नवरंगी काठमाडौं

- मनोज गजुरेल

पुस १२, २०७३

 

बाहिरबाट हेर्दा काठमाडौं जुन रूपमा देखिन्छ, भित्र पस्दै गएपछि यसका अनेकौं रूप हेर्न पाइन्छ । रूप मात्र होइन, कतै यो कुरूप देखिन्छ । कतै बिरूप देखिन्छ, कतै अरूप देखिन्छ । गजुरियल विश्लेषण भन्छ, भोगाइअनुसार काठमाडौंको स्वरूप फरक–फरक छ । आउनुहोस्, आज काठमाडौंका केही रूपको चर्चा गरौं ।

 

१. कुलमाडौं

विद्युत् प्राधिकरणमा कुलमान घिसिङ आएपछि काठमाडौं ‘कुलमाडौं’ हुन पुगेको छ । यसअघि वर्षामा समेत काठमाडौंवासी लोडसेडिङको लोड बोक्थे । यो वर्ष हिउँदमा पनि चौबीसै घण्टा झमलल्ल बिजुली बाल्न पाएका सहरवासीले काठमाडौंको कुलमाडौं रूप अनुभव गरिरहेका छन् ।

 

२. धुलमाडौं

राति कुलमाडौं बन्ने काठमाडौं दिउँसोभरि धुलमाडौं हुन्छ । कतै सडक विभागले पिच गरेका बाटामा ढल निकासले खाल्डो खनेको देखिन्छ । विद्युत् प्राधिकरणले गाडेका पोलहरू उखेलेर टेलिकमले फाइबर बिछ्याइरहेको देखिन्छ । कमिसन नमिलेर अधकल्चो छोडिएका सडकको धूलोले चिन्नै नसक्ने भएका बटुवाका नजरमा यो सहर काठमाडौं रहेन, धुलमाडौं भयो ।

 

३. हूलमाडौं

शान्त काठमाडौंमा जब अव्यवस्थित बस्ती बढ्यो तब यो सहर हूलमाडौं बन्यो । बाटोघाटोजति सबै राणाकालीन, सवारी अनुमति गणतन्त्रकालीन भएपछि काठमाडौं हूलमाडौंमा परिणत भयो । गाडीको हूल, मान्छेको हूल, छाडा गाईवस्तुको हूल, ठग्ने अधिकार माग्ने सवारीको हूल, लुट्ने सर्टिफिकेट खोज्ने व्यापारीहरूको हूल । हूलहुज्जतलाई आफ्नै नैसर्गिक अधिकार मान्ने हुल्याहाहरूका नजरमा यो काठमाडौं होइन, हुलमाडौं हो । 

 

४. हठमाडौं

ठूला पार्टी यहीं छन् । ठूलो पैसा यहीं छ । ठूला नेता यतै छन् । कोही कसैले भनेको मान्दैन । कसैको कुरा कसैले सुन्दैन । आफ्नो कुरा मनाउन सबै बालहठ गर्छन् । अर्काको विचार नसुन्ने वृद्धहठ गर्छन् । आफूले भनेको नमाने रोइदिएर महिलाहठ गर्छन् । आफू माथि नपरे विद्रोहको पुरुषहठ गर्छन् । जो जसले हठलाई आफ्नो पावर मान्छन् उनीहरू यो सहरलाई हठमाडौं मान्छन् ।

 

५. लठमाडौं

केही युवा सुरा र सुन्दरीमा मस्त भेटिन्छन् । केही युवती गाँजा र भाङमा व्यस्त देखिन्छन् । सडकका बालकहरू डेन्ड्राइडमा झुलिरहेका फेला पर्छन् । महलका जवानहरू ड्रग्समा भुलिएका पाइन्छन् । उनीहरूलाई देशको चिन्ता छैन । परिवारको वास्ता छैन । आफ्नो माया लाग्दैन । अर्काप्रति दया हुँदैन । नशामा लठ हुन पाउनु नै तिनका लागि स्वर्ग हो । उनीहरू काठमाडौंलाई लठमाडौं मान्छन् ।

 

६. गाँठमाडौं

हाम्रा पुर्खा भन्थे, उहिले काठमाडौंमा आउँदा खाने–बस्ने पैसा लाग्दैनथ्यौ । मन्दिर, गौशाला, आश्रम आदिमा नि:शुल्क खान–बस्न मिल्थ्यो । हरेक घरमा अतिथि देवो भव:को भाव हुन्थ्यो । अहिले ‘अतिथि धेर भो अब:’ झैं गर्छन् । जलग्रहणदेखि मूत्रत्याग गर्नसम्म गाँठ नभै हुँदैन । कोमल वलीको भाषामा भन्दा गोजीमा गाँठ भए मात्र यो सहरमा टिक्न सकिने तथ्य बुझ्नेहरूको नजरमा यो सहर गाँठमाडौं हो । 

 

७. आँटमाडौं

गाँठ नभए पनि आँट हुनेहरू यो सहरमा मज्जाले जम्न सक्छन् । जग्गा देखाइदिएबापत कमिसन कमाउने आँट चाहिन्छ । पैसा नभए पनि निर्माता हुँ भन्दै कमाउन सकिन्छ । राम्रो–नराम्रो जस्तो भए पनि जसले जिते राजा, हारे चपरीमुनिको बासको सिद्धान्त स्वीकार गर्न सक्नेहरू यो सहरलाई आँटमाडौं मान्छन् ।

 

८. लुटमाडौं

यहाँ बैंक लुटिन्छ । लुटेरा हाकिमसँग मिलेको हुन्छ, गार्ड कुटिन्छ । सिंहदरबारमा बस्नेदेखि सामान्य घरबारमा समेत लुट्ने र लुटिनेहरूको भीड छ । लुटेर लुक्न सक्नेहरू समाजसेवीका रूपमा सम्मानित हुन सक्छन् । परिबन्दले लुकाउन नसक्नेहरू आजीवन काराबास पुग्छन् । धान रोप्ने खेत प्लटिङका नाममा चिरहरण गरिएको छ । मकै फल्ने बारी घडेरीका नाममा बलात्कृत भएका छन् । दिनदहाडै प्रकृतिको इज्जत लुटिएको छ । लुट्ने र लुटिने दुवैका नजरका यो सहर अब लुटमाडौं हो । 

 

९. झूटमाडौं

पत्रकारैपिच्छे पत्रिका छन् । ल्यापटपैपिच्छे अनलाइन छन् । केहीलाई छोडेर तिनको काम झूटको खेती गर्नु हो । अन्यौलताको मलजल गर्नु हो । अराजकताको बाली उठाउनु हो । सत्यलाई झूट र झूटलाई सत्य बनाउन सक्नेहरू यो सहरलाई झूटमाडौंं बनाउन लागिपरेको गजुरियल ठम्याइ छ ।

लौन, यो सहरलाई पुन: सुन्दर काठमाडौं बनाउन के गर्ने होला ?

 

प्रकाशित :पुस १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्