चलचित्रको धार परिवर्तन गर्नेहरू

- कृष्ण भट्टराई

पुस ११, २०७३

नायक, नायिका, झरना, रूख, गीत, सामूहिक नृत्य, सासू–बुहारीको द्वन्द्व अनि नायकको एक घुस्साले आधा दर्जन खलनायक ढल्ने दृश्य । केही वर्षअघिसम्म निर्माण हुने नेपाली चलचित्रका औसत विषय यिनै हुन्थे । करिब आधा दशकयता नेपाली चलचित्रको ट्ेरन्ड परिवर्तन हुँदैछ । खासगरी चलचित्रकै अध्ययन गरेर निर्देशनमा होमिएका युवा निर्देशकहरूले चलचित्रको ट्ेरन्डमात्र परिवर्तन गरेका छैनन्, दर्शकलाई समेत नयाँ ट्रेन्डका   चलचित्र हेर्ने बानी बसाउन थालेका छन् । 

 

दीपेन्द्र के खनाल यस्ता निर्देशक हुन् जसले ‘पशुपतिप्रसाद’ निर्देशन गरेर नायक–नायिकाको माया–पिरती नै चलचित्रको मुख्य विषय हुन सक्छ भन्ने मान्यता परिवर्तन गरिदिए । निर्देशक यादव भट्टराईले ‘झोला’ मार्फत नेपाली चलचित्रमा पुरानो कुरीतिलाई समेत चित्रण गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरिदिए । दीपेन्द्र के खनालले नै ‘चपली हाइट’ मार्फत सानो विषयमा पनि उत्कृष्ट चलचित्र तयार पार्न सकिन्छ भन्ने कुरा देखाइदिए । 

 

यतिबेला चलचित्र ‘जात्रा’ प्रदर्शनरत छ । प्रदर्शनको सातौं हप्तामा प्रवेश गर्न लागेको यो चलचित्रमार्फत निर्देशक प्रदीप भट्टराईले नेपाली चलचित्रको उचाइलाई अझ माथि पुर्‍याएका छन् ।

 

मह जोडीसँग लामो समय सहायक निर्देशकका रूपमा काम गरिसकेका निर्देशक भट्टराईले ‘जात्रा’ मार्फत सानो विषय, सानो परिवेश तथा स्टार भ्यालु नभएका कलाकारमार्फत पनि उत्कृष्ट चलचित्र तयार पार्न सकिन्छ भन्ने कुरा प्रमाणित गरिदिए । प्रदर्शनको ५१ औं दिनमा प्रवेश गर्न लागेको यो चलचित्र हेर्न अहिले पनि दर्शकहरू सिनेमा हल पुगिरहेका छन् । करिब साढे दुई घण्टा लामो यो चलचित्रका पात्रहरू पैसा हुँदा वा नहुँदा एक प्रकारको छटपटीमा छन्, तर तिनै पात्रले पीडामा समेत दर्शकहरूलाई हँसाइरहेका छन् ।

 

कतिबेला चलचित्र सकिन्छ दर्शकले पत्तै पाउँदैनन् । व्यवसायिक रूपमा सफल भैसकेको यो चलचित्रमा न त द्वन्द्वका डरलाग्दा दृष्य छन् न त नायिकाले अंग प्रदर्शन नै गरेकी छिन् । यथार्थ त के हो भने यो चलचित्रमा नायक–नायिका भन्ने नै छैनन् अर्थात् चलचित्रका सबै कलाकारलाई उत्तिकै भूमिका दिइएको छ । सबैले उक्त भूमिकाप्रति न्याय गरेका छन् । परिणाम, यो चलचित्रले सफलताको पगरी गुथिसकेको छ । प्रदिप भट्टराई उत्कृष्ट चलचित्र निर्माण गर्न सक्ने निर्देशकका रूपमा स्थापित भैसकेका छन् । 

दुई साताअघि एउटा चलचित्र प्रदर्शनमा आयो । ‘बिजुली मेसिन’ शीर्षकको उक्त चलचित्र प्रदर्शन हुने अघिल्लो दिनसम्म दर्शकले यसप्रति खासै चासो देखाएका थिएनन् । प्रदर्शनमा आएपछि यो चलचित्रले दर्शकको तुलनामा समीक्षकहरूको मन जित्यो । नेपालकै पहिलो साइन्स फिक्सन चलचित्रका रूपमा तयार पारिएको यो चलचित्रमार्फत निर्देशक नवीन अवालले आवाजमार्फत बिजुली निकाल्न सकिन्छ भन्ने कुरालाई कथानक शैलीमा प्रस्तुत गरे ।

 

