प्रेमको हिसाब–किताब

- सुविन भट्टराई

पुस १२, २०७३

 

मेरो पछिल्लो कृति मनसुनमा एउटा पंक्ति थियो— ‘के यो जरुरी छ जसलाई प्रेम गरिन्छ उसले पनि आफूलाई प्रेम गरोस् ?’मैले यो कुरा प्रश्नका रूपमा मेरा प्रिय पाठकहरूसमक्ष राखेँ । जवाफ बाँडिएर आयो, तैपनि धेरैको जवाफ थियो, ‘एकदमै जरुरी छ । प्रेम पाउनका लागि नै दिने हो । यो गिभ एन्ड टेकको सम्बन्ध हो ।’ कसैले भने, ‘जरुरी छैन ।’ मलाई यही विषयमा चिन्तन गर्न मन लाग्यो । केही लेख्न पनि मन लाग्यो । प्रेमको बुझाइ व्यक्तिपिच्छे फरक–फरक हुनसक्छ । यो कुरा कसले प्रेमलाई कुन ठाउँमा राख्ने गरेको छ भन्नेमा भर पर्छ । 

 

माया देखाउने कुरा पटक्कै होइन, यो भित्रभित्रै गरिन्छ । कसैसित ५० घण्टापछि भेट होस् वा ५० वर्षपछि, प्रेम कायम रहनुपर्छ र रहन्छ पनि । न भौगोलिक दूरीले प्रेममा बाधा हुन्छ न त कुनै बाध्यताले प्रेम आधा हुन्छ । प्रेम न परिमाणमुखी हुन्छ न परिणाममुखी हुन्छ । प्रेमले दुखायो भन्दै मानिसहरू यस्सै दु:खी हुन्छन् । 

 

केही पाउने आशामा गरियो भने आशा गरिरहने बानी हुन्छ । प्रेम आशा नराखी दिने बानी गरियो भने खास हुन्छ । हो, यसो भयो भने मान्छेभित्र हुने प्रेममा कहिल्यै कमी आउँदैन । फिर्ता आओस्–नआओस्, प्रेमचाहिँ दिइरहनुपर्छ भन्ने विचारले मानिसमा घृणा, ईष्र्या, वैमनष्यता कहिल्यै रहँदैन । 

कसैलाई किन प्रेम गर्ने ? भन्ने प्रश्नमा अक्सर यही जवाफ आउँछ, फिर्ता पाउन ।

 

आफूले अलिकति दियो, अनि अर्कोले त्यो ब्याजसहित फिर्ता गरोस्, तिरोस् भन्ने आश गर्नुले मानिसलाई प्रेमी होइन लोभी बनाउँछ, व्यापारी बनाउँछ । जब प्रेम हिसाब–किताबमा अल्मलिन थाल्छ, तब मान्छे लेनदेनमै तल्लीन हुन थाल्छ । किनभने प्रेम प्रश्न होइन, जसको जवाफ कुरियोस् ।

 

बडो स्वार्थमा अल्झिएको छ संसार । अरूले प्रेम गरे प्रेम गर्ने, अरूले घृणा दिए घृणै दिने । मानिसहरू अक्सर प्रेममा दु:खी भएँ भनेर विलाप गर्छन् । प्रेमले मानिसलाई कहाँ दु:खी बनाउँछ ? प्रेममा दु:ख कहाँ छ र ? मानिसहरूलाई दु:खी त उसको अहंकारले बनाउँछ । प्रेममा त सुखैसुख छ । जसको ह्दयमा प्रेमको मूल फुटिरहन्छ, उसको ओठबाट सदा मुस्कान छुटिरहन्छ । हरेक मानिसको ह्दयभित्र प्रेम छ । ढाकछोप गर्न खोजे वा लुकाए यो दबिन्छ वा भित्रभित्रै तुहिन्छ, फुत्काए दर्किन्छ र छताछुल्ल हुन्छ । 

प्रेम कसैले मागेर लगेको पैँचोझैँ हुनु हुँदैन जो महिना मर्नेबित्तिकै फिर्ता आउँछ कि भन्ने आशा गरियोस्। 

 

कतै मूल फुट्छ । त्यहाँबाट पानी बग्न थाल्छ । त्यही पानीबाट हजारौँ–लाखौँ मानिस, जीवजन्तु, रूख–बिरुवा, झार, बुट्यानहरूले आफ्नो जीवन चलाउँछन् । मूल बाट पानी बगिरहन्छ । बगेर गएको त्यो पानी पुन: मूलमै फर्कन सक्दैन । न मूलले त्यो आशा गर्छ । हो, प्रेम यस्तै हुनुपर्छ । प्रेमको अर्थ होस्, स्वार्थ नहोस् ।

 

एकपटक हामी आफैँ सोचौँ । कसैलाई दिने तर ऊबाट फिर्ता पाउने आशा नगर्ने खालको प्रेम हामी कसलाई गर्छौं ? यदि बिनाआशाको प्रेम हामी कसैलाई गर्छौं भने त्यो हो— साँचो प्रेम । त्यो प्रेमले हामीलाई कहिल्यै रुवाउँदैन । त्यो प्रेमले कहिल्यै झस्काउँदैन । 

 

यद्यपि यो कुरा समाजमा असम्भवप्राय: छ । कसैले कसैलाई यसरी प्रेम गर्दैन । नभए, हरेक मानिस यो कोटीको प्रेमी भए, संसारको स्वरूप यति विदु्रप पनि हुँदैनथ्यो । हरेक प्रयास गर्न सक्ने मान्छे यत्ति जाबो प्रयास पनि किन गर्न सक्दैन ? मलाई अक्सर भनिरहन मन लाग्छ— संसारमा सबैभन्दा धेरै दूरीमा रहेको चीज, एउटा मान्छेबाट अर्को मान्छेको मन सम्मको दूरी र संसारमा सबैभन्दा नजिकको दूरीमा रहेको चीज पनि एउटा मान्छेबाट अर्को मान्छेको मनसम्मकै दूरी हो । 

 

प्रकाशित :पुस १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्