मान्छे थरीथरीका

- सुविन भट्टराई

पुस ६, २०७३-  

साँझ झमक्कै भैसकेको थियो । बानेश्वरबाट एउटा जरुरी काम सकेर घरतिर फर्कंदै थियौँ, कपन । म गाडी चलाइरहेको थिएँ । गाडीमा मसहित ममी र श्रीमती थियौँ । साँझको समय अनि काठमाडौँको सडक । उग्र जाममा फसिएको थियो । चाबेल चोकनजिकै आइसकेपछि गाडी बिग्रियो । स्टार्ट अफ भएको गाडी मरिगए अन हुन सकिरहेको थिएन । मूल सडकमा एउटा गाडी बिग्रिएर अड्किँदा पछाडिका गाडी तथा बाइकहरूले कुन दृष्टिले हेर्छन् त्यो सडकमा यात्रा गर्नेलाई थाहा होला । 

 

जुन–जुन गाडी र बाइक अगाडि गए, सबैले हप्काएर, मुख छाडेरै गए । कसैले भन्यो, ‘आफ्नै बाउको सडक सम्झ्या हो ?’ अर्कोले भन्यो, ‘के तालको मान्छे हो, कहाँ रोक्या गाडी ?’कतिले हर्न बजाएको बजायै गरेर उसै त गाडी बिग्रिएर तनाव ग्रस्त मुडमा तनाव थपिदिए । गाडी अलिकति ठेल्न पाए ओरालो आउँथ्यो र कतै बनाउने ठाउँ खोजेर बनाउन दिनु हुन्थ्यो । ममी र श्रीमती दुवै जना ओर्लेर गाडी ठेल्न लागे । 

 

दुवै जना मिलेर स्वाँस्वाँ गरुञ्जेलसम्म ठेलेपछि बल्ल गाडी अलिकति अगाडि बढ्यो । ओरालो भेट्न करिब १०–१५ मिटर बाँकी थियो । दुवै जना ‘अब नसक्ने भइयो’ को स्थितिमा पुगिसकेका थिए । यता म पनि हतास् भैसकेको थिएँ । त्यति नै बेला एक थरी मान्छे गाडीको छेउबाट गुज्रिए । भन्दै थिए, हेर न त्याँ आइमाईहरूले गाडी ठेलेका, हिहिहि । यी पहिलो कोटीका मान्छे थिए ।

 

मलाई झनक्क रिस उठ्यो । तैपनि चुप लागेँ । थरीथरीका मान्छे छेउबाट गुज्रिरहेका थिए । फरक यही थियो, सबैले प्रतिक्रिया दिइरहेका थिएनन् । धेरै त ‘हाम्लाई के मतलब !’ को भावमा, देखेर पनि नदेखेझैँ गरेर आफ्नै धुनमा हिँडिरहेका थिए । यी दोस्रो कोटीका मानिस थिए । प्रतिक्रिया दिने तेस्रो कोटीका मानिस पनि फेला परे । उनीहरूले भने, ‘हेर, कठैबरा ! बिचरा महिलाहरू गाडी ठेलिरहेछन् ।’
निकै बेरपछि एक जना महिला आफूले चलाइरहेको गाडी!  साइडमा रोकेर हामीतिर आइन् र ममी तथा श्रीमतीसितसँगै लागेर हाम्रो गाडी ठेल्न मद्दत गरिन् ।

 

म तिनको स्वभाव देखेर भावुक भएँ । ‘संसारमा यस्ता मान्छे पनि अझै रहेछन्’ भन्ने सोचेर भावाद्र भएँ । तिनीप्रति यसै नतमस्तक भैरहेँ । तिनले भनेको धमिलो आवाज मेरो कानमा गुञ्जिरह्यो, ‘मानिसहरू शब्द र आवाजले प्रतिक्रिया दिन खुब जान्दछन् । अलिकति हात–खुट्टा चलाउन जाने यो संसार कति सुन्दर हुने थियो ।’ यी महिला चौथो कोटीकी थिइन् । त्यसपछि गाडी सजिलैसँग ओरालो लाग्ने ठाउँसम्म पुग्यो र त्यहाँबाट वर्कसप खोज्दै लागियो ।

 

यी चार थरीका मानिस त्यो एउटा घटनामा मात्र फेलापरेका होइनन् । यस्तो धेरै भएको छ । हरेक घटना वा दुर्घटनालाई लिएर त्यहाँ यी चार थरीका मान्छे तुरुन्तै देखा परिहाल्छन् अथवा यसो भने पनि हुन्छ, हरेक घटना वा दुर्घटनापश्चात् त्यसलाई हेरिने दृष्टिकोणमा कम्तीमा चारवटा विचार विभाजित हुन्छन् । एक थरी, जो हरेक घटना दुर्घटनालाई लिएर केवल नकारात्मक प्रतिक्रिया दिन्छन् । 

 

अर्को थरी सधैँ निरपेक्ष रहन्छन् । कुनै पनि घटना वा दुर्घटनामा आफू मौन रहेर तनावरहित हुन चाहन्छन् । तेस्रो थरी सहानुभूतिसहित सकारात्मक टिप्पणी दिएर मान्छे हुनुको धर्म त निर्वाह गर्छन्, तर काम आउने गरी अग्रसर हुँदैनन् ।  तर समाजमा केही यस्ता मानिस पनि छन् जो मानवीय धर्म आत्मसात् गरेर मान्छे भएपछि मान्छेको दु:ख–सुखमा काम आउनुपर्छ भन्ने भाव राख्छन् । यस्ता मानिस समाजमा अझै छन् र कोही–कतै बेबारिसे भएर मर्न वा छट्पटाउन पाउँदैन । यस्तै मानिसहरू छन् र त कसैको घर लुटिन पाउँदैन । यस्तै मानिसहरू छन् र त कसैले खाली पेट बस्नु पर्दैन । यस्तै मानिसेहरू छन् र त कसैको आङ ठिहीमा सिउसिउ गर्न पाउँदैन । 

 

हामी अक्सर अरूले चाहिँ यी र यस्ता दायित्व बोध गरिदिऊन् भन्ने आशा राख्छौँ तर आफू चाहिँ झन्झट र हतारका कारण न्यूनतम मानवीय दायित्वबाट विमुख हुन्छौँ । अरूचाहिँ आफ्नो काम आउन् भन्ने आशा राख्छौँ, आफू भने अरूका लागि एउटा निराशाबाहेक केही बन्न जानेका हुँदैनौँ । सधैँ हतारको जिन्दगी, सधैँ व्यस्त म पनि तेस्रो कोटीको मान्छेबाट उकालो लाग्न सकेको थिइनँ । यो घटनापछि प्रयासरत छु चौथो कोटीमा परेकी तिनै महिलाझैँ बन्ने । 

प्रकाशित :पुस ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्