विदेशमा बस्ने नेपालीले भोट दिन पाउनुपर्छ

- अश्विनी कोइराला

पुस ६, २०७३

 

राजनीतिमा चासो राख्ने युवाहरू सक्रिय राजनीतिमा आउने क्रम बढ्दो छ । संविधानसभा निर्वाचनपछि धेरै युवा राजनीतिलाई गाइड गर्ने काममा सक्रिय देखिन थालेका छन् । विभिन्न समूह र नामबाट बाहिर देखिन थालेका यस्ता युवा भारतीय नाकाबन्दी, गोविन्द केसीको अनसन, लोकमानसिंह कार्कीको महाअभियोगमा मात्र होइन, सांसद–मन्त्रीहरूको सेवा–सुविधाको वृद्धिमा पनि खबरदारी गरिरहेका छन् । त्यस्तै समूहमध्ये एक हो— नागरिक समूह । संविधान निर्माणमा दबाब दिन तीन वर्षअघि जन्मिएको यो समूहले संविधानको संशोधन, नेताहरूको शैक्षिक योग्यता, संघीयता मात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा समेत वकालत गर्दै आएको छ । मुद्दा ठूला–ठूला बोके पनि यी युवा ३० वर्षभन्दा मुनिका छन् ।   यही समूहका संयोजक निगम हुमागाईंसँग साप्ताहिकले गरेको कुराकानी

तपाईंहरूको मिसन के हो ?

शुद्ध राजनीति ।

 

शुद्ध राजनीति भन्नाले ?

राजनीति उच्चस्तरको समाजसेवा हो । विद्यालय–कलेजदेखि राजनीति गरेर मन्त्री नबनुन्जेलसम्म नेताको कमाइको स्रोत के हो ? उनीहरूलाई कसले पालेको छ ? उनीहरूको घर–गाडी मात्र होइन, कार्यकर्ताहरूको पालन–पोषण गर्ने स्रोत के हो ? उनीहरू कसका लागि राजनीति गरिरहेका छन् ? जहाँ यसको सम्यक उत्तर सजिलै प्राप्त गर्न सकिन्छ, उसको राजनीति शुद्ध हो । अहिलेका नेताहरूले शुद्ध राजनीति गरेका छैनन् । 

दाबीका साथ कसरी भन्न सक्नुहुन्छ ?

हामीले भन्नै पर्दैन, आमजनतालाई थाहा छ । कुनै पनि नेताले गौरवका साथ आफ्नो विगत के थियो र वर्तमानमा म कहाँ छु भनेर आत्ममूल्यांकन गरे थाहा हुन्छ । यो त सामान्य कुरा हो, यस्ता मानिसले नै मातृभूमिमाथि गद्धारी गरिरहेका छन् । 

तपाईंहरूको राजनीतिक सरोकार कस्ता नेताविरुद्ध हो ?

हामी कसैको विरुद्धमा छैनौं । मुहान सफा गर्ने हो भने कसैप्रति औंला ठड्याइरहनु पर्दैन । त्यसैले मुहान सफा गरौं भनेर विरोध कार्यक्रम गर्छौं । विद्यालय, कलेज र कारखानामा पुगेर वास्तविक कुरा बुझाउँछौं । हामी बेरोजगार युवा पनि होइनौं, न त कसैका कार्यकर्ता नै हौं । हामी आफ्नो व्यापार–व्यवसाय गर्छौं र मनोरञ्जन गर्ने समयमा युवाहरूमा चेतना भर्ने काम गर्छौं । 

मुहान कसरी सफा गर्नुहुन्छ ?

मुहान सफा गर्न दिगो राजनीति हुनुपर्छ । सत्ताका लागि नेताहरूको छलकपट एवं छिनाझप्टी बन्द हुनुपर्छ । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ । कम्तीमा पाँच वर्षको स्थायी राजनीतिको ग्यारेन्टी हुनुपर्छ । 

यो त तत्कालीन माओवादीको एजेन्डा होइन र ?

