पिउनका लागि सबैभन्दा राम्रो बहाना के हुन सक्छ ?

- साप्ताहिक संवाददाता

पुस १९, २०७३-  

१. आजचाहिँ काम बन्यो यार !
२. आज त काम बिग्रियो यार ! 
राजेश केसी, काटुनिस्ट

मलाई थाहा भएन । म त केवल आफ्नो स्वार्थका लागि पिउँथे, त्यो पनि १५ वर्षपहिले । अहिले पिउँदिनँ ।
आशा डंगोल, चित्रकार

आफू त तल–तल लागेपछि पिइन्छ । 
सविन बास्तोला, निर्देशक/अभिनेता

सबैभन्दा राम्रो बहाना भनेको विवाह वा कुनै पार्टी नै होला, किनभने त्यस्तो बेला पिउँदा कुनै सेलिब्रेसनमा पिएजस्तो हुन्छ अनि यसो चियर्स गरौ न भन्ने पनि हुन्छ ।
आनन्द कार्की, गायक

बहाना हजार निस्कन्छन् मात्र पिउछु भन्नुपर्छ, पिउने नयाँ–नयाँ बहाना निस्किरहन्छ ।
भरत सिटौला, गायक

अतीतको पीडा सम्झेर, वर्तमानको तनाव सम्झेर त कहिले भविष्यको चिन्तामा । के गर्नु, आफूलाई त सुँघ्यो कि लाग्छ । जाडोमा कालो कफी पिइन्छ र त्यसका लागि कुनै बहाना चाहिँदैन । 
राजनराज शिवाकोटी, संगीतकार

डिसेम्बर ३१ को रात आइसक्यो । पिउने मानिसका लागि यो पनि एउटा बहाना हो । 
प्रदीप ढकाल, चरित्र अभिनेता

जब मेरो रगतले अल्कोहलको माग गर्छ । 
गणेशदेव पाण्डे, निर्देशक

बहाना बनाउनु नपर्ने उमेर पुगिसक्यो जस्तो लाग्छ । कुरा मिल्ने साथी भेटिनु र साँझ सँगै बिताउनु नै गतिलो बहाना हो । 
प्रचण्ड श्रेष्ठ, निर्देशक

उनले धोका दिएपछि जिन्दगीमा जिउन सिकेँ,
जिउने बहानामा मैले पिउन सिकेँ ।
रामभरोस चुलबुले, कवि/कलाकार

सेलिब्रेसन, ट्रयाजिडी, फेस्टिभल वा नेपाल बन्द । हामी नेपालीहरू जुनसुकै बहानामा पनि पिउन सक्छौं। शिव पुरी, चलचित्र सम्पादक

सबैभन्दा राम्रो बहाना पार्टी हुनु हो । त्यो पार्टी चाहे खुसीको होस् वा दु:खको । 
रिनेशा बान्तवा राई, कोरियोग्राफर

पिउन बसेपछि बहाना आफैं निस्कन्छ, किनभने पिउनका लागि कुनै बहाना चाहिँदैन । 
विजय लामा, गायक

तपाईंले के पिउने भन्नुभएको ? पानी, दूध कि रक्सी ? रक्सी नै भन्न खोज्नुभएको हो भने यसलाई पिउन बहाना होइन, गोजीमा दाम र जिब्रो चिलाए पुग्छ वा आँत हरहराए पुग्छ । 
अविरल थापा, लेखक

पिउनेहरूका लागि हजार बहाना हुन्छन् । तीमध्ये सुख र दु:ख मूल होलान् । 
सूर्य बोहोरा, निर्देशक

खुसीको सेलिब्रेसन, सफलता, पाहुनाको स्वागत अनि बिदाइ मात्र नभएर तनाव हटाउन, सञ्चो भएन भने, फेरि सन्चो भयो भनेर ।  वास्तवमा हामीलाई पिउने बहाना चाहिँदैन । खै म त कुनै पनि बहानामा पिउँदिनँ । 
कोमल वली, गायिका

पहिलो, मौसमले च्यालेन्ज गर्‍यो अनि दोस्रो, टेन्सन भयो । 
सुनिल थापा, अभिनेता
 

पिउनका लागि बहाना होइन, चाहना भए पुग्छ ।
जगदीश्वर थापा, निर्देशक

पिउनका लागि बहाना भनेकै पिउने बहाना हो । अरू कुनै बहाना चाहिँदैन ।
पल्पसा डंगोल, हास्यकलाकार

अहिले त साथीहरू चिसो बढ्यो वा रुघा लागेको बहाना बनाउँछन् । म चिया पनि नपिउनेलाई किन चाहियो बहाना ?
शान थापा, डिजाइनर

म त नपिउने मान्छे परेँ, तर पिउनेहरूका अनेकौं बहाना सुनेको छु । आज मौसमले च्यालेन्ज गर्‍यो, आज शुक्रबार, आज आइतबार, आज साथी भेटघाट, आज एक्लो परियो, आज खुसी, आज दु:खी— पिउनेहरूका लागि बहाना त कति कति ?
यशराज गराच, नायक

प्रकाशित :पुस १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्