सरी यार !

- सुविन भट्टराई

पुस २४, २०७३-  

हामी अक्सर अरूले चाहिँ यी र यस्ता दायित्व बोध गरिदिऊन् भन्ने आशा राख्छौँ तर आफू चाहिँ झन्झट र हतारका कारण न्यूनतम मानवीय दायित्वबाट विमुख हुन्छौँ । अरूचाहिँ आफ्नो काम आउन् भन्ने आशा राख्छौँ, आफू भने अरुका लागि एउटा निराशाबाहेक केही बन्न जानेका हुँदैनौं । 

 

संयोगराज र इमानसिंह बाल्यकालदेखिका साथी थिए । मिल्ने, चल्ने, खेल्ने, जे–जस्तो होस्, एक–अर्कालाई झेल्ने । हाईस्कुलसम्म गाउँमा सँगै पढे । कलेज फरक भयो । विषय फरक भयो तर बाटो फरक भएन । काठमाडौँमा कोठा सेयर गरेर बस्न थाले । दुवै जागिरको खोजीमा थिए । धेरै ठाउँमा सँगसँगै आवेदन दिए । कसैको कतै केही भैरहेको थिएन । संयोगले नै भनौँ, एक ठाउँमा अन्तर्वार्ताका लागि उनीहरू दुई जना मात्र बाँकी रहे । पोस्ट जम्मा एउटा थियो । जागिरको खाँचो दुवैलाई थियो । ठीक छ । दुई जनामध्ये जसको हुन्छ त्यही हुन्छ । जे हुन्छ उनीहरूले चित्त बुझाउने निर्णय गरे ।

 

अन्तर्वार्ताको दिन इमानसिंह कोठाबाट बिहानै निस्कियो । ११ बजेको अन्तर्वार्ताका लागि संयोगराज साढे नौ बजे नै तयारी गर्न थाल्यो । सर्टिफिकेटहरू भेला पार्न खोज्दै थियो तर राखिएको ठाउँमा फेला परेन । यता खोज्यो, उता खोज्यो, कतै भेटेन । साढे दस, पौने एघारै भयो खोज्दाखोज्दै । एकपटक होइन, दुई पटक होइन, दस पटकसम्म खोज्यो । भेटेन । उसको अन्तर्वार्ता छुट्यो । ऊ उदास भएर कोठामै बसिरह्यो । इमानसिंह त्यो रात घर आएन । तीन दिनपछि संयोगराजको नाममा कुरिअर आयो, उसका सम्पूर्ण सर्टिफिकेटहरूको । पठाउने व्यक्ति थियो इमानसिंह । 

 

सर्टिफिकेटहरूसँगै एउटा कागजमा यतिमात्र लेखिएको थियो, ‘सरी यार !’बाल्यकालदेखिको साथीले बैंससम्म साथ दियो र बैंसमा आएपछि उसले जे दियो, त्यो विश्वासघात थियो । धेरैको जीवनमा हुन्छ यस्तो । कुनै पनि सम्बन्धमा समयसितै विश्वास पनि हुर्कंदै जान्छ । सम्बन्ध जति बलियो भयो, त्यो टुक्रिँदा त्यति नै ठूलो क्षति हुँदो रहेछ र क्षति जति ठूलो होस् त्यो सहन सक्ने मान्छे झन् बलियो हुन्छ । विश्वास यसै गरिँदैन कसैप्रति । विश्वासको भाव यसै आउँदैन कसैप्रति । विश्वासको घर बन्न समय लाग्छ जसरी एक–एक इँटाले घर बनाउँछ । 

 

समय धेरै बित्यो । घाउ निको हुँदै गयो र ऊ त्यो पीडाबाट मुक्त भयो । कुनै एक दिन संयोगराज हिँड्ने बाटोमा इमानसिंह फेला पर्‍यो, करिब पाँच वर्षपछि । इमानसिंहले संयोगराजसित राम्रोसँग आँखा जुधाउन सकेन । आँखा नजुधाईकनै सोध्यो, ‘के छ खबर ?’‘म एकदम ठीक छु,’ रिस–राग केही बाँकी थिएन संयोगराजमा । नरिसाई, नझर्किई भन्यो । ‘मसित रिसाएको छैनस् ?’ उसले सोध्यो ।
‘साँच्चै भनूँ ?’ उसले भन्यो, ‘अहिले छैन, तर त्यतिबेला तँलाई भेटेको भए ढल्ने गरी कुट्थेँ ।’
इमनसिंहले संयोगराजलाई हेरिमात्र रह्यो ।

 

उसले फेरि भन्यो, ‘विश्वास गर्नु र विश्वासघातको सिकार हुनुबीचको फरकलाई मैले चिनें साथी । तैँले गर्दा म अहिले बलियो भएको छु । तँलाई चाहिनेभन्दा बढी विश्वास गर्नु मेरो गल्ती हुँदो हो, तर त्यसले कुन मानिसलाई कति विश्वास गर्ने भन्ने ज्ञान सिकायो मलाई । पोल्नु के हो ? आगोमा हात नहाली थाहा नहुने रै’छ । भिज्नु के हो ? वर्षामा नरुझी थाहा हुँदैन । दुख्नु के हो ? चोट नलागी थाहा हुँदैन । विश्वासघात के हो ? विश्वास नगरी कहाँ थाहा हुन्छ साथी !’

 

इमानसिंह शिर झुकाएर पश्चातापले भरिएको आँखासहित संयोगराजबाट छुट्टियो । वास्तवमा संयोगराजलाई उसको साथीले गरेको व्यवहारले धेरै कुरा सिकाएको थियो । पाँच वर्षमा उसले जो–जोसँग संगत गर्‍यो ती सबैसितको सम्बन्धलाई सन्तुलित राखेर अघि बढ्नुमा इमानसिंहसितको सम्बन्ध जिम्मेवार थियो । कसले भन्छ, गल्तीले सधैँ दुखाउँछ ? गल्तीले धेरै त सिकाउँछ । गल्तीहरू गुरु हुन् । एउटा गल्तीले एकपटक ठेस लगाउँछ, अर्को पटकदेखि सम्हालिएर हिँड्न पनि त सिकाउँछ । 
इमानसिंह धेरै पर पुगिसकेको थियो । संयोगराजले फर्केर हेर्‍यो । ‘सायद उसको चित्त दुखाएँ क्यार !’ उसले मनमनै गम्यो । साथीले त्यस दिन चिठीमा लेखेर पठाएको थियो । उसले त्यही कुरा मनमनै दोहोर्‍यायो, ‘सरी यार !’

 

प्रकाशित :पुस २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्