जिन्दगीलाई फर्केर हेर्दा

- अविरल थापा

पुस १६, २०७३

 

परिवर्तन संसारको नियम हो । समयसँगै परिवर्तन भैरहन्छन् । जतिसुकै उस्तै रहन्छु भने पनि कोही उस्तै रहिरहन सक्दैन । आजको भौतिक संसार त अझ यति चाँडोचाँडै विकास भैरहेको छ कि केही वर्षमै हर कुरा नयाँ नौला भैरहेका छन्, मानिसको विचार र मन पनि हरपल बदलिइरहेका छन् । 

कोही आवरणमा मात्र बदलिएको देखिन्छ भने कोही भित्रभित्रै बदलिइरहेका हुन्छन् ।

 

सबैभन्दा ठूलो कुरा आफू बदलिएको, आफ्नो सोच बदलिएको कुरा आफूलाई भन्दा धेरै कसैलाई थाहा हुँदैन र कहिलेकाहीं आफैंलाई पनि थाहा हुँदैन । हाम्रो भौतिक शरीरको आकार–प्रकारदेखि लिएर कुनै कुरालाई हेर्ने हाम्रो दृष्टिकोणसम्म परिवर्तन भैरहन्छ । केही समय पहिले जुन विषय वा जुन मानिसका बारेमा हामी जे धारणा बनाउँथ्यौं त्यो सधैं एउटै रहँदैन । कति कुरा हामीलाई त्यो बेलामा गलत रहेछ, कति सही रहेछ भन्ने लाग्छ । त्यसबाहेक अरू हुनै सक्दैन भनेको कुरा अहिले हेर्दा मूर्खतापूर्ण लाग्छ । जीवनयापनका क्रममा कैयौं मानिससँग हाम्रो साक्षात्कार भैरहन्छ ।

 

कतिसँग मन मिल्छ, कतिसँग मतभेद हुन्छ, कतिसँग तर्कवितर्क, कतिसँग त झगडै पनि पर्छ । कतिपय बेला कतिपय विषयलाई हेर्ने, बुझ्ने सन्दर्भमा हाम्रो मतभेद हुन्छ, तर केही विषयमा कुरा मिलेन भन्दैमा हामी त्यो मानिससँगको सम्बन्ध टुटाउँछौं, उसलाई हेर्ने दृष्टिकोणमा नै बदल्छौं जुन राम्रो होइन । एउटै मानिसका अनेक रूप हुन्छन् तर कसैको केही खराब पक्ष थाहा पाउँदैमा हामी यस्तो भन्ठानेको त यस्तो पो रै’छ भनेर दानवीकरण गरिहाल्छौं । फेरि कसैको सुरुमा केही बढी राम्रा कुरा थाहा पाउँदा देवत्वकरण पनि गरिहाल्छौं र पछि केही कमजोरी भेटे उछित्तो पनि काढिहाल्छौं । हामी हतारमा दृष्टिकोण निर्माण गर्छौं र फुर्सदमा पछुताउँछौं । 

 

जिन्दगीमा जानी–नजानी धेरैले गल्ती गरिरहन्छन् । कतिसँग बिनाकारण र भ्रमवश पनि मनमुटाव बढ्छ । कतिपय बेला अरू कसैको कुरा सुनेर हामी सम्बन्ध बिगार्छौं, बोलचाल बन्द गर्छौं, तर फुर्सदमा केलाएर हेर्दा न उसको न आफ्नो दोष देखिन्छ । जिन्दगीमा कति आरोपहरू आइलाग्छन्, जसको जति स्पष्टीकरण दिए पनि त्यतिबेला सफाइ पाइँदैन, तर कालान्तरमा रहस्य खुल्छ र दुवै पक्षले आ–आफ्नो कमजोरी आत्मसात् गर्छन् । कति कुरा त जिन्दगीभर रहस्यमै रहन पनि सक्छ । कतिले मनमा कुरा लिइराख्छन् भने कतिले समयसँगै बिर्सन्छन् । कति कुरा पछि भेटेर गफ गर्दा त्यतिबेला यस्तो भएको थियो है भनेर ठट्टा पनि गरिन्छ ।

 

पहिले कमजोर भनेर हेपिएकाहरू पछि बलवान् बन्छन् । पहिलेका शक्तिशालीहरू पछि कमजोर बन्छन् । समयले कसलाई महलमा, कसलाई दोबाटोमा ल्याइपुर्‍याउँछ भन्न सकिँदैन । आफू बलियो हुँदा र कमजोर हुँदा कसैलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । मान्छेले रंग र चरित्र फेरिरहन्छ । आफूलाई पर्दा पाउ मोल्न र नपर्दा छिर्की हान्न पछि पर्दैन । शक्तिको पछि लाग्ने मानिसको स्वभाव नै हो । बिनाकारण कतिले राम्रा सम्बन्ध र अवसरहरू गुमाउँछन् ।

 

बिनाअर्थ कतिले प्रेमी गुमाउँछन्, कतिले असल मित्र । उमेर सँगसँगै पनि कति कुरालाई हेर्ने दृष्टिकोण फेरिन्छ । बूढापाकाले पछि थाहा पाउलास् भनेको कुरा आफू तन्नेरी छँदा ठिस लागे पनि पछि त्यही उमेरमा पुग्दा ठीकै भनेका रै’छन् भन्ने लाग्छ । कति मानिसको भने आफूलाई नियालेर हेर्ने बानी हुँदैन, जिन्दगीभर गल्ती गरिरहन्छन् तर दोष अरूलाई मात्र दिइरहन्छन् । आफ्नो विश्लेषण गरिरहने हो भने आफ्नै कमजोरी सच्याएर आफूलाई सुधारेर अघि बढ्न सजिलो हुन्छ ।

 

कतिपय बेला खुलेरै कमजोरी स्विकार्न अहंले दिंदैन, तर व्यवहारले आफूले सुधारेको र कुरा बुझेको छनक दिन सकिन्छ ।  सबैका गुण र दोष हुन्छन् । अहं नभएको मानिस त को नै होला र † आफू के गर्दैछु, कता जाँदैछु, कसलाई कतिबेला के भने कस्तो व्यवहार गरें, कतै आफ्नो पनि गल्ती भयो कि आफूले पो कुरा बुझिनँ कि भनेर आफैंलाई फुर्सदमा केलाएर हेर्ने हो भने धेरै समस्याहरू सुल्झिएर जान्छन् । बल्झिएका घाउहरू बिस्तारै पुरिन्छन् । अल्झिएका सम्बन्धहरू अघि बढ्छन् । त्यसैले संसारलाई चिन्नु र बुझ्नु भन्दा अघि पहिले आफैंलाई चिनौं आफैंलाई बुझौं आफैंलाई सुधारौं । 

सन् २०१७ को सबैलाई शुभकामना ।

प्रकाशित :पुस १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्