फल्प अफ दि इयर

- एजेन्सी

पुस २५, २०७३-  

सामसङको नोट सेभेन
एप्पलले आइफोन सेभेनलाई अन्तर्राष्ट्रिय बजारमा ल्याउने प्रचार थाल्नु पूर्व निकटतम प्रतिद्वन्द्वी सामसङले ग्यालेक्सि नोट सेभेनलाई केही महिनाअघि नै बजारमा उतार्‍यो । बजारमा आएको एक महिनापछि नै उक्त सेटमा ब्याट्री पड्किने समस्या देखा पर्न थाल्यो । यो क्रम बढ्दै गएपछि विभिन्न विमान कम्पनीले आफ्ना यात्रुलाई उक्त मोडलका सेट बोकेर यात्रा गर्न रोक लगाए जसका कारण सामसङले उक्त सेट नै फिर्ता लिने घोषणा गर्‍यो । आफ्ना उपभोक्ताप्रति बफादारी देखाए पनि यो त्रुटिका कारण सामसङले करोडौं डलर नोक्सानी बेहोर्नु पर्‍यो । 

 

इमेल चोरी भएकै हो
कुनै समय बिक्रीका लागि ४ अर्ब ८० करोड अमेरिकी डलरको प्रस्ताव आउँदा बिक्री हुन नमानेको याहुले सन् २०१६ मा विश्वलाई नै चकित पार्ने एउटा घटना स्वीकार गर्‍यो । याहूले सन् २०१४ मा आफ्ना ५० करोड इमेल प्रयोगकर्ताको इमेल चोरी भएको कुरा बतायो । याहुको यो स्वीकारोक्तिले उसको विश्वसनीयता घट्नुका साथै साइबर क्राइमको क्षेत्रमा नयाँ तरङसमेत देखापर्‍यो । याहुले अहिले आफ्नो बिक्री मूल्य धेरै कम गर्दा पनि किन्ने कम्पनी फेला पार्न सकेको छैन । 

 

हिलारीको पराजय
अमेरिकाको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्ने होडमा डेमोक्र्याटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टनले उम्मेदवारी पाएपछि सन् २०१६ मा अमेरिकी चुनावमा बेग्लै रौनक देखिएको थियो । पूर्वराष्ट्रपति विल क्लिन्टनकी श्रीमतीभन्दा पनि अमेरिकाको नीतिगत तहमा बसेर लामो समय काम गरेका कारण हिलारीको उम्मेदवारी महत्वपूर्ण थियो । राष्ट्रपति निर्वाचनमा उनी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबाट पराजित भइन्, जसका कारण अमेरिका पहिलो महिला राष्ट्रपति पाउने अवसरबाट समेत बञ्चित भयो । 

 

असफल भयो नोटबन्दी
भारतका प्रधानमन्त्रीले एक हजार र पाँच सयका नोटको प्रयोग बन्द गरे जस्तै भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले १ सयको बोलिभरमाथि प्रतिबन्ध लगाउने निर्णय गरे । उक्त नोट लागू पदार्थका तस्करहरूसँग प्रसस्त रूपमा रहेको आशंकामा भएको यो नोटबन्दीविरुद्ध स्थानीय जनता सडकमा उत्रिए । उनीहरूले पसलहरूमा लुटपाट गर्न थाले भने कोलम्बियासँगको नाका पनि बन्द गरे, जसका कारण नोटबन्दी लागू गरेको तीन 
दिनमै राष्ट्रपतिले आफ्नो कदम फिर्ता लिनुपर्‍यो ।

 

डुबे किंगफिसर किंग
भारतको धनाढ्यको सूचीमा रहेका विजय माल्याका लागि सन् २०१६ खराव वर्ष सावित भयो । रसिक जिन्दगी बिताइरहेका माल्याको किंगफिसर एयरलाइन्सलाई दिइएको सैयौं करोड ऋण असुलउपर हुन नसकेपछि उनी टाट पल्टिएको देखियो । विश्वकै सर्वाधिक ठूलो मदिरा कम्पनीका मालिक माल्यालाई भारतका १७ वटा बैंकले ७ हजार ८ सय करोड भारुको ऋण लगाएका छन् । माल्या तत्काल यो ऋणबाट मुक्त हुने कुनै छाँटकाँट छैन ।

प्रकाशित: पुस २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्