यस्तो गीत गाउन चाहन्छु जुन प्रेमगीत बनोस्

- किशोर नेपाल

पुस १२, २०७३

 

त्यतिबेलाको साँफे जगमग थियो । विमान आएको र नआएको दुवै समयमा बजारमा गतिविधिहरू बढ्थे । साँफेको सिकार, ठूलाबडा काजी र हाकिमहरू कालिजको सुप, बँदेलको मासु, हरिण र मृगजस्ता वन्यजन्तुका सुकुटी मन पराउँथे । समय अहिलेको जस्तो थिएन । साँफे वरपरका जंगलमा ती वन्यजन्तु प्रचुर मात्रामा पाइन्थे । यी मासु कोसेलीका रूपमा काठमाडौं पठाउने चलन पनि थियो ।

 

न बिर्सें तिमीलाई,

न पाएँ तिमीलाई...

अन्जु पन्तलाई यही एउटा गीतले हजारौं गीतले दिन नसक्ने प्रसिद्धि दियो । उनी हिट त सधैं हुन्थिन्, तर सुपरहिट भयो उनको यो गीत । अन्जुले गीत गाउन थालेको २० वर्ष भयो । समयको यो दौरानमा उनले ६ हजार गीत गाइसकेकी छिन् । यद्यपि उनी थाकेकी छैनन् । थाक्ने कुनै विचार पनि छैन उनको।

‘गीत गाउँदाखेरिको आनन्द !’ अन्जु बताउँछिन्, ‘त्यो आनन्दमा ईश्वर पनि डुब्न चाहन्छन् । उनलाई पनि त्यो आनन्द प्रिय लाग्छ । मनलाई झङ्कृत तुल्याउने स्वरले मानिसको ह्दयलाई हल्लाएर राखिदिन्छ ।’

 

अन्जुका गुरु कृष्णमान डंगोल र चन्दन श्रेष्ठ बाबाको भनाइमा देश रागको गायन त्यति सजिलो छैन । एकदम गार्‍हो छ, तर अन्जुले देश रागका आधारमा गाएका सयभन्दा बढी गीत हिट भएका छन् । यो आफैंमा एउटा रेकर्ड हो र सन्तुष्टिको विषय पनि ।

 

अन्जु भन्छिन्, उनको गीत न बिर्सेंले गजलको प्याटर्न बदलिदिएको छ । कसले चोर्‍यो मेरो मन ? गीत त्यसैको फलोअप थियो । तिर्खा लाग्यो लोकलयमा आधारित गीत थियो । अन्जुको भावुक स्वभाव कहिले उनको पक्षमा जान्छ त कहिले विपक्षमा । स्टेज पर्फमेन्समा भावुक यंगस्टरहरू देखेर अन्जु आफैं भावुक हुन्छिन् । उनीहरूको आँखामा आँसु देखेर उनी आफैं रोइदिन्छिन् । अन्जु पन्तले आँसुको आकारमा आफ्ना पीडा पनि व्यक्त गरिन्, आफ्ना दिदी–बहिनीका पीडा पनि व्यक्त गरिन् ।

गीत गाउनु र गीतको लयसँगै रुनु वा हाँस्नु भनेको आत्माको शान्ति हो । गीत आफैंमा परमात्मा हो, –अन्जु बताउँछिन् ।

 

अन्जु पन्तलाई अहिलेसम्म न्ह्यूँ बज्राचार्य र दीपक जंगमको संगीतमा गाउने सुयोग मिलेको छैन, तर नेपालका अन्य ठूला संगीतकारहरू प्राय: सबैको संगीतमा उनले गीत गाइसकेकी छिन् ।

अन्जुको जीवन निकै सन्तुलित छ । उनी बिहान उठ्छिन् । प्रार्थनाका लागि समय दिन्छिन् । ब्याडमिन्टन खेल्छिन् र २ किलोमिटर जगिङ गर्छिन् । उनी हरेक बिहान १ घण्टा रियाज गर्छिन् । नियमित रियाज गर्नाले सुर तालका बीच सन्तुलन मिलाउन सजिलो हुन्छ गायकीमा ।

 

समयको यो दौरानमा कलाकारहरू संगीत र नृत्य प्रदर्शनका लागि विदेश जाने प्रचलन बढेको छ । नेपाली दाजुभाइहरू ठूलो संख्यामा वैदेशिक रोजगारीमा गएपछि उनीहरूको मनोरञ्जनका लागि कलाकारहरू सांस्कृतिक प्रदर्शन गर्न विदेश पुग्नु आश्चर्यको विषय पनि होइन । यसबाट एकातिर वैदेशिक रोजगारीमा गएका दाजुभाइले घर र देशको न्यास्रो मेटाउने अवसर पाउँछन् भने कलाकारहरूले पनि अलिकति आय आर्जन गर्छन् ।

 

अन्जुलाई यस्ता कार्यक्रममा सहभागी हसन पाउँदा खुसी लाग्छ । उनी भन्छिन्, यो पनि हाम्रो आम्दानीको महत्त्वपूर्ण स्रोत हो । पछिल्लो समयमा विदेशको भूमिमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर कलाकारहरूलाई सांस्कृतिक प्रदर्शनका लागि लाने आयोजकहरूको आर्थिक मामिलामा भरोसा गर्न नसकिने व्यवहारले गर्दा कलाकारहरू एड्भान्समा पेमेन्ट नलिई विदेश जाँदैनन् । अन्जु पन्त पनि पेमेन्ट नलिई कुनै शोमा जान्नन् । कतिपय अवस्थामा कलाकारहरू आफूले थोरै पारिश्रमिक लिएर धेरै लिएको दाबी गर्छन । कलाकारहरूको संसार यस्तै छ ।

 

अन्जुलाई आफूले गाएका सबै गीत मन पर्छन्, तर ती सबैमध्ये केही विशेष छान्नुपर्‍यो भने उनको च्वाइसमा पर्ने तीन गीत हुन्— न बिर्सें तिमीलाई, जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन र म यस्तो गीत गाउँछु जुन प्रेमगीत बनोस् ।

 

गीत गाउनुु बाहेक खाना पकाउने काममा पनि केही रुचि छ अन्जुको । उनलाई साग–सब्जी, गोलभेंडाको अचार, मसरुम र लोकल कुखुराको झोल निकै मन पर्छ । उनको दाबी छ, ‘म पोर्क मीठो पकाउँछु । छ्वेला राम्रो बनाउँछु । पुस्तक पढ्दै जाँदा राम्रो लाइन भेटें भने त्यसलाई कसरी गीतमा ढाल्ने भनेर सोच्छु र गीत बनाएर गाइ पनि हाल्छु, –अन्जु भन्छिन् । अन्जु तबला बजाउँछिन्, घुँघरु बाँधेर कत्थक नृत्यमा मग्न हुन्छिन् । फेसबुकमा भएका आफ्ना १८ लाख साथीलाई धन्यवाद दिन्छिन् । अन्जु भविष्यमा आफ्नो जीनकथा लेख्न तथा एउटा सांगीत विद्यालयको जग हाल्न चाहन्छिन् । 

प्रकाशित :पुस १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्