थन्किए ड्रोन

- कृष्ण भट्टराई

माघ २, २०७३-  

बिनाअनुमति ड्रोन क्यामेरा आकाशमा उडाएर तस्बिर लिइरहेका तीन विदेशीलाई मंसिरको दोस्रो साता पर्वत प्रहरीले पक्राउ गर्‍यो । मुलुककै अग्लो कुश्मा–कैया र कुश्मा–मुडिकुवा झोलुङ्गे पुल आसपासको दृश्य लिएको सूचनाका आधारमा दुई अमेरिकी र एक ब्रिटिस नागरिकलाई नियन्त्रणमा लिइएको पर्वत प्रहरीले जनायो । पर्वत प्रहरीका प्रवक्ता दीपक पातलीले ‘बिना अनुमति उडाएको पाइएपछि नियन्त्रणमा लिइएको’ जानकारी दिए । ड्रोन क्यामेराबाट तस्बिर अथवा भिडियो कैद गर्न गृह मन्त्रालय, पर्यटन बोर्ड हुँदै स्थानीय प्रशासनको अनुमति लिनुपर्ने प्रावधान छ । 

अघिल्लो वर्षको मंसिरमा ड्रोन क्यामेरा प्रयोग गरी भिडियो खिचिरहेको अवस्थामा ह्वाइट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान धनमान थापाले खोटाङमा पक्राउ परे । सदरमुकाम दिक्तेलस्थित हाटडाँडामा भिडियो खिचिरहेका थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए । ‘अनुमति नलिई ड्रोन क्यामेरा प्रयोग गर्न पाइँदैन, प्रहरीको भनाइ छ— ‘थापाले बिनाअनुमति ड्रोन क्यामेरामार्फत भिडियो खिचिरहेको फेला पारेपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।’ 

 

प्रविधिको विकाससँगै नेपाल भित्रिएका ड्रोन क्यामेराको प्रयोग यतिबेला चुनौतीपूर्ण बन्दै गएको छ । व्यक्तिगत रूपमा भन्दा पनि चलचित्र तथा म्युजिक भिडियो खिच्ने उद्देश्यले नेपालमा दर्जनौं ड्रोन भित्रिसकेका छन् तर छायांकनका लागि गृह मन्त्रालय, सञ्चार मन्त्रालय तथा नागरिक उड्डयन मन्त्रालयको अनुमति लिनु पर्ने भएकाले व्यवसायिक क्यामेराम्यानहरू महँगो मूल्यमा किनेका ड्रोन क्यामेरा थन्क्याएर राख्न बाध्य भएको गुनासो गर्न थालेका छन् । यद्यपि अधिकांश छायाँकारले आफ्नै व्यक्तिगत निर्णयमा प्रहरी–प्रशासनको आँखा छल्दै ड्रोन क्यामेरा सञ्चालन गरिरहेका छन् । एक अनुभवी छायाँकार भन्छन्— ‘नेपालको प्राकृतिक सौन्दर्यलाई डराई–डराई ड्रोनमार्फत खिच्दा परिणाम कस्तो आउला, अनुमान गर्न सकिन्छ ।’ 

 

ड्रोन क्यामेराको प्रयोगले गोपनियता भंग गरेको, शान्ति–सुरक्षामा खलल पुर्‍याएको तथा हवाई उडानलाई समेत खतरा हुने भएकाले स्थानीय प्रशासनले यसको प्रयोगमा कडाइ गरेको छ । अनुमति लिएर सञ्चालन गर्न सकिने भए पनि अधिकांशले अनुमतिबिना नै ड्रोनको प्रयोग गरिरहेका छन् । अनुमतिबिना ड्रोन क्यामेरा सञ्चालन गरिएको पाइए प्रहरीले तत्कालै नियन्त्रणमा लिने अवस्थाका बाबजुद यतिबेला अधिकांश चलचित्र तथा म्युजिक भिडियोमा ड्रोनको प्रयोग बढ्दो छ भने अधिकांश क्यामेराम्यानले डराई–डराई ड्रोन प्रयोग गर्नुभन्दा थन्क्याएर राख्नु नै उत्तम विकल्प भएको निष्कर्ष निकाल्न थालेका छन् । त्यसरी थन्काउँदा प्रतिड्रोन कम्तीमा ३ लाख रुपैयाँ लगानी गरेका क्यामेराम्यानहरू अहिले लगानी गरेको रकम नै डुब्ने पिरलोमा समेत छन् । 

