ज्यान र फ्यान जोगाउनुहोला

- मनोज गजुरेल

पुस ६, २०७३

 

रेखा थापा र कोमल वली राप्रपामा प्रवेश गरेपछि दर्शकहरू दुई कित्तामा बाँडिएका छन् । नेताले केही गर्न सकेनन्, अब कलाकारले अगाडि आउनुपर्छ भन्नेहरूको संख्या जति छ, कलाकारले राजनीति गर्नु हुँदैन भन्नेहरूको संख्या त्योभन्दा धेरै छ । आजको विश्लेषण यो विषयमा हुनेछैन, अभिनेताले राजनेता बन्न के–के गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहनेछ ।

 

राजनीति सबैले बुझ्नुपर्छ । बुझ्नका लागि हरेक घटनामा चासो राख्नुपर्छ । चासोले चेतना बढाउँछ । चेतनमनबाट गरिएको राजनीति दीर्घकालीन हुन्छ । गुमनामबाट जोगिन गरिने राजनीतिको लोकप्रियता कमजोर हुन्छ । दीर्घकालसम्म टिक्ने राजनीति विचारको हो, अडानको हो, आस्थाको हो । चर्चाका लागि गरिने राजनीतिको आयु छोटो हुन्छ ।

 

सम्बन्ध, नाता, थर र गोत्रका आधारमा पनि राजनीतिमा टिकिंदैन । राजनीतिमा टिक्न त्यसभित्रका खेल, झेल र बेमेलहरूलाई बुझ्नुपर्छ । राजनैतिक भाषामा भन्दा समस्याको अन्तरवस्तु चिन्नुपर्छ । अन्तरविरोधहरूलाई बुझ्नुपर्छ । आफूले बुझेर मात्र हुँदैन, यो विषयलाई अरूले कसरी बुझिरहेका छन् भन्ने कुरा पनि बुझ्नुपर्छ । के गलत, के सही छुट्याउन सक्नुपर्छ । त्यसपछि बल्ल राजनीतिमा लाग्नुको फाइदा देशलाई पनि हुन्छ, आफूलाई  पनि हुन्छ ।

 

आफूलाई फाइदा हुनुको अर्थ आत्मसन्तुष्टि मिल्छ भन्न खोजिएको हो । मनमा खाम्–खाम्, मुखमा राम–रामले राम्रो गर्दैन । मन र मुखको मिलन भयो भने मात्र मज्जा आउँछ । राजनीति गर्नुको मज्जा तब मात्र आउँछ जब आफूले गरेका कर्मद्वारा जनता लाभान्वित हुन्छन् । अरूको मात्र मज्जाका लागि हो भने अन्य पेसा अपनाउनु उचित हुन्छ ।

 

मेरो सम्पूर्ण जीवन देश र जनताका लागि भनिन्छ । देश र जनता भनेको म आफू पनि हुँ भन्ने कुरा बिर्सनु हुँदैन । आफ्नो राजनीतिले जनता मात्र लाभान्वित भएर पुग्दैन, त्यो लाभको सकारात्मक असर राजनीतिज्ञ स्वयंलाई पनि पर्नुपर्छ । आफू दु:खी र निराश भएर गरिने राजनीतिले लामो यात्रा तय गर्दैन । भर्खर राजनीतिमा छिरेका नयाँ जोगीले धेरै खरानी घस्नु हुँदैन, अनुहारमा घाउ आउन सक्छ । नयाँ पार्टीमा हिट हुन पुरानो पार्टीप्रति आक्रामक बन्नु राम्रो होइन । घटनाको सूक्ष्म विश्लेषण गर्ने, परिस्थितिलाई पर्घेल्ने तथा मनस्थितिलाई मन्थन गर्ने काम गर्नुपर्छ । मन्थन गरेपछि निस्किएको विचारको नौनीलाई पनि खारेर मात्र प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ ।

 

तपाईंले जति बोले पनि नयाँ कुरा केही आउँदैनन् । तपाईंले मनमा संग्रह गरेका पुरानै कुरा मात्र निकाल्ने हो । नयाँ कुराका लागि कम बोल्ने र बढी सुन्ने । जे सुनिन्छ त्यही पस्किने पनि होइन । स्वयम्भूका दुइटा आँखाले न्याय–अन्याय छुट्याएजस्तो सही र गलत पनि छुट्याउन सक्नुपर्छ । धेरै सुनेर (सुन्नेमा पढ्ने, अन्तक्र्रिया गर्ने, जानकारी लिनेजस्ता कार्य पनि पर्छन्) थोरै बोल्दा राजनीतिमा पाक्न सकिन्छ । केवल बोल्ने बानीले चाँडै थाक्न सकिन्छ ।

 

राजनीति गीतजस्तो कोमल हुँदैन । यो कहिले ढुंगाजस्तो निर्मम हुन्छ । कहिले पानीजस्तो तरल हुन्छ । देख्दा सरल लाग्छ तर गर्दा अप्ठ्यारो हुन्छ । पोलिटिक्स रेखाजस्तो सोझो हुँदैन । कहिले यसले त्रिभुज आकार लिन्छ, कहिले षट्कोण बन्छ । राजनीतिको रंगअनुसार आफु बदलिन सकियो भने त्यसले मात्र सफल बनाउँछ, तर देश र जनता जहाँको त्यहीं रहनेछन् । देश र जनताको स्वार्थअनुसार राजनीतिलाई ढाल्न खोजियो भने यसैबाट आजीविका गर्ने राजनीतिज्ञहरूले तपाईंलाई त्यसो गर्न दिंदैनन् । बाटो अप्ठेरो छ, ज्यान र फ्यान  जोगाउनुहोला— शुभकामना !

 

प्रकाशित :पुस ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्