लोकप्रिय प्रस्तोताले पाए रोयल्टि

- साप्ताहिक संवाददाता

पुस २७, २०७३- 

प्रस्तोता समाज नेपालले मंगलबार काठमाडौंमा आयोजित एक भव्य समारोहमा लोकप्रिय संगीतकर्मीहरुलाई रोयल्टी बितरण गरेको छ । समारोहमा दस जना वरिष्ठ संगीतकर्मीहरुलाई सम्मान गरिएको छ । 

 

एनसेलमार्फत प्राप्त रोयल्टि पाउने संगीतकर्मीहरुमा गायक प्रमोद खरेल तथा गायिका अञ्जु पन्त अगाडि छन् । एनसेलबाट प्राप्त चार महिनाको रोयल्टीमध्ये गायिका अन्जु पन्तले १ लाख ४४ हजार २ सय ९९ रुपंैयाँ प्राप्त गरिन् भने प्रमोद खरेलले ८५ हजार १ सय ४५ रुपंैयाँ रोयल्टी पाए । अञ्जु तथा प्रमोदका गीतहरु उक्त अवधिमा सबैभन्दा बढि डाउनलोड भएका थिए । प्रस्तोता समाजले गत जुलाईदेखि अक्टोबरसम्मको अवधिको रोयल्टी वितरण गरेको हो ।

 

आफ्नो सिर्जनाबाट रोयल्टी बुझ्ने गायक गायिकाहरुमा भद्र वली, विन्दु परियार, विष्णु माझी, दिपक लिम्बू, देवी घर्ती, हेमन्त राना, हेमन्त शिशिर, जुना श्रीष, कालिका रोका, खुमन अधिकारी, कृष्ण अखेली, कृष्णा परियार, मेक्सम खाती, मोहन खड्का, मुना थापा, प्रविन थापा, पूर्णकला विसी, रजिना रिमाल, रामजी खाँड, ऋषि खड्का, ऋतु रानाभाट, सब्बुश्री तिवारी, सन्तोष केसी, स्वरुपराज आचार्य, टिका पुन छन् ।

 

समारोहमा गायक प्रेमध्वज प्रधान, भजन शिरोमणि भक्तराज आचार्य, गायक दीप श्रेष्ठ, ठाडो भाखाका गायक भेडीखर्के साइँला, सितारबादक सुशीला अमात्य, गायिका तीर्थ कुमारी थापा, गायक नन्दकृष्ण जोशी, गायक पूर्ण नेपाली, गायक रामा मण्डल र विद्या मुकारुङलाई नगद १० हजार ५ रुपैंयाँ राशीसहित सहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

समारोहमा रोयल्टीका समाचार सम्प्रेषण गरेर सहयोग पुर्‍याउँदै आएकी पत्रकार राधिका अधिकारीलाई पनि सम्मान गरिएको थियो भने एनसेल र रेडियो अडियोलाई पनि रोयल्टी संकलनमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो ।

 

प्रकाशित :पुस २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्