झमेल होइन झम्सीखेल

- सुव्रत आचार्य

पुस ६, २०७३

 

 

यसरी झमेल

ललितपुरको पुल्चोकबाट साझा प्रकाशनको बाटो समातेपछि दक्षिणतर्फ सदर चिडियाखानाको पछाडिदेखि पश्चिमतर्फ रिङरोडको निकाससम्मका बखुण्डोल र सानेपालाई समेत गाभेर उक्त क्षेत्रलाई ‘झमेल’ भन्न थालिएको आधा दशक मात्र भयो । स्थानीय बासिन्दाहरूका अनुसार डेढ दशकअघि खुलेको जापानी रेस्टुराँ तामुरा झम्सीखेलमा खुलेको पहिलो रेस्टुराँ हो ।

 

झम्सीखेलको पछिल्लो तीव्र विस्तारमा राष्ट्रसंघीय मिसन (अनमिन) को प्रवेशलाई प्रमुख कारक मानिएको छ । सन् २००७ मा त्यहाँ अनमिनको कार्यालय खुलेपछि त्यसका कर्मचारीहरूको बासस्थान नै झम्सीखेल भयो । त्यसपछि त्यहाँ अनेकथरीका रेस्टुराँ खुल्न थाले । अनमिनका कर्मचारीबाहेक विदेशीका सन्तान पढ्ने चर्चित स्कुल रहेकाले पनि त्यहाँ विदेशी स्वादका रेस्टुराँ खुल्ने क्रम बढेको स्थानीय बासिन्दाहरू बताउँछन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसनका अनुसार झम्सीखेल क्षेत्रमा हाल साना–ठूला गरी करिब १ सय रेस्टुराँ छन् ।

 

पछिल्लो समय विदेशी परिकारप्रति नेपाली स्वादका पारखी तथा ‘ह्याङआउट’ गर्नेहरूको रुचि र चासो बढ्दै गएपछि झम्सीखेललाई उनीहरूले नै अपभ्रंश गरेर ‘झमेल’ नामाकरण गरेका हुन् भन्ने कुरा बुझ्न सकिन्छ । काठमाडौंको रेस्टुराँ हब ठमेलसँग लय मिलाउँदै झम्सीखेललाई झमेल भनिएको स्पष्ट बुझिन्छ । यहाँसम्म कि गुगल म्यापमा समेत उक्त स्थानलाई ‘झमेल रोड’ का रूपमा उल्लेख गरिएको छ । 

झम्सीखेलको साँझ

काठमाडौंको ठमेल र दरबारमार्गको होहल्लाबाट टाढा शान्त वातावरणमा पारिवारिक जमघट एवं साथीहरूसँगको ‘ह्याङआउट’का लागि झम्सीखेलका रेस्टुराँहरू चर्चित हुँदै गएका छन् । विशेष गरी बिदा वा शुक्रबार साँझ यहाँका प्राय: सबै रेस्टुराँमा ग्राहकहरूको खचाखच भीड हुन्छ । ठमेल र दरबारमार्गका रेस्टुराँहरू राति १–२ बजेसम्म खुले पनि झम्सीखेल भने राती ११ बजेसम्ममा सुनसान भैसक्छ । त्यहाँ रातभरि उड्ने पार्टी चराहरूको बास हुँदैन, उनीहरू ठमेल र दरबारमार्ग नै रोज्छन् ।

 

स्थानीय प्रशासनले समेत झम्सीखेलका रेस्टुराँलाई रातको दस बजे उता सञ्चालन गर्ने अनुमति दिएको छैन । कारण, झम्सीखेल र वरपर बाक्लो आवास क्षेत्र छ । उक्त क्षेत्रलाई काठमाडौं उपत्यकाको ‘भिआइपी’ तथा ‘भिभिआइपी’हरू बसोबास गर्ने क्षेत्र पनि मानिन्छ भने स्थानीय बासिन्दाहरूको निवास पनि त्यहीं छ । झम्सीखेलका अधिकांश रेस्टुराँ पनि निजी आवास भाडामा लिएर खोलिएका छन् । त्यसैले पनि त्यहाँका रेस्टुराँमा ‘होम्ली इन्भाइरोमेन्ट’ पाइन्छ । राति अबेरसम्म रेस्टुराँ सञ्चालन गर्दा त्यहाँको हो–हल्लाले वरपरका बासिन्दालाई बाधा हुने भएकाले झम्सीखेलको साँझ ठमेल र दरबारमार्गको जत्तिको लामो हुँदैन, तर जति हुन्छ त्यो शान्तिपूर्ण एवं पारिवारिक हुन्छ ।

 

झम्सीखेल नै किन ?

