यो वर्ष १८ हल गोरुबीच भिडन्त हुने

- विष्णु तारूके

माघ १, २०७३

 

नुवाकोटको प्रख्यात ऐतिहासिक मेलामा आज माघ १ गते माघेसंक्रान्तिको अवसरमा हुने गोरु जुधाइमा १८ हल गोरु जुधाइने बताइएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको तारुकाको मेलामा आउने सहभागीहरूका लागि खाद्य तथा आवास सुविधाको उचित प्रबन्ध मिलाइएको मेला व्यवस्थापन समितिका अध्यक्ष दीपेश शाक्य बताउँछन् । यो जात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार एवं प्रवद्र्धन गर्न सके स्थानीय गरिबी निवारण तथा समुन्नत गाउँ निर्माण गर्न मद्दत पुग्ने स्थानीय बासिन्दाहरूको अपेक्षा छ । 

गोरुजुधाई मेलालाई पर्यटन र व्यवसायिकतासँग पनि जोड्नुपर्ने स्थानीय बासिन्दाहरूको माग छ । त्यस्तै नेपाल पर्यटन बोर्ड सञ्चालन समितिका अध्यक्ष राजेन्द्र सापकोटाले मेलालाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको ‘प्रोडक्ट’का रूपमा विकास गर्नुपर्ने बताए । सापकोटाले भने, ‘मेला व्यवस्थापन एवं प्रवद्र्धनका लागि बोर्डको सहयोग रहनेछ ।’ 

झन्डै १ सय ५० वर्ष अघि बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह आफ्नो मावलीगाउँ  तारुका आउँदा भान्जालाई मावली आउँदा स्वागत गर्नका लागि पहिलो पटक यहाँ गोरु जुधाइएको अनि त्यही वर्षदेखि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको जानकारहरू बताउँछन् । ०६२ सालदेखि मेला व्यवस्थापन समिति गठन गरी मेलालाई थप व्यवस्थित तुल्याउने काम गरिएको थियो । यो जात्रा हेर्न छिमेकी जिल्ला धादिङ, काठमाडौं, चितवन, रसुवा आदिबाट धेरै मानिसहरू आउने गरेका छन् ।

 

बेत्रावतीमा पनि

नुवाकोट र रसुवाको सिमाना त्रिशूली र फलाँखु खोलाको संगमस्थल बेत्रावती बजारमा पनि आज माघ १ गते नै मकर सङ्क्रान्ति मेला तथा गोरुजुधाइ हुने भएको छ । बेत्रावतीमा हुने गोरुजुधाइ तारुकाको तुलनामा केही सानो हुनेछ । यहाँ यो वर्ष १० हल गोरु जुधाइने कार्यक्रम संयोजक अष्टमान डङ्गोलले बताए । विगतमा बेत्रावतीमा मनोरञ्जनका रूपमा गोरु जुधाउने चलनका अलावा डन्डिबियो, गिर खेल्ने, डोरी तान्नेजस्ता खेल खेली सङ्क्रान्ति मनाउने चलन थियो ।

नेपाल–तिब्बतबीच वि।सं। १८४९ असोज १७ गते भएको मैत्रीपूर्ण ऐतिहासिक सन्धिको खुसियालीमा त्यतिबेला माघ १ गते गोरु जुधाइएको थियो । जसलाई स्थानीयबासीले निरन्तरता दिंदै आएको थिए । केही वर्ष यता स्थानीय गोसाइँकुण्ड युवा क्लबले उक्त गोरुजुधाइको व्यवस्थापन गर्दै आएको छ । 

प्रकाशित :माघ १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्