मिर्गौलाको व्यापार गर्नेहरू मेरा दुस्मन भए

- अश्विनी कोइराला

माघ ३, २०७३-  

एसएलसीमा राम्रो अङ्क ल्याउने मान्छे डाक्टर बन्नुपर्छ भन्ने नेपाली समाजको मान्यता पुरानै हो । डा. पुकार श्रेष्ठ यो मान्यताका कारण डाक्टर भएका होइनन् । उनले एसएलसी पास गर्दा उनका जेठा दाइ कल्याण श्रेष्ठ जिल्ला न्यायाधीश भैसकेका थिए भने माइला दाइ इन्जिनियर । परिवारका सबै सदस्य एउटै पेसामा लाग्नु हुँदैन भन्ने मान्यतामा उनी चिकित्सक भए । मानिसले चाह्यो भने जुन पेसामा भए पनि समाजलाई ठूलो योगदान दिन सक्छ भन्ने कुरा पुष्टि गरेका छन्— डा. पुकार श्रेष्ठले । नेपालमा पहिलो पटक मिर्गौला र कलेजो प्रत्यारोपण गरेका डा. श्रेष्ठले मानव अङ्ग प्रत्यारोपणमा इतिहास बनाएका छन् । नेपालमा सबैभन्दा खर्चालु मानिएको मिर्गौला रोगीका समस्या समाधान गर्न उनको योगदान अतुलनीय छ । बेलायतको सरकारी अस्पतालको जागिर छाडेर नेपाल आएका डा. श्रेष्ठकै कारण मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना भएको छ भने गायिका आनी छोइङ डोल्माको सहयोगमा आरोग्य केन्द्र स्थापना गरेर हजारौं गरिब मिर्गौला रोगीको ज्यान बचाउने कार्यमा उनीहरूको टिम सक्रिय छ ।

 

नेपालमा चिकित्सा पेसा केही बदनाम पनि छ । तपाईंले भने वाहवाही कमाइरहनुभएको छ, कस्तो लाग्छ ?
नेपाली समाजमा असल काम गर्ने मानिस छन् भन्ने विश्वास हराएर गएको थियो । डा. गोविन्द केसीको अनसनपछि चिकित्सा क्षेत्रका जुन विकृतिहरू बाहिर आए, त्यसले यो पेसाको असली रूप सर्वसाधारणलाई देखायो । यस्ता धेरै कारणले चिकित्सा पेसा बद्नाम भएको हो । यसको अर्थ यहाँ केही भएको छैन भन्ने होइन । आज नेपालको चिकित्सा क्षेत्र ठूलो प्रगतिपथमा छ । हामीले मानव अङ्गसम्बन्धी जस्तो कानुन बनायौं, मिर्गौला र कलेजो प्रत्यारोपणमा जुन सफलता पायौं, यसबाट पनि नेपालका गरिब जनताका लागि चिकित्सा क्षेत्रमा आशालाग्दो काम भएको छ भन्ने कुरा प्रमाणित हुन्छ । मेरो आँखाबाट हेर्दा निराश हुनुपर्ने अवस्था छैन । 

 

तपाईंले चिकित्सा क्षेत्रमा जुन योगदान गरिरहनुभएको छ, यस्तो सोच कसरी आयो ?
मेरो सानैदेखिको स्वभाव नै यस्तै हो । जस्तो म पहिलोपल्ट सर्जनका रूपमा बुटवलको सरकारी अस्पतालमा जागिर खान पुग्दा के पाएँ भने चिकित्सकहरू गाल पर्ने डरले गम्भीर रोगीको उपचार गर्न डराउँथे । अलिकति रिस्क हुने जस्तो भयो भने काठमाडौं पठाइदिन्थे । त्यस्ता रोगीमध्ये धेरैको काठमाडौं नपुग्दै मृत्यु हुन्थ्यो । चिकित्सकको काम नै उपचार गर्ने हो । यसरी डराएर हुन्छ ? मैले रिस्क लिन थालेँ । आखिर रोगीको मृत्यु त यसै पनि हुनेवाला थियो चाहे त्यो मेरो अप्रेसन थिएटरमा होस् वा काठमाडौं जाँदाजाँदै बाटोमा । त्यसो भए किन डराउने ? मैले लिएका यस्ता दर्जनौं निर्णयले सबैको ज्यान बच्यो । त्यहीँबाट मैले चिकित्सा क्षेत्रको कमजोरी थाहा पाउन थालेँ । अरूले के गर्छन्, चासो राख्नु हुँदैन, आफ्नो पेसामा इमान्दार हुनुपर्छ भन्ने लाग्यो । 