राम्रो एजेन्डा छ भने पञ्चायतका कुरा पनि लागू गर्नुपर्छ । जस्तो संघीयताको विषयमा हामी स्पष्ट छौं, अहिले जुन किसिमको संघीयताको खाका कोरिँदैछ, त्यसले देशलाई भड्खालोमा हाल्छ । यसमा पञ्चायतको विकास क्षेत्रको मोडल नै ठीक छ भन्न सकिन्छ । यसो भन्नुको अर्थ हामी पञ्चायतका पक्षधर भन्ने होइन । 

तपाईंहरूको राजनीतिक एजेन्डा के हो ?

नेताहरूको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनुपर्छ । मन्त्री बन्न स्नातकोत्तर र सम्बन्धित विषयमा विज्ञ हुनुपर्छ । यहाँ राजनीतिमा कति खट्यो, कति वर्ष जेल बस्यो, कति मान्छे मार्‍यो भन्ने आधारमा मन्त्री–प्रधानमन्त्री पद दिने गरिएको छ । मन्त्री र प्रधानमन्त्री पद पूर्णत: टेक्निकल र दूरदृष्टि भएको व्यक्तिले सम्हाल्ने पद हो । आज हामी पछाडि पर्नुको कारण नै देशलाई कहाँ पुर्‍याउन सक्छु भन्ने भिजन दिन सक्ने व्यक्ति पदमा नपुगेर हो । 

तपाईंहरूले एउटा भेलामा देशद्रोही र भ्रष्टाचारी नेतालाई मृत्युदण्डको सजाय हुनुपर्ने उग्र नारा लगाउनुभएको थियो । यो त युवाहरूलाई तताउने र भड्काउने कुरा भएन ?

विश्वका धेरै देशमा भ्रष्टाचार गर्ने उपल्लो तहका नेतालाई मृत्युदण्ड र सामान्य कर्मचारी वा व्यक्तिलाई लामो कारावासको सजाय तोकिएको छ । त्यसैले ती देशमा विकासको गति द्रुत छ । यस्तै कारणले ती देशमा नेताप्रतिको विश्वास बढेको छ । नेताहरू स्वच्छ भए यो नियमबाट उनीहरू खुसी हुनुपर्ने हो, तर हाम्रा सबै नेतालाई थाहा छ, यो नियम आफ्नै लागि गलाको पासो हो । जबसम्म यो कानुन बनाइँदैन, नेपालमा भ्रष्टाचार कम हुँदैन । नेपाली नेताहरूले विष पनि पचाइसके, उनीहरूलाई डर भनेको त्यही एउटा मृत्युदण्ड नै हो ।

तपाईंहरूका केही एजेन्डा राजनीति दलको जस्तो लोकप्रियता कमाउने खालको छ । तपाईंहरूले पनि राजनीतिको तयारी गर्नुभएको हो ?

पटक्कै होइन । हामीमध्ये कोही योग्य छ र ऊ राजनीतिमा जान चाहन्छ भने अहिले भएका दलहरूमध्ये कुनै एउटा दलमा जान सक्छ, जसलाई नागरिक समूहले सघाउँछ तर हामी छुट्टै दल खोलेर अर्को भीड जम्मा गर्न चाहँदैनौं । यसै पनि देशमा धेरै दल भए । यिनीहरूलाई १० देखि १५ प्रतिशतसम्म थ्रेसहोल्डको व्यवस्था गरेर रोक्नुपर्छ भन्ने हाम्रो मुख्य माग छ । १० प्रतिशत थ्रेसहोल्ड राख्ने हो भने नेपालमा ४–५ भन्दा बढी दल हँुदैनन् । ती दलका पनि राम्रा नेताहरूलाई मात्र जिताउने र तीमध्ये पनि एक जनालाई कार्यकारी प्रमुखमा पुर्‍याउने हो भने राजनीति यति गन्हाउँदैनथ्यो ।

केही राम्रा नेता छन् तर उनीहरू यो गन्हाउने राजनीतिमा कहिल्यै अघि बढ्न सक्दैनन्, किनभने धेरै दल, धेरै स्वार्थ र जनताका आधारमा होइन, अरू कसैका आधारमा जित्नुपर्ने बाध्यतामा उनीहरू पछि परिरहेका छन् । गलत मानिस राजनीतिमा नजाऊन्, गए पनि निर्वाचन नजितून्, निर्वाचन जितिहाले पनि मन्त्री–प्रधानमन्त्री बन्ने अवसर नपाऊन् भन्ने हाम्रो उद्देश्य हो । 

तपाईंहरूको सोचअनुसार पढ्न नसक्ने, पिछडिएका, दलित–जनजाति, मसेधी आदिले त कहिल्यै राजनीति गर्न नपाउने भए नि ?