खुला स्थान र स्वच्छ हावापानी भएकाले पनि झम्सीखेल पारिवारिक खानपिनका लागि उपयुक्त गन्तव्य बनेको हो । यहाँका धेरैजसो रेस्टुराँले हरियाली, आकर्षक सजावट तथा शान्त वातावरणमा जोड दिएका छन् । कतिपय रेस्टुराँमा त आफैंले  खाना पकाएर खाने व्यवस्थासमेत मिलाइएको छ । त्यहाँ एकान्त वा परिवारिक वातावरणमा रम्न चाहनेहरूका लागि छुट्टै कोठाको व्यवस्था भएका रेस्टुरेन्ट पनि छन् । झम्सीखेलमा जापानी, चाइनिज, थाई, कोरियन, भियतनामी तथा कन्टिनेन्टलमा युरोप–अमेरिकाका इटालियन, फ्रेन्च, स्पेनिस, मेक्सिकन आदि परिकार पाइन्छन् ।

भारतीय तथा नेपाली परिकारलाई पनि केही रेस्टुराँले आफ्नो मेनुमा समावेश गरेका छन् । पहिले–पहिले देशअनुसार फरक–फरक रेस्टुराँ हुन्थे, अहिले एउटै रेस्टुराँमा विभिन्न देशका परिकारको स्वाद लिन पाइने व्यवस्था छ । विभिन्न समयमा हुने लाइभ म्युजिकले यहाँका रेस्टुराँको वातावरणलाई संगीतमय बनाइरहन्छन् । रेस्टुराँको संख्या बढ्दै गएपछि केही समययता भने झम्सीखेलले पार्किङको समस्या खेप्दै आएको छ । 

झम्सीखेलका केही रेस्टुराँ 

 

ब्ल्याक पिपर क्याफे एन्ड पब

क्लासिक र ट्रेडिसनल आर्टिटेक्चरल बिल्डिङमा रहेको यो रेस्टुराँ ककटेल, डाइनिङ र संगीतका लागि चर्चित छ ।

मेनु : मटन भुटेको, रोस्टेड ऱ्याक अफ ल्याम्ब, मुस्ताङ पोट्याटो फ्राइड, ब्ल्याक पिपर स्पेशल बेकन व्राप्ड इन ससेज आदि । 

 

चाइचाइ क्याफे

क्लासिक आर्टिटेक्चरल बिल्डिङमा रहेको यो रेस्टुराँ विशेषगरी पिज्जा तथा भियतनामी परिकारका लागि चर्चित छ ।

मेनु : मिट पेसन पिज्जा, भियतनामिज प्राउन स्प्रिङरोल, तेरियाकी चिकेन वार्प, एसियन स्टाइन चिकेन विङ्स आदि । 

 

जिजि मचान 

सहरमा हरियाली जंगलको आभास दिने रूख–बिरुवासहितको रेस्टुराँ जिजि मचान कहलिएको रेस्टुराँ हो। 

मेनु : अकबरे आलु, क्रिस्पी हनी पोट्याटो, चिकेन मम विद झोल, गोल्ड क्वाइन चिकेन आदि । 

 

फो–९९

वास्तविक भियतनामी परिकारको स्वाद पाइने यो रेस्टुराँ लाजिम्पाटस्थित भियतनामी रेस्टुराँको शाखा हो। मेनु : स्रिम समर रोल्स, वन ठिट नुओङ विद चिकेन, स्टिम्ड वासा फिस, भेजिटेबल्स/तोफु फो आदि ।

 

ले–ट्रिओ 

तीनजना सञ्चालक भएकाले ‘ले–ट्रिओ’ नामाकरण गरिएको यो ‘मल्टी कुजिन’ रेस्टुराँ विशेषगरी ममचा विद झोल अचारका कारण चर्चित छ । 

मेनु : ममचा विद झोल अचार, बफ्यालो विङस्, बँदेल, गार्लिक चिल्ली प्राउन आदि ।

 

बार्बिक्यु कोर्टयाड

बार्बिक्युकै लागि भनेर सञ्चालनमा ल्याइएको यो रेस्टुराँमा साथीहरूका साथ आफैं बार्बिक्यु गरेर पनि मज्जा लिन पाइने सुविधा छ । 

मेनु : विभिन्न किसिमका बार्बिक्यु ।

 

बुकेबा 

अर्गानिक भिलेज क्याफेका रूपमा स्थापित यो रेस्टुराँ यहाँ बनाइएका ट्री हाउसमा बसेर विभिन्न परिकारको स्वाद लिनका लागि चर्चित छ । 

मेनु : अफगानी मटन कबाब, गोट चिज पिज्जा, स्पेगिटी पोमोडोरो, पनिर लबादर आदि । 

 

मोक्ष बार

खुला स्थानमा अवस्थित यो बार उडफ्राइड पिज्जाका लागि प्रसिद्ध त छँदैछ, त्यसबाहेक यो चर्चित रक समूह ‘१९७४ एडी’को रेस्टुराँका रूपमा पनि सुपरिचित छ । 

मेनु : उडफ्राइड पिज्जा, पास्ता आदि । 

 

बेकर्स

केक, पेस्ट्रीजस्ता बेकरीको स्वादका लागि चर्चित छ बेकर्स । 

मेनु : ब्ल्याक फोरेस्ट, कोल्ड चिज केक, रस्टी केक आदि । 

 

तामारिन्ड

रेट्रो आर्टिटेक्चरमा चाइनिज, जापानिज, इटालियन, कन्टिनेन्टल तथा थाई परिकारको स्वाद एवं साँझ लाइभ म्युजिकको मज्जा लिन यो रेस्टुराँ चर्चित छ । 

मेनु : सिसेम चिकेन ललिपप, डिप फ्राइड सुसी, स्पेगिटी कार्बोनारा आदि ।

प्रकाशित :पुस ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्