 

यस्तो सोच भएको मानिस विदेशी अस्पतालमा जागिर खान कसरी पुग्नुभयो ?
जागिर खान होइन, अध्ययनको सिलसिलामा पुगेको हुँ । सर्जन भएर काम गर्दा मैले धेरै युवा समय नपुग्दै मिर्गौला र लिभरको रोगी भएको पाएँ । धेरै मानिस जीवनको आनन्द लिन छाडेर मिर्गौला को डायलोसिस गर्न अस्पताल धाएको देखेँ । यसमा केही गर्नुपर्छ भन्ने लाग्दा–लाग्दै स्कटल्यान्डबाट छोटो समयका लागि कलेजो प्रत्यारोपण केन्द्रको अनुगमन गर्ने अवसर आयो । त्यहाँ मेरो काम अनुगमन गर्ने मात्र थियो, उपचार गर्ने अधिकार थिएन । चाहेको भए उनीहरूले दिएको भत्ता घुमेर सिध्याउन सक्थेँ । मैले समयको सदुपयोग गर्न चाहेँ । कलेजो प्रत्यारोपण गर्ने रोगीहरूको फाइल अध्ययन गरेर मैले उनीहरूको अवस्थाका सम्बन्धमा गहन अनुसन्धान गरेँ । फर्कने बेलामा त्यो रिपोर्ट प्रस्तुत गर्दा उनीहरूले भने, तपाईं धेरै मेहनती हुनुहुँदो रहेछ, थप अध्ययनका लागि हामी तपाईंलाई बोलाउन चाहन्छौं । यसरी म अध्ययनका सिलसिलामा फेरि उतै पुगेको हुँ । उता गएपछि मैले मिर्गौला  र कलेजोको क्षेत्रमा गहन अध्ययन गरेँ । यही अध्ययनको फलस्वरूप उनीहरूले मलाई उच्चस्तरको सरकारी जागिर दिएका हुन् । 

 

यद्यपि ती सबै सुविधा र पद छाडेर फर्कनुभयो, असफल भइएला भन्ने डर लागेर हो ?
खासमा बेलायतमा प्रत्येक दिन सडक दुर्घटनामा सयौं व्यक्तिको मृत्यु भैरहेको हुन्छ । अचानक मृत्यु भएका स्वस्थ मानिसका अङ्गहरू रोगी व्यक्तिको शरीरमा राख्ने काम हाम्रो समूहले गथ्र्यो । मैले काम गर्ने एलिजावेथ अस्पतालमा वर्षमा २ सय रोगी व्यक्तिभित्र यस्ता स्वस्थ व्यक्तिको कलेजो राख्ने काम गरिन्थ्यो । त्यो देखेपछि मलाई नेपालमा पनि यस्तै सेवा भए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । आफू नफर्की त्यो सेवा कसले सुरु गर्ला र भन्ने लागेपछि म नेपाल फर्किएको हुँ । 

 