नेपालमा पहिलो पटक व्यवसायिक रूपमा ड्रोन क्यामेरा सञ्चालन गर्ने श्रेय छायाँकार विष्णु कल्पितलाई जान्छ । ‘मैले झन्डै पाँच वर्षअघि एक जना विदेशीसँग ड्रोन सञ्चालनसम्बन्धी औपचारिक प्रशिक्षण लिएर ड्रोन क्यामेरा सञ्चालन गर्न थालेको हुँ, छायाँकार कल्पित भन्छन्— ‘पाँच वर्षदेखि नै मसँग दुईवटा ड्रोन क्यामेरा छन् । ती क्यामेरालाई मैले दर्जनौं चलचित्र, वृत्तचित्र तथा म्युजिक भिडियोका लागि प्रयोग गरिसकेको छु ।’ छायाँकार कल्पित ड्रोन सञ्चालनका लागि प्रशासनबाट अनुमति लिनुपर्ने कुराको कुनै तुक देख्दैनन् । ‘म नेपालका कुना–काप्चा पुगिरहन्छु, अहिले पनि अधिकांश स्थानमा विदेशीहरूले अनुमति नै नलिई निर्वाध रूपमा ड्रोन क्यामेरा सञ्चालन गरिरहेका छन्, कल्पित भन्छन्— ‘विदेशीहरूले अनुमति नलिई खिच्न पाउने, हामीले डराई–डराई खिच्नुपर्ने यो कस्तो बिडम्बना हो ?’ 

 

छायाँकार कल्पितका अनुसार एरियल सिनेमेटोग्राफीका लागि ड्रोन क्यामेराको प्रयोग अति नै आवश्यक छ । नेपालको प्राकृतिक सुन्दरताले भरिएका क्षेत्रको छायांकनका लागि एरियल सिनेमेटोग्राफी उपयुक्त हुन्छ । हेलिकप्टरबाट त्यस्ता दृश्य छायांकन गर्दा महँगो पर्ने भएकाले अधिकांश छायाँकारले ड्रोन क्यामेरा नै प्रयोग गर्छन् तर प्रशासनबाट अनुमति लिनुपर्ने झन्झटका कारण अनुमति नै नलिइ लुकाइछिपाइ त्यस्ता दृश्य कैद गर्न बाध्य छन् । 

 

‘हामीले राज्यको नियम नमान्ने भन्ने कुरै छैन,’ कल्पित भन्छन्— ‘तर राज्यले उपयुक्त नियम त बनाउनुपर्‍यो     नि । कम्तीमा ड्रोन अपरेटरहरूलाई लाइसेन्स दिने व्यवस्था गरिदिने हो भने लाइसेन्सधारी व्यक्तिले मात्र ड्रोन उडाउनेछन् । त्यस्तो व्यवस्था भयो भने हामीले किनेका महँगा ड्रोन क्यामेरा आवश्यक परेको स्थानमा सहजै सञ्चालन गर्न सक्ने थियौं ।’ ड्रोन सञ्चालन गर्ने लाइसेन्स अथवा अनुमति प्रदान गरिँदा सयौं विदेशीले तिर्ने राजस्वले सरकारलाई नै फाइदा हुने उनको तर्क छ । कल्पितका अनुसार चलचित्र विकास बोर्डले पनि यस विषयमा पहल गरेर ड्रोन सञ्चालनको मार्ग प्रशस्त गर्नुपर्छ । 

 