चलचित्रका मुख्य पात्र वैज्ञानिक हुन् भने उनी आवाजबाटै बिजुली निकाल्न सफल भएको यसको कथालाई दर्शकहरूले समेत मन पराए । विडम्बना नै भन्नुपर्छ, यो चलचित्र व्यवसायिक रूपमा सफल हुन सकेन, तर चलचित्रका निर्देशकसहित मुख्य कलाकारहरू करिब दुई सातासम्म सञ्चारकर्मीको सम्पर्कमा रहन सफल भए । रेडियो, टेलिभिजन, छापा तथा अनलाइनमा उनीहरूको राम्रै खोजी गरियो । चलचित्रले लगानी सुरक्षित गर्न नसके पनि यसलाई निर्माण गर्ने टिमको प्रयासलाई आत्मसात् गरियो । निर्देशक अवालसहितको टोली भविष्यमा अझ रोमाञ्चक विषयमा चलचित्र निर्माण गर्न सकिन्छ भन्ने मनस्थिति बनाउन सफल भयो । 

 

सञ्चारकर्मबाट चलचित्र निर्देशनमा आएका दीपक रौनियारले निर्देशन गरेको ‘सेतो सूर्य’ पनि व्यवसायिक रूपमा औसत रह्यो तर यसले समीक्षकहरूको मन जित्यो । दसवर्षे जनयुद्धमा थुप्रै चलचित्र निर्माण भैरहेको क्रममा सेतो सूर्य पनि थपियो तर यसले चलचित्रको संख्या थप्ने काम मात्र गरेन । निर्देशक रौनियारले जनयुद्धको एउटा पाटोलाई समातेर तयार पारेको यो चलचित्रले नेपालभन्दा विदेशमा बढी चर्चा तथा पुरस्कार पायो । यद्यपि चलचित्रमा समावेश गरिएका केही दृश्य भने आलोचित भए ।

संविधानसभाबाट पहिलो संविधान जारी भएको दिन प्रहरी तथा छापामारबीचको युद्धको दृश्यले चलचित्रलाई वास्तविकताबाट विमुख गराउन खोजेको अनुभव गरियो । यति हुँदाहुँदै पनि निर्देशन रौनियारको समग्र प्रयासलाई भने चलचित्रकर्मीहरूले मुक्तकण्ठले स्वागत गरे । 

 

हुन त निर्देशक रामबाबु गुरुङको मनोदशा यतिबेला खासै ठीक छैन, तै पनि उनलाई नेपाली चलचित्रको ट्ेरन्ड परिवर्तन गर्ने श्रेय दिनैपर्छ । अघिल्ला दुई चलचित्र ‘मेरो पाठशाला’ तथा ‘अनागरिक’ असफल भए पनि रामबाबुले ‘कबड्डी’ तथा ‘कबड्डी कबड्डी’ मार्फत आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । यी दुवै चलचित्र व्यवसायिक रूपमा सफल मात्र भएनन्, नेपाली चलचित्र भनेपछि नाक खुम्च्याउने एउटा पुस्ता सिनेमा हलसम्म आउन बाध्य भयो ।

 

निर्देशक गुरुङले आफ्नो चलचित्र ‘पुरानो डुंगा’ मार्फत पोखरा नजिकैको तालमा डुंगा चलाएर जीवन चलाइरहेको एक दम्पतीको कथा प्रस्तुत गरेका छन्, तर दर्शकहरूले यो कथा त्यति रुचाएनन् । व्यवसायिक रूपमा औसत रहेको यो चलचित्रमार्फत गुरुङले दर्शकसामु समाजको एउटा बेग्लै पाटो प्रस्तुत गर्न गरेको प्रयासको भने प्रसंशा गर्नै पर्छ । 

 

निश्चल बस्नेत त्यस्ता निर्देशक हुन् जसले नेपाली चलचित्रको परम्परागत ढाँचामै आमूल परिवर्तन ल्याइदिए । चलचित्र ‘लूट’ निर्देशन गर्दै रजतपटमा उदाएका निश्चलले उक्त चलचित्रको सफलतासँगै आफूलाई स्थापित निर्देशकका रूपमा उभ्याए । हुन त लुटमा प्रयोग गरिएका थुप्रै शब्दलाई सेन्सरले ‘बिप’ गरिदियो, तर पुरानो शैलीका चलचित्र हेर्ने दर्शकहरूलाई भने यसले नौलो स्वाद दियो । निर्देशक बस्नेतले दोस्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ मार्फत थप प्रशंसा कमाए । यतिबेला दर्शकहरूलाई निर्देशक बस्नेतको तेस्रो चलचित्र ‘लूट–२’ को प्रतीक्षा छ । आशा छ, यसपटक पनि उनी दर्शकहरूको आशामा खरो उत्रनेछन् । 

 

प्रकाशित :पुस ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्