नेपालमा मानिसहरू सिटामोलजस्तो सामान्य औषधि नपाएर मरिरहेका छन् । तपाईंलाई मानव अङ्ग प्रत्यारोपणमा सरकारी सहयोग हुन्छ भन्ने विश्वास कसरी लाग्यो ?
जसले मिर्गौला  रोगको पीडा भोगेको छ, उसले मलाई साथ दिन्छ भन्ने विश्वास थियो । त्यसैले म सरकारी मात्र होइन, गैरसरकारी तवरबाट पनि काम गर्न सकिन्छ भन्ने विश्वासमा थिएँ । मिर्गौला  रोगीहरूको विडम्बना कस्तो थियो भने सातामा कम्तीमा ५ हजार खर्च गरेर डायलोसिस गर्नुपथ्र्यो । जस्तोसुकै धनी व्यक्ति पनि केही वर्षभित्र गरिब भएर अरूसँग हात फैलाउनुपर्ने बाध्यतामा पुग्थे । पैसा छ भने विदेशमा गएर उपचार गर्ने, छैन भने मृत्यु पर्खेर बस्नेबाहेक अर्को उपाय थिएन । यस्तो पीडा भएका मानिसले मलाई साथ दिन्छन् भन्ने विश्वास थियो । 

 

काम कसरी सुरु गर्नुभयो ?
जब मैले बीर अस्पतालमा काम सुरु गरेँ, तत्कालीन स्वास्थ मन्त्री राजेन्द्र महतोको छोराको किड्नी फेल भएको थाहा पाएँ । नयाँ मिर्गौला  राख्दा त्यसले काम गर्न नसकेकाले उहाँको मृत्यु भएको रहेछ । यो कारणले उहाँलाई मेरो उद्देश्यले छोयो । यसरी सरकारी क्षेत्रबाट मन्त्रीले नै मलाई साथ दिनुभयो । अर्कातर्फ गायिका आनी छोइङ डोल्माकी आमाको पनि त्यसैगरी निधन भएको रहेछ । उहाँ मिर्गौला का रोगीहरूका लागि के गर्न सक्छु भन्दै काम गर्ने मानिस खोजी–खोजी हिँडिरहनुभएको रहेछ ।

 

मैले एकातिर सरकारी सहयोगबाट मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्न पहल गरेँ भने अर्कातर्फ आनी छोइङ् डोल्मा, मह जोडी, उद्योगपति कुशकुमार जोशी, कुलचन्द्र गौतमहरूको सहयोगमा आरोग्य केन्द्र स्थापना गर्न लागिपरेँ । कुलचन्द्र गौतम आफैं मिर्गौला को रोगी भएका कारण बहिनीबाट मिर्गौला  लिएको व्यक्ति हुनुहुन्छ । यसरी दुवै क्षेत्रको पहलमा भक्तपुरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना भयो भने ललितपुरमा सस्तो दरमा डायलोसिस गर्ने र अङ्ग प्रत्यारोपणका लागि आवश्यक एच एलए टिस्यु टाइपिङ, सिडिसी क्रस म्याच, डीएफए तथा पीआरएफका लागि आवश्यक मेसिनहरू जडान गरिए । 

 

यी काम गर्दा समस्या आएनन् ?
नेपालमा काम नगर्न धेरै सजिलो रहेछ । जब तपाईं काम गर्न खोज्नुहुन्छ, ठूलो समस्यामा पर्नुहुन्छ । जस्तो जब मैले भक्तपुरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गरे, मिर्गौला  व्यापारीहरू मेरा दुस्मन भए । कतिपय चिकित्सक मसँग रिसाएको थाहा पाएँ । कारण करोडौं लगानी गरेर स्थापना भएका डायनोसिस सेन्टरको व्यापारमा धक्का लाग्थ्यो । कतिसम्म भने जब मैले टेन्डरमार्फत सस्तो मूल्यमा मानव अङ्ग प्रत्यारोपणका मेसिनहरू मगाएँ, काम रोक्न केही व्यक्तिले अख्तियारमा उजुरी हाले । मैले अख्तियारमा बयान दिन जानु पर्‍यो ।

 