दर्जनौं म्युजिक भिडियो तथा चलचित्रका छायाँकार रवीन्द्र बराल भन्छन्— ‘हामी म्युजिक भिडियोको छायांकनमा दिनका दिन व्यस्त हुन्छौं । यस्तो अवस्थामा प्रत्येक म्युजिक भिडियोका लागि ड्रोन चलाउने अनुमति लिन असाध्यै झन्झट भैरहेको छ । हामीलाई अनुमति लिन पनि गाह्रो छ । सानो म्युजिक भिडियोको एक सटका लागि पनि गृह मन्त्रालयन अनि नागरिक उड्डयन मन्त्रालय जानुपर्ने बाध्यता छ । चलचित्र विकास बोर्डले हामी ड्रोन सञ्चालक छायाँकारहरूका लागि मार्ग प्रशस्त गरिदिनुपर्ने हो, तर बोर्डले हालसम्म यस विषयमा कुनै सहयोग गरेको छैन ।’

 

छायाँकार बरालले ३ लाख रुपैयाँमा ड्रोन क्यामेरा खरिद गरेका हुन् । ‘अनुमति लिनुपर्ने भएकाले मैले आफ्नो ड्रोनलाई घरमै थन्काएर राखेको छु, बराल भन्छन्— ‘हामी १५ जना व्यवसायिक छायाँकारसँग ड्रोन क्यामेरा छ, तर तीमध्ये कुनै पनि क्यामेरा सञ्चालनमा छैनन् । प्रशासनको डर तथा तत्काल पक्राउ पर्ने भयले हामीले अति आवश्यक पर्दासमेत ड्रोन क्यामेरा सञ्चालन गर्न सकेका छैनौं ।’ चलचित्र विकास बोर्डमार्फत अनुमतिका लागि एकद्वार नीति अवलम्बन गरिए हामी सम्पूर्ण छायाँकारको उद्धार हुने थियो, छायाँकार बराल भन्छन् ।

 

आवश्यक परेका दृश्यमा ड्रोन क्यामेरा सञ्चालन गरिरहने छायाँकार हरि हुमागाईं पनि सरकारले चलचित्र अथवा म्युजिक भिडियो छायांकनका लागि भन्दै ड्रोन अपरेटरको लाइसेन्स दिनुपर्ने धारणा व्यक्त गर्छन् । छायाँकार हुमागाईं चलचित्र विकास बोर्ड अथवा सञ्चार मन्त्रालय अथवा नागरिक उड्डयन मन्त्रालयले त्यस्तो लाइसेन्सको व्यवस्था गर्न सक्ने बताउँछन् । ‘यी सरकारी निकायले एउटा नियम बनाएर लाइसेन्स अथवा दीर्घकालिन अनुमति दिनुपर्छ, छायाँकार हुमागाईं प्रश्न गर्छन्— ‘ड्रोन क्यामेरा प्रयोग गर्न मिल्ने तथा नमिल्ने क्षेत्र तोकिदिएपछि कसैलाई पनि समस्या नपर्नुपर्ने हो ?’ छायाँकार हुमागाईं सहज स्थानका लागि सहजै अनुमति दिनुपर्ने माग गर्दै भन्छन्— ‘हामीले कुनै पनि दृश्यको सुन्दरताका लागि मात्र ड्रोन क्यामेरा सञ्चालन गर्ने हो, तर यहाँ चलचित्र तथा म्युजिक भिडियोका लागि ड्रोन क्यामेरा सञ्चालन गर्ने कुनै नीति–नियम नै छैन । कहाँबाट कसले अनुमति दिने भन्ने पनि छैन । सञ्चार मन्त्रालयमा गयो भने गृह मन्त्रालय देखाउँछन्, त्यहाँ नागरिक उड्डयन मन्त्रालयतिर फकाउँछन् । त्यहाँ पुगेपछि यो त हामीले हेर्ने विषय नै होइन भन्छन् । त्यसकारण बाध्य भएर हामी कसैलाई पनि हानि नपुग्ने गरी आफ्नै शैली ड्रोन क्यामेरा सञ्चालन गरिरहेका छौं ।’