त्यो गलत हो । अहिलेको राजनीतिले मधेसी, दलित, जनजाति आदिको नाममा आफ्ना मान्छे भर्ना गर्ने मौका प्रदान गरेको छ । सबै दलले पछाडि पारिएका समुदायका लागि कोटा लागू गरेका छन्, तर उनीहरूले समावेशीका नाममा आफ्नो मान्छे राख्ने र अमूक जाति र क्षेत्रका नाममा आफ्नो स्वार्थ पूरा गर्ने काम गरिरहेका छन् । हामीले दिएको विकल्प के हो भने प्रत्येक पार्टीले सिफारिस गरेका समानुपातिक व्यक्तिहरूबीच पनि निर्वाचन गरौं ।

प्रत्यक्ष निर्वाचनमै एउटा बक्सामा समानुपातिकको बक्सा राखौं । समानुपातिकहरूबीच प्रतिस्पर्धा गरौं । जसरी लोक सेवा आयोगले मधेसी, दलित एवं जनजातिबीच प्रतिस्पर्धा गराउँछ, त्यसरी नै प्रतिस्पर्धा गराऔं । यसरी प्रतिस्पर्धा गराउँदा आमजनताले जसलाई ठीक मान्छन्, उसैलाई माथि पठाउँछन् । यहाँ त समानुपातिक कोटा दलहरूको कमाउने बाटो भएको छ । त्यसको अन्त्य गर्न पनि यस्तो प्रतिस्पर्धा गराउनुपर्छ । 

तपाईंहरूको अर्को माग विदेशमा बस्ने नेपालीहरूलाई त्यहींबाट मतदानको सुविधा दिनुपर्छ भन्ने रहेछ, यो कसरी सम्भव छ ?

आजको प्रविधिको युगमा यो सम्भव छ । अमेरिकाजस्ता देशले संसारभरि छरिएका आफ्ना नागरिकले त्यसरी भोट दिन पाउने व्यवस्था गरिरहेका छन् । प्रविधिको विकास भएका कारण हामी पनि त्यसो गर्न सक्छौं । अहिले यो देशलाई गैरआवासीय नेपालीहरूले पालिरहेका छन् तर शासनचाहिँ अरूले गरिरहेका छन् । देशको अर्थअवस्था चलाइदिने नागरिकलाई मतदानको अधिकार पनि हुनुपर्छ । विदेशमा रहेका ४० लाख युवालाई त्यहीँबाट भोट दिने व्यवस्था मिलाउनुपर्छ । अब राजनीतिक दलहरू सुध्रनुपर्‍यो, नत्र हामीले भन्न थालेका छौं— तपाईंहरू छाड्नुस्, हामी गरेर देखाउँछौं । 

तपाईंहरू राजनीतिक दल तथा तिनका नेतालाई सुधार्छौं भन्नुहुन्छ तर त्यसका लागि आर्थिक योजनाचाहिँ के छ ? अरूले तपाईंहरूमाथि कसरी विश्वास गर्ने ?

देश विकासका लागि आर्थिक उदारीकरण पहिलो पाटो हो । हामी कसरी द्रुत आर्थिक विकास गर्न सक्छौं भन्ने कुराको ब्लू प्रिन्ट तयार गर्दैछौं । त्यसका लागि हामीले नेपालको आर्थिक कायापलट गर्न कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी एवं रोजगारीका लागि विज्ञ व्यक्तिहरूसँग लगातार छलफल गरिरहेका छौं । कतिपय विषयमा विदेशी विज्ञहरूको सहयोगसमेत लिएका छौं । हामी युवा हौंला, अनुभव नहोला तर विज्ञहरूसँग लगातार सम्पर्कमा रहेर काम गरिरहेका छौं ।

