ब्याक बाइट
पुस २३, २०७३
प्रमोद अग्रहरी र सौगात मल्ल बालसखा हुन् । परासीमा नजिकै घर भएका उनीहरू एउटै उमेरका हुन् । चलचित्र र अभिनयमा रुचि भएका र एउटै विद्यालयमा अध्ययन गरेका उनीहरूमध्ये प्रमोद अभिनयको औपचारिक शिक्षाका लागि धेरै समय मुम्बईमा बसे भने सौगात काठमाडौं आएर नाट्यकर्मी सुनिल पोखरेलसँग अभिनय सिक्दै गुरुकुलका नाटकमा काम गर्न थाले । सौगात अहिले चलचित्रका चर्चित नायक भएका छन् । यता मुम्बईबाट फर्किएपछि प्रमोद पनि चलचित्रमा व्यस्त देखिन्छन् । सौगात र प्रमोदले ‘उमा’ एवं ‘संरक्षण’मा साथै अभिनय गरे । संरक्षण निर्माणकै क्रममा छ । यसबीच अनामनगरमा भेटिएका प्रमोदले आफ्ना बालसखा सौगातको कुरा यसरी काटे :
असल बाइट्स
चरित्रमा डुब्ने : चलचित्र होस् वा नाटक सौगात आफूलाई दिइएको पात्रलाई स्वभाविक देखाउन अध्ययनका साथ चरित्रमा डुबेर अभिनय गर्छन्, जसले गर्दा उनी अरूभन्दा फरक छन् ।
राम्रो डान्सर : काठमाडौं आएपछि उनले कतै नृत्य सिके कि सिकेनन् थाहा भएन, तर सौगात राम्रो नाच्न सक्ने कलाकार हुन् ।
मीठो बोली : कसैसँग रिस उठ्यो भने पनि रिसलाई नियन्त्रण गरेर मीठो बोली बोल्छन् ।
राम्रो व्यवहार : सहकर्मी वा साथीहरूसँग राम्रो व्यवहार गर्छन्, जसले गर्दा एकपटक भेटेको मानिस सौगातको प्रशंसक बन्छ ।
खराब बाइट्स
मिडियाबाट टाढा : चलचित्र नायकका रूपमा चिनिएपछि पनि सौगात मिडियाकर्मीहरूसँग टाढै रहन मन पराउँछन् । यसले गर्दा उनको कामको चर्चा भनेजस्तो रूपमा भैरहेको छैन ।
कम बोल्ने : हुन त धेरै फतर–फतर गरेको राम्रो त होइन, तर आफूलाई लागेको कुरा त स्पष्टसँग भन्नुपर्छ । किन हो उनी त्यसो गर्न हिचकिचाउँछन् ।
एक्लै रमाउने : भीडभाड त्यति मन पराउँदैनन् र एकान्तमा हराउन खोज्छन् । जसले गर्दा उनको जनसम्पर्क कम देखिन्छ ।
चिटिक्क हुन अप्ठेरो मान्ने : नायक भए पनि पहिरनको छनौटमा उनी पछाडि नै छन् । खासमा सौगातलाई चिटिक्क पर्न अप्ठेरो लाग्छ ।
प्रकाशित :पुस २३, २०७३



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्