काम गर्ने मानिसलाई यसरी हतोत्साहित बनाइँदो रहेछ । यद्यपि म गलिनँ । काम सम्पन्न गरेरै छाडें । अहिले पनि मानव अङ्ग प्रत्यारोपण गर्दा गर्नुपर्ने म्याचिङ जाँचका सबैजसो मेसिन आरोग्य केन्द्रमा छन् । यो गैरनाफामूलक संस्था हो । गायिका आनी छोडिङ डोल्माले यसमा १ लाख युरो डिपोजिट राखेर काम सुरु गर्नुभएको हो । यसमा अहिलेसम्म करोड होइन, झन्डै अर्ब रुपैयाँ खर्च भैसकेको छ । यही कामका लागि पहिले भारतको भर पर्नुपथ्र्यो । बिरामीले ठूलो खर्च बेहोर्नुपथ्र्यो । अहिले यहाँ आधा मूल्यमा काम भैरहेको छ । तैपनि कमिसनका लागि रिपोर्ट जँचाउन यता पठायो भन्नेहरू छन् । सुन्दा हाँसो उठ्छ । 

 

सबैतिर कमिसनको खेल देखिरहेका जनताले त्यसो भन्नु स्वभाविक पनि हो नि, होइन र ?
हो, नेपालमा अर्को यस्तो मेसिन छैन । त्यसैले उनीहरूले दुई ठाउँको तुलना गर्न पाएका छैनन् । फेरि यो हरिबंश, आनी र कुलचन्द्रहरूजस्ता दिग्गज व्यक्तिको मेहनतबाट आमजनताको सेवाका लागि बनेको संस्था हो भन्ने धेरैलाई थाहा छैन । आनी भन्नुहुन्छ, ‘हामी काम गर्दै जाउँm, अरूले के भन्छन्, त्यतितिर नलागौं,’ मलाई उहाँको कुरा ठीक लाग्छ । 

 

नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपणमा सफलता पाउनुभयो, यो इतिहास बनाउँदा कस्तो लागेको छ ?
मलाई खुसी लागेको छ । अब परिवर्तन गर्न मिल्ने रोगी अङ्गहरू नेपालमै प्रतिस्थापन गर्न सकिने भएको छ । त्यति मात्र होइन, नेपालको कानुनले पनि अब मानव अङ्ग प्रत्यारोपण गर्न परिवारकै सदस्य चाहिन्छ भन्ने बाध्यताको अन्त्य गरेको छ । सबैभन्दा ठूलो कुरा राजनीतिदेखि आम व्यक्तिको साथ पाएर यो काम पूरा भएको छ । हिजो म यही काम बेलायतमा गरिरहेको थिएँ, त्यसमा मेरो कुनै पहिचान थिएन । आज आफ्ना लागि, आफ्नो देशका जनताका लागि गर्न पाएको छु, त्यसैले पनि सार्‍है खुसी छु । 

 

नेपालमा अङ्ग प्रत्यारोपण कानुन पनि साह्रै सजिलो गरी पास भयो । यो कामका लागि कसलाई सम्झन चाहनुहुन्छ ?
नेपालमा राम्रो काम गर्छु भनेर विश्वास दिलाउन सक्ने हो भने सहयोगीहरू पनि धेरै हुँदा रहेछन् । चाहे कानुन पास गर्न होस्, चाहे अस्पताल स्थापना गर्न होस् अथवा आरोग्य संस्था स्थापना गर्न होस्, साह्रै गम्भीर व्यक्तिहरूले साथ दिनुभयो । सरकारी तवरमा स्वास्थ्य सचिवहरू प्रवीण मिश्र, शान्ताबहादुर श्रेष्ठ र सेनेन्द्र उप्रेतीहरू लाग्नु भयो । स्वास्थ्यमन्त्री गगन थापा आफैं कानुन पास गर्न खटिनुभएको कुरालाई इतिहासले सधैं सम्झनेछ । नेपालमा मिर्गौला  दान गर्नेहरूमध्ये ८० प्रतिशत महिला थिए । अब महिलाले होइन, पुरुषले महिलालाई मिर्गौला  दान दिँदा धेरै सुविधा दिने गरी कानुन बनाएका छौं । 

 

मानव अङ्ग प्रत्यारोपण भएपछि कलेजो र मिर्गौला का रोगीहरूको समस्या समाधान भएको हो ?
करिब–करिब समाधान भएको हो । हिजो कि त विदेश जानुपथ्र्यो, कि त मृत्यु कुर्नुपथ्र्यो । अब यी दुवै कुरा हटेका छन् । 
 

 

प्रकाशित :माघ ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्