भूकम्पपछिको पुनर्निर्माणका विषयमा हामी के निष्कर्षमा पुगेका छौं भने नेपालमा रहेका ९० हजार सेनालाई किन काम नदिने ? हाम्रा अहिलेका प्रधानमन्त्रीसमेतले कुनै बेला नेपाली सेना त्यसै बसेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । त्यो साँच्चैको चिन्ता थियो भने उनीहरूलाई पुनर्निर्माणको काम दिनुहोस् । अहिले दाताले दिएको अर्बौ रुपैयाँ खर्च हुन नसकेर फिर्ता हुन थालेका समाचार आइरहेका छन् । जनताले पहिलो किस्ताको ५० हजार रकमसमेत कतिपय ठाउँमा पाएका छैनन् । पुनर्निर्माण प्राधिकरणका कर्मचारी आन्दोलनमा छन् । यो कुन तरिका हो ? यस्तो तरिकाले देश बन्छ ?

भनेपछि सेनालाई बाहिर ल्याउने ?

देश विकास गर्ने युवाशक्ति बाहिर छ । विकास गर्ने संघ–संस्था नेता–कार्यकर्ताहरूको हातमा छन् । त्यसो भए विकास नगर्ने ? सबै चुप लागेर बस्ने ? भूकम्प जाँदा सेनाले सेवा गर्दा हुने, त्यही भूकम्पले विनाश गरेको कुरा सेनाले विकास गर्न नमिल्ने ? के हाम्रा नेतामा यति पनि आत्मविश्वास छैन ? छैन भने किन सत्तामा बस्नु । छाडिदिनुहोस्, हामी गरेर देखाउँछौं । 

तपाईंहरूको विचारमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको कस्तो हुनुपर्छ ? त्यसको खाका कोर्नुभएको छ?

स्वाभिमानसहितको अन्तर्राष्ट्रिय सम्बन्ध हुनुपर्छ । त्यसका लागि राष्ट्रिय गौरवका विकास–निर्माणका काम आफैंले गर्ने । जनताले चुनेका नेताले शासन गर्ने । सबै राष्ट्रसँग बराबरको सम्बन्ध राख्ने । आज हाम्रा नेताहरू कुनै राष्ट्र वा कुनै दूतावास विशेषको फन्दामा किन परेका छन् ? किनभने उनीहरूलाई जनताले शासन गर्ने मत दिएका छैनन् । जनताको मत नपाएपछि, दूतावासको मतबाट शासन गरेपछि परराष्ट्र सम्बन्ध एकातिर ढल्कनु सामान्य कुरा हो । त्यसैले हामीले प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा उठाएका हौं । 

तपाईंका कुरा नेपालका पार्टीले किन मान्ने ? 

हामी मान्न बाध्य बनाउँछौं । हामी ठूला दलका कार्यकर्ताभन्दा धेरै युवा भोटर छौं । स्वदेश र विदेशमा छरिएका छौं । सबैलाई एक ठाउँमा ल्याएर हाम्रा मुद्दा बुझाउँछौं । दलभित्रका राम्रा नेता एवं कार्यकर्तालाई आफूतिर तान्छौं । हेर्दै जानुहोला, एक दिन यस्तो परिस्थिति आउँछ, ठूला दलका नेताहरू हाम्रा मुद्दामा आउन कर लाग्छ । 

सपना राम्रो देख्नुभएको रहेछ, बधाई छ ।

कुनै बेला यो देशलाई एकीकरण गर्नुपर्छ भनेर पृथ्वीनारायण शाहले सपना नदेखेका भए नेपालको निर्माण हुँदैनथ्यो । सहिदहरूले राणा ढाल्छु भनेर सपना नदेखेका भए प्रजातन्त्र आउँदैनथ्यो । कुनै पनि कुरा पूरा नहुन्जेल सपनाजस्तै लाग्छ । अहिले हामी युवाहरूले देखेको कुरा सपना होइनन् भन्ने कुरा एक दिन प्रमाणित भएरै छाड्नेछ । 

 

प्रकाशित :पुस ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्