा थिए । टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे । सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन्, ३० हजार हालेर मोबाइल किने, सँगै एउटा कम्बल र एउटा क्यामेरा पनि किने ।

 

श्रीमतीले ‘पैसा बोकेर आउँदा जोखिम हुन्छ, मेरो नाममा आईएमई गरिदिनू’ भनिन् । सम्बाहाम्फेले त्यसै गरे । काठमाडौं आइपुगेर उनले फोन गरे, श्रीमतीको फोन उठेन । एकछिनपछि सोमबहादुरको फोनमा ‘म्यासेज’ आयो, जसमा लेखिएको थियो— ‘मैले अर्कै केटासँग बिहे गरिसकें । मलाई नखोज्नु, छोराछोरी मसँगै छन् ।’

सरिताले त्यसअघि नै इलाम पशुपतिनगरका विक्रम राईसँग दोस्रो विवाह गरिसकेकी थिइन् । उनले ७ वर्षीय छोरा र ५ वर्षीया छोरी आफूसँगै राखेकी छिन् । अहिले सोमबहादुर रानीगाउँस्थित घरमा एक्लै छन् । सरिता र सोमबहादुरबीच आठ वर्षअघि विवाह भएको थियो । गाउँठाउँमा विवाह दर्ता गर्ने चलन थिएन । अहिले सम्बाहाम्फेलाई कानुनी प्रक्रियामा जान समस्या भैरहेको छ । ‘कतार गएपछि कमाएको सबै पैसा श्रीमतीकै नाममा पठाएँ । पशुपतिनगरमा घडेरी खरिद गर्न, छोराछोरीको फी तिर्न भनेर दुई वर्षमा ८ लाख रुपैयाँ पठाएछु । घर फर्कने बेलामा आईएमई गरेको समेत जोड्दा ११ लाख रुपैयाँ भयो होला,’ सम्बाहाम्फे दु:खेसो पोख्छन्, ‘कति विदेश बस्नु, सानोतिनो व्यवसाय गरेर यतै बसौं भनेर घर फिरेको, न सम्पत्ति, न सन्तान, न श्रीमती पो भएँ ।’

रोल्पा तालाबाङ–६ खाराबाङका हरि घर्तीमगर २०६८ सालमा बिदेसिए । उनी विदेश रहेका बेला श्रीमती मनकुमारी गर्भवती भइन् । लोग्ने बिदेसिएपछि मनकुमारीको हिमचिम देवरसँग बढेको थियो । गर्भवती भएको आठ महिनापछि घटना सार्वजनिक भयो । मनकुमारीका दुई छोरा कमल कक्षा ६ मा र हिमाल कक्षा १ मा पढ्दै थिए ।

गाउँका मानिस भेला भएर मनकुमारीलाई देवर कर्णबहादुरको जिम्मा लगाए । कर्णबहादुरले दाजु हरिलाई जरिवानास्वरूप दुई लाख रुपैयाँ तिरे । विवाद मिलाउन सक्रिय स्थानीय नेकपा माओवादी केन्द्रका कार्यकर्ता दलबहादुर घर्तीमगर भन्छन्, ‘के गर्नु गाउँठाउँको कुरा मिलाउनैपर्‍यो ।’ वैदेशिक रोजगारीले हरि घर्तीमगरको परिवार चकनाचुर भयो ।

पाँचथर प्राङ्वुङ—४ का भीमबहादुर ज्ञाङमी मगरको पीडा अझ मार्मिक छ । उनी स्थानीय साहूकहाँ सयकडा तीन रुपैयाँका दरले ऋण काढेर पाँच वर्षअघि रोजगारीका लागि साउदी अरेबिया गएका थिए । २०६३ सालमा विवाह गरेका भीमबहादुर विदेश गएपछि छोरो युगल र घरव्यवहार हेर्ने जिम्मा श्रीमती फूलकुमारीको काँधमा आयो । भीमबहादुरले साउदीमा ‘हेभी ड्राइभिङ’को काम पाए । कमाइ मासिक ६० हजार रुपैयाँ पुग्थ्यो । ६ महिना लगाएर साहूको सावाँ–ब्याज ऋण तिरे । बाँकी चार वर्षको कमाइ श्रीमतीका नाममा पठाए ।

