Teej banner

भोट माग्दै तेरिया

- टोपराज शर्मा

पुस २४, २०७३

 

भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’ को फाइनलमा पुगेकी तेरिया फौजामगरले आफूलाई भोट दिएर जिताउन अपिल गरेकी छिन् । डान्स सेलिब्रेटीबीच हुने यो प्रतिस्पर्धाको उपाधिका लागि यही जनवरी १४ तारिखदेखि एसएमएस तथा अनलाइन भोटिङ खुल्ला गरिने भएकाले तेरियाले साप्ताहिकमार्फत आफूलाई भोट दिन अपिल गरेकी हुन् । तेरियाले फाइनलमा डीआईडी सिजन–१ एवं ‘झलक दिखला जा’ कै पूर्वविजेता सलमान युसुफ खान तथा वल्र्ड हिपहप च्याम्पियनसिपका विजेता शान्तनु माहेश्वरीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछिन् । 

 

गत जुलाईमा प्रारम्भ भएको यो प्रतियोगितामा सुरुमा १२ जोडी (पुरुष र महिला) डान्स सेलिब्रेटी प्रतिस्पर्धामा थिए । तेरिया अक्टुबर ८ तारिखमा जुनियर ‘च्यालेन्जर’का रूपमा प्रतियोगितामा प्रवेश गरेकी थिइन् । तेरियाले निर्णायकहरूको मन जित्दै सर्वाधिक अंकसहित उपाधिको दावेदारका रूपमा आफूलाई उभ्याएकी हुन् । तेरिया भन्छिन्– ‘मैले आफ्नो खुबीले निर्णायकहरूको मन जितिसकेको छु अब उपाधि जित्न दर्शकको भोट चाहिन्छ, डीआईडीमा जस्तै माया गरेर भोट दिए सजिलै जित्छु ।’ ‘झलक दिखला जा’ कलर्स टेलिभिजनमा हरेक शनिबार राति सवा १० बजेपछि प्रसारण हुन्छ । यसमा आफूलाई मन परेका प्रतियोगीलाई भारतमा मोबाइलमार्फत र विदेशबाट अनलाइनमार्फत भोटिङ गर्न सकिन्छ । 

 

१४ वर्षीया तेरिया हाल मुम्बईमै छिन् । रुपन्देही, रुद्रपुरकी तेरियालाई झलक दिखला जाको उपाधि जिताउन उनको गृह जिल्ला रुपन्देहीमा तेरिया मगर फाउन्डेसन, तेरियाले नृत्य सिकेको बागेश्वरी संगीतालय एवं तेरियाले अध्ययन गरेको विद्यालयले अनलाइन तथा एसएमएस भोट गर्न अपिल गर्दै प्रचार–प्रसार तीव्र बनाएका छन् । मुम्बईसहित भारतका विभिन्न सहरमा रहेका नेपालीहरूले पनि त्यहाँ तेरियालाई भोट दिन अपिल गर्दै प्रचार गरिरहेको मुम्बईमै रहेकी तेरियाकी आमा अनिता फौजाले साप्ताहिकलाई बताइन् । 

 

प्रकाशित :पुस २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्