 
के हो ड्रोन क्यामेरा ?
ड्रोन क्यामेरा हेलिकोप्टर झैं आकाशमा उडेर तस्बिर/भिज्युअल खिच्न सक्ने क्यामेरा हो । यसको नाम भाले मौरीको नामबाट राखिएको हो । भाले मौरीलाई ड्रोन भनिन्छ । यसलाई रिमोट कन्ट्रोलबाट जमिनमै बसेर आफूले चाहेको क्षेत्रमा उडाएर तस्बिर तथा भिडियो खिच्न सकिन्छ । यस्तो क्यामेरालाई मोबाइल वा ट्याब्लेटको अपरेटिङ सिस्टम आइओएस तथा एन्ड्रोइडबाट पनि नियन्त्रणमा राखेर आफूले चाहेको ठाउँको तस्बिर लिन सकिन्छ । ड्रोन क्यामेरामार्फत जमिनको ठूलो क्षेत्रको तस्बिर लिन सकिन्छ जुन सामान्य डिजिटल अथवा एसएलआर क्यामेराबाट सम्भव हुँदैन ।

 

ड्रोन क्यामेराले आफू जान नसक्ने ठाउँको तस्बिर अथवा भिडियो लिन सकिन्छ । पुग्न सम्भव भएसम्मको ठाउँमा पुगेर त्यहाँबाट क्यामेरा उडाउँदै आफूले चाहेको क्षेत्रसम्म उडाएर तस्बिर लिन मिल्छ । यो क्यामेरा जासुसीका लागि पनि प्रयोग गरिन्छ । वैशाख १२ गतेको भूकम्पपछि विदेशी पत्रकार, चलचित्र निर्माता तथा विभिन्न व्यक्तिले ड्रोन क्यामेराको व्यापक प्रयोग गरेका थिए । नेपालमा डिजिटल तथा एसएलआर क्यामेरा प्रयोग भए पनि ड्रोन क्यामेराको खुला प्रयोग भएको छैन । ड्रोन क्यामेरा अनुमति बिना चलाउन पाइँदैन ।

 

ड्रोन चलाउन कानुनी व्यवस्था
नेपालमा अहिलेसम्म ड्रोन क्यामेरासम्बन्धी विशेष कानुन अथवा ऐन बनेको छैन । यसको प्रयोगले गोपनीयता भंग हुने भएकाले अनुमति लिएर मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ । गृह मन्त्रालयले सुरक्षा संवेदनशीलता भएका क्षेत्र, सांस्कृतिक सम्पदा तथा अन्य संवेदनशील क्षेत्रमा यस्तो क्यामेरा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । सरकारले अघिल्लो वर्ष यससम्बन्धी कार्यविधि (अनम्यान्डेड एरियल भेइकल फ्लाइट प्रोसेड्युर) जारी गरेर ड्रोन चलाउन अनुमति लिनैपर्ने व्यवस्था गरेको छ । शान्ति, सुरक्षा तथा व्यक्तिको गोपनियता भंग हुने गरी यसको प्रयोग गर्न पाइँदैन । अनुमति लिन आफूले प्रयोग गर्ने ड्रोन क्यामेराको विस्तृत विवरण पेस गर्नुपर्छ ।
 

ड्रोनको मूल्य 
नेपालमा ड्रोन क्यामेराको कारोबार प्रारम्भ भैसकेको छैन, तर विश्व बजारमा सस्तादेखि महँगा मूल्यसम्मका ड्रोन क्यामेरा उपलब्ध छन् । ५ देखि ६ मिनेटसम्म आकाशमा उडाउन सकिने क्यामेरा झन्डै ४० अमेरिकी डलरमा पाइन्छ भने २५ मिनेटसम्म उडाउन सकिने क्यामेरा १ हजार ४ सय डलरको हाराहारीमा उपलब्ध हुन्छ । त्योभन्दा राम्रो गुणस्तरको क्यामेरालाई ३ हजार डलर अथवा त्यो भन्दा बढी पर्छ ।

 