२१ वैशाख २०७३ का दिन उनी काम गरिरहेका थिए । कसैले उनलाई फोन गरेर ‘उनकी श्रीमती घरका झ्यालढोका थुनेर छोरो लिएर हिंडिन्’ भन्ने खबर सुनाइदियो । एक महिना लगाएर घर फर्कने चाँजोपाँजो मिलाए । ५ असारमा घर आइपुगे । फूलकुमारी छिमेकी मेमेङ गाविस–२ मच्छेवुङका ज्ञानबहादुर केरुङसँग दोस्रो विवाह गरेर बसेकी थिइन् । फर्किएलगत्तै भीमबहादुरले जिल्ला अदालत पाँचथरमा धनमाल अपचलन गरेको मुद्दा हाले । भीमबहादुर भन्छन्, ‘विदेशमा पैसा कमाएर यहाँ सुखसँग जीवन बिताउँला भन्ने थियो, सपनामै सीमित भयो ।’ भीमबहादुरले अदालतमा प्रमाणका रूपमा फूलकुमारीका नाममा पठाएको आईएमईका रसिद तथा सुन किनेको बिलको प्रतिलिपि पेस गरेका छन् । आक्रोशित भीमबहादुर भन्छन्, ‘जित–हार जे–सुकै होस्, समय र पैसा जतिसुकै खर्च होस्, म मुद्दा किनारा नलागेसम्म लडिरहन्छु ।’

तीन छोराछोरीकी आमा पाँचथर भारपा–८ निवासी चन्द्रमाया थापाले २०७२ असोजमा पति प्रेम योक्पाङदेनसँग सम्बन्धविच्छेद गरिन् । विवाह गरेको १५ वर्षपछि सम्बन्धविच्छेद गर्नुको कारण थियो– पतिको वैदेशिक रोजगारी । १३ वर्ष पुग्दा–नपुग्दै प्रेमसँग प्रेम विवाह गरेकी चन्द्रमायाको पतिसँग सहज सम्बन्ध थियो । उनीहरू भारपा–८ स्थित मेची राजमार्गमा होटल व्यवसाय र सुँगुरपालन गरेर बसेका थिए । कमाइ पनि नराम्रो थिएन । २०६८ सालमा प्रेमले ‘साथीभाइ सबै गए, कमाइ पनि राम्रो हुन्छ भन्छन्’ भनेर विदेश जाने इच्छा देखाए । चन्द्रमायाले पनि ‘हुन्छ’ भनिन् । प्रेम कतार गएपछि चन्द्रमायाको काँधमा पसल सम्हाल्ने, सुँगुर पाल्ने, छोराछोरीको रेखदेख गर्ने अभिभारा थपियो । उनी दैनिक १६/१८ घण्टासम्म खट्न थालिन् ।

कतार पुगेको केही समयपछि प्रेमको व्यवहार बदलियो, उनी धेरै शंकालु हुँदै गए । यतिसम्म भयो कि चन्द्रमायाले प्रत्येक महीनाको १ गते नजिकैको देवालयमा गएर एकहातले घण्टी बजाउँदै अर्को हातमा बोकेको फोनबाट ‘म अरू केटासँग लागेकी छैन’ भनेर कसम खानुपर्ने भयो । यो क्रम चलिरहेकै बेला २०७२ भदौमा प्रेम घर फर्किए । चन्द्रमायाको भनाइमा, भोलिपल्ट बिहानै आलो गोबर ल्याएर घरको मूल खाँबो वरिपरि लिप्न लगाए, अनि पाथी ओढ्न लगाएर ‘अरू केटासँग लसपस गरेकी छैन’ भनेर कसम खान लगाए । त्यसरी कसम ख्वाउँदा चन्द्रमायाकी आमा र बडीआमालाई पनि साक्षी राखिएको थियो, तर प्रेमले चन्द्रमायाको आरोप अस्वीकार गरे । उनले भने, ‘त्यो काम मैले जबर्जस्ती गराएको होइन, चन्द्रमायाले मेरो विश्वास जित्न स्वेच्छाले गरेकी हो ।’ 

