डरको अर्को नाम एड्स

- साप्ताहिक संवाददाता

पुस १४, २०७३- 

डा. अरुणकुमार सिंह 

एड्स एचआईभी के हो ?

नेपालमा एचआईभी संक्रमितको संख्या घट्दै गएको छ तर संक्रमितहरू खुलस्त नहुँदा वास्तविक तथ्यांक अझै स्पष्ट हुन सकेको छैन । हाल एचआईभी संक्रमितहरू एन्टिरेट्रोभाइरल थेरापीका माध्यमबाट औषधि प्रयोग गर्दै आएका छन् । नेपालमा ४४ वटा केन्द्रमार्फत संक्रमितहरूलाई एन्टिरेक्ट्रोभाइरल उपलब्ध गराइँदै आएको छ । नेपालमा २०१५ मा एचआईभी संक्रमितको संख्या ३९ हजार ३ सय ९७ जना रहेको अनुमान छ । १४ वर्षमुनिका १ हजार ५ सय ८९ जना, १५–४९ वर्षका ३० हजार ७४ जना तथा ५० वर्षमाथिका ७ हजार ७ सय ३३ जना छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब १ हजार ३ सय ८ जना एचआईभी संक्रमित दर्ता छन् भने एन्टिरेट्रोभाइरल थेरापीका माध्यमबाट औषधि प्रयोग गर्ने ४ सय ८६ जना वयस्क तथा २७ जना बालबालिका छन् । विश्वव्यापी रूपमा सन् २०३० भित्र एड्सको अन्त्य गर्ने लक्ष्यअनुसार सबै राष्ट्र यसका लागि आवश्यक रणनीतिसहित काम गरिरहेका छन् ।

 

एड्स के हो ?

एड्स एउटा यस्तो लक्षण हो, जुन एचआईभीले गर्दा शरीरमा उत्पन्न हुन्छ । यो एक यौन संक्रमित रोग हो । जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसको सिकार हुन्छन् तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभै निर्मलीकरण नगरिएका सिरिन्जको प्रयोग, र्‍याल, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको शिशुलाई समेत सजिलै सर्न सक्छ । हाम्रो शरीरमा’ एचआईभी’ पसेपछि सर्वप्रथम त्(ीथmउजयअथतभ कोषमा आक्रमण गर्छ र त्यसपछि विस्तारै उक्त भाइरसले अन्य कोषमा पनि प्रवेश गरी शरीरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउँदै लान्छ । यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्छ । यिनै विभिन्न रोगका लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ ।

 

एड्सका लक्षण

ज्वरो आउनु, पखाला लाग्नु, वजन घट्नु, कुपोषणका लक्षणहरू देखिनु, छालामा विभिन्न समस्या उत्पन्न हुनु, मुख तथा घाँटीमा काई (सेतो) आउनु, दाँत वा गिजाको समस्या, खोकी वा श्वास फेर्न गाह्रो हुनु तथा चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि ।

 

संक्रमण कसरी हुन्छ ?

असुरक्षित यौनसम्पर्क तथा एचआईभीको संक्रमण, एचआईभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरू लिँदा, सुई तथा सिरिन्जको साझा प्रयोगबाट संक्रमित आमाबाट गर्भस्थ शिशुमा ।

 

एड्सको रोकथाम

आजको दिनसम्म यसलाई पूर्णरूपमा निको पार्ने कुनै औषधिको विकास भएको छैन । हामीसँग भएका औषधि (Anti Retro Viral Therapy/ Art)  ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न एवं एड्सको अवस्थामा पुग्नबाट जोगाउने काम गर्छन् । चिकित्सकसँग सल्लाह गरी रगत जाँच गराई कुन अवस्थामा औषधि सुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरूको संख्या कति छ (CD4 Count) थाहा पाउन सकिन्छ ।

 

एड्सबाट जोगिने उपाय

सुरक्षित यौन व्यवहार 

सधैं सही तरिकाले कन्डम प्रयोग गरी यौनसम्पर्क राख्ने

सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने

एचआईभी संक्रमित महिलाले गर्भवती नहुने

यौनरोगको लक्षण देखा परे तुरुन्त उपचार गर्ने

आफ्नो यौनसाथीलाई पनि उपचार गराउने

अंग प्रत्यारोपण गर्नुपरे सम्बन्धित व्यक्तिलाई संक्रमण भए–नभएको कुरामा विशेष ध्यान पुर्‍याउने

रगत दिँदा उक्त रगत संक्रमण भए नभएको पक्का गर्ने

एचआईभी र एड्स केही भ्रम, केही सत्य

साधारण सम्पर्क जस्तै अँगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने, जुठो खाने कार्यले एचआईभी सर्दैन । साधारणतया रगत लिँदादिँदा पनि यो रोग सर्दैन किनभने त्यस्तो बेला एचआईभी आदि हेपाटाइटिस ‘बी’ जस्ता सर्न सक्ने रोगहरूको परीक्षण गरिएको हुन्छ तर असुरक्षित यौनसम्पर्क, एउटै सुई प्रयोग गर्दा राम्रोसँग सफा नगरिएको सामानले टाटु खोपाउँदा यो रोग सर्न सक्छ ।

एड्स वा एचआईभी सर्ने माध्यम 

असुरक्षित यौनसम्पर्क

एचआईभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरू लिँदा सुई तथा सिरिन्जको साझा प्रयोग संक्रमित आमाबाट गर्भस्थ शिशुमा

( डा. सिंह धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् )

 

प्रकाशित :पुस १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्