ड्रोनका फाइदा
नेपालजस्तो भौगोलिक विकटता भएको मुलुकले ड्रोनजस्तो प्रविधिबाट पर्याप्त लाभ लिन सक्छ । विज्ञहरूका अनुसार हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव अध्ययन गर्नदेखि हिमक्षेत्रको नियमित अनुगमन, प्राकृतिक विपत्तिको तत्काल जानकारी तथा अवलोकनमा ड्रोन उपयोगी बन्न सक्छ । ठूला–ठूला फाँटमा गरिएका खेतीमा सिँचाइ, विषादीको प्रयोगदेखि बालीको अवस्था थाहा पाउन समेत ड्रोनबाट खिचिएका भिडियो महत्वपूर्ण हुन सक्छ । ड्रोनमार्फत सामुदायिक वन एवं निकुञ्जभित्रका गतिविधिमाथि निगरानी राख्ने क्रम त प्रारम्भ नै भैसकेको छ । त्यसबाहेक चिया र स्याउ बगानको अवलोकनमा समेत ड्रोन प्रयोग गर्न सकिन्छ । दूरदराजका क्षेत्रमा कुनै प्राकृतिक विपत्ति वा महामारीका बेला कम तौल भएका अत्यावश्यक औषधी ढुवानी गर्नसमेत ड्रोन उपयोगी हुन सक्छ । यसै गरी राष्ट्रिय स्तरको सर्वेक्षणका लागिसमेत यसको प्रयोग हुन सक्छ ।

नेपालमा ड्रोन पुलिसिङको तयारी
नेपाल प्रहरीले वर्ष २०७३ देखि नै नेपालमा ड्रोन पुलिसिङको तयारी गरिरहेको छ । ट्राफिक व्यवस्थापन तथा आन्दोलनको अवस्था नियाल्न ड्रोन क्यामेरा प्रयोग गर्न लागिएको प्रहरीले बताएको छ । ‘ड्रोन चलाउन चारजनालाई तालिम दिइसकेका छौं, अब खरिदको तयारीमा छौं,’ एक प्रहरी अधिकृतको भनाइ छ । प्राकृतिक प्रकोपमा प्रभावकारी हुने विश्लेषणका आधारमा प्रहरीले ड्रोन क्यामेरा प्रयोग गर्न लागेको हो । अघिल्लो वर्षको भूकम्पमा धेरै विदेशीले ड्रोन क्यामेराको सहयोगमा उद्धार तथा बाटो खुलाउने काम गरेका थिए ।

 

ड्रोनको प्रयोगपछि उपत्यकाका तीन जिल्ला, मोरङ, कास्की र सिन्धुपाल्चोकमा कार्यालयमै बसेर कुन प्रहरी कुन स्थानमा छन् भन्ने थाहा पाउन सकिनेछ । कुनै लोकेसन पत्ता लगाउन गाह्रो भए कन्ट्रोल रुमबाट निर्देशन दिन सकिन्छ । यसले घटनास्थलमा छिटो पुग्न प्रहरीलाई सहज बनाउनुका साथै प्रहरीको कुन गाडी कहाँ छ, कुन प्रहरी कहाँ छन् भनेर कार्यालयमै बसेर हेर्न सकिनेछ । डिजिटल ट्रयाकिङ सिस्टम लागू गरी प्रहरीले आफूलाई आधुनिक बनाएको हो । ट्रयाकिङ सिस्टमअन्तर्गत सञ्चार सेटबाटै म्यासेजसमेत गर्न सकिन्छ भने गु्रपमा समेत कुरा गर्न मिल्छ । यो प्रविधिलाई ७५ जिल्लामै पुर्‍याउने तयारी भैरहेको छ ।

 

सञ्चार मन्त्रालयको भनाइ 
सञ्चार मन्त्रालयको चलचित्र तथा केवल जाँचपास समितिका इलेक्ट्रोनिक इन्जिनियर अनिल भुजेलका अनुसार ड्रोन क्यामेरा सञ्चालनका लागि सञ्चार मन्त्रालयमा आउने आवेदनलाई गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा पर्यटन मन्त्रालयमा पठाउने गरिएको छ । छायांकनस्थलको संवेदनशीलता हेरेर ती मन्त्रालयले आवेदन स्वीकार अथवा अस्वीकार जे पनि गर्न सक्छन् । त्यसका लागि कम्तीमा चार हप्ता लामो प्रक्रिया पूरा गर्नुपर्छ । यदि सबै कुरा स्वीकार भएको खण्डमा आवेदकले ड्रोन क्यामेरा सञ्चालनको अनुमति प्राप्त गर्न सक्छन् । इन्जिनियर भुजेलका अनुसार सञ्चार मन्त्रालयले ड्रोन अपरेटरहरूका लागि समन्वयकारी भूमिकामात्र निर्वाह गर्छ, अनुमति नै दिने अधिकार यो मन्त्रालयसँग छैन ।