प्रेम कतारमै हुँदा छोरीको मुटुमा समस्या देखिएको थियो । पसलको कमाइबाट ३ लाख रुपैयाँ खर्च गरेर चन्द्रमायाले छोरीको उपचार गराइन् । प्रेमले पनि दुई वर्षमा ५ लाख रुपैयाँ कमाएर पठाएका थिए । चन्द्रमायाले प्रेमलाई त्यो पैसा फिर्ता गरिदिइन् । अन्त्यमा छोरीको उपचारमा लागेको खर्च श्रीमान्ले बेहोर्ने, छोराछोरी श्रीमान्ले नै पढाउने सर्तमा उनीहरूको सम्बन्धविच्छेद भयो । चन्द्रमायाका भनाइमा, ‘प्रेमले पढाइ खर्च नदिएपछि अहिले तीनमध्ये दुई जना छोराछोरी उनीसँगै छन् ।’ झापाको बिर्तामोडमा बस्दै आएकी चन्द्रमायालाई मुटुको समस्या छ र मृगौलामा पत्थरी देखिएको छ । निराश चन्द्रमाया भन्छिन्, ‘वैदेशिक रोजगारीले मेरो परिवारको खुसी खोस्यो । बुढेसकालमा बिरामी छु, अब भीख माग्नुबाहेक अरू उपाय छैन ।’

१२ पुस २०७२ मा पाँचथर मौवा–१ का रामबहादुर थापा मगरकी १९ वर्षीया पत्नी प्रमिला मगर हराएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दिए । निवेदनमा ‘लोग्नेले विदेशमा कमाएको सम्पत्ति लिएर श्रीमती हराएको’ भनिएको थियो । खोजबिनका क्रममा प्रहरीले प्रमिला झापाको कन्काई नगरपालिका वडा नम्बर–७ निवासी राजबहादुर मगरसँग दोस्रो विवाह गरेर बसेको पत्ता लगायो ।

प्रमिलाले दोस्रो विवाह गर्नुको कारण उनका पूर्व पति रामबहादुरले प्रहरीमा दिएको निवेदनमा उल्लिखित बेहोरा भन्दा बिल्कुलै फरक थियो । विवाह गर्दा प्रमिला १७ वर्षकी थिइन् । केटो माग्न आएको भनेर परिवारले कर गरे । २०७० माघमा उनीहरूबीच विवाह भयो । एक महीना नबित्दै श्रीमान् साउदी अरेबिया हान्निए ।

प्रमिलाका अनुसार, ‘श्रीमान् विदेश गएपछि बुहारीलाई पैसा नपठाउनु अर्कैसँग लागेकी छे, कुम्ल्याएर हिंड्छे भनेर घरकाले पोल लगाएछन् क्या हो । मलाई त पैसा पठाउनै छाडे,’ उनले भनिन्, ‘यो उमेरमा परिवारबाटै अपहेलित भएर के बस्नु भनेर अर्को विवाह गरें ।’ श्रीमान् विदेश गएपछि कतिपय परिवारमा महिलालाई कस्तोसम्म समस्या आइलाग्छ भन्ने एउटा उदाहरण हुन् पाँचथर अमरपुर–९ की सीता चौहान । २०७० सालमा विदेश गएका श्रीमान्ले के सोचेर हो उनलाई पैसा पठाउँदै पठाएनन् । सीता भन्छिन्, ‘दुई–चार रुपैयाँ माग्दा पनि सासूआमाले तेरो पोइले कमाएर पठाको भा’पो दिनु भन्नुहुन्थ्यो । साथीसँगीचाहिँ ‘लाहुरेकी बूढी’ भनेर फुक्र्याउँथे । मर्नु हुन्थ्यो मलाई ।’ उनले भनिन्, ‘मसँग हातखुट्टा धुने साबुन किन्ने पैसा थिएन । मन लागेको लाउन र खुशी मनले खान नपाएपछि मैले दोस्रो विवाह गरें ।’

पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइराला ‘श्रीमान् वैदेशिक रोजगारीमा रहेका बखत श्रीमतीले दोस्रो विवाह गरेको, घरबाट हराएको र सम्पत्ति अपचलन गरेको’ भनेर जिल्ला प्रहरी कार्यालय पाँचथरमा सातामा दुई/तीन वटा मुद्दा आउने गरेको बताउँछन् ।

आर्थिक वर्ष ०७२/७३ मा पाँचथर जिल्लामा मात्र ५६ जना महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । हराएका भनिएका ५६ मध्ये २५ महिलाका श्रीमान् विदेशमा रहेको प्रहरी नायव उपरीक्षक कोइराला बताउँछन्, जसमध्ये १४ जनाले दोस्रो विवाह गरेको पुष्टि भयो । अघिल्लो आर्थिक वर्ष ०७१/७२ मा ७६, ०७०/७१ म ६७ र ०६९/७० मा ५८ महिला हराएको निवेदन पाँचथर प्रहरीमा परेको थियो ।

अदालतमा पुगेका यस्ता पारिवारिक विवाद हेर्दै आएका अधिवक्ता टीका तिम्सिना भन्छन्, ‘वैदेशिक रोजगारमा गएका पुरुषले श्रीमतीलाई खर्च नपठाउने, वास्ता नगर्ने र कतिपयले विदेशमै घरजम गर्ने कारणले पनि महिलाहरू नयाँ जीवन सुरु गर्न बाध्य हुन्छन् ।’ तिम्सिना भन्छन्, ‘तर केही महिलाले चाहिं सम्पत्तिका लागि विवाह गर्ने र तुरुन्तै सम्बन्धविच्छेद गर्ने गरेको पनि देखिएको छ ।’

रेमिट्यान्सले पुर्‍यायो जेल

पाँचथर यासोक–२ की शान्ता परियार (२२) दुई वर्षअघि हाडनाता करणी र ज्यान मारेको अभियोगमा पक्राउ परिन् । दुवै मुद्दामा दोषी ठहर गरेर जिल्ला अदालत पाँचथरले उनलाई कारागार पठाएको छ । चौध वर्षको उमेरमा विवाह गरेकी शान्ता जेल जानुपर्ने कारण मार्मिक छ । उनले २०६५ सालमा उमेरमा आफूभन्दा ८ वर्ष जेठा यासोक–२ का जीवन परियारसँग विवाह गरिन् । विवाह हुँदा जीवन तीन वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका थिए । फोन वार्ताका क्रममै बिहे गर्ने टुंगो गरेका उनीहरूले लगनगाँठो कसेको १० महिनामा एक छोरा पनि जन्माए । छोरा अहिले ७ वर्षका छन् ।

छोरा जन्मिएको दुई महिनापछि जीवन पुन: वैदेशिक रोजगारीका लागि मलेसिया गए । शान्तालाई पैसा पठाइदिन थाले । घर खर्च चलाउन ८–१० हजार र कहिले बचत गर्न भनेर एक–डेढ लाख रुपैयाँसम्म पठाउन थाले । चार वर्षमा उनले झण्डै १० लाख रुपैयाँ पठाए । जीवन लामो समयसम्म घर नफर्कंदा शान्ता आफ्नो उमेरका देवरसँग नजिकिइन्, यौनसम्पर्क हुन थाल्यो । तिनै देवरसँगको शारीरिक सम्पर्कपछि जन्मिएको शिशु मारेर फ्याकेको पोल खुलेपछि शान्ता र उनका देवर पक्राउ परे ।

पाँचथर जेलमा भेटिएकी शान्ताले भनिन्, ‘चार वर्षसम्म नआउँदा श्रीमान्को सम्झनाले खुब सताउँथ्यो । उमेर मिल्ने देवरसँग मनका कुरा साटासाट गर्दागर्दै शारीरिक सम्पर्क सुरु भयो । समाजले थाहा नपाओस् भनेर गर्भ फाल्दा आज यो हालत भयो ।’ निराश शान्ता दु:खेसो गर्छिन्, ‘उहाँ घर आउजाउ गरिरहेको भए मेरो यो स्थिति हुँदैनथ्यो ।’ जिल्ला अदालत पाँचथरले शान्तालाई २० वर्ष कैद गर्ने फैसला गरेको छ ।