 

के भन्छ चलचित्र विकास बोर्ड ?
चलचित्र विकास बोर्डको बोर्ड सचिवालय अधिकृत एवं प्रदर्शन तथा वितरण अधिकृत चिरञ्जीवी गुरागाईंका अनुसार चलचित्र नियामावलीलाई २०६५ मा पछिल्लो पटक संशोधन गरिँदा नेपालमा ड्रोन क्यामेरा भित्रिसकेको थिएन । त्यसैले हालसम्म उक्त क्यामेरा सञ्चालनका लागि बोर्डले कुनै पहल गर्न सकेको छैन । ‘यदि ड्रोन सञ्चालक तथा छायाँकारहरूले माग गर्नुहुन्छ भने बोर्डले नियमावलीमा संशोधन गरेर तोकिएको स्थानमा ड्रोन क्यामेरा सञ्चालन गर्न सक्ने मार्ग प्रशस्त गर्न सक्छ ।

यसका लागि छायाँकारहरूले सामूहिक रूपमा विकास बोर्डमा आएर आवेदन दिए स्थिति सहज बन्न सक्छ ।’ अमेरिकामा समेत लाइसेन्स लिएर मात्र ड्रोन सञ्चालन गर्न पाइने नियम छ, अधिकृत गुरागाईं भन्छन्— ‘नेपालमा पनि हामीले दक्ष छायाँकार तथा अपरेटरलाई लाइसेन्स दिएर ड्रोन क्यामेरा सञ्चालन गर्ने अनुमतिका लागि पहल गर्न सक्छौं तर त्यसका लागि नियमावली संशोधन हुनुपर्छ । त्यसका लागि पनि कतैबाट आधिकारिक माग आउनु अनिवार्य छ ।’

 

 

विदेशमा ड्रोन 

पिज्जा डेलिभरी गर्ने ड्रोन
प्रविधिको विकासले विकसित देशमा बसोबास गर्ने व्यक्तिको जीवन सुविधासम्पन्न बन्दै गएको छ । केही समयअघि मात्र न्युजिल्यान्डको एउटा पिज्जा कम्पनीले मानवरहित यान ड्रोन प्रयोग गरेर ग्राहकको घरदैलोमा पिज्जा पुर्‍याउने सेवा प्रदान गर्न थालेको छ । व्यवसायिक ड्रोन उडानबाट समय र पैसाको बचत हुने भएकाले ड्रोनमार्फत पिज्जा डेलिभरी गर्न थालिएको बताइन्छ । अमाजन डटकम, गुगलजस्ता विश्वका ठूला कम्पनीहरूले ड्रोनमार्फत डेलिभरी दिन थालिसकेका छन् । अमेरिका, बेलायत, अस्ट्रेलिया तथा न्युजिल्यान्डका उड्डयन अधिकारीहरूले ड्रोन सेवा अनुकूल हुने गरी नियमकानुनलाई लचिलो बनाएका छन् । 

 

सेभेन इलेभेन इन्कले पहिलो पटक व्यापारिक ड्रोन डेलिभरी सेवा प्रारम्भ गरेको छ । ड्रोनले कफी, दुनोट तथा चिकेन स्यान्डविच ग्राहकहरूसम्म पुर्‍याइरहेको छ । न्युजिल्यान्डको अकल्यान्डमा डोमिनोज पिज्जा इन्टरप्राइजेज लिमिटेडले ड्रोनमार्फत पिज्जा डेलिभरी प्रदर्शन गरेर यसको व्यवसायिक प्रवद्र्धन प्रारम्भ गरेको छ । कम्पनीले केही अघिदेखि नियमित ड्रोन सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको छ । डोमिनोजले भनेको छ— ‘दुई किलोको सामान ग्राहकसम्म पुर्‍याउन दुई टनको ट्रक प्रयोग गर्नुको कुनै अर्थ छैन ।’ प्रदूषणको समस्या नभएको न्युजिल्यान्डमा ड्रोन सेवा सञ्चालन गर्न त्यहाँको आकाश उत्तम भएको बताइन्छ । डोमिनोजले अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, जापान तथा जर्मनीमा पनि ड्रोनमार्फत डेलिभरी परीक्षण गरिरहेको छ । ड्रोन डेलिभरी सेवा ‘फिट्टी’ मार्फत डोमिनोजले न्युजिल्यान्डमा पहिलो पटक एउटा आदेशको भरमा एउटा पेरी पेरी चिकेन पिज्जा, एउटा चिकेन पिज्जा तथा एउटा क्रेनबेरी पिज्जा अक्ल्यान्डको ३५ किलोमिटर उत्तरी दिशामा डेलिभरी दिएको थियो ।

गुगलको ५जी वायरलेस दिने ड्रोन
गुगलले एक विशेष प्रकारको ड्रोन परीक्षण गरिसकेको छ । उक्त ड्रोनको सहयोगले ५ जी वायरलेस इन्टरनेटको सुविधा उपलब्ध गराइने बताइएको छ । त्यसमा इन्टरनेटको स्पीड ४ जीको तुलनामा ४० गुण बढी हुनेछ । उक्त ड्रोनमार्फत १ जीबीको फाइल १ सेकेन्डमै डाउनलोड गर्न सकिनेछ । गुगलको यो ड्रोन सौर्य ऊर्जाबाट चल्छ । गुगलले उक्त प्रोजेक्टको नाम क्पथदभलमभच राखेको छ । यो ड्रोन ६० हजारदेखि ९० हजार फिटको उचाइमा रहनेछ । एक सहरका लागि एक ड्रोन पर्याप्त हुने कम्पनीले बताएको छ । अमेरिकाको न्यू मेक्सिकको प्रान्त स्थित स्पेसपोर्ट अमेरिकामा यो ड्रोनको परिक्षण अघिल्लो वर्ष नै गरिसकिएको छ । यो ड्रोनमा हाई फ्रिक्वेन्सी मिलिमिटर वेब प्रयोग गरिएको ‘द गार्डियन’ को एक रिपोर्टमा उल्लेख गरिएको छ ।

 

फेसबुकको ड्रोन
फेसबुकले पनि ड्रोन निर्माण गरेको छ । उक्त ड्रोनलाई ‘अकीला’ नाम दिइएको छ । यो ड्रोन अन्य सामान्य ड्रोनभन्दा ठूलो हुने बताइन्छ । उक्त ड्रोनको वजन करिब ४ सय केजी हुनेछ भने त्यो ९० दिनसम्म आकाशमा रहने सक्ने कम्पनीले जनाएको छ । पहिलो पटक सोलार पावरबाट चल्ने इन्टरनेट ड्रोन तयार गरेको हो । यो ड्रोनले इन्टरनेटलाई लेजरको माध्यमबाट विकासोन्मुख देशका इन्टरनेट कनेक्टिभिटी नभएका स्थानहरूसम्म पुर्‍याउने बताइएको छ । फेसबुकका सिइओ मार्क जुकरवर्गका अनुसार यो ड्रोन फेसबुकको इन्टरनेट डट ओआरजी आयोजनाको पाटो हो । यो ड्रोनका पंखा बोइङ ७३७ जतिकै ठूला हुनेछन् भने यो करिब ९० हजार फिटको उचाइसम्म उड्न सक्नेछ । यो एकपटकमा ९० दिनसम्म हावामा उड्न सक्ने र यसले १० गीगाबिट्स प्रतिसेकेन्डको स्पिडमा इन्टरनेट स्पिड दिने बताइएको छ । यसको परीक्षण सन् २०१५ को अन्त्यतिर अमेरिकामा गरिएको थियो ।

 

 

 

प्रकाशित :माघ २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्