पाँचथर यासोक—५ की राजकुमारी लावती (३०) अहिले शिशु हत्या अभियोगमा पाँचथर कारागारमा छिन् । उनका श्रीमान् इन्द्रकुमार २०६५ सालदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । जेठाजु नाताका मुखराम लावतीसँगको शारीरिक सम्पर्कपछि जन्मिएको छोरो मारेर सामुदायिक वनमा गाडेको अभियोगमा ३० चैत २०७२ मा राजकुमारी र मुखरामलाई प्रहरीले पक्राउ गर्‍यो । पक्राउ परेपछि राजकुमारीले दिएको प्रतिक्रिया साँच्चिकै मार्मिक थियो । उनले भनेकी थिइन्, ‘पैसा पठाउनुहुन्थ्यो, के गर्नु लोग्नेसँग साटिने सबै दु:खसुख पैसासँग साट्न मिलेन । उमेरकी श्रीमती सम्झेर बेलाबखत घर आउनुभएको भए म यो हालतमा पुग्ने थिइनँ ।’ अहिले राजकुमारी र मुखराम दुवै पुर्पक्षका लागि पाँचथर कारागारमा छन् । यो कारागारमा शान्ता र राजकुमारी जस्ता १३ महिला कैदी बन्दी छन् । १३ मध्ये चार ज्यान मुद्दामा समातिएका छन् । चारै जनाका श्रीमान् वैदेशिक रोजगारीमा भएको बताइन्छ ।

रोल्पा पश्चिम इरिबाङमा सौतेनी आमा र काकाबीचको सहवास देखेको कारण १० साउन २०७३ मा १४ वर्षीय भरत पुनमगरको ज्यान गयो । इरिबाङ–१ ओगाउँका सौतेनी आमा विमला पुनमगर र स्थानीय बासिन्दा गोविन्द पुनमगरबीच यौन सम्पर्क भैरहेको बालकले देखेका थिए । विमला र गोविन्दले ‘आफूहरूबीचको शारीरिक सम्बन्ध खुलासा हुने डरले बालकको हत्या गरेको’ बयान प्रहरीमा दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता केशवबहादुर बस्नेतका भनाइमा, ‘आत्महत्या गरेको देखाउन विमला र गोविन्दले बालकलाई पछ्यौराले बाँधेर घरको बार्दलीमा झुन्ड्याइदिएका थिए ।’ बालकका बुवा वीरसिंह दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन् । २५ वर्षीया विमलाका साथमा साढे दुई वर्षका छोरा छन् । अहिले गोविन्द र विमला पुर्पक्षका लागि रोल्पा कारागारमा राखिएका छन् ।

२७ चैत २०७१ मा रोल्पाको पूर्वी मिझिङ–१ की अनिता विष्टले गढवा–९ दाङका २१ वर्षीय प्रकाश चौधरीको अण्डकोष थिचेर हत्या गरिन् । २६ वर्षीया अनिता मिझिङ–७ सुलिचौर बसपार्क छेउमा किराना, चिया, नास्ता पसल गर्दै आएकी थिइन् । चौधरी सुलिचौरकै शंकर फर्निचर उद्योगमा मिस्त्री काम गर्थे । दुई वर्षदेखि अनिता र चौधरीबीच यौनसम्बन्ध रहँदै आएको थियो । प्रहरीको भनाइमा, चौधरीले अनितासँग २७ चैत राति पनि एकपटक यौन सम्पर्क राखेका थिए । चौधरीले दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा अण्डकोषमा जोडले थिचिदिएकाले उनको मृत्यु भएको बयान अनिताले दिएकी छिन्।

आफूलाई यौन सम्पर्क गर्न मुड नचलेकाले ख्यालख्यालमै अण्डकोष थिचिदिंदा चौधरीको मृत्यु भएको अनिताको भनाइ थियो । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका अनिताका श्रीमान् बमबहादुर विष्ट तीन महीनापछि नेपाल फर्कने तयारीमा थिए । प्रहरीले अनिताविरुद्ध ज्यान मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत रोल्पाले उनलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ । अनिता अहिले रोल्पा कारागारमा छिन् ।

उवा–८, घोडाबाङका बस्ती घर्तीमगरले साउदी अरेबियामा १२ वर्ष बिताए । यो अवधिमा उनले ४४ लाख रुपैयाँ कमाए, तर विदेशमा कमाएको उक्त रकमकै कारण उनको ज्यान गयो । वैदेशिक रोजगारीबाट फर्किएपछि बस्तीले श्रीमतीसँग चार दिन बिताए । चार दिनपछि विदेशमा कमाएको पैसाको विषयलाई लिएर श्रीमान्–श्रीमतीबीच खटपट सुरु भयो । बस्तीले आफूले कमाएर पठाएको पैसाको हिसाबकिताब खोजे । २८ वर्षीया श्रीमती चान्चीले लोग्नेले विदेशमा कमाएर पठाएको पैसाको हिसाब देखाउन सकिनन् । घरमा झगडा भयो । बस्ती केही दिन आमाको घर गएर बसे । गाउँमा नानाथरीका टीकाटिप्पणी हुन थालेपछि चान्चीले श्रीमान्लाई आफ्नै घर लिएर आइन् । ७ फागुन २०७२ का दिन बस्तीको उनकै घरमा हत्या भयो । प्रहरीका अनुसार 

 

राति घरमा सुतिरहेका बस्ती माथि खुकुरी प्रहार गरिएको थियो । घरमा अरू मानिस पनि बस्थे । उनीहरूले घटनाको सुइँको समेत पाएनन् । चान्चीले प्रहरी र मिडियालाई ‘लुटेरा समूहले लुटपाट गरी श्रीमान्को हत्या गरेको’ बताइन् । आक्रमणमा परेका श्रीमान्को स्थानीय क्लिनिकमा उपचार गर्दागर्दै ज्यान गएको चान्चीको भनाइ थियो । चान्चीको भनाइ विश्वास गरेर गाउँलेहरू मलामी पनि गए । उनले प्रहरीमा गाउँकै दुई युवाबाट हत्या गरिएको आशंका छ भनेर उजुरी दर्ता गराइन् । प्रहरीले ती युवालाई पक्राउ पनि गर्‍यो, तर प्रहरीले पोलिग्राफिक परीक्षण गरेपछि घटनाको यथार्थ बाहिर आयो । चान्ची र उनका प्रेमी भनिने भरतले मिलेर उक्त हत्या गरेको रहस्य खुल्यो र अदालतमा मुद्दासमेत दर्ता भयो । जिल्ला अदालत रोल्पाले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठायो । अहिले उनीहरू दुवै रोल्पा कारागारमा छन् ।

 

कोही खोरमा, कसैलाई एचआईभी

तेह्रथुम चुहानडाँडा—८, बोखिमका उदयनारायण दाहाल (३३) लाई चार वर्षदेखि घरको एउटा कुनामा फलामको खोरमा थुनेर राखिएको छ । उनलाई फलामे खोरमा पुर्‍याउने कारक थियो– वैदेशिक रोजगारी । कक्षा ८ मा पढ्दापढ्दै उदयनारायणलाई कमाउन विदेश जाने हावाले छोयो । बा–आमाले १ लाख ५० हजार रुपैयाँ खर्च गरेर दुबई पठाइदिए । ६ महिनापछि उनले कमाएर ६० हजार रुपैयाँ घर पठाए । दशौं महीनामा उनी बिरामी भएको खबर आयो । बुवा चूडामणि भन्छन्, ‘काठमाडौं ल्याएर उपचार गर्‍यौं । ६ महीनासम्म औषधि खाएपछि सञ्चो भयो ।’ 

निको भएपछि उदयनारायण पुन: भारतको मद्रास गए । दुई महीना नपुग्दै उनी फेरि बिरामी भएर घर फर्किए । बुवा–आमाले उनलाई उपचारका लागि ललितपुर लगनखेलको मानसिक अस्पताल पुर्‍याए । त्यहाँ डाक्टर सुरेन्द्र शेरचनले उदयनारायणलाई ‘बाइपोलार डिस्अर्डर’ रोग लागेकाले लामो समयसम्म नियमित औषधि सेवन गर्नुपर्ने सल्लाह दिए । आमा मैना भन्छिन्, ‘औषधि उपचारमा करीब पाँच लाख रुपैयाँ सकेर घर लिएर आयौं । एक वर्षसम्म ठीकै थियो । एकदिन अचानक रोग बल्झिएछ । घरमा काम गरिरहेका बुवालाई काठको मुंग्रोले हिर्काएर लडायो । बुवा बेहोश भएपछि एम्बुलेन्स झिकाएर उपचार गर्न लानुपर्‍यो ।’

बुवा चूडामणि भन्छन्, ‘नियन्त्रणमा नराखे थप क्षति हुने देखेर छिमेकी जिल्ला पाँचथरको फिदिम पुगेर खोर अर्डर गर्‍यौं । अहिले त्यही खोरमा थुनेर राखेका छौं,’ विरक्तिंदै उनले भने, ‘खोर किनेर छोरालाई थुनेर राख्नुपर्दा कुन बाबुआमाको मन नरोला ?’ उदयनारायणलाई आमाले खोरभित्रै लगेर खानेकुरा दिन्छिन् । उदयनारायण खानेकुरा थापेर खान्छन् । कपडा फेर्न, कपाल, दाह्री काट्न दुईचार जना लाठे खोजेर उनलाई बाहिर निकाल्नुपर्छ । खटियामुनि प्वाल पारेर प्यान राखी दिसापिसाब गर्ने प्रबन्ध मिलाइएको छ । उनी बेलाबेला सामान्य अवस्थामा आउँछन् र कुरा गर्छन् । सामान्य अवस्थामा भेटिएका उदयनारायणले भने, ‘औषधि गर्न पाए ठीक हुन्थें होला !’

पाँचथरको रानीटार–२ की चन्द्रमा (नाम परिवर्तन) लाई एचआईभी पोजिटिभ भएको छ । श्रीमान् चन्द्रेश्वर (नाम परिवर्तन) वैदेशिक रोजगारीबाट फर्किएपछि २७ वर्षीया चन्द्रमालाई एचआईभी संक्रमण भएको हो । २०६३ सालयता दुई पटक कुवेत गएका चन्द्रेश्वरलाई आफूलाई कसरी एचआईभी संक्रमण भयो भन्ने पनि थाहा रहेछ । उनले भने, ‘कुवेत जान दिल्लीमा भेला हुँदा रमाइलो गर्न भनेर साथीहरूको लहलहैमा लागियो, त्यही बेला सर्‍यो होला ।’ 

दुवै अहिले जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको एचआईभी परामर्शदाता ओमप्रकाश यादवको निगरानीमा औषधि सेवन गरिरहेका छन् । चन्द्रमा भन्छिन्, ‘घरखेत धितो राखेर १ लाख ५० हजार ऋण गरेर कुवेत पठाएँ । कमाएर ल्याउलान् र सुखका दिन फिर्लान् भनेको त आगो ल्याएर सल्काए ।’ जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको विवरण अनुसार, पछिल्लो एक आर्थिक वर्ष (०७२/७३) मा मात्र पाँचथरमा चार पुरुष र एक महिलामा एचआईभी पोजेटिभ देखिएको छ । तीमध्ये चारै जना पुरुष वैदेशिक रोजगारीबाट फर्किएका हुन् । चारमध्ये तीन जना २५–३० वर्ष उमेर समूहका युवा छन् । यद्यपि विदेशको कमाइ ‘रेमिट्यान्स’को बखानमा रमाइरहेको नेपाली राज्य–व्यवस्था तथा नीति–निर्मातालाई त्यो कमाइ समाजका लागि कति महँगो परिरहेको छ भन्ने कुनै हेक्का देखिंदैन ।

 

(लक्ष्मी गौतम, पाँचथर र हीराबहादुर घर्तीमगर, रोल्पा)

खोज पत्रकारिता केन्द्रको रिपोर्ट

प्रकाशित